जाडोमा छालाको एलर्जीबाट कसरी बच्ने ? (अन्तर्वार्ता) « Khabarhub

जाडोमा छालाको एलर्जीबाट कसरी बच्ने ? (अन्तर्वार्ता)


१६ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 5 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

जाडोमा छाला सुख्खा हुने, फुट्ने, रातो हुने, बिबिरा आउने, हातखुट्टा सुन्निने लगायतका छालासम्बन्धी विभिन्न समस्या देखिने गर्दछन् । यस्ता समस्याबाट बच्न, छालालाई चिल्लो बनाइराख्न आवश्यक हुने चिकित्सकहरू बताउँछन् । चिसो मौसममा धेरैलाई छालामा एलर्जीको समस्या देखिनुको कराण के हो ? कस्ता समस्या देखिन्छन् ? बच्न के गर्ने ? यिनै विषयमा छालारोग विशेषज्ञ डा. उमा केएलसँग गरिएको कुराकानी–

चिसो मौसममा धेरैलाई छालामा एलर्जीको समस्या देखिनुको कारण के हो ?
एलर्जी भन्ने कुरा चिसोमा मात्रै सीमित छैन । गर्मी मौसम, वर्षायाम र चिसो सबै मौसममा फरक फरक खालको एलर्जी हुन्छ । तर जाडोमा हुने एलर्जी विशेषगरी घामको हुन सक्छ । किनकी गर्मीमा त हामी गर्मी हुन्छ भनेर घामबाट जोगिन्छौँ भने जाडोमा घाम ताप्छौँ । त्यसले गर्दा घामको एलर्जी हुनसक्छ ।

त्यस्तै कसैकसैलाई उलनको कपडा लगाउँदा चिलाएर एलर्जी हुने सम्भावना हुन्छ । यसबाट जोगिन भित्र कटन कपडा लगाएर मात्रै उलनको लुगा लगाउनु उचित हुन्छ । त्यस्तै घामको हकमा कस्तो हुन्छ भने सन्सक्रिम त लगाउनुपर्छ नै । तर सन्सक्रिमले सतप्रतिशत सुरक्षा दिँदैन ।

त्यसैले बाहिर खुल्ला ठाउँमा जाँदा सन्सक्रिम लगाएर छाता ओढ्ने, ह्याट लगाउने गर्नुपर्दछ । जाडोमा धेरैजसो भाग त लुगाले ढाकिएको हुन्छ, तर लुगाले नढाकिएको अनुहार, घाँटी, हात लगायतका भागहरू जोगाउन छाता ओढ्ने लगायतका कुरामा ध्यान दियो भने चिसो मौसममा आउने एलर्जीबाट जोगिन सकिन्छ ।

एलर्जी आउँदा देखिने लक्षणहरू कस्ता कस्ता हुन्छन् ?
एलर्जी आउँदा छालामा मजाले देखिने खालको रातोपन हुनसक्छ भने कसैलाई सानो सानो बिबिरा आउन सक्छ ।

त्यो एलर्जी बढ्दै गयो भने ठूलाठूला डाबर आउनसक्छ । जाडो महिनामा प्राकृतिक ढंगले गर्मी मौसमको तुलनामा छाला सुक्खा हुन्छ । त्यसैमाथि हुने सुखापनले झनै बढाउने काम गर्छ ।

छाला सुख्खा भयो भने चिलाउँछ । त्यसैले छालालाई एकदमै राम्रो मस्चराइजर गरेर राख्नुपर्छ । चिल्लो पदार्थ नरिवलको तेल, बडी क्रिम, भ्यास्लिन लगायतको प्रयोग गर्न सकिन्छ । ओठ फुट्ने समस्या पनि चिसो मौसममा धेरै हुने भएकाले ओठलाई चिल्लो बनाइराख्न भ्यास्लिन लगाउने लगायतका कुरामा ध्यान दिनुपर्छ ।

छालामा एलर्जी आउने कुरामा खानपानले पनि फरक पार्ने हो ?
खानपानले त्यति फरक पार्दैन । यदि खानेकुराको एलर्जी हो भने त्यो जाडो मौसममा मात्रै सीमित रहँदैन । जुनसुकै मौसममा पनि आउन सक्छ । एलर्जी भन्नेबित्तिकै हामी सबैको ध्यान प्रायः खानेकुरामै जान्छ । तर धेरैजसो अवस्थामा खानेकुराले भन्दा बाहिरी कुराले एलर्जी गरेको हुन्छ ।

धुलोधुवाँ, घाम भुवादार कपडाहरू, कुनै जिवजन्तु छुँदा, करेसाबारी या बगैचामा भएका बोटबिरुवाबाट पनि कतिपयलाई एलर्जी भएको पाइन्छ ।

एलर्जी सबैलाई फरक फरक कुराको हुन्छ । जस्तै कसैलाई कुनै खानाले एलर्जी गराइरहेको छ त्यो खाना बार्नैपर्छ । कुनै पनि यस्तो औषधी छैन त्यो खाएर एलर्जी कम हुन्छ । त्यसैले कसैलाई अण्डाको एलर्जी छ भने उसले अण्डा खानै हुँदैन । तर चिसो मौसममा देखिने एलर्जी खानेकुरा भन्दा पनि वातावरणीय प्रभावले बढी देखिन्छ ।

तपाइंँले सन्सक्रिमको कुरा गर्नुभयो । सन्सक्रिमले भिटामिन डी को कमी गराउँछ भनिन्छ नि ?
भिटामिन डी हाम्रो शरीर आफैँले बनाउने एउटा भिटामिन हो । जब हाम्रो छाला घामको एक्सपोजरमा आउँछ तब भिटामिन डी बन्न सुरु हुन्छ । त्यसैले हाम्रो छालालाई अनिवार्य घाम चाहिने रहेछ मैले सन्सक्रिम लगाएर भिटामिन डीबाट बञ्चित भएँ भन्ने आम सोचाई छ ।

तर विभिन्न रिसर्च तथा साइन्सको कुरा गर्ने हो भने अहिलेसम्म कुनै पनि सन्सक्रिम लगाएर भिटामिन डी रोकिन्छ भनेर पुष्टि गरेको छैन यो एउटा भ्रम मात्रै हो ।

भिटामिन डी नलगाएको व्यक्तिमा भिटामिन डी को कमी हुने र नलगाएको व्यक्तिमा पर्याप्त मात्रामा भिटामिन डी हुन्छ भन्ने पनि छैन । सन्सक्रिम नलगाउने व्यक्तिमा पनि भिटामिन डी कमी भएको पाइएको छ ।

त्यसैले एलर्जीबाट जोगिनमात्रै होइन, घामको किरणले अनेक तरिकाबाट हाम्रो छालालाई बिगार्छ । जस्तै नराम्रो खालको तिलकोठी ल्याउने, सेतो छाला भएका व्यक्तिहरूमा छालाको क्यान्सर गराउने, अनुहारमा छिटो बुढ्यौलीपन ल्याउने जस्ता समस्या देखिन्छन् । यी सबै समस्याबाट जोगिनका लागि पनि सन्सक्रिम एकदमै महत्वपूर्ण हो ।

कुन उमेरमा कति एचपिएफको सन्सक्रिम लगाउने ?
बच्चाहरूको लागि छुट्टै किट सनब्लक भनेर पाउँछ भने वयस्कहरूका लागि पनि छुट्टै पाइन्छ । तर वयस्कहरूले लगाउने सन्सक्रिम बच्चालाई लगाइदिँदा पनि केही हुँदैन । एचपीएफ १५ देखि ५० सम्म पाइन्छ ।

बच्चाहरूको क्रिम प्रायः १५ देखि २० एचपीएफको हुन्छ । तर ४०– ५० एचपीएफ लगाउँदा पनि यसले असर केही गर्दैन । एचपीएफ भनेको कुनै केमिकल नभएर सन प्रोटेक्सन फ्याक्टर हो । जसले घामबाट कति प्रतिशत जोगाउँछ भन्ने बुझाउँछ ।

एलर्जी देखिएको कस्तो अवस्थामा अस्पताल जाने ?
अस्पताल जानुभन्दा पहिले हामीले रोकथामका उपाय अपनाउनुपर्‍यो । जस्तै आफ्नो छालालाई चिल्लो बनाएर राख्ने, नियमित सन्सक्रिम लगाउने, त्यो बाहेक अर्को महत्वपूर्ण भनेको पर्याप्त मात्रामा पानी पिउनुपर्छ । किनकी गर्मीको तुलनामा चिसोमा प्यास कम लाग्छ । प्यास लाग्दा मात्रै पानी खाएर पुग्दैन । त्यसैले सम्झेर दिनमा २ देखि ३ लिटर पानी पिउनै पर्छ ।

त्यस्तै आफूलाई कुनै कुराको एलर्जी छ भने त्यो कुराबाट जोगिनुपर्छ । जस्तै भित्र फर भएको वा उलनको लुगाबाट एलर्जी छ भने भित्र कटनको लुगा लगाउने, कुनै जीवजन्तुबाट एलर्जी छ भने जीवजन्तुको सम्पर्कमा नआउने, धुवाँधुलोको एलर्जी छ भने बाहिर हिँड्दा मास्क लगाएर हिँड्ने लगायत आफ्नो तर्फबाट गर्न सकिने सतर्कताका उपाय अपनाउनुपर्‍यो ।
यो सबै गर्दागर्दै पनि एलर्जी आइहाल्यो भने जतिसक्दो चाँडो नजिकको छालारोग विशेषज्ञलाई देखाउनुपर्छ । कुनै पनि औषधी पसल वा मेडिकलबाट औषधी किनेर खानुहुँदैन ।

अहिले हामी चिसो मौसमको सुरुवाती अवस्थामा छौँ । यतिबेला छालाको एलर्जीको समस्या लिएर कत्तिको बिरामी आउने गरेका छन् ?
एलर्जी मात्रै नभएर जाडोमा धेरै बल्झिने खालका समस्याहरू लिएर बिरामी आउने गरेका छन् । गर्मी मौसममा आफैँ हराउने तर जाडो सुरु भइसकेपछि बल्झिने खालका समस्या जुन चिसो मौसममा एकदमै धेरैलाई देखिन्छ । जुन एकदमै चिलाउने हुन्छ । त्यस्तै अर्को सोरियासिस् हो भने चिल्ब्लेस पनि धेरैलाई देखिने गरेको छ ।

जसमा हात र खुट्टाको औंलाको टुप्पोमा सुन्निने, दुख्ने चिलाउने हुन्छ । कपालमा चाया पर्ने कपालमा धेरै मात्रामा चाया परेर एकदमै चिलाउने हुन्छ । यस्ता समस्या चिसो मौसममा बल्झिन्छ । यस्तै यस्तै समस्या लिएर अहिले धेरै बिरामीहरू आइरहेका छन् । गर्मी मौसमको तुलनामा चिसोमा कपाल कम नुहाइन्छ, त्यसले गर्दा पनि चाया पर्ने समस्या धेरैलाई हुन्छ ।

कपालमा तोरीको तेल लगाउँदा पनि चाया बढाउने हो ?
कपालमा चाया भएको व्यक्तिलाई हामीले कुनै पनि तेल लगाउन सुझाव दिँदैनौँ । त्यसमा पनि तोरीको तेल च्यापच्याप धेरै हुने भएकाले नलगाउनु नै राम्रो हुन्छ । चाया भनेको एक प्रकारको फङ्गस वा किटाणु नै हो । अझ तेल लगाउँदा चाया कपालमै थुप्रिएर बस्छ र त्यसलाई झर्न दिँदैन ।

तेलले फङ्गसलाई पोषणको काम गर्छ र अझ बढाउने काम गर्छ । त्यसैले सकेसम्म चाया पर्ने समस्या भएको व्यक्तिले तेल लगाउँदै नलगाउने, लगाए पनि एक दुई घण्टा राखेर स्याम्पुले धोइहाल्नुपर्छ ।

कपाललाई दैनिक नुहाउनु हुँदैन भनिन्छ । खासमा कति दिनको फरकमा कपाल नुहाउनु राम्रो मानिन्छ ?
सामान्यतया हप्तामा २ पटक कपाल नुहाए पुग्छ । कसैलाई दैनिक नुहाउने बानी हुन्छ । स्वास्थ्यका लागि राम्रो हो । तर कपाल दैनिक नुहाउनु हुँदैन ।

कसैको कपाल धेरै चिल्लो खालको छ भने हप्तामा ३ पटकसम्म नुहाउन सकिन्छ । दैनिक कपाल नुहाउने सल्लाह भने हामीले दिँदैनौँ ।

अन्त्यमा तपाईँ छालारोग विशेषज्ञ भएको नाताले चिसो मौसममा छालालाई स्वास्थ राख्नको लागि के सुझाव दिनुहुन्छ ?
चिसो मौसममा हुने छालाको एलर्जीबाट बच्नका लागि मुख्यतया ३–४ वटा कुरामा ध्यान दिनुपर्छ ।
१) छाला चिल्लो बनाइरहने
छालालाई चिल्लो बनाउनका लागि तेल या बडि क्रिम लगाउन सकिन्छ । हाम्रोमा बडिलोसन लगाउने चलन छ । जुन राम्रो पनि हो ।
तर त्यसले हाम्रो शरीरलाई चाहिनेजति चिल्लोपना दिँदैन । त्यसैले बाक्लो खालको क्रिम या तेल लगाउनुपर्छ ।
त्यस्तै हामीले फेसवासको प्रयोग गर्दै आएका छौँ र त्यसले अलि सुख्खापन महसूस भइरहेको छ भने क्लिञ्जरको प्रयोग गर्न सक्छौं । त्यसले छालालाई सुख्खा हुन दिँदैन । वा २ पटक फेसवासको प्रयोग गर्ने गरेको छ भने एक पटक मात्रै गर्ने ।

२) पर्याप्त मात्रामा पानी पिउने
चिसो मौसममा वातावरण सुख्खा हुन्छ र हामीलाई तिर्खा पनि कम लाग्छ । गर्मी मौसमको तुलनामा पानी कम खाने गरिन्छ । त्यसैले तिर्खा नलागे पनि आवश्यकता अनुसार दिनमा कम्तिमा २ देखि ३ लिटर पानी पिउने ।

३) सन्सक्रिम लगाउने
घामबाट जोगिनको लागि सन्सक्रिम नियमित लगाउने । धुवाँधुलोको एलर्जी छ भने मास्क लगाउने लगायतका सतर्कता अपनाउनुपर्छ ।

यति गर्दागर्दै पनि छालामा केही समस्या देखियो भने जतिसक्दो चाँडो चिकित्सकलाई देखाएर उपचार गराइहल्नुपर्छ । जति ढिलो गर्‍यो, त्यति नै समस्या बल्झिनसक्छ र उपचारमा कठिनाई हुनसक्छ ।

प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलबार  १२ : ३६ बजे

कम्बोडियामा थाई सेनाको आक्रमण जारी : रक्षा मन्त्रालय

एजेन्सी – थाई सैन्य बलले मंगलबार सम्म कम्बोडियाका धेरै क्षेत्रहरुमा

चितवन उद्योग वाणिज्य संघको अध्यक्षमा सुवेदीको उम्मेदवारी घोषणा

काठमाडौं– उद्योग वाणिज्य संघ चितवनको आगामी नेतृत्वका लागि वरिष्ठ उपाध्यक्ष

यही चुनावमै बालेलनाई प्रधानमन्त्रीका रूपमा अघि सार्ने रविको योजना, यस्ता छन् मिल्ने तीन विकल्प

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी

मुस्ताङ– नेपाल–चीन उत्तरी कोरला नाका पूर्णरुपमा सञ्चालनमा आएपछि विगत दुई

राष्ट्रपतिको पहलमा तीन शीर्ष नेता र प्रधानमन्त्री कार्कीबीच पहिलो पटक प्रत्यक्ष वार्ता

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा तीन दलका शीर्ष नेता शेरबहादुर