काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कमिटी बैठक शनिबारदेखि दुई दिनका लागि काठमाडौंमा बस्दैछ । सहकारी ठगी प्रकरणमा सभापति रवि लामिछाने गत कात्तिक २ गते पक्राउ परेयता पहिलोपटक रास्वपाले नीति तथा कार्यक्रमबारे छलफल गर्न यो बैठक राखेको हो ।
सहकारी ठगी प्रकरणमा कात्तिक २ गते रास्वपा पार्टी कार्यालय चमतीबाट पक्राउ परेका लामिछाने अहिले कास्की प्रहरीको हिरासत कास्कीमा छन् । सभापति पक्राउ परेको नौ दिनपछि रास्वपा सचिवालय बैठक बसेको थियो ।
त्यसयता गत पुस ८ गते डीपी अर्याल कार्यवाहक सभापति भएपछि सचिवालय बैठक बसेको थियो । त्यहीबीच रास्वपाले केन्द्रीय कमिटीको भर्चुअल बैठक पनि राखेको थियो ।
त्यही बैठकले पुस २० र २१ गते केन्द्रीय कमिटी बैठक तोकेको हो । रास्वपाजन र प्रतिष्पर्धी दलहरूले यो केन्द्रीय कमिटी बैठकलाई विशेष महत्व दिएर हेरेका छन् ।
२०८१ असार २५ गते निलम्बनमा परेका महामन्त्री मुकुल ढकाललाई पार्टीमा फर्काउने चर्चाबीच बैठक हुन लागेको हो । तर, यही बैठकमा ढकाल बारेको एजेन्डाले प्रवेश पाउने सम्भावना कम छ ।
मुकुलबारे होला छलफल ?
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाले सभापति लामिछाने संकटमा रहेको अवस्थामा केही नेताले ढकाललाई पुरानै जिम्मेवारीमा फर्काउनुपर्ने तर्कहरू गरिरहेका छन् ।
तर, ढकाललाई पार्टीमा फर्काउने कुरामा नेताहरूले औपचारिक धारणा सार्वजनिक गरेका छैनन् । सभापति लामिछाने र रास्वपाबारे ढकालका अभिव्यक्तिले निरन्तर घाटा लागेको भन्दै उनीसँग धेरै नेता असन्तुष्ट छन् ।
सभापतिविरुद्धको मुद्दा अदालतमा अड्किरहेको अवस्थामा पार्टी बचाउन मुकुललाई पुरानै जिम्मेवारी दिनुपर्ने तर्क केही नेताले गरिरहेका छन् ।
बुधबार मात्रै कोशी प्रदेश कमिटी सभापति राजेश तिम्सिना र मधेस प्रदेश सभापति तपेश्वर यादवले मुकुललाई जिम्मेवारीमा फर्काउन माग गर्दै कार्यवाहक सभापति डीपी अर्याललाई पत्र पठाए । ढकालबारे दुई प्रदेशका सभापतिको पत्र कार्यवाहक सभापतिलाई आएको पुष्टि प्रवक्ता मनिष झाले गरेका छन् ।
‘मधेस र कोशी सभापतिले कार्यवाहक सभापतिलाई पत्र पठाउनुभएको छ । पत्रबारे पार्टीले छलफल गर्ला । तर, यही केन्द्रीय कमिटीमा यो एजेन्डा प्रवेश गर्दैन’, झाले खबर हबसँग भने, ‘अस्तिको सचिवालय बैठकले एजेन्डा तय गरिसकेको छ । त्यसपछि प्रदेश सभापतिद्वयको पत्र आएको हो । साथीहरूले छलफलको विषय बनाउनुहोला, तर एजेन्डा बन्दैन ।’
महामन्त्री भइसकेको व्यक्तिले पार्टीबारे जथाभावी बोल्दै हिँडेकाले ढकालको विषयमा अहिले नै नयाँ निर्णय हुनसक्ने अवस्था नरहेको झाले बताएका छन् ।
‘राजनीति गर्ने मान्छेसँग सिद्धान्त, विचार र इमान हुनुपर्छ । उहाँ डाक्टरजस्तो मान्छेले तथ्यबाहिर गएर जथाभावी बोल्न मिल्दैन । उहाँलाई जिम्मेवारीमा फर्काउने या नफर्काउने निर्णय केन्द्रीय कमिटी बैठकले गर्छ । तर, अहिलेकै केन्द्रीय कमिटीमा यो एजेन्डा प्रवेश गराएर निर्णय गर्नुपर्ने हतारो छैन ।’
रास्वपाका केही नेताले भने ढकालले पार्टीसँग माफी मागेर पत्र पठाउनुपर्ने बताइरहेका छन् । ‘ढकालले आफ्ना गल्ती सच्याउँदै माफी मागेर पत्र पठाउनुपर्छ’, रास्वपाका एक नेताले खबरहबसँग भने, ‘पार्टीमा विश्वसनीयता र जिम्मेवारीको कुरा हुन्छ । उहाँले माफी मागेर पत्र पठाउनुपर्छ । सार्वजनिक रूपमा सच्चिँदै गल्ती नस्वीकारेसम्म साधारण सदस्य पनि दिन सकिँदैन ।’
रास्वपाका केही नेताहरूले महामन्त्रीको मनपरीविरुद्ध संगठन एक भएर लाग्नुपर्ने अवस्था आएको तर्क गरेका छन् । ‘घरी स्वर्णिम वाग्लेलाई गाली गरेको छ, घरी कसलाई मैले सांसद बनाएँ भनेर हिँडेको छ, बोलीको भर छैन’, ती नेताले भने, ‘सभापतिको साथ मिल्दा कसैलाई गन्दैनथे । सभापतिसँग मनमुटाव भएपछि हामीमाथि खनिए । सुरुबाटै सभापतिका कुरा उनलाई थाहा थियो भने हामीलाई भन्नुपर्थ्यो । तथ्यबिना राजनीति गर्नेले जथाभावी बोल्दै हिँड्न पाइन्छ र ?’
ती नेताले सभापतिका पनि कमजोरी रहेका स्वीकार्दै मुकुललाई पनि ठीक भन्न नसकिने तर्क गरे । थपे, ‘सभापतिको गल्ती छैन भन्दैनौँ । मुकुलको त्यो प्रवृत्ति पनि बोकेर हिँड्न सकिँदैन । राजनीति गर्नेले समस्या भए पहिले पार्टीमा छलफल गर्छ । त्यहाँबाट पार नलागे सार्वजनिक रूपमा बोल्छ । उहाँ त सञ्चारमाध्यममा बुरुक्क गर्दै बोलिरहनुभयो ।’
रास्वपा नेताहरू अन्य दलमा गए पनि मुकुलले बदनाम गर्दै हिँड्न सक्ने उनी बताउँछन् । जथाभावी बोल्दै हिँडेका मुकुलले अहिले केही प्रदेश सभापतिहरूलाई उचालेर आफ्ना लागि पत्र पठाउन लगाएको एकजना रास्वपा नेताले जिकिर गरेका छन् ।
मुकुललाई फर्काउन कति सम्भव ?
यो केन्द्रीय कमिटी बैठकमा केही केन्द्रीय सदस्य र प्रदेशका सभापतिले मुकुलबारे आवाज उठाउन सक्ने सम्भावना छ ।
उनीहरूले केन्द्रीय कमिटीको आगामी बैठकमा मुकुलबारे बोले पनि उनलाई पार्टीमा फर्काउने निर्णय नहुने रास्वपा सचिवालयका अर्का नेता बताउँछन् ।
तर, ढकालले सार्वजनिक रूपमा माफी माग्दै पत्र पठाएमा अर्को केन्द्रीय कमिटी र सचिवालय बैठकले उनलाई साधारण सदस्यता दिने सम्भावना छ ।
रास्वपा सचिवालयका एक सदस्यले भने, ‘महामन्त्रीमा फर्काउने कुरा अहिलेलाई कथा हो । उहाँले आत्मालोचना गरेर पत्र पठाए साधारण सदस्य दिन सकिन्छ । पार्टीमा यसबारे पनि छलफल हुन्छ ।’
मुकुलले माग्लान् माफी ?
केही दिनयता मुकुल पार्टी केन्द्रीय र सचिवालयका सदस्यसँग फोन सम्पर्कमा छन् । उनी नेताहरूको मन बुझ्ने कोसिसमा लागेका छन् ।
यदि सहकारी प्रकरणमा सभापति लामिछाने जेल जाने अवस्था आए आत्मालोचना गराएर मुकुललाई फर्काउने तयारी पनि केही नेताले गरिरहेका छन् ।
तर, यसबारे मुकुलले पनि ठोस धारणा ल्याएका छैनन् । मुकुलले आफूले गल्ती महसुस गरेको अवस्थामा सभापतिको पनि गल्ती प्रमाणित भएको तर्क रास्वपा नेताहरूसँग गरिरहेका छन् ।
‘मुकुल केही समयअघि अन्य पार्टीमा जाने चर्चा थियो । तर, मेसो नमिलेपछि उनी रास्वपामै सक्रिय हुने योजनामा छन्’, ती नेताले भने, ‘अहिले मुकुल माफी माग्ने अवस्थामा पुगेका छन् ।’
तर, यसबारे उनले केही खुलाउन चाहेनन् । मुकुलनिकट एक नेताका अनुसार महाधिवेशनअगाडि पार्टीको साधारण सदस्यता लिनेगरी छलफल भइरहेको छ । त्यसकै लागि उनले नेताहरूसँग छलफल गरेका हुन् ।
यस्ता छन् आगामी बैठकका एजेन्डा
महाधिवेशन तयारी : रास्वपाले वैशाख तेस्रो साता महाधिवेशन गर्न लागेको छ । यसका लागि हिमाली बाहेकका ६० जिल्लामा अधिवेशन र भेला भइसकेको छ । समयमै महाधिवेशन हुनेमा नेताहरू ढुक्क छन्।
तर, सभापति लामिछाने जेल गए रास्वपाले समयमै महाधिवेशन गर्नेमा प्रश्न उब्जिएका छन् । यसबारे पनि छलफल गर्न केन्द्रीय कमिटी बैठक बोलाइएको हो ।
‘अहिलेसम्म महाधिवेशन हुने पक्कापक्की छ । तर, केन्द्रीय सदस्यहरूसँग छलफलमार्फत निर्णय गर्दा राम्रो हुने कुरा छ । अबको बैठकमा यसमा छलफल गर्ने एजेन्डा छ’, रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले खबरहबलाई भने, ‘रास्वपा धेरै कुरामा अघि बढ्न बाँकी भएकाले केन्द्रीय कमिटी बैठक राखिएको हो । बैठकमा महाधिवेशनबारे पनि थप निर्णय हुनेछ ।’
कार्यवाहक सभापति अर्याल पनि तोकेकै समयमा महाधिवेशन गर्न जिल्ला भेला गरिरहेको बताउँछन् । ‘सभापतिको कुरा एक ठाउँमा छ । रास्वपाले आफ्नो काम गरिरहेको छ । राष्ट्रिय भेलाले तय गरेको मितिमै महाधिवेशन गर्ने निर्णय छ’, अर्यालले खबरहबलाई भने, ‘केन्द्रीय कमिटीमा पनि यसबारे छलफल हुनेछ, त्यसपछि अर्को निर्णय आउला ।’
उपनिर्वाचनको समीक्षा
मंसिर १६ गते ४२ स्थानमा भएको उपनिर्वाचनमा रास्वाले अपेक्षित परिणाम ल्याएन । २६ स्थानमा उम्मेदवारी दिँदा काठमाडौं–१६ मा मात्रै जितेको छ । कीर्तिपुरको मेयर र दुई वडाध्यक्षमा उम्मेदवारी नै नदिएको रास्वपाले काठमाडौं १६ मा जितेर सहरी क्षेत्रका मतदातामा अझै पकड रहेको सन्देश दिएको छ ।
काठमाडौं-१६ मा रोजिना श्रेष्ठ विजयी हुँदा अरू २५ स्थानमा रास्वपा कमजोर सावित भयो । कीर्तिपुरमा उम्मेदवारी नदिएको विषय र अन्य स्थानको परिणामबारे पनि समीक्षा गर्ने तयारी छ ।
अब रास्वपाले देशभर संगठनात्मक संरचना बनाएर जाने रणनीति तय गर्नेगरी छलफल हुने रास्वपा नेता शिशिर खनाल बताउँछन् ।
कार्यदिशा निर्धारण
गत वर्ष महोत्तरीको जलेश्वर बैठकमा प्रस्तुत प्रतिवेदन र राष्ट्रिय भेलामा पेश भएको सभापतिको राजनीतिक प्रतिवेदनका आधारमा आगामी कार्यदिशा तय गरिने भएको छ ।
यी विषयमा बैठकको दोस्रो दिन २१ गते छलफल हुने प्रवक्ता मनिष झाले बताए । यसअघि नै राष्ट्रिय भेलाले विधान बनाइसकेको छ। तर, विधान केन्द्रीय कमिटीबाट पारित भएको छैन ।
उक्त विधान अहिले केन्द्रीय सदस्यले अध्ययन गरिरहेका छन् । त्यसपछि सुझावसहित पारित गर्ने तयारी छ । राजनीतिक प्रतिवेदन र विधान पारित भएपछि त्यसकै आधारमा पार्टी अघि बढ्नेछ ।
समसामयिक विषय
बैठकमा सभापति रवि लामिछाने जेलै जानुपर्ने अवस्था आएमा कसरी अघि बढ्ने भन्ने छलफल हुनेछ । सरकारले प्रतिशोध साँधेर लामिछानेलाई लामो समय हिरासतमा राखेर तीनवटा मुद्दा लगाएको आरोप रास्वपाको छ ।
रास्वपाले कार्यवाहक जिम्मेवारी पाएकालाई महाधिवेशनसम्म पूरै जिम्मेवारी दिने तयारी गरेको छ । अहिले रास्वपा कार्यवाहक सभापतिमा अर्याल, कार्यवाहक महामन्त्रीमा कविन्द्र बुर्लाकोटी र कार्यवाहक प्रवक्ता झालाई तोकिएको छ ।
संसद्को हिउँदे अधिवेशन सुरु हुन लागेकाले रास्वपाले संसदीय दलको नेता पनि चुन्न सक्नेछ । विधानतः अहिले रास्वपा संसदीय दलको नेता विराजभक्त श्रेष्ठ नै हुन् । उनैलाई जिम्मेवारी दिने तयारी छ ।
सङ्गठन विस्तार
रास्वपाले पालिकादेखि वडासम्म सङ्गठन विस्तारको योजना बनाएको छ । रास्वपाले सरकारी कर्मचारीबाहेक अन्य क्षेत्रमा संगठन बनाउनुपर्ने आवश्यकता महसुस गरेको नेता खनाल बताउँछन् ।
खनालका अनुसार सरकारी कर्मचारी र शिक्षकबाहेक अन्य क्षेत्रमा संगठन बनाउनेबारे बैठकमा छलफल हुनेछ । स्थानीय तह र वडामा सङ्गठन आवश्यक रहेको खनाल बताउँछन् ।
‘अरू जस्तो भद्दा संगठन होइन, छरितो आवश्यक हुने रहेछ । निर्वाचनमा महसुस भएको छ’, खनालले खबरहबसँग भने, ‘पालिकामा आठदश जनाको र वडामा चारपाँच जनाको संगठन निर्माण योजना बनाएका छौँ ।’
यता प्रवक्ता झा स्ववियु निर्वाचन आएकाले विद्यार्थीको संगठनबारे छलफल गर्नुपर्ने बताउँछन् । केन्द्रीय कमिटीका साथीहरूले दिने सुझावअनुसार नेता उत्पादन गर्ने थलोका रूपमा विद्यार्थी संगठनलाई लिँदैछौँ । यसमा पनि केन्द्रीय कमिटीमा छलफल हुनेछ । स्ववियु निर्वाचन फागुन १५ गते हुँदैछ ।
रास्वपा विधानमा विद्यार्थी सङ्गठनबारे केही व्यवस्था छैन । यस्तै किसान र मजदुरतिर पनि रास्वपाले संगठन बनाएको छैन । संगठनात्मक संरचना विस्तार र निर्माणबारे पनि केन्द्रीय कमिटीमा छलफल हुने नेताहरूले बताएका छन् ।
यस्ता छन् अन्य एजेन्डा पत्रसहित
प्रतिक्रिया