नौ वर्षपछि दोदा नदीको पुल निर्माणले गति लिँदै « Khabarhub

नौ वर्षपछि दोदा नदीको पुल निर्माणले गति लिँदै


१९ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– जिल्लाको देखतभूली पर्सिया सडकखण्डअन्तर्गतको दोदा नदीमा पक्की पुल निर्माण कार्यले गति लिएको छ । 

ठेक्का सम्झौता भएको नौ वर्षपछि पुल निर्माण कार्य अगाडि बढेको छ । विसं २०७२ पुस २६ गते लुम्बिनी–राजेन्द्र–कुमार–श्रेष्ठ जेभीसँग पुल निर्माणका लागि २४ करोड २२ लाख ५७ हजारमा ठेक्का सम्झौता भएको थियो । 

ठेक्का सम्झौताअनुसार निर्माण व्यवसायीले कार्य गर्न नसक्दा पुल निर्माणको काम अलपत्र परेको थियो । पुलका तीन वटा पिलर खडा गरे पनि ‘पाइल टेष्ट’मा फेल हुँदा काम अगाडि बढ्न सकेको थिएन ।

‘त्यही अवस्थामा पुल निर्माणको काम अगाडि बढाउन सकिने अवस्था थिएन’, सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी हरिशप्रसाद जोशीले भने, ‘मर्मत गर्न सकिने अवस्था पनि भएन, पुलको डिजाइन नै ‘रिभ्यू’ गरेर निर्माण अहिले अगाडि बढाएका छौँ ।’

लागत नबढ्नेगरी पुलका पिलरको फाउन्डेसनको ‘डायमिटर’ बढाएर कार्य अगाडि बढाइएको उनको भनाइ छ । पहिलेको डिजाइनअनुसार पुलको डायमिटर ८० सेन्टिमिटर थियोभने अहिले बढाएर एक सय २० सेन्टिमिटर राखिएको छ । पुलको भौतिक प्रगति ५० प्रतिशत पुगेको छ । विसं २०८२ माघ २० गतेसम्म पुल निर्माण पूरा गरिसक्ने गरी म्याद थप गरिएको छ । पुलको लम्बाइ दुई सय ११ मिटर रहेको छभने चौडाइ ११ मिटर छ ।

ठेक्का सम्झौताअनुसार जेभीमा आबद्ध राजेन्द्र निर्माण सेवाले काम गर्न नसकेपछि अहिले जेभी पार्टनर कुमार श्रेष्ठले कार्य गरिरहेको छ । पुल निर्माणका लागि पहिला दिएको भुक्तानी रू १२ करोड बैंक धरौटीबाट असुलउपर गरिएको छ । निर्माण कम्पनीले रू १० करोड जतिको कार्य पूरा गरेको सूचना अधिकारी जोशीले बताए। निर्माणअनुसार पहिलो ‘रनिङ बिल’को भुक्तानी दिन काम अगाडि बढाइएको छ । बजेट अभावले भुक्तानी दिन ढिलाइ भइरहेको उनको भनाइ छ ।

लालझाडी गाउँपालिका र शुक्लाफाँटा नगरपालिकाका बासिन्दाले हिउँदयाममा नदीमा अस्थायी राखिने काठको पुलमा शुल्क तिरेर तर्दै आएका छन् । वर्षात्का बेला बाढीमा नदी जोखिम मोलेर तर्नुपर्ने स्थानीय बासिन्दाको बाध्यता  छ । पुल निर्माणले गति लिएपछि विगतको जोखिम मोलेर र शुल्क तिरेर नदी तर्नुपर्ने अवस्थाको अन्त्य हुने शुक्लाफाँटा नगरपालिका–१२ का वडाध्यक्ष नवलसिंह रानाले बताए।

‘पुल निर्माण बीचमा छाडेर निर्माण व्यवसायी बेखबर भएपछि पुल बन्ने आश छाडेका थियौँ’ उनले भने, ‘अहिले पुल निर्माणको कार्य द्रुतगतिमा अगाडि बढेकाले बन्ने आशा पलाएको छ, वर्षौैँदेखिको नदीमा जोखिम मालेर तर्नुपर्ने अवस्था अन्त्य हुने विश्वास छ ।’

शिक्षक गेंदुराम राना पुल बनेपछि वर्षात्का बेला नदीमा बाढी आउँदा लालझाडी गाउँपालिकाका बासिन्दाको जिल्ला सदरमुकामसँगको सम्पर्कविच्छेद हुने समस्या सधैँका लागि हट्ने बताउँछन् ।

प्रकाशित मिति : १९ पुस २०८१, शुक्रबार  ९ : ०१ बजे

पाल्पामा ६० क्वीन्टल अवैध युरिया मल बरामद

पाल्पा – साठी क्वीन्टल अवैध युरिया मल बरामद भएको छ

प्रधानमन्त्री र श्रीलंकाली समकक्षीबीच ४ मिनेट टेलिफोन वार्ता

काठमाडौँ– प्रधानमन्त्री सुशीला कार्की र श्रीलंकाली समकक्षी डा हरिणी अमरसुरियाबीच

जर्मनीका राष्ट्रपति स्टेनमेयर बेलायत भ्रमणमा, राष्ट्रप्रमुखको २७ वर्षपछि पहिलो राजकीय भ्रमण

लण्डन – जर्मनीका राष्ट्रपति फ्रान्क–वाल्टर स्टेनमेयरले जर्मनीको राष्ट्रप्रमुखको रूपमा २७

सिजीले हार्यो केवाइसीको मुद्दा, नयाँ विक्रेतालाई आयात र विक्रीको बाटो खुल्यो

काठमाडौं – उच्च अदालत पाटनले सिजी मोटर्स प्रालिद्वारा दायर रिट

एनपीएलको २७औँ अर्धशतक डार्सी सर्टको नाममा

काठमाडौं – लुम्बिनी लायन्सका ओपनर ब्याटर डार्सी सर्टले नेपाल प्रिमियर