रुप्से झरनामा पर्यटकीय पूर्वाधार « Khabarhub

रुप्से झरनामा पर्यटकीय पूर्वाधार


२० बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– पर्यटकको सहजताका लागि म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ३ दानास्थित रुप्से झरनामा पूर्वाधार निर्माण थालिएको छ ।

चीन र भारतलाई जोड्ने कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडकको छेउमा रहेको रुप्से झरना अवलोकन गर्ने पर्यटकको सहजताका लागि अन्नपूर्ण गाउँपालिकाले तीन करोडभन्दा बढीको लागतमा पूर्वाधार निर्माण थालेको हो ।

सार्वजनिक शौचालय, फेदीदेखि झरनाको माथिल्लो भागसम्म पुग्ने पहाडमा फलामको रेलिङसहितको पदमार्ग, भर्‍याङ र खाजाघरलगायतका पूर्वाधार गर्न लागिएको अन्नपूर्ण गाउँपालिका– ३ का वडा अध्यक्ष रमेश पुर्जाले बताए ।

‘सङ्घीय सरकारले तीन करोड ६४ लाख विशेष अनुदान उपलब्ध गराएको रुप्से झरना पर्यटन पूर्वाधार योजना कार्यान्वयनका लागि छनौट भएका निर्माण कम्पनीले काम थालेको छ,’ उनले भने ‘झरना परिसरमा व्यवस्थित पूर्वाधार बनाएर पर्यटकलाई सुरक्षित रूपमा अवलोकन गर्ने व्यवस्था मिलाउने उद्देश्य रहेको छ ।’

२०८१ साल जेठ ३० गते सुन्दर निर्माण सेवाले तीन करोड २३ लाख ५५ हजार ३६९ मा ठेक्का सम्झौता गरेको योजना २०८२ साल पुस २५ गते सम्पन्न गर्ने लक्ष्य राखिएको छ । हालसम्म करिब २० प्रतिशत भौतिक प्रगति भएको अन्नपूर्ण गाउँपालिकाका सबइन्जिनियर बालकृष्ण पौडेलले जानकारी दिए ।

सडक छेउमा रहेको झरनाको फेदीमा कटान रोकथामका लागि पक्की र पहिरो नियन्त्रण गर्न ग्याबियन पर्खाल निर्माण भइरहेको छ । उक्त ठाउँको जग्गा सम्याएपछि प्रवेशद्वार, खाजाघर र टिकट काउन्टर बनाउने योजना रहेको वडा अध्यक्ष पुर्जाले बताए ।

फेदीदेखि झरनाको माथिल्लो भागसम्म पुग्ने पदमार्ग बनाउन भीरमा फलामको रड राखेर ‘रक एङ्करिङ’ गरिएको छ ।

करिब ३०० मिटर अग्लो झरनामा तीनवटा तह छन् । छङ्छङ् गर्दै झर्ने झरनामा इन्द्रेणी पर्दा आकर्षक देखिन्छ । झरनाको माथिल्लो तहदेखि बाजाढुङ्गा जोड्ने पदमार्ग, उद्यान, गोलघर र दृष्य अवलोकन स्थल बनाउन लागिएको छ ।

हिर्काउँदा बाजाको आवाज सुनिने बाजाढुङ्गा परिसरदेखि रुप्से झरना, अन्धगल्छी र अन्नपूर्ण हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ ।

अन्नपूर्ण र धौलागिरि हिमालको बिचबाट बग्ने कालीगण्डकी नदीले कटान गरेर बनाएको संसारकै गहिरो खोच अन्धगल्छी रुप्से झरनाको नजिकै छ ।

२०७७ साल साउनमा रुप्से खोलामा आएको बाढीले त्यहाँ निर्माणाधीन पुल, होटल, पदमार्ग, लगायतका पूर्वाधार, पार्किङ गरेर राखिएका सवारीसाधन बगाउनुका साथै झरना र अन्धगल्छीलाई कुरूप बनाएको थियो ।

बाढीले क्षति गरेका भौतिक संरचनाको पुनर्निर्माण र नयाँ पूर्वाधार थप गर्न लागिएको हो । झरना अवलोकन, तस्बिर खिच्ने र भिडियो बनाउने क्रममा पर्यटक चिप्लिएर लड्ने, चोटपटक लाग्ने समस्या पूर्वाधार बनाएपछि हट्ने अपेक्षा गरिएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए ।

मुस्ताङ भ्रमणमा आउने सबै पर्यटकले रुप्से झरनामा घण्टौँ समय बिताउँछन् । रुप्से झरनामा बिहानदेखि साँझसम्म अवलोकन गर्ने, तस्बिर र भिडियो खिचाउने पर्यटकको भीड लाग्ने गरेको वडासदस्य लालबहादुर पुनले बताए ।

प्रकाशित मिति : २० बैशाख २०८२, शनिबार  ६ : ३३ बजे

काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम पारित

काठमाडौं– आगामी आर्थिक बर्षका काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम पारित

अन्तर्राष्ट्रिय योग दिवसमा कैलाश–मानसरोवरमा पहिलो पटक योगाभ्यास हुँदै 

काठमाडौं– विश्व शान्ति तथा आध्यात्मिक समाजले अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा

अन्तर्राष्ट्रिय योग दिवसमा कैलाश मानसरोवरमा योगाभ्यास हुने

काठमाडौँ– अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा यस वर्ष पहिलो पटक कैलाश–मानसरोवर

नेप्से परिसूचक १२ अंकले घट्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो

‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’

भैरहवा– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजलाई कुसंस्कार र विकृतिबाट मुक्त