जात त्यागेर जराको मर्यादा पाएका रसिक | Khabarhub Khabarhub

जात त्यागेर जराको मर्यादा पाएका रसिक



श्रद्धेय व्यक्तित्व गणेश रसिकसँग पचासको दशकमा भोजपुरमा भेट भएको हो । त्यसबेला मैले स्कुले शिक्षा पनि छिचोलेको थिइनँ । मनभित्र थुप्रै सपना थिए । राजनीति, साहित्य, सामाजिकलगायत हरेक क्षेत्रमा जिज्ञासा थियो । भाषण गर्थेँ, कविता कोर्थें, नाटक लेख्थेँ, निर्देशन गर्थेँ । सामाजिक काममा उत्तिकै सक्रिय थिएँ । लाग्थ्यो, मैले नसक्ने केही थिएन । 

मेरा अग्रजहरू हौस्याउँथे– ‘क्याबात कान्छा अगाडि बढ ।’ यस्तो बेलामा प्रज्ञा, चैतन्य र सिर्जनाका महारथी गणेश रसिक भोजपुर आउनु भएको पत्तो पाएँ ।  एकातिर सानैदेखि काठमाडौं बसेर पढ्ने मेरो भोक अर्कातिर दिग्गज व्यक्तित्वसँगको भेटले कतै न कतै मेरो सपनाले निकास पाउला कि भन्ने लाग्थ्यो । सम्झी ल्याउँदा त्यो भेटको हुटहुटीको सारबिन्दु त्यही थियो । 

ट्याम्केको छाताभित्र हुर्किएको प्रतिभा रसिकका बारेमा म बाल्यकालदेखि नै परिचित थिएँ । तर त्यो राजा चिनाइ मात्र थियो । गणेश रसिकले पनि भोजपुरका ऊर्जाशील युवाहरूलाई भेट्ने इच्छा राख्नु भएको थिएछ । शायद म त्योभित्र परे हुँला ।

भेटको पहिलो मेरो सम्मानित सम्बोधन नै दश औँला जोडिएको ‘नमस्कार दाइ’ थियो । नौनी बोली, खाइलाग्दो शरीर र मिहिन व्यवहारले मेरो किशोर मस्तिष्कमा अलग छाप छोड्यो ।  त्यै मितिबाट उहाँ मेरा लागि गणेश रसिकबाट ‘गणेश दाइ’ हुनुभयो । अलिपछि उहाँका बारेमा अरु धेरै जानेपछि त्यो निकटता बढेर श्रद्धेय दाजु बन्नुभयो । उहाँ अर्को लोकको यात्रामा लागेपछि त्यो श्रद्धा, भक्ति देवत्वमा परिणत भएको ठान्दछु । 

सहोदर दुई भाइ, छोरा, पत्नी गुमाएपछि मृत्यु पर्खेर बसेको घडीमा पनि जुन संयम, आत्मसम्मान र सृजनशील जीवन बिताउनु भयो, त्यो विरलै मानिसका लागि सम्भव छ । एक पटक मर्नु जति सजिलो छ, दीर्घरोगले च्यापेपछि पटक पटक मर्नु उति नै पीडादायी छ । जीवनका उत्तरार्द्धमा उहाँले ‘मृत्युको परिकल्पनामा डुब्नु’लाई नित्य बनाएको भन्ने भावभित्र अजस्र पीडा छ । यद्यपि उहाँले त्यो सकसलाई कालकुट बनेर निल्ने प्रयास गर्नुभयो । 

मैले सुनेको मात्रै थिएँ कि गणेश रसिक छिनामखुको राई अरे ! म पनि राई भएकोले म र उहाँ भेटघाट हुँदा ‘तपाई के राई हो ?’ भन्ने जिज्ञासु प्रश्न एकार्कामा सोधनी हुनुपर्ने हो । तर जातभातको कहीँ कतै प्रश्न आएन । उहाँ जातबाट रसिक भइसक्नु भएको व्यक्तित्वलाई खासै जातको हतियार आवश्यक थिएन । मनमस्तिष्कमा चेतनाको खगोल बोकेर विचारको यात्रामा निस्केकाहरूलाई जातको सहारा शायदै चाहिन्छ । 

मलाई लाग्छ, त्यो बेला जातभन्दा समाज र सामाजिक मर्यादाको जमाना थियो । जातले गुण नभएर गुणले जात बोक्थ्यो । साधु राईहरूले बाजेको मर्यादा पाएका थिए । इतिहास पर्गेल्दा भोजपुरमा राईहरू नै एकपछि अर्को शासकीय ओहोदामा थिए । भोजपुरको राजनीतिक शक्तिका महारथीहरू राई नै थिए । नारदमुनि थुलुङ, रामप्रसाद राई, ध्यानबहादुर राई, दिवानसिंह राई, श्रीपाल राई, कर्णबहादुर राई, प्रेमकुमार राईदेखि संग्रामसिंह राईसम्मको नाम प्रख्यात थियो । विष्णुकुमारी दिदी त अविवाहित रहेर अझै राजनीतिमा क्रियाशील हुनुहुन्छ । 

हेमराज राई धनहर्क राई, जयन्ती राई, सुदन किराती सांसददेखि मन्त्री हुनुभयो । हामी स्कुल हुँदा नै क्याम्पसमा भाषण सुनेका शेरधन राई कोशी प्रदेशको पहिलो मुख्यमन्त्री हुनुभयो । भोजपुरकै युवानेता राजेन्द्र राईले त्यही पदमा निरन्तरता दिनुभयो ।  अब त झन् त्यो संख्या बढ्दो छ । विनोद बान्तवा प्रदेशको राजनीतिमा प्रखर हुनुहुन्छ । यो फेहरिस्त बाबजुद  रसिक दाजुले भोगेको त्यो स्मरणयोग्य समाजमा जातभन्दा  बढी जराको मूल्य थियो । यो अर्थमा पनि छिनामखुको गणेशकुमार राई रसिक हुनु भएको होला । र, नै गणेश दाजु र मेरो सम्बन्धमा राई पाछा अनि देपचुलुङको सोधखोज नभएको होला । साँच्चै भन्नु पर्दा  उहाँ पनि थुलुङ राई, म पनि थुलुङ राई । यसकै आधारमा केलाउँदै जाने हो भने हामी पारिवारिक नसनाताभित्र पर्छौं । तथापि आजसम्म श्रद्धेय श्रष्टा गणेश दाजु र एउटा फुच्चे भाइको अगाध सम्मान र निष्ठामै रमायौँ । रसिक दाजु यो धरामा नरहेपछि यो साइनो अमर बन्ने निश्चित छ । 

तीन दशकअघि चिनापर्चीबाट सम्बन्ध शुरु हुँदा गणेश दाजुको मुख्य उद्देश्य भोजपुरमा नयाँ राजनीतिक शक्तिका लागि युवाहरू तयार गर्नु थियो भन्ने छनक मैले पाएको थिएँ । त्यसै क्रममा मलाई पनि हेरिएको हो कि भन्ने लागेको थियो । तर म भोजपुरमा गणेश दाइभन्दा अर्कै विचारधाराको राजनीतिक पार्टीको पदीय नेतृत्वकर्ता भएको कारण पनि राजनीतिक विषयमा दाइसँग सहकार्य भएन । सम्भवतः : त्यहाँको वस्तुगत यथार्थ अलग बुझेर उहाँले त्यो मनोयान उडाउन उचित ठान्नु भएन । त्यो सोचले बरु सिर्जनात्मक पाटो समायो । 

म रसिकलाई राजनीतिकभन्दा विराट साहित्यकार, वैचारिक अभियन्ता, गायक, लोकप्रिय गीतकारको उच्च ओहदामा विराजमान शक्तिशाली व्यक्तित्वको तराजुमा जोख्न रुचाउँछु ।  अरु यावत जे जे होउन्, सर्जकको मन चाहिँ त्यही रहन्छ, जो आफू हो । अर्थात् सिर्जना नै उसको परमधर्म हो । जहाँ गए पनि उ भित्र सिर्जना रहन्छ नै । त्यसकै परिणाम उहाँले भोजपुरमा २०५० सालमा ‘त्रिवेणी’ नामक साहित्यिक संस्था जन्म गराउनुभयो । नेपालको सांगीतिक आकासमा ‘लेकाली समूह’ गठन गरेर जुन विरासत निर्माण गर्नुभयो, त्रिवेणीबाट पनि उहाँको यस्तै अपेक्षा थियो ।

खुसीको कुरा के छ भने भोजपुरमा यो संस्था अहिले पनि सक्रिय छ । निष्ठावान् भाइहरूले रसिक दाजुको सपनालाई सगुन ठानेर काम गरिरहेका छन् । भोजपुरजस्तो दुर्गम ठाउँमा विगत ३२ वर्षदेखि साहित्यिक संस्था टिकाउनु चानचुने विषय होइन । रसिक दाजुलाई स्मरण गरिरहँदा त्रिवेणीलाई जीवन्त बनाइराख्ने निष्ठाका पुजारीहरूलाई सम्झनु कर्तव्य ठान्छु । संस्थापक भएर त्यसलाई धार लगाउने जिम्मा मेरो पनि हो । म चुकेका घडीमा पनि काँध हाल्ने ती साधक कम पूज्य छैनन् ।   

साहित्य, संगीत र कलाको संगम त्रिवेणी भन्ने मूलभूत मन्त्र सहित उहाँले संस्थालाई जन्म दिनुभएको थियो । मान्छेको हृदयमा सदाबहार रहनु भएका चर्चित गीतकार श्याम तमोटको अध्यक्षतामा त्रिवेणी स्थापना भएको थियो ।  संस्थापक सहसचिव म थिएँ । तीनदशकअघिको त्यो सम्झना मधुरो भइसकेको छ ।

भोजपुर बजारस्थित श्रीराम अमर सहिद पुस्तकालय भवनमा त्रिवेणी जन्मिएको हो । श्रद्धेय वरिष्ठ कवि मोक्तान भाइ, राजेश प्रधान, सन्तनु श्रेष्ठ, गीता कार्की, कृष्ण न्यौपाने आदि सम्झन्छु । त्यसबखत भोजपुरका प्रमुख जिल्ला अधिकारी बामन न्यौपाने साहित्यिक नाम बाबा न्यौपाने (जो पछि नेपाल सरकारको सचिवबाट अवकाश प्राप्त हुनुभयो) ले संस्थागत र व्यक्तिगत सहयोगमा लगाउनु भएको गुण बिर्सिनसक्नु छ । हामीले गर्ने हरेक साहित्यिक कार्यक्रममा उहाँ अग्रमोर्चामा खडा भएर हौसला दिनुहुन्थ्यो । यो प्रसंग निकाल्नुको प्रमुख कारण भनेको रसिक दाजुको ‘त्रिवेणी’ यात्रालाई सघाउन हरकोही उत्सुक र प्रतिवद्ध थिए भन्ने नै हो ।   

व्यक्तिगत सम्बन्ध संस्था पारिवारिक, पेसागत बन्न पुग्यो ।  उहाँले दिनुभएको उपहार आकाशगङ्गाको ओतमुनि (उपन्यास) पढेर मन कुँडिएको थियो । आँखा रसाएका थिए । त्यसैसाथ  अर्को उहाँको नवीनतम गीति एल्बम पनि दिनुभयो । नाम भने बिर्सिएँ । त्यत्रो आत्मीय सम्बन्ध गाँसेर भोजपुरबाट विदा हुने बेलाको एक क्षण दाइले भन्नु भएको थियो– ‘बज्र भाइ !  काठमाडौं आउनु हुँदा मलाई सम्झनू’ जुन आवाज अहिले पनि मेरो कानमा साउती लाउन आइरहन्छ ।  

स्कुले शिक्षा पूरा गरेपछि आइकम पढ्दा पढ्दै काठमाडौं आएँ । दाइको निवास पत्ता लगाएँ । र, मेरो सहोदर दाजु सुरेन्द्रकुमार राईसँग रसिक दाजुको निवास पुगेँ । बडो खुशीसाथ नमस्कार आदानप्रदान भयो ।  दाइ साझा संस्थानको अध्यक्ष हुनुहुन्थ्यो जस्तो लाग्छ । अति व्यस्त हुनु हुँदो रहेछ । एक सासमा आफ्नो कुरा राखेँ । उहाँले पनि फ्याट्टै जवाफ दिनु भो । तत्कालै निक्कै सानदार भुँडी भएकाहरूको टोली आयो । दाइ उहाँहरूसँग भित्र जानु भयो ।

हामी दाजुभाइ पनि एकछिन प्रतीक्षा गरेर निस्कियौँ । त्यसपछि गणेश दाजुसँग भेट भएन । तर उहाँ एक विशिष्ट व्यक्तित्वको बारेमा नसुन्ने र नजान्ने कुरै भएन । गणेश रसिक नेपालको पहिलो सूर्य उदाउने सुन्दर जिल्ला इलाममा बसोबास गरेर एफएम रेडियो स्टेसन खोलेर सञ्चालन गर्नु हुँदै छ रे ! चिया बगान पनि सुरु गर्नु भएको छ रे ! साहित्य संगीतमा स्थानीय श्रष्टाहरुसँग एकाकार हुनु हुन्छ रे ! जस्ता खबरहरुबाट वञ्चित थिइन ।

समय र उमेरसँगै सम्झनाहरू हराएर जान्छन् भन्ने अभिव्यक्ति उहाँले गलत बनाइदिनु भयो । यो स्मरण उहाँका सृजनाहरूको उपज हो । रातो भाले कयाँक कयाँक, नखेल्नु जुवा र तास, मलाई प्यारो लाग्छ, मलाई राम्रो लाग्छ, मसँग एउटा तारा छ मायाको, उकालीमा हिँड्दा हिँड्दा मन दुखे दुखेजस्तो  जस्ता कालजयी गीतहरू सुनेर भोजपुरमा हुर्किएको मैले आकाशगङ्गाको ओतमुनि (उपन्यास), दशगजामा उभिएर (संस्मरण), ताराभन्दा सपना धेरै (गीतिसंग्रह) र छापामा प्रकाशित रचनाहरू पढेको छु । उहाँका यी सृजनाहरूले लाखौँ मजस्ताहरुको प्रतिनिधित्व गरेको छ । ती कृतिले भेट हुँदाभन्दा बढी आनन्द दिन्छन् । यद्यपि भौतिक रुपमा भेट भएर विमर्श गर्नुको अनुभूति फरक हुन्छ । 

अघिल्लो वर्ष २४ जुन २०२४ को साँझ गणेश रसिक दाजुको निवास भक्तपुर बालकोटमा पुगेँ । म हङकङबाट ६ वर्षपछि नेपाल गएको थिएँ । निक्कै व्यस्त समय थियो । गणेश दाजु अस्वस्थ हुनु हुन्छ भन्ने पनि थाहा थियो । भेटघाट गर्ने उहाँको निम्तो पनि थियो । त्यो पुरा भयो ।

त्यो भेटघाटमा संस्कृतिविद् डा. भक्त राई, गीतकार संघका निवर्तमान अध्यक्ष शुभ मुकारुङ र मेरो स्थानीय सहयोगी माइकल तामाङ थिए । निक्कै लामो समयान्तरको त्यो भेटघाट गणेश दाजुको स्वास्थ्यको कारण बढी भावनात्मक बन्यो । प्रोटेष्ट क्यान्सरको चौथो स्टेजसँग लडिरहनु भएका ७७ बर्षीय गणेश दाजु आफैँ मूलढोकासम्म आएर स्वागत गर्दाको पल सम्झँदा अहिले पनि मुटु फुलेर आउँछ । मन भक्कानिन्छ । 

त्यो समय गफगाफ क्रममा उहाँले भन्नुभयो– ‘बज्र भाइ, तपाईँहरू विदेशमा हामी जाँदा एयरर्पोटकै ढोकामा आएर खादामाला लगाएर स्वागत सत्कार गर्नुहुन्छ । खातिरदारीमा कार्यक्रम गर्नुहुन्छ । खुवाउने पियाउने काम गर्नुहुन्छ । मानसम्मानको त कुरै नगरौँ । त्योभन्दा ठूलो प्रवासको अनमोल समय दिनुहुन्छ । त्यतिमात्र हो र, आउँदा बाटा खर्च पनि दिनुहुन्छ । तर तपाईँहरू आफ्नै घर आउँदा एकछाक भात ख्वाउने मेसो मिल्दैन । धन्य तपाईँसँग भेट भो । खाना नखाई जान मिल्दैन ।’ 

ओहो, चोमोलोङमा दाजुको त्यो वस्तुनिष्ठ बुझाइबाट म ओतप्रोत भएँ । त्यो भेटघाट नगरेको भए मेरो जीवनमा कहिल्यै नपुरिने घाउ बन्ने रहेछ । धन्य, रसिक दाजुसंगको बिछोडमा पनि त्यो संयोग सधैँका लागि नोस्टाल्जिक क्षण बन्न पुग्यो । 

भाउजु बित्नु भएपछि रसिक दाजुले इलाम हराभरा बनाउने सपना परित्याग गर्नुभएको थियो । पुत्रशोकले ग्रसित भाउजूलाई सान्त्वना दिन पनि सामाजिक क्रियाकलापमा दाजुले आफूलाई खुम्च्याउनु भएको थियो । पुत्र, पत्नी वियोगपछि त झन् उहाँ आफैँ रोगी बन्नुभयो । एकांकी जीवनले गाँज्न थाल्यो । एक मात्र छोरी बेलायतमा थिइन् । धन्य ब्राम्हण समुदायकी एकल बुहारीले ससुराको सेवा सुश्रुषामा पुर्‍याएको अगाध प्रेम देखेर जातभन्दा त कर्तव्य माथि रहेछ भन्ने लाग्यो । 

सानी सन्तान, ओछ्यानमा ससुरा र पाहुनापासाप्रति देखाएको लगाव साँच्चै स्मरणीय लाग्यो । हामी साथीभाइ कुरा हुँदा यस्ता बुहारी हरेक सासुससुराले पाउने हो भने मायाको अभावमा कोही मर्दैन भन्नेमा एकमत हुन्थ्यो । मेरो बुझाइमा रसिक दाजु चौथो स्टेजको क्यान्सर पीडित हुँदा पनि उज्यालो अनुहारको रहस्य बुहारीको भक्तिभाव हो । 

म धेरै श्रष्टा, सर्जकहरुको घरमा गएको छु । तर जीवनमै पहिलोपटक लभिङ, केयरिङ र शेयररिङको पारिवारिक माहोल रसिक परिवारमा महसूस गर्ने अवसर पाएँ । घरायसी कुरा चल्दै जाँदा दाजुकी बुहारीले बनाएको खाना खाइरहँदा रसिक दाजुले विरामी नै नभए झैं के कसो भयो ?, के थपौं ?  भन्ने जस्ता वाक्य दोहोर्‍याएर अपनत्वको रेखा नै पार गरिदिनुभयो । यो भेटमा रसिककृत पुस्तकहरु, घरका भित्ताभरि अटिनअटी झुण्डिएका ताम्रपत्रहरु, अनगिन्ती, मेडल, पुस्तकले भरिएका दराज र बौद्धिक परिवारको शालिन अनुहारहरु मनभित्र स्थायी भएर बसेका छन् ।

पछिल्लो भेटपछि रसिक दाजुको बुढेशकालको जीवन कति रसिलो भन्ने निष्कर्षमा पुगेँ । त्यो भन्दा बढी त चौथो स्टेजको क्यान्सर पीडितले पालेको सकारात्मक सोच, अझै केही गर्ने हुटहुटी, देशप्रतिको बहुआयामिक चिन्तन अनि अरुको भलोमा रमाउने विशाल हृदयको जति प्रशंसा गरे पनि कम हुन्छ । 

एउटा समयले स्थापित गर्‍यो– मानिस ब्रेडले बाँच्छ । बीपी कोइरालाले करेक्सन गरेर भनिदिए– अहँ होइन, ब्रेनले बाँच्छ । हो, व्यक्तिले के खायो, के लायो, भौतिक आर्जन कति गर्‍यो , बैंक ब्यालेन्स कति छ ? यस्ता तपसिलका सन्दर्भले भन्दा उसले समाजमा कस्तो छाप छोडेर गयो ? उसका विचारले डुबेका कतिलाई बचाउन उत्प्रेरित गर्‍यो ? कति जना उसले सिकाएको माछा मार्ने सीपबाट जीवन जिउने कलामा पारंगत भए ?

हो, भौतिक जीवनबाट विदा भए पनि समाजमा विचार गंगा बगाउन रसिक दाजु सतप्रतिशत सफल हुनुभएको छ । नेपालको साहित्य, संगीतको बाङमयमा कहिल्यै नअस्ताउने नक्षत्र हुनुहुन्छ नै, त्यसभन्दा माथि उहाँ एउटा असल मानिस हुनुहुन्थ्यो । मानिस असल भएपछि उसले धारण गरेको पेसा त्यसैपनि सम्मानित नहुने कुरै छैन । निसन्देह समयले उहाँलाई हारेर जित्ने एउटा असल स्रष्टाका रुपमा प्रमाणित गर्नेछ । (हङकङमा बसोबास गर्ने राई साहित्यका विविध विधामा कलम चलाउँछन् ) 

प्रकाशित मिति : २० जेठ २०८२, मंगलबार  ३ : १२ बजे

कैलाश मानसरोवर दूरदर्शन सुरु

हुम्ला– हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ को लिमी लाप्चा लोलुङबाट कैलाश

माओवादी पदाधिकारी बैठक जारी

काठमाडौं– नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसिरहेको छ । बैठक

मध्यपहाडी लोकमार्गको मोदीखोलामा पुल निर्माण गरिँदै

पर्वत– पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क

तनहुँको घिरिङमा व्यावसायिक अङ्गुरखेती

तनहुँ– तनहुँको घिरिङ गाउँपालिका– ४ स्थित बाह्रबिसेमा गत वर्षदेखि करिब

क्रिकेट खेलाडीलाई प्रधानमन्त्री ओलीको बधाई 

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आईसीसी विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय