पन्ध्रौं महाधिवेशनमा के गर्लान् कांग्रेसका सात ‘भेट्रान’ ? | Khabarhub Khabarhub

पन्ध्रौं महाधिवेशनमा के गर्लान् कांग्रेसका सात ‘भेट्रान’ ?

महाधिवेशन नतोकिँदै सभापतिमा आधा दर्जनको दाबी


१९ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : 5 मिनेट


849
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ७५ वर्ष लामो राजनीतिक विरासत बोकेको नेपाली कांग्रेसमा विधानबमोजिम निर्धारित समयमै नयाँ नेतृत्व चयन गरेको इतिहास छैन ।

यसबीचमा कांग्रेसले १४ वटा महाधिवेशन गरिसकेको छ । १५ औँ महाधिवेशनको संघारमा पुगिसक्दा कांग्रेसले निर्धारित समयमै महाधिवेशन गर्ने छाँटकाँट देखाएको छैन ।

यद्यपि, कांग्रेसमा निर्धारित समयमै महाधिवेशन हुनुपर्ने र पार्टी परम्परा देखाएर केही समय धकेल्ने बहसको सुरूवात भइसकेको छ ।

सभापति शेरबहादुर देउवाले पार्टी विधानको अधिकार प्रयोग गरेर एक वर्ष समयावधि नथपे आगामी मंसिरमा १५औँ महाधिवेशन हुनेछ । १४औँ महाधिवेशनबाट दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित देउवाको चार वर्षे कार्यकाल पूरा हुन ९ महिना बाँकी छ ।

२०७८ मंसिर २४ गते कांग्रेसले काठमाडौंको भृकुटीमण्डपमा १४औँ महाधिवेशन गरेको थियो । उक्त महाधिवेनका दुवै गुटलाई पछिल्लो समय १५औँ महाधिवेशनले छोइसकेको छ ।

संस्थापन इतर समूहबाट यसअघिका सभापतिका उम्मेदवार डा. शेखर कोइराला र महामन्त्री गगनकुमार थापाले आन्तरिक तयारी थालिसकेका छन् । उनीहरूले आन्तरिक तयारी सुरू गरेपछि संस्थापन समूहका ‘भेट्रान’ नेताहरू पनि जुर्मुराएका छन् ।

इतर समूहका नेताद्वय कोइराला र थापाले सभापतिका लागि तयारी बढाएपछि १४औँमा सभापति पदमा उम्मेदवारी दिएकादेखि तत्कालीन समयका आकांक्षी नेताहरू पनि सक्रिय हुन थालेका छन् । लामो समयदेखि सभापति देउवासँग रहेर राजनीति गर्दै आएका अन्य नेताहरू पनि आकांक्षीका रुपमा देखिएका हुन् ।

संस्थापन समूहबाट सभापति पदका दाबेदारमध्ये उपसभापति पूर्णबहादुर खड्का एक नेता हुन् । उनले आसन्न महाधिवेशनमा सभापति पदमा उठ्ने संकेत गरिसकेका छन् । रुपन्देहीको भैरहवाबाट आइतबारमात्रै उपसभापति खड्काले १५औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिन सक्ने संकेत गरेका हुन् ।

‘म आफैँ पनि नेविसंघको साधारण सदस्य, इकाइ सदस्य, सभापति, नेविसंघको केन्द्रीय सदस्य, जिल्ला उपाध्यक्ष र अध्यक्ष हुँदै अहिले उपसभापति छु,’ खड्काले भनेका थिए, ‘कांग्रेस भनेको स्वच्छ प्रतिस्पर्धा भएको पार्टी हो । हरेक सम्भावना भएको पनि पार्टी हो ।’

खड्काले कांग्रेस व्यापक सम्भावना भएको पार्टी भएकाले आफू सभापतिका लागि तयार रहेको जनाउ दिए । ‘अहिलेका सभापति (शेरबहादुर देउवा) पनि मेरो जस्तै त्यही तहमा हुँदै–हुँदै सभाति बन्नु भएको हो,’ उनको भनाइ थियो, ‘पार्टीको मर्यादालाई कायम राख्दै सबै तहको नेतृत्वसँग गुनासा छन् भने राख्न सक्ने गरी नेतृत्वको विकास गरी आएको पार्टी हो ।’

खड्का अहिले उपसभापतिसँगै कांगेसमा गुट निर्माण गर्ने थलोका रूपमासमेत लिइने केन्द्रीय नीति, अनुसन्धान प्रशिक्षण प्रतिष्ठानको नेतृत्व गरिरहेका छन् । गत महाधिवेशनमा उनले संस्थापन समूहबाट उपसभापति पदमा उम्मेदवारी दिएका थिए । १४औँ महाधिवेशनका चार हजार ७४३ महाधिवेशन प्रतिनिधिमध्ये दुई हजार १२१ मतसहित विजयी भएका थिए ।

संस्थापन समूहबाट पूर्वउपसभापति विमलेन्द्र निधि पनि सभापतिका आकांक्षीमध्येमै पर्छन् । तथापि, उनले उम्मेदवारीबारे मुख खोलिसकेका छैनन् । गत महाधिवेशनमा निधि संस्थापन समूहबाट ‘विद्रोह’ गर्दै ‘बागी’ बनेका थिए । निधिलाई २५० मत खसेको थियो । उनले पनि दोस्रो चरणमा तत्कालीन प्रधानमन्त्री देउवालाई सघाएका थिए ।

गत महाधिवेशनमा देउवाले निधिसँग यसपल्ट आफूलाई सघाएर आगामी महाधिवेशनको तयारी गर्न सुझाएका थिए । तर, उनी देउवासँग आश्वास्त भएनन् । कांग्रेसमा कतिपय १४औँमा ‘बागी’ नभएको भए यसपल्ट निधि नै संस्थापनबाट निर्विकल्प हुने अवस्थाको अनुमान पनि गर्छन् ।

कांग्रेस उपसभापति रहिसकेका उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह पनि सभापति पदका आकांक्षीमा पर्छन् । उनले आइतबारमात्रै सुर्खेतबाट पार्टीको १५औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने संकेत गरिसकेका छन् ।
सुर्खेत विमानस्थलमा सञ्चारकर्मीसँग सिंहले भने, ‘आसन्न महाधिवेशनलाई लिएर आन्तरिक रस्साकस्सी बढ्दो छ । सभापति पदका लागि विभिन्न नेताको दाबी छ । जुन पदमा म छु, त्योभन्दा तल जान तयार छैन ।’

सुर्खेतबाट आएको सिंहको पछिल्लो भनाइलाई गत महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिइसकेका कारण आशन्न महाधिवेशनमा सभापति पदभन्दामुनि उम्मेदवारी दिन इच्छुक नरहेको संकेतका रूपमा लिइएको छ ।

मन्त्री सिंह १४औं महाधिवेशनमा सभापतिमा उठेका थिए । उनको पक्षमा ३७१ मत खसेको थियो । नेतृत्व चयन प्रक्रिया दोस्रो चरणमा गएपछि उनी देउवाको पक्षमा खुलेका थिए । कूल खसेको मतको ५१ प्रतिशत ल्याउन नसेकपछि तत्कालीन प्रधानमन्त्री देउवा सहयोगका लागि चाक्सीबारी पुगेका थिए ।

१४औँ महाधिवेशनमा एकसाथ चुनावी प्रतिष्पर्धामा उत्रिएका अन्य उम्मेदवार भने सिंहको गुटमा छैनन् । सिंह प्यानलबाट उपसभापतिमा उम्मेदवारी दिएकी नेतृ सुजाता कोइराला सभापतिका आकांक्षी डा. शेखर कोइरालासँग छिन् । यस्तै सिंहको प्यानलबाट महामन्त्रीमा विजयी विश्वप्रकाश शर्मा अर्का महामन्त्री गगनकुमार थापासँग छन् ।

शशांक कता ?

पूर्वमहामन्त्री डा. शशांक कोइराला १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने तयारीमा छन् । कोइरालाले गत पुस २८ मा दाङ पुगेर भनिसकेका छन्, ‘आउँदो महाधिवेशनमा सभापतिका लागि कुरा चलिरहेको छ, म पनि लड्छु कि भन्ने प्रश्न छन् । शेखर दाइ हुनुहुन्छ, गगन थापालगायत छन् ।’ शशांक पनि पछिल्लो समय जिल्ला दौडाहमा छन् ।

१४औँ महाधिवेशनमा शशंक मौन बसे । उक्त महाधिवेशनको पूर्वसन्ध्यामा डा. शेखर कोइराला र शशांकले संयुक्त पत्रकार सम्मेलन गर्ने तयारी थियो । तर, तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न भन्दै बालुवाटार पुगेका शशांक ऊर्जामन्त्री दीपक खड्कासहित हेलिकप्टर चढेर संखुवासभा पुगेका थिए ।

संस्थापन समूहबाट सभापतिको आकांक्षा राखेका निधि, सिंह र कोइराला तीनै जनाले एकसाथ ‘लन्च मिटिङ’ गरेर आशन्न महाधिवेशनको आन्तरिक तयारी गरिसकेका छन् । पार्टीमा ‘नेतापुत्र’का रूपमा चिनिने नेतात्रय निधि, सिंह र कोइरालाले गत महाधिवेशनमा पनि अहिलेकै शैलीमा ‘लन्च मिटिङ’हरू गरेका थिए । तर, अन्तिम समयमा कोइरालाबाहेक निधि र सिंह प्रतिस्पर्धामा उत्रिए ।

के गर्लान् सिटौला ?

संस्थापन समूहबाट पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई पनि आगामी महाधिवेशनमा सभापति पदका सम्भावित उम्मेदवारका रूपमा लिने गरिएको छ । गत फागुन २ गते सभापति देउवालाई १४औँ मा सघाएका र लामो समयदेखि उनीसँगै रहेका अन्य १० जना नेतासहित बूढानीलकण्ठ पुगेका थिए ।

संस्थापन समूहबाट भावी उम्मेदवार तोक्नुपर्ने मागसहित बूढानीलकण्ठ पुगेका सिटौलासहितका ‘११ भाइ’ ले सभापति देउवासँग झण्डै अढाई घन्टा छलफल गरेका थिए ।

नेपाली राजनीतिका चतुर खेलाडी मानिने सिटौलाले सभापति देउवालाई भेटेको आठ दिनपछि (फागुन १०) आफूनिकट नेताहरूलाई चण्डोलस्थित निवासमा डाकेर महाधिवेशनबारे आन्तरिक छलफल गरेका थिए । सिटौलानिकट नेताहरूको उक्त भेलाले पार्टीको संस्थापन पक्षका राजनीतिक गतिविधिलाई प्रभावकारी ढंगले अघि बढाउने निष्कर्ष निकालेको थियो ।

भेलामा केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईं, बागमती प्रदेशका मन्त्रीसमेत रहेका केन्द्रीय सदस्य कुन्दन काफ्ले, कोशी प्रदेशका मन्त्री भूपेन्द्र राई, पूर्व रक्षामन्त्री भिमसेनदाश प्रधान सहभागी थिए । यस्तै पार्टीका बागमती प्रदेश महामन्त्री राजु श्रेष्ठ, गण्डकी प्रदेश सांसद जीत शेरचन, तारकेश्वर नगर प्रमुख कृष्णहरि महर्जन पनि उक्त भेलामा थिए ।

१४औँ महाधिवेशनमा सभापतिका लागि आकांक्षी देखिएका सिटौलाले आफूनिकट युवा नेता प्रदीप पौडेललाई संस्थापन समूहबाट महामन्त्रीको उम्मेदवार बनाए । तर आफू भने पछि हटे । उनले त्यसअघि १३औँ महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गरेका थिए ।

नेता सिटौलाले दोस्रो चरणमा सघाएपछि देउवा १३औँ महाधिवेशनमा पहिलोपल्ट सभापतिमा निर्वाचित भएका थिए । यसअघिका दुई महाधिवेशनमा देउवालाई सभापति बनाउन भूमिका खेलिसकेका उनी १५औँमा देउवाकै समर्थन लिने प्रयासमा छन् ।

सभापति देउवाको समर्थनमा १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने आकांक्षा राख्ने अर्का नेता हुन्– गोपालमान श्रेष्ठ । कांग्रेस विभाजन हुँदा सभापति देउवालाई सघाएका नेता श्रेष्ठले पछिल्लो समय आफूमाथि लगाएको गुन तिर्न सभापतिको उम्मेदवार बनाउनुपर्ने तर्क गर्दै आएका छन् । भावी नेतृत्वको तयारीबारे उनले आफूलाई संस्थापन समूहको सर्वमान्य नेताका रूपमा प्रस्तुत गर्ने गरेका छन् ।

‘सर्वमान्य त मै हुँ नि ! सबैले मान्न सक्ने, मेरो नेतृत्वमा भए कसैले हामी जुनियरको मुनि बस्दैनौँ भन्नु पर्दैन । म त सबैभन्दा सिनियर हो नि !,’ उनले नेपालप्रेसलाई दिएको अन्तरवार्तामा भनेका छन्, ‘संस्थापन पक्षमा मात्रै होइन, सिनियरको हिसाबले शेरबहादुरपछि म हुँ । रामचन्द्रजी हुुनुहुन्थ्यो, उहाँ राष्ट्रपति भइहाल्नुभयो । त्यसैले मलाई च्यालेन्ज गर्ने नेता छैन कांग्रेसभित्रै ।’

पार्टी विभाजनपछि गठित कांग्रेस (प्रजातान्त्रिक)को कार्यवाहक सभापति बनेका श्रेष्ठले कारागारमा कैद रहेका बेला देउवालाई पार्टी सभापति बनाएका थिए । त्यही गुन देउवाले तिर्नुपर्ने श्रेष्ठका अभिव्यक्तिमा बेला–बेला झल्किन्छ । सभापति देउवाले उनलाई अघिल्लो कार्यकालमा संगठन विभाग प्रमुख बनाएका थिए ।

प्रकाशशरण पनि

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत पनि संस्थापन समूहबाट सभापतिका आकांक्षीमध्येमा पर्दछन् । तर, उनले मुख भने खोलिसकेका छैनन् । सभापति देउवा भेट्न ‘११ भाइ नेता’ बूढानीलकण्ठ पुगेको भोलिपल्ट (फागुन ३) चितवनमा प्रवक्ता महतले नेतृत्वका लागि अहिले नै दौडिनु पर्ने पक्षमा आफू नभए पनि नेतृत्वका लागि कुनै कोणबाट कम नभएको बताएका थिए ।

‘चार वर्षे अवधि पूरा हुन झण्डै एक वर्ष बाँकी छ । एक वर्ष थप्ने प्रचलन नै भइसक्यो । त्योभन्दा अगाडि अधिवेशन तयारी पुग्दैन । कम्तीमा दुई वर्ष यसै छ । अहिल्यैदेखि दौड किन लगाऔँ ?,’ महतले भनेका थिए, ‘जहाँसम्म योग्यताको प्रश्न छ । जति पनि साथीभाइ म–म भनेर हिँड्नुभएको छ, उहाँहरूभन्दा कुनै पनि कोणबाट, कुनै पनि पृष्ठभूमिबाट कम मैले आफूलाई ठानेको छैन ।’

गत महाधिवेशनमा संस्थापन समूहबाट महामन्त्रीमा भिडेका महत असफल बन्न पुगेका थिए । उनको पक्षमा एक हजार ५५६ मत खसेको थियो । महामन्त्रीमा प्रतिष्पर्धीमध्येका गगनकुमार थापा तीन हजार २३ र विश्वप्रकाश शर्मा एक हजार ९८४ मतसहित विजयी भएका थिए ।

प्रकाशित मिति : १९ फाल्गुन २०८१, सोमबार  ५ : ३६ बजे

युएईमा भारतीय महिलालाई मृत्युदण्ड

काठमाडौं – संयुक्त अरब इमिरेट्स (युएई)मा भारतीय महिला शहजादी खानलाई

दिवंगत पत्रकार पुडासैनीको पारिश्रमिक नदिए कडा आन्दोनल गर्ने महासंघको चेतावनी

काठमाडौं – नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेश समितिले यसै वर्ष

नेमकिपाको नयाँ नेतृत्व चयन मङ्गलबार

भक्तपुर – नेपाल मजदुर किसान पार्टीको आठौँ महाधिवेशन लम्बिएको छ

बङ्गलादेशको राजधानीको एक होटलमा आगलागी हुँदा ४ जनाको मृत्यु

ढाका – बङ्गलादेशको राजधानी ढाकाको एक आवासीय होटलमा सोमबार भएको

मिथिला मध्यमा परिक्रमामा ‘हेल्प डेस्क’ सञ्चालन

जलेश्वर – मिथिला मध्यमा परिक्रमाका भक्तजनको सुविधाका लागि नेपाल–भारत खुला