बराह सहकारीमा १० अर्ब बढी हिनामिना, सञ्चालक बाबुछोराले मात्रै सवा ५ अर्ब गायब पारेको अभियोग | Khabarhub Khabarhub

बराह सहकारीमा १० अर्ब बढी हिनामिना, सञ्चालक बाबुछोराले मात्रै सवा ५ अर्ब गायब पारेको अभियोग

दुई सय ६२ जनाविरुद्ध मुद्दा, पक्राउ परेकासँग धमाधम बयान



सुनसरी– सर्वसाधारणले सहकारीमा बचत गरेको १० अर्ब ७३ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना तथा अपचलन गरेको कसुरमा २ सय ६२ जनाविरुद्ध सुनसरी जिल्ला अदालतमा अभियोगपत्र दर्ता भएपछि समातिएकाहरूको बयान जारी छ । 

जिल्ला सरकारी वकिल कार्यालय सुनसरीले बराह बचत सहकारी संस्थाको रकम हिनामिनामा संलग्न बराह सहकारीका सञ्चालक, कर्मचारी र ऋण लिएर नतिर्ने ऋणीलाई पनि प्रतिवादी बनाउँदै गत बिहीबार अभियोग पत्र दायर गरेर पक्राउ परेकाको बयान लिन थालेको हो । 

धरानस्थित बराह बचत तथा ऋण सहकारीले सर्वसाधारणले बचत गरेको रकम अपचलन गरेको भन्दै २ सय ६२ जना मध्ये ११ जनाको बयान लिन थालेको श्रेस्तेदार टिकेन्द्र जङ्ग राणाले बताए । उनका अनुसार ११ जनामा ८ जनाको बयान सकिएको छ ।

 उनले भने, ‘सोमबार बयान सकिएमा सम्भवतः मंगलबारदेखि थुनछेक बहस सुरु हुने छ । त्यसपछि तारेख, धरौटीमा रिहा गर्ने वा पुर्पक्षको लागि पठाउने कि के गर्ने आदेश आउँछ ।’

बराह सहकारीको नाममा रकम हिनामिना तथा अपचलन गरेको जाहेरी परेपछि जिल्ला प्रहरी कार्यालय सुनसरीले प्रहरी निरीक्षक दिनेश अधिकारीको संयोजकत्वमा गठित टोलीले छानबिन तथा अनुसन्धान गरेको थियो ।

प्रहरी निरीक्षक अधिकारीको अनुसन्धान प्रतिवेदनले कुल १० अर्ब ७३ करोड ४३ लाख ४७ हजार ९ सय १३ रुपैयाँ रकम हिनामिना तथा अपचलन गरी ठगी भएको निष्कर्ष निकाल्दै अदालतमा अभियोग पत्र दायर भएको हो । ४ सय ४० पेजको अभियोग पत्र छ ।

अभियोग पत्र दायर गर्नुअघि प्रहरीमा ४ हजार १ सय ६८ जना पीडितहरूले २ सय ८१ वटा जाहेरी दिएका थिए । सहकारी पीडितहरूको सङ्ख्या ४ हजार ७ सय ७२ जना खुलेको थियो । अभियोग पत्र दायर, बयान र बहस चलिरहँदा अझै जाहेरी सङ्ख्या आउन सक्ने र पीडित सङ्ख्या पनि बढ्ने अनुमान गरिएको छ । 

अभियोग पत्रअनुसार सुनसरी जिल्ला अदालत मुद्दा दायर भएकामध्ये ३५ जनालाई संगठित अपराध निवारण ऐन २०७० र सहकारी ऐन २०७४ बमोजिम कसुरमा सजायको माग दाबी गरिएको छ ।

यसैगरी २१० जना ऋणीसहित २२२ जनालाई सहकारी ऐन २०७४ बमोजिमको कसुरमा सजाय माग गरिएको छ । बराह सहकारी र तिनका सञ्चालकसँग जोडिएका पाँच वटा कम्पनीलाई पनि सम्पत्ति जफत गर्ने उद्देश्यले प्रतिवादी बनाइएको छ । 

पक्राउ परेर बयान दिनेहरूमा ललितपुर नगरपालिका–१३ नख्खु बस्ने नायारणी बराह ज्वेलरीका संस्थापक तथा शेयर धनी ३३ वर्षीय विक्रम गजमेर (डिल्लीबजार कारागारमा कैद भुक्तान गरिरहेका), धरान–१२ बस्ने बराह बचत तथा ऋण सहकारीका लेखा सुपरिवेक्षण समिति संयोजक, बराह सहकारीकै ऋण तथा सापटी असुली समिति सदस्य, नारायणी बराह ज्वेलरी प्रालिका संस्थापक तथा शेयर धनी ४१ वर्षीय सुमिन भन्ने सुदिन विक छन् ।

विराटनगर–३ घर भई बराह सहकारीका सञ्चालक समिति सदस्य ७३ वर्षीया विष्णुकुमारी तुलाधर, बराह सहकारीका सञ्चालक सदस्य तथा बराह ज्वेलरी इण्डष्ट्रिज प्रालिको गेटवे सफ्टवेयर प्रयोगकर्ता कर्मचारी ३६ वर्षीया फुलकुमारी भन्ने फूलमाया राई, धरान–१५ बस्ने बराह सहरकारीका प्रबन्धक तथा लेखापाल ३५ वर्षीय अपना श्रेष्ठ, धरान ११ बस्ने ५१ वर्षीय जतन माया विश्वकर्मा, धरान–१५ बस्ने सहकारीका ऋण उपसमितिका सदस्य तथा ग्राहक सेवा कर्मचारी र बराह ग्रुप १ नम्बर प्रदेश सचिवालय सदस्य ३३ वर्षीया अस्मिता भण्डारीको पनि बयान हुँदैछ ।

उता धरान १८ बस्ने ४५ वर्षीय शौराज भन्ने अम्बर बहादुर विश्वकर्मा, धरान–१६ बस्ने सहकारीका ऋण उपसमितिका सदस्य तथा इन्द्र बराह ट्राभल्स एण्ड टुर्स प्रालिका प्रमुख ६७ वर्षीय शेरवहादुर भन्ने श्रीमान महत क्षेत्री, धरान–१३ बस्ने बराह ग्रुप, बराह ज्वेलरी इण्डष्ट्रिज र सहकारीका प्रमुख प्रशासक गंगा कालिकोटेका श्रीमती ४२ वर्षीया सरिता कालिकोटे, काठमाडौं-१० बस्ने ४८ वर्षीय रिना राई लामिछाने, धरान–१३ बस्ने बराह ज्वेलरी इण्डष्ट्रिज, बराह सहकारीका व्यवस्थापन समिति सदस्य ४९ वर्षीय याम्बा ल्वागुन भन्ने इन्द्रबहादुर विश्वकर्मा लगायतलाई पनि पक्राउ गरेर बयान लिने काम चलिरहेको छ।

बराह सहकारीसँगै जोडिएका प्रमुख व्यक्तिहरू  बराह ग्रुप अफ कम्पनी, बराह ज्वेलरी इण्डष्ट्रिज प्रालि, न्यू बराह ज्वेलरी इण्डष्ट्रिज,  गोर्खा एण्ड बराह ज्वेलरी इण्डष्ट्रिज प्रालि नयारोड पोखरा, न्यू बराह ज्वेलरी इण्डष्ट्रिज न्यूरोड पिपलबोट, श्रीपा सुपर मार्केट स्टोर, बराह कृषि उपज तथापशुपालन, बराह फेमिली किचेन, बराह डिपार्टमेन्ट स्टोर,  बराह नेशनल इन्भेस्टमेन्ट, नारायणी बराह ज्वेलरी इण्डष्ट्रिज छन् ।

त्यसैगरी बराह प्रोपर्टी सर्भिस, बराह चिल्ड्रेन वर्ल्ड्स, श्री पिपलबोट बराह ज्वेलर्स, बराह मोटर्स, बराह बाल संसार गेमजोन एण्ड कृपा १६ डी इन्टरटेन्मेन्ट, इन्द्र बराह ट्राभल्स एण्ड टुर्स, टाइम्स रेमटि, कृपा फाउण्डेशन, इन्द्र बराह ज्वेलरी इण्डष्ट्रिज एण्ड रिसचै सेन्टर, इन्द्रेश्वर टेक्स्टाइल्स, कृपा डिजिटल प्रोडक्सन कम्पनीका सञ्चालक, व्यवस्थापकका रूपमा छन् । तर उनीहरू फरार सूचीमा छन् ।

फरार सूचीका बराहका अध्यक्ष धरान–१२ घर भई काठमाडौँ –२२ बस्ने ४५ वर्षीय शिवकुमार विश्वकर्मा (लामिछाने), बराह ग्रुपका संस्थापक ३६ वर्षीया मन्दिरा लामिछाने विश्वकर्मा, बराह ग्रुप र तिनले सञ्चालन गर्ने विभिन्न कम्पनीका सञ्चालक धरान–११ बस्ने ४९ वर्षीय मानबहादुर विश्वकर्मा, धरान–८ बस्ने ४९ वर्षीय हरिकुमार धमला विश्वकर्मा, काठमाडौँ–२२ बस्ने ३७ वर्षीय प्रकाश लाम्गादे, धरान–११ बस्ने ४४ वर्षीय शुभराज खाती, झापाको बुद्धशान्ति–२ बस्ने ४५ वर्षीय विकास लामगादे, धरान १२ बस्ने ३७ वर्षीय सुरेश विक, धरान १६ बस्ने ४५ वर्षीय पूर्णबहादुर कालिकोटे विश्वकर्मा लगायत फरार छन् । 

अभियोग पत्रमा सञ्चालक र उच्च कर्मचारीलाई संगठित अपराधमा पनि सजाय माग गरिएको छ । बराह सहकारीका सञ्चालक र उच्च तहका कर्मचारीहरुलाई सहकारी ऐन २०७४ र संगठित अपराध निवारण ऐन २०७० बमोजिम कारबाही तथा सजायको माग दाबी गरिएको छ ।

उनीहरूलाई सहकारी ऐनको दफा १२२ को (ख), (ग), (छ), (झ), (ञ), (ट), (ड), (ढ) र (त) बमोजिमको कसुरमा सजाय हुनुपर्ने माग दाबी गरिएको छ । यस्तै, संगठित अपराध निवारण ऐन २०७० को दफा ३ को उपदफा (१), (२), (३) को खण्ड (क) र दफा ५ बमोजमको कसुर गरेकोमा सजायको माग गरिएको छ । 

 यो दुवै कसुरमा बराह ग्रुप अफ कम्पनीका अध्यक्ष शिवकुमार विश्वकर्मा (लामिछाने), उनकी बहिनी मन्दिरा लामिछाने, सहकारीका अध्यक्ष मानबहादुर विश्वकर्मा, हरिकुमार धमला (विश्वकर्मा), प्रकाश लामगादे, शुभराज खाती, विकास लामगादे, सुरेश विक, शोभराज भन्ने अम्बरबहादुर विश्वकर्मा, रवि पोर्तेललाई अभियोग लगाइएको ।

त्यसैगरी पूर्णबहादुर कालिकोटे भन्ने पुर्णकुमार विश्वकर्मा, रिना राई (लामिछाने), भोजमान लामगादे, गंगाबहादुर कालिकोटे, शरण विश्वकर्मा, विकास भन्ने विकास गजमेर, लालबहादुर विश्वकर्मा, कृष्णा भन्ने अम्बर प्रसाद खाती, सुदिन बिक, कुमार दुतरात भन्ने कुमार विक, अनुपकुमार खड्गी, विष्णुकुमारी तुलाधर, अस्मिता भण्डारी, दातेन्जी शेर्पालगायतको नाम अभियोग पत्रमा छ ।  

कसले कति हिनामिना गरे ?

बराह सहकारी, बराह ग्रुप अफ कम्पनी, बराह ज्वेलरी इण्डष्ट्रिज प्रालि, न्यू बराह ज्वेलरी इण्डष्ट्रिज,  गोर्खा एण्ड बराह ज्वेलरी इण्डष्ट्रिज प्रालि जस्ता कम्पनीको नाममा सर्वसाधारणबाट संकलितमध्ये सबैभन्दा बढी शिवकुमार लामिछानेले हिनामिना तथा अपचलन गरेको अभियोग पत्रमा उल्लेख छ । 

उनले २ अर्ब ७१ करोड ३१ लाख लाख ६० हजार २४ रुपैयाँ एक्लै हिनामिना गरेकाले सोही अनुसार बिगो माग दाबी गरिएको छ । अभियोग पत्रमा शिवका बुवा इन्द्र लामिछानेले  २ अर्ब ४५ करोड ७७ लाख १७ हजार ५ सय ७६ रुपैयाँ हिनामिना गरेको पनि उल्लेख छ । इन्द्र लामिछानेको केही वर्षअघि नै हङकङको जंगलमा रुखमा झुण्डिएर आत्महत्या गरेको अवस्थामा शव फेला परेको थियो । 

इन्द्रका श्रीमती विष्णुमायाको ७० करोड १९ लाख १६ हजार १५४ र खराब कर्जा असुल नभएतर्फ बिगो हुने रकम १ करोड १२ लाख ९० हजार ८ सय ७९ रुपैयाँ गरी कुल ५ अर्ब, ८८ करोड ४० लाख ८४ हजार ७ सय ३३ रुपैयाँ छोरा शिवबाटै असुल गर्नुपर्ने अभियोग पत्रमा उल्लेख गरिएको छ । यसलाई संगठित अपराध (निवारण) ऐन, २०७० को दफा ३ को उपदफा (१), (२), (३), को खण्ड (क) र ५ बमोजिम कसुरदार ठहराइएको छ ।

यसैगरी त्यही ऐन अनुसार कसुरदार ठहर गर्दै लामिछाने परिवारकै मन्दिरा लामिछाने (विश्वकर्मा)लाई १ अर्ब २३ करोड ११ लाख ९१ हजार १ सय रुपैयाँ हिनामिना गरेको अभियोग पत्रमा जनाइएको छ । 

 शिव लामिछानेदेखि दोस्रो बरीयताका बराह सहकारी अध्यक्ष मानबहादुर विश्वकर्माले १ अर्ब ११ करोड ४३ लाख ४५ हजार ३ सय ३८ रुपैयाँ हिनामिना तथा अपचलन गरेको पुष्टि भएको पनि अभियोग पत्रमा उल्लेख छ ।

खराब कर्जा असुल उपर नभए बिगो रकम १ करोड १२ लाख () हजार ८७( रुपैयाँ समेत उनीबाट असुल्नु पर्ने उल्लेख गरिएको छ । 

बराह ग्रुप अफ कम्पनीका संस्थापक र ती कम्पनीसँग जोडिएका विभिन्न प्रा.लिका सञ्चालक रहेका हरिकुमार धमलाले ३७ करोड ६१ लाख २४ हजार ३ सय २८ रुपैयाँ हिनामिना गरेको अनुसन्धानबाट देखिएको अभियोग पत्रमा उल्लेख छ । 

विभिन्न कम्पनीको संस्थापक रहेका प्रकाश लाम्गादेले ४८ करोड १८ लाख ८९ हजार ८९ रुपैयाँ, शुभराज खातीले ४३ करोड ७१ लाख ८१ हजार ८ सय २७ रुपैयाँ, विकास लामगादेले ३७ करोड ५६ लाख ९१ हजार ६ सय ७१ रुपैयाँ, सुरेश बिकले ३४ करोड ४० लाख ८० हजार ४ सय ६१ रुपैयाँ, सौराज भन्ने अम्बरबहादुर विश्वकर्माले १६ करोड ५० लाख ४५ हजार २ सय ९८ रुपैयाँ हिनामिना गरेको दाबी सरकारको छ ।

रवि पोर्तेल (सुनार) भन्ने रवि सुनार विकले १० करोड ६४ लाख ८५ हजार ६४३ रुपैयाँ, पूर्णबहादुर कालीकोटे भन्ने पूर्णकुमार कालिकोटेले ६ करोड ९८ लाख १९ हजार ६ सय ४१ रुपैयाँ, शिव लामिछानेकी पुर्वश्रीमति रिना राई (लामिछाने) ले ३ करोड ८५ लाख ३२ हजार ६४० रुपैयाँ हिनामिना गरेको अभियोगपत्रमा भनिएको छ ।

त्यसैगरी भोजमान लामगादेले १ करोड ६० लाख २१ हजार ९ सय ३४ रुपैयाँ, ती विभिन्न कम्पनीका प्रमुद प्रशासकका रुपमा चिनिएका गंगाबहादुर कालिकोटेले ५ करोड ५९ लाख ६६ हजार १ सय  २१ रुपैयाँ,  विष्णुकुमारी तुलाधरले १ करोड २६ लाख ५६ हजार ८ सय ८९ रुपैयाँ हिनामिना र अपचलन गरेकाले सोहीअनुसार माग दाबी गरिएको छ ।

बराह सहकारी र कम्पनीले धरान, पोखरा, बेलायत, हङकङमा रहेका पूर्वगोर्खा लाहुरे र कोरिया, मलेशिया, खाडीमुलुक जस्ता बैदेशिक रोजगारीमा जाने युवाहरूलाई लक्षित गरेर बचत र लगानी गर्न भन्दै फसाएको थियो ।

बराहले धरानको भानुचोक र धरान –८ धनकुटेमार्गमा सपिङ कम्प्लेक्स खोलेको छ । विभिन्न सामाजिक र जातिय संस्थाले संकलन गरेका करोडौँ रकम बराह सहकारीमा बचत गरेर राख्दा डुबेका छन् ।

डेढ दशकअघिसम्म साइकल चढ्ने र जुता लगाउने हैसियत नै नभएका व्यक्तिहरू बराह सहकारी र कम्पनीहरुका संचालक, व्यवस्थापक, प्रशासक, विभिन्न समितिका संयोजक, सदस्य भएपछि राता रात करोडौंका महंगा सवारी साधन, विभिन्न ठाउँमा घर जग्गा जोडेर ऐयासी जीवन बिताउन थालेको देखिएपछि करिब तीन वर्ष अघिदेखि बचतकर्ताले शंकाको घेरामा राखेका थिए ।

सर्वसाधारण बचतकर्ताको शंका निवारण गर्न बराह सहकारीले आफ्नो वार्षिक साधारण सभामा ३ करोड मुनाफा भएको र उक्त रकम शेयर सदस्यहरूको खातामा लगाइदिने घोषणा गरेको थियो । तर शेयर सदस्यहरूको खातामा उक्त रकम नआएपछि थप खोजी गर्दै बचत रकम निकाल्न थालेका थिए । अर्बौँ रकम अन्तैतिर अपचलन भइसकेकाले बचत रकम फिर्ता गर्न नसक्ने अवस्था भएपछि बचतकर्ताहरूले आन्दोलनसँगै कार्यालयमा तालाबन्दी गरेका थिए ।

०६६ भदौ २१ गते दर्ता भएको सहकारीका सदस्य संख्या १६ हजार ८ सय ८३ जना रहेको तथ्य पनि खुलेको छ । यसअघि बराह सहकारीको यकिन सदस्य संख्या खुल्न सकेको थिएन ।

प्रकाशित मिति : १९ फाल्गुन २०८१, सोमबार  ३ : १८ बजे

राष्ट्रियताको पक्षमा दृढतापूर्वक बोल्ने पार्टी एमाले मात्रै हो : ईश्वर पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले

सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ५४ प्रतिशत

पाल्पा – राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको भौतिक

खोलामा डुबेर बालिकाको मृत्यु

मध्यविन्दु – नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–५ देउरालीस्थित खोलामा

पतञ्जलि प्रकरणबारे माधव नेपालले भने : अदालतबाट न्याय पाउने विश्वास छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

यस्तो देखियो ‘बलिदान’मा सौगात मल्लको लुक्स

काठमाडौं – निर्देशक तथा निर्माता सन्तोष सेनको महत्वकांक्षी फिल्म ‘बलिदान’का