संघको निर्देशनपछि गण्डकीमा राइड सेयरिङ नियमावली स्थगन  « Khabarhub

संघको निर्देशनपछि गण्डकीमा राइड सेयरिङ नियमावली स्थगन 


२० जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


435
Shares
  • change font
  • change font
  • change font

पोखरा– गण्डकी प्रदेश सरकारले हालै लागू गरेको गण्डकी प्रदेश राइड सेयरिङ (नियमन र व्यवस्थापन) नियमावली, २०८२ को कार्यान्वयन प्रक्रिया अस्थायी रूपमा एक महिनाका लागि स्थगित गर्ने निर्णय गरेको छ। संघीय सरकारको आग्रह र सार्वजनिक यातायात बन्दका कारण उत्पन्न परिस्थितिलाई ध्यानमा राख्दै प्रदेश सरकारले सरोकारवाला पक्षहरूसँग वार्ता प्रक्रिया अघि बढाउने निर्णय गरेको हो।

यो निर्णय प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट मंगलबार गण्डकी प्रदेश सरकारलाई पठाइएको औपचारिक पत्रका आधारमा गरिएको हो। पत्रमा जनजीवनलाई सहज बनाउने उद्देश्यले नियमावली अन्तर्गतको कार्यान्वयन तत्काल रोक्न आग्रह गरिएको थियो।

गण्डकी प्रदेश सरकारले राइड सेयरिङ सेवा नियमन गर्न जारी गरेको नियमावली कुनै आकस्मिक निर्णय नभई विधिको शासन, संवैधानिक आदेश र संघीय सहमतिका आधारमा बनेको हो।

२०७६ फागुन २९ मा उच्च अदालत पाटनबाट राइड सेयरिङ सेवा नरोकिनुपर्ने निर्देशनात्मक आदेश, २०७८ भदौ ३ गते सर्वोच्च अदालतबाट ‘पे बाइक’ सेवा नरोकिने आदेशका आधारमा प्रदेशले नियमावली बनाएको हो ।

२०८१ असार १३ गते सर्वोच्च अदालतबाट ‘पठाओ’ जस्ता सेवाहरू रोक्न नहुने र कानुनी प्रबन्ध तत्काल गर्नुपर्ने आदेश प्राप्त भएका थिए।

त्यस्तै, संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको अध्यक्षतामा बसेको बैठकबाट २०८१ मा नै प्रदेश सरकारहरूले राइड सेयरिङ सेवा नियमन गर्न कानून बनाउन सक्ने सहमति पनि भएको थियो। त्यसैका आधारमा गण्डकी प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०७६ को दफा (३९४) अनुसार नियमावली जारी गरिएको हो।

राइड सेयरिङ सेवा नेपालमा सन् २०१६ देखि सञ्चालनमा आएको हो। हाल हजारौँ युवाहरू यस सेवामार्फत स्वरोजगारमा लागेका छन्। आम नागरिकले विकल्पका रूपमा यो सेवा रोज्ने गरेका छन्। त्यसैले प्रदेश सरकारले आम नागरिकको हित, प्रविधिको प्रयोग र रोजगारी सृजनालाई ध्यानमा राख्दै सेवा व्यवस्थित गर्न नियमावली ल्याएको प्रदेश सरकारले जनाएको छ ।

नियमावली जारी भएपश्चात् आम उपभोक्ता, सेवा प्रदायक र संस्थाहरूले सकारात्मक प्रतिक्रिया जनाए पनि यातायात व्यवसायी सङ्घहरू भने असन्तुष्ट बनेका छन्। व्यवसायीहरूले दुई बुँदे मागसहित ज्ञापनपत्र बुझाएका थिए।

मन्त्रालयले २०८२ जेठ १३ मा पाँच सदस्यीय अधिकार प्राप्त वार्ता समिति गठन गरी व्यवसायीहरूलाई औपचारिक पत्राचारमार्फत वार्तामा आमन्त्रण गरेको थियो। तर, व्यवसायीहरूले उल्टै ७ बुँदे मागसहित जवाफ पठाउँदै जेठ १६ गतेदेखि सार्वजनिक यातायात बन्द गरे।

यता वार्ता टोलीले पुनः जेठ १८ गते सार्वजनिकरूपमा वार्ताका लागि आह्वान गरेको थियो। सोही सन्दर्भमा संघीय सरकारको पत्र प्राप्त भएपछि गण्डकी प्रदेश सरकार वार्तालाई प्राथमिकतामा राख्दै नियमावली कार्यान्वयन हाललाई एक महिनाका लागि स्थगित गर्ने निर्णयमा पुगेको हो प्रदेश सरकारका सचिव ई। कमल कुमार अधिकारीले बताए ।

प्रकाशित मिति : २० जेठ २०८२, मंगलबार  ७ : ३७ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका