१२ विदेशी ‘साहु’लाई १५ अर्ब ५७ करोड ब्याज तिर्दै सरकार « Khabarhub

१२ विदेशी ‘साहु’लाई १५ अर्ब ५७ करोड ब्याज तिर्दै सरकार


२० जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ मा द्विपक्षीय र बहुपक्षीय गरी १३ विदेशी ऋणदातालाई १५ अर्ब ५७ करोड ४५ लाख रुपैयाँ ब्याज तिर्ने भएको छ ।

आठ बहुपक्षीय र चार द्विपक्षीय ऋण दातालाई सरकारले वैदेशिक ऋणको ब्याज भुक्तानीबापत क्रमशः ११ अर्ब ७१ करोड १५ लाख र तीन अर्ब ८६ करोड ३० लाख रुपैयाँ ऋण तिर्न लागेको हो ।

आर्थिक वर्ष २०८२/८३ का लागि अर्थ मन्त्रालयले तयार पारेको ‘एकीकृत खर्च तथा वित्तीय बजेट अनुमान’ विवरणमा उल्लेख भएअनुसार; वैदेशिक ऋणभारको ब्याज तिर्दा सङ्घीय सञ्चित कोषमाथि व्ययभार पर्नेछ ।

वैदेशिक ऋणको ब्याज साढे १५ अर्ब रुपैयाँभन्दा बढी तिर्न लागेको सरकारले आन्तरिक ऋणको ब्याजबापत भने झण्डै ६ गुणा बढी अर्थात्‌ ९२ अर्ब ९६ करोड १४ लाख रुपैयाँ भुक्तानी गर्ने भएको छ ।

अर्थ मन्त्रालय अन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार वैशाख मसान्तसम्म नेपाल सरकारको कुल सार्वजनिक ऋण दायित्व २६ खर्ब २२ अर्ब ४० करोड रुपैयाँ पुगेको छ ।

जम्मा तिर्न बाँकी ऋण आन्तरिकतर्फ १२ खर्ब ६६ अर्ब ७० करोड ४५ लाख रुपैयाँ छ । वैदेशिकतर्फ तिर्न बाँकी ऋण १३ खर्ब ५५ अर्ब ६९ करोड ९२ लाख रुपैयाँ पुगेको छ ।

नेपालले तिर्नुपर्ने कुल सार्वजनिक ऋण दायित्व मुलुकको कुल गार्हस्थ उत्पादन (जीडीपी) अर्थात्‌ अर्थतन्त्रको आकार तुलनामा ४२.९४ प्रतिशत हो ।

कुन दातालाई कति ब्याज ?

सरकारले प्रकाशन गरेको आउँदो आर्थिक वर्षको व्यय अनुमान विवरणमा विदेशी दातालाई तिर्नुपर्ने ऋणको ब्याजबारे उल्लेख छ ।

विवरणमा उल्लेख भएअनुसार; आगामी आर्थिक वर्षभित्र सरकारले नेपालको प्रमुख बहुपक्षीय दाता एसियाली विकास बैङ्क (एडीबी)लाई पाँच अर्ब रुपैयाँ ब्याज तिर्नेछ ।

यसैगरी अन्तरराष्ट्रिय विकास संस्था (आइडीए)लाई ६ अर्ब, ओपेकलाई २० करोड, यूरोपीय आर्थिक समुदायलाई एक करोड, अन्तरराष्ट्रिय कृषि विकास कोषलाई १२ करोड, नर्डिक विकास कोषलाई तीन करोड १५ लाख यूरोपियन इन्भेष्टमेन्ट बैङ्कलाई १३ करोड र एआइआइबीलाई २२ करोड रुपैयाँ ब्याजबापत तिर्नेछ ।

द्विपक्षीयतर्फ नेपाल सरकारले सन्‌ १९९८ देखि काढेको जापानी ऋणको ब्याजबापत आगामी आर्थिक वर्षमा जापान सरकारलाई १४ करोड ८० लाख रुपैयाँ तिर्नेछ ।

कुबेती ऋणबापत १३ करोड, साउदी कोषलाई ६ करोड ५० लाख र फ्रान्सलाई दुई करोड रुपैयाँ ब्याज भुक्तानी गरिने अर्थ मन्त्रालयले जानकारी दिएको छ ।

बहुपक्षीयतर्फ अन्तरराष्ट्रिय मुद्रा कोष (आइएमएफ)लाई तिर्नुपर्ने ऋणब्याज भुक्तानी विवरण भने मन्त्रालयले व्यय अनुमान विवरणमा उल्लेख गरेको छैन ।

१७ वटा निकायसँग नेपालको मुद्रागत वैदेशिक ऋण दायित्व विभिन्न १० मुद्रामा बाँकी छ ।

घाटा बजेटका कारण सरकारले आन्तरिक र वैदेशिक ऋण काढ्ने गर्छ । सरकारको कुल आयभन्दा ठूलो आकारको बजेटलाई नै घाटा बजेट भनिन्छ । कुल बजेटको आकार र सरकारको कुल आयबीचको अन्तरलाई ‘बजेट घाटा’ भनिन्छ ।

सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट अनुमान पेश गरेका छन्‌ ।

खर्च ब्यहोर्ने स्रोतमध्ये राजस्वबाट १३ खर्ब १५ अर्ब र वैदेशिक अनुदानबाट ५३ अर्ब ४५ करोड ब्यहोरिने सरकारको अनुमान छ । राजस्व र अनुदान जोड्दा पनि कुल खर्च जुटाउन पाँच खर्ब ९५ अर्ब ६६ करोड रुपैयाँ अपुग हुनेछ ।

सो न्यून पूर्ति गर्न दुई खर्ब ३३ अर्ब वैदेशिक ऋण र तीन खर्ब ६२ अर्ब आन्तरिक ऋण उठाउने सरकारको लक्ष्य छ ।

ब्याज भुक्तानी बढेको बढ्यै !

अघिल्ला पाँच वर्षमा नेपालले गरेको आन्तरिक र वैदेशिक ऋण भुक्तानी स्थिति हेर्दा यो दर वर्षेनी बढेको देखिन्छ ।

आर्थिक वर्ष २०७६/७७ मा नेपालको कुल सार्वजनिक ऋणको ब्याज भुक्तानी २५.८१ प्रतिशतले बढेको थियो ।

आर्थिक वर्ष २०७७/७८ मा ३२.९०, २०७८/७९ मा ३०.०१, २०७९/८० मा ६१.६३ र गत आर्थिक वर्ष २०८०/८१ मा १२.७१ प्रतिशतले ब्याज भुक्तानी बढेको हो ।

ऋण व्यवस्थापन कार्यालयका अनुसार; सरकारले आन्तरिक ऋण बढाउँदा र तुलनात्मक रूपमा गत आर्थिक वर्षको ब्याजदर परिवर्तन नहुँदा ब्याज बापतको दायित्व बढ्ने गर्छ । नेपालले हाल नौ बहुपक्षीय र आठ द्विपक्षीय ऋणदातासँग ऋण लिँदै आएको छ ।

यी दाताबाट चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा (वार्षिक लक्ष्यअनुसार) सरकारले तीन खर्ब ९० अर्ब ८३ करोड रुपैयाँ ऋण काढिसकेको छ । आन्तरिकतर्फ तीन खर्ब एक अर्ब १४ करोड र वाह्यतर्फ ८९ अर्ब ६८ करोड रुपैयाँ ऋण काढेको हो ।

सोही अवधिसम्ममा सरकारले वार्षिक लक्ष्यअनुसार ७६.४९ प्रतिशत अर्थात्‌ तीन खर्ब ८१ अर्ब १४ करोड रुपैयाँ भुक्तानी गरिसकेको छ । आन्तरिकतर्फ ब्याजमात्रै ५० अर्ब ३३ करोड र वाह्यतर्फ सात अर्ब नौ करोड रुपैयाँ भुक्तानी गरेको हो ।

यो पनि –

प्रकाशित मिति : २० जेठ २०८२, मंगलबार  ४ : ४७ बजे

‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई अब विशेष सुविधा

काठमाडौँ–  नेपाल विद्युत् प्राधिकरणले बिजुलीको बिल ‘अनलाइन’बाट तिर्ने ग्राहकलाई थप

हवाई भाडादरबारे भ्रामक सूचनाको पछि नलाग्न एयरलाइन्सको अनुरोध

काठमाडौँ– बडादसैँ तथा तिहारको समयमा हवाई भाडादरलाई लिएर सार्वजनिक आलोचना

मर्मतपछि राहुघाटबाट फेरि विद्युत् उत्पादन

काठमाडौं–  राहुघाट जलविद्युत् आयोजनाको मर्मतसम्भारपछि पुनः विद्युत् उत्पादन सुरु गरिएको

विपक्षी नेताहरूले अराजकता फैलाएको भाजपाको आरोप

काठमाडौं- भारतमा निर्वाचन आयोगले सञ्चालन गरेको एसआईआरको मुद्दालाई लिएर विपक्षी

अवरुद्ध पैरेबेँसी-शान्तिबजार खण्डमा तुइन सञ्चालन

रसुवा–  गत भदौ १० गतेको भोटेकोशी बाढीका कारण सडक सञ्जाल