न्यायाधीश जलाउन उक्साउने शर्मालाई कांग्रेसमा छुट ! « Khabarhub

न्यायाधीश जलाउन उक्साउने शर्मालाई कांग्रेसमा छुट !

तत्काल जेल हाल्न कानूनविद्को सुझाव



काठमाडौं – केही दिन अगाडि नेपाली कांग्रेसका नेता डा. सुनिल शर्मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भेट्न नख्खु कारागार पुगे । लामिछाने सहकारी ठगीको आरोपमा थुनामा छन् । नेता तथा स्वास्थ्य व्यवसायीसमेत रहेका शर्माले बिना प्रमाण सरकारले रविलाई प्रतिशोधका आधारमा थुनामा राखेको आरोप लगाए ।

शर्माले भनेका छन्- ‘सहकारीमा त्यही प्र्रकृतिको एमाले र कांग्रेसको नेता छुट्ने तर रवि लामिछानेले धरौटी तिर्छु भन्दा पनि धर नपाउने ? यो प्राकृतिक न्याय होइन । धरौटीमा छोडेर चुनाव लड्न देऊ । रास्वपा एक लोकतान्त्रिक पार्टीको विपक्षी नेतालाई तिकडम गरेर थुनेर जेलमा राखेर गरिने चुनाव नेपालको इतिहासमा स्वतन्त्र र निष्पक्ष मानिदैन । अघिल्ला सरकारमा भएका केही भ्रष्ट नेताको यो ग्राण्ड डिजाइन अन्तर्गत रवि फसाइएको हो ।’

आफू सँगसँगै युटुबरको लहर बोकेर हिँड्ने शर्मालाई एक युटुबरले प्रश्न गरेका छन्, ‘तपाईं अब नेपाली कांग्रेस छोडेर रास्वपा प्रवेश गर्न लाग्नुभएको हो ? रास्वपाको सभापतिसँग भेट्नुको अर्थ के हो ? कांग्रेसको भोट घटाउने काम गर्नुभयो । रास्वपाको प्रवक्ता बन्ने प्रयास गर्नुभएको हो ?’

शर्माले प्रतिउत्तरमा भनेका छन्, ‘कांग्रेस नेता डा.शेखर कोइरालाको कार्यकर्ता हुँ तर उहाँसँग सोधेर गएको होइन । सबै पार्टीभित्रको विकृति विरुद्ध लड्नुपर्छ । न्यायालयबाट समान न्याय पाउनुपर्छ । कांग्रेस पार्टी कहिले माओवादी र कहिले एमालेसँग मिल्दा हुने तर रास्वपासँग नहुने भन्ने होइन । रविले आफूमाथि जति आरोप लागेको हो, त्यो सहकारी पीडितको रकम फिर्ता गर्छु भनेका छन् ।’

‘पैसै तिर्छु भनेसी सकियो । सहकारीको बिगो तिर्दिन जनता तयार छन् र मैले पनि सहयोग गर्छु । शिक्षा र स्वास्थ्य क्षेत्रमा नेपालमा ६ वर्षदेखि लगातार सबैभन्दा धेरै कर तिर्नेमध्येको हुँ’ शर्मा थप भन्छन्, ‘बरु उनलाई पासपोर्ट सिज गरे विदेश जान नदिने गरौँ । राज्यले विश्वास लिन सक्दैन भने वा रवि भाग्छन् भने म जिम्मा लिन्छु । दुई ल्याप्चे लगाउन तयार छु ।’

त्यस्तै नेता शर्माले जेलबाट रविलाई निकालेर उनीसँगै चितवन क्षेत्र २ बाटै चुनावमा भिड्न तयार भएको बताए । ‘चितवनबाट रविसँगै मैदानमा लड्छु । आफूले मन नपरेको मानिसको मुद्दा १०/१२ वर्ष फैसला हुँदैन । मन परेको मुद्दा ३ महिनामा फैसला हुन्छ ।

राज्यसत्ताले दमन गर्दा अदालतले छुट दिनुपर्छ । तर राजनीतिक दलले जिल्लादेखि सर्वोच्च अदालसम्म कार्यकर्ता भर्ती गरेपछि एकै मुद्दामा फरक फैसला आउँछ’ उनले भने ।

यस्तै अभ्यास तथा अन्यायपूर्ण फैसला गर्दा नै जनताले सर्वोच्च अदालत जलाएको शर्माको भनाइ छ । यसै सन्दर्भमा उनले सर्वोच्च अदालतमा आगो लाग्यो अब न्यायाधीशलाई पनि आगो लगाउने दिन आउला भन्ने अभिव्यक्ति दिएका थिए । शर्मा कहिले राजा फर्काउँदा उत्तम हुने अभिव्यक्ति दिँदै हिँडेका हुन्छन् । कहिले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री जनताले चाहे सम्भव भएको बताउँछन् ।

२०७९ को चुनावमा शर्मा मोरङ–३ बाट ४८ हजार ६३१ मत प्राप्त गरी अत्यन्तै ठूलो मतान्तर (२२ हजार ७३६) प्रतिनिधि सभाका सदस्यमा निर्वाचित भएका थिए । जुन बहुदल स्थापना भएपछि नेपाली कांग्रेसको इतिहासमा सबैभन्दा ठूलो मतान्तर हो । उनी मोरङबाट यस्तो ऐतिहासिक जित हासिल गर्ने कांग्रेसका पहिलो उम्मेदवार पनि हुन् ।

व्यवसाय र समाजसेवालाई संगसंगै लिएर हिँडेका उनका धेरै प्रशंसक छन् । पूर्वदेखि पश्चिमसम्म स्वास्थ्य शिविर गरेरै पनि उनले आफ्नो पहिचान बनाएका छन् । कतिलाई पढाएका छन् । दुःख परेको ठाउँमा मलम लगाउन पुगिहाल्छन् । उनको राम्रो पक्षलाई प्रशंसा गर्दागर्दै पनि अन्टसन्ट बोलेर जनता दिग्भ्रमित बनाउनमा उनी माहिर छन् ।

तर उनको अभिव्यक्तिलाई लिएर कांग्रेस पार्टी कहिले पनि गम्भिर भएको देखिदैन । उनी पार्टीको अनुशासनभन्दा पनि आफ्नो प्रचारप्रसारमा रमाउने प्रवृत्तिका नेता हुन् । खासमा भन्नुमा पर्दा शर्मा ‘एटेन्सन सिकर’ हुन् । बदनाम किन नहोस् तर नाम बजारमा चल्न पर्यो भनेजस्तै ‘मार्केट केन्द्रित’ अभिव्यक्ति दिनुमा उनलाई रमाइलो लागिरहेको छ । त्यसैका लागि युटुबरको लर्को लगाएर हिँड्ने गर्छन् ।

अधिवक्ता मणिराम उपाध्याय सुनिल शर्मालाई तत्काल पक्राउ गर्नुपर्ने बताउँछन् । उनले एक अन्तर्वार्तामा भनेका छन्, ‘कम्तिमा नेपाल वार एशोशिएसनले शर्मालाई तत्काल पक्राउ गर्न माग गर्नुपर्छ । सर्वोच्च अदालतले वैधानिक रुपमा थुनामा राख भनिसकेपछि अदालतको मानमर्दन हुने गरी बोल्ने अधिकार कसले दियो ? उनी शर्मालाई प्रश्न गर्छन् ।

‘वार एशोशिएसनले आफ्नो गरिमा न हिजो जोगाउन सक्यो । न आज सकेको छ । यसले अदालत जलाउँछु भन्ने अभिव्यक्ति दिनेलाई कारवाही समेत माग गर्न सकेको छैन, उनी थप भन्छन्, ‘हिजो केही व्यक्तिहरुले सिंहदरबार जलाउने अभिव्यक्ति दिएकै कारणले जेन–जी आन्दोलनको नाममा सिंहदरबार जल्यो । कार्यवाहक निकायमा बसेका व्यक्तिले न्यायाधीश जलाउने कुरा सामान्य होइन ।’

न्यायाधीश जलाउने विषयमा सबैभन्दा धेरै वार एशोशिएसन गम्भीर भएर लाग्नुपर्ने बताउने उपाध्याय प्रश्न गर्छन्- ‘रवि मात्रै होइन पूर्व डीआइजी छविलाला जोशीको मुद्दा एकै हो । उनको थुनामुक्तको विषयमा किन कोही नबोल्ने ? नेताहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’, बाबुराम भट्टराई , सुनिल शर्मा जस्ता नेता थुनामा रहेकालाई भेट्न जानुको सन्देश के हो ?’

शीर्ष नेता नै सर्वोच्च अदालतले प्रतिशोध साँध्यो भन्दै हिँड्नुले नेपालका अदालतको अस्तित्त्व बाँकी नरहेको उपाध्यायको निष्कर्ष छ। त्यसैगरी, पूर्व डीआइजी हेमन्त मल्ल ठकुरीका अनुसार कांग्रेस नेता सुनिलले न्यायाधीश जलाउने भनेर दिएको अभिव्यक्ति अराजकताको पराकाष्ठा भएको बताएका छन् । उनले भने, ‘दुई–दुई तहको अदालतले रविको कहिँ न कतै संलग्नता छ कि भनेर थुनामा पठाएको हो । थुनामा रहेको व्यक्तिले अनुसन्धानमा दबाब र प्रभाव पार्न सक्ने कुरालाई मध्यनजर गरेर उक्त आदेश दिएको हो ।’

‘अदालत जलाइसके अझै न्यायाधीश जलाउने दिन नआउला भन्नु अदालतको अपहेलना हो । कानून र अदालत भन्दा माथि आफूलाई राख्नु हो’ मल्ल थप भन्छन्, ‘यसमा सबैभन्दा ठुलो गल्ती सामाजिक सञ्जालको हो । सञ्जाल यतिबेला अराजकता बेच्ने प्रतिस्पर्धामा छ । यसले समाज र समग्र मानव समुदायलाई नै गतल बाटो डोर्याइरहेको छ ।’

मिडियाले बजार के बिक्छ भनेर लाग्दा यस्ता अभिव्यक्तिको जन्म भएको मल्ल बताउँछन् । उनले भने, ‘ऐन कानूनको सम्मान गर्न बिना असल राष्ट्रको कल्पना गर्न सकिँदैन । मिडियाले अराजकता र गालीगलौज बेचिरहेको छ । अर्को, एल्गोरिदमले त्यसै अनुरुप विकास गरेको छ ।’

प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलबार  १२ : १८ बजे

निर्वाचन बिथोलिन दिँदैनौँ : गृहमन्त्री अर्याल

सुदूरपश्चिम– गृहमन्त्री ओमप्रकाश अर्यालले लुटिएका हतियार र भागेका कैदीबन्दीका कारण

डविड र अर्जुनको बलियो साझेदारीले चितवनले जनकपुरलाई दियो १७७ रनको लक्ष्य

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको

कालो पट्टी बाँधेर मैदानमा उत्रिए जनकपुरका खेलाडी (तस्बिरहरू)

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको पहिलो खेलमा 

चीनद्वारा आफ्नो जलक्षेत्रमा पसेका अवैध जापानी जहाज निष्कासन

एजेन्सी– चिनियाँ जल क्षेत्रमा अवैध रूपमा प्रवेश गरेको आरोपमा जापानी

चितवनका ओपनरको दोहारो अर्धशतकसहितको बलियो साझेदारीले जनकपुरका इटनले गरे भंग

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको