अरनिको राजमार्ग : धुलिखेल-साँगा सडकखण्डमा काम रोकियो | Khabarhub Khabarhub

अरनिको राजमार्ग : धुलिखेल-साँगा सडकखण्डमा काम रोकियो


१९ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– स्तरोन्नती भइरहेको अरनिको राजमार्गअन्तर्गत साँगा–धुलिखेल सडकखण्डको काम वर्षाका कारण रोकिएको छ । मनसुन बाहिरिएपछि पुनः काम सुचारु हुने आयोजनाले जनाएको छ । 

उक्त सडकखण्डको पुलबजार क्षेत्रमा भने स्थानीयको अवरोधका कारण चार महिनादेखि काम ठप्प अवस्थामा छ । उक्त क्षेत्रको करिब २ सय मिटर क्षेत्रमा विस्तारकार्य रोकिएको सडक विभागको सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाले जनाएको छ । कार्यालयका अनुसार धुलिखेलमा एक किलोमिटर मुख्य सडक पक्की गरिएपनि मनसुनका कारण थप पक्की गर्न सकिएको छैन । 

सबै सामग्री तयारी अवस्थामा रहेपनि वर्षाका कारण धुलिखेलबाट बनेपातर्फको सडक तथा बनेपास्थित जनागाल क्षेत्रमा एक किमी सडक पक्की नगरिएको आयोजनाका इन्जिनियर विष्णुप्रसाद खनालले जानकारी दिए । 

खनालका अनुसार सडक बिस्तारसँगै बनेपा क्षेत्रमा करिब ५० वटा विजुलीका पोल हटाउनुपर्ने तथा २८ किलोमा एक घर हटाउने कामसमेत रोकिएको हो । बनेपा सहरको पूर्वीतर्फ चण्डेश्वरी खोलादेखि बनेपा चारदोबाटोसम्म करिब एक किमी सडकको डल निर्माणकार्य भइरहेपनि वर्षाका कारण काम नै ठप्प अवस्थामा रहेको छ । 

पुलबजार क्षेत्रमा भने ‘सेन्टर लाइन’को विषयलाई लिएर स्थानीयले अवरोध जनाएपछि चार महिनादेखि बिस्तारकार्य नै रोकिएको थियो । सेन्टर लाइनबाट दायाँबायाँ ७५-७५ फिट (एक सय ५० फिट)मध्ये पनि एक सय ४० फिटमा काम भइरहेकोमा स्थानीयले दुवै तर्फका घरमा बराबर छुट्याउनुपर्ने विषयमा विवाद निकालेर निर्माणकार्य अबरुद्ध पारेका हुन् । 

सडकको डिजाइन अनुसारनै सडकको बीचबाट बराबर छुट्याउने भएकाले स्थानीयले घरको दूरीमा बराबर गर्नुपर्छ भन्दै विवाद सिर्जना गरेपछि निर्माणकार्य रोकिएको खनालले बताए। उनका अनुसार पटकपटक गरिएको सरोकारवालासहित बनेपा नगरपालिकाका जनप्रतिनिधि र स्थानीयबीचको छलफलले कुनै निष्कर्ष निकाल्न सकेको छैन । स्थानीयको अवरोधसँगै मापदण्डभित्रका घर–टहरा हटाउनुपर्ने, बिजुलीको पोल बिस्तार, अप्टिकल फाइबर, हाइटेन्सनका पोल हटाउनुपर्ने काम रोकिएको जनाइएको छ । 

पुलबजार क्षेत्रमा अवरोधका कारण बनेपाको मुख्य सहर क्षेत्रमासमेत निर्माण कार्य रोकिँदै आएको थियो । यसैबीच अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यबिनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक छ लेनमा बिस्तारको काम समयमै नसकिने भएको छ । आयोजनाले बाँकी करिब छ महिनाको अवधिमा बिस्तारको काम नसकिने जनाएको हो । 

वि।सं। २०७९ पुस २४ बाट सुरु गरिएको १६ किलोमिटर लम्बाइको यस सडक ३६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । उक्त सडकखण्ड सूर्यविनायकबाट साँगासम्म र साँगाबाट धुलिखेलसम्म गरी दुई खण्डमा विभाजन गरी सोहीअनुसार ठेक्का सम्झौता भई विस्तार भइरहेको थियो । 

हाल दुई खण्डको बिस्तारको काम ५० प्रतिशतको हाराहारीमा काम भएको आयोजनाले जनाएको हो । उक्त आयोजनाअन्तर्गत पहिलो चरणमा साँगादेखि धुलिखेल आठ दशमलव ४ किमी सडकखण्ड बिस्तारकार्यका लागि चार अर्ब पाँच करोड ६४ लाखका तथा दोस्रो चरणमा सुरु भएको सूर्यविनायक–साँगा सडकखण्ड रु तीन अर्ब ८८ करोड ९३ लाखमा सम्झौता भएको थियो । 

आयोजनाको सिनियर डिभिजनल इञ्जिनियर एवं सूचना अधिकारी सजना अधिकारीका अनुसार निर्धारित समयभित्र बिस्तारको काम नसकिने भएकाले समय थप्नुपर्ने देखिएको छ । 

उनका अनुसार मापदण्डभित्रका घर–ठहरा भत्काउन, रुख, विजुलीका पोल तथा अप्टिकल फाइबरको केबल प्रतिस्थापन गर्दा समयमा काम सुरु हुन सकको थिएन । यस्तै साँगाँ–धुलिखेल खण्डमा बनेपाको सहरी क्षेत्रमा पुललगायत व्यक्तिगत घरको विवाद तथा मापदण्डभित्रका घर भत्काउन नसक्दा ढिलाई भएको अधिकारीको भनाई छ । समयसीमासम्म करिब ६५ प्रतिशत भौतिक निर्माण हुने जनाइएको छ । 
 

प्रकाशित मिति : १९ असार २०८२, बिहीबार  १ : ५३ बजे

अदालतको आदेशपछि परिचारिका काममा फर्किने

काठमाडौं – नेपाल वायुसेवा निगमले श्रम अदालतको आदेश बमोजिम विमान

गायिका चौहानलाई सामाजिक सञ्जालबाट दुर्व्यवहार गर्नेमाथि तीन दिन म्याद थप

काठमाडौं – गायिका एलिना चौहानलाई सामाजिक सञ्जालमार्फत गालीगलौज र दुव्र्यवहार

ट्रम्प र पुटिनबीच बिहीबार फोनवार्ता हुने

मस्को – रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड

युवाहरुलाई सीप सिकाउँदै गण्डकी प्रेदश सरकार

गण्डकी – युवाहरुलाई स्वदेशमै स्वरोजगार बनाउन गण्डकी प्रदेश सरकारले व्यावसायिक

सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री