नेपाल वेदविधा आश्रमलाई एसईईमा ऐतिहासिक सफलता, मन्त्री पाण्डेद्वारा शुभकामना « Khabarhub

नेपाल वेदविधा आश्रमलाई एसईईमा ऐतिहासिक सफलता, मन्त्री पाण्डेद्वारा शुभकामना


१९ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत पशुपति क्षेत्र विकास कोषद्वारा सञ्चालित नेपाल वेदविधा आश्रम संस्कृति माध्यमिक विद्यालयले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ऐतिहासिक सफलता हासिल गरेको छ।

विद्यालयका १४ जना परीक्षार्थीमध्ये ११ जनाले ए प्लस र ३ जनाले ए ग्रेड हासिल गरेका छन्।

संस्कृत भाषा र साहित्यमा आधारित शिक्षालय नेपाल वेदविधा आश्रमले यसपटक ८५ प्रतिशतभन्दा बढी विद्यार्थीलाई ए प्लसमा पुर्‍याउनुका साथै सम्पूर्ण विद्यार्थीलाई उत्तीर्ण गराएर शिक्षा क्षेत्रमा अनुकरणीय उदाहरण प्रस्तुत गरेको हो।

उक्त उपलब्धिप्रति खुशी व्यक्त गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले विद्यालयलाई एक औपचारिक समारोहमार्फत बधाई तथा शुभकामना दिए।

कार्यक्रममा मन्त्री पाण्डेले संस्कृत विषयको अध्ययन आफैँमा चुनौतीपूर्ण रहेको उल्लेख गर्दै भने,’संस्कृत व्याकरण र साहित्यजस्ता कठिन विषयमा समेत ३.९५ सम्मको जीपीए ल्याउनु गौरवको विषय हो।’

उनले अझ भने, ‘नेपाल वेदविधा आश्रमले यसपटक जुन प्रेरणादायी नतिजा देखायो, यो संस्कृत शिक्षाको उज्यालो सम्भावनाको संकेत हो। संस्कृत र अंग्रेजी दुवैमा दक्ष विद्यार्थी संसारको जुनसुकै कुनामा काम लाग्ने हुन्छन्।’

त्यस अवसरमा मन्त्री पाण्डेले मन्त्रालय अन्तर्गतका अन्य निकायहरूको प्रगतिको चर्चा गर्दै भने, ‘सांस्कृतिक संस्थानले मात्रै ७० प्रतिशत नाफा कमाउन सफल भएको छ भने वेदविधा आश्रमले प्राप्त गरेको शैक्षिक सफलता संस्थागत प्रतिबद्धताको सशक्त उदाहरण हो।’

विद्यालयका प्राचार्य केशवप्रसाद अधिकारीले विगत १० वर्षदेखि एसईईमा शत प्रतिशत उत्तीर्णको परम्परा कायम राख्दै आएको जानकारी गराए। उनले सीमित स्रोतसाधनबीच पनि संस्कृत अध्ययनतर्फ विद्यार्थीको आकर्षण बढ्दो रहेको बताए।

प्राचार्य अधिकारीका अनुसार विद्यालयमा हाल कक्षा ४ देखि १२ सम्म अध्यापन हुँदै आएको छ। विद्यालयमा १५ जना शिक्षकमध्ये ७ जना आंशिक शिक्षक छन् भने उनी स्वयम् मात्र स्थायी शिक्षक हुन्।

पशुपति क्षेत्र विकास कोष अन्तर्गत सञ्चालनमा रहेको विद्यालयमा हाल १०९ जना छात्र छात्रावासमा बसेर अध्ययनरत छन् भने २१५ जना छात्र छात्रावासबाहिरबाट अध्ययन गरिरहेका छन्।

विद्यालयको निरन्तर शैक्षिक उन्नयन सुनिश्चित गर्न कोषबाट कुनै कसर बाँकी नराखिने कोषका निमित्त सचिव सुभाष जोशीले जानकारी दिए। उनले संस्कृत शिक्षाको विस्तार र प्रवर्द्धनमा वेदविधा आश्रमले खेलेको भूमिकालाई थप प्रभावकारी बनाउन मन्त्रालयको तर्फबाट निरन्तर सहयोग जारी रहने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : १९ असार २०८२, बिहीबार  १२ : २३ बजे

चितवनमा मोबाइल नेटवर्क विस्तार

चितवन– नेपाल टेलिकमले चितवनका विभिन्न क्षेत्रमा मोबाइल तथा इन्टरनेट सेवाको

गर्मी छल्न रिगताल क्षेत्रमा पर्यटक बढ्दै

बागलुङ– हिजोआज दैनिकजसो रिगताल परिसरमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ

मैत्रीपूर्ण फुटबल खेल्न पूर्वकप्तानहरु सुर्खेतमा

कर्णाली– नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तानहरु कर्णाली प्रदेशको राजधानी सुर्खेतमा

केही भूभागमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणा

भक्तपुर– भक्तपुरको सूर्यविनायक नगरपालिकाले शुक्रबार नगरलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना