संसद् भवन निर्माणमा ढिलाइ नगर्न सांसदहरूको आग्रह | Khabarhub Khabarhub

संसद् भवन निर्माणमा ढिलाइ नगर्न सांसदहरूको आग्रह


१८ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सङ्घीय संसद् भवन निर्माणमा ढिलाइ नगर्न सांसदहरूले आग्रह गरेका छन् । 

राष्ट्रियसभा, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आजको बैठकमा उनीहरूले तोकिएको समयभित्र निर्माण सम्पन्न नभए पनि अब  थपिएको म्यादभित्र विलम्ब नगरी भवन निर्माण गर्न आग्रह गरेका छन् ।

बैठकमा सहरी विकास तथा भवन निर्माण विभागसँग निर्माणाधीन संसद् भवनको पछिल्लो अवस्थाबारे छलफल भएको थियो । 

त्यस क्रममा सांसद मदनकुमारी शाह गरिमाले सिंहदरबारभित्रै समयमा भवन निर्माण सम्पन्न नहुनु दुःखद रहेको बताइन् । 

उनले भनिन्, ‘सिंहदरबारभित्रै यस्तो हालत छ भने अरूतिर के होला ? समितिले पटक पटक निर्देशन र ‘फलोअप’ गर्दा पनि संसद् भवन निर्माणले गति लिन सकेन । सबैको चासो हुँदा पनि काम नहुनुले हाम्रो काम गर्ने शैली र प्रतिबद्धतामाथि नै प्रश्न उठेको छ ।’

सांसद पदमबहादुर परियारले थपिएको म्यादभित्र पनि भवनको काम सम्पन्न हुनेमा विश्वस्त हुन सक्ने आधार नदेखिएको धारणा राखे । 

‘निर्माण कम्पनीले एक वर्षको समय माग गरेको थियो, तर ६ महिना म्याद थपिएको छ । के यो समयभित्र साँच्चिकै काम सकिन्छ त ? समयभित्र काम हुन्छ भन्ने विश्वास गर्न कठिन छ’, उनले भने। संसद् भवनको डिजाइन पनि अपाङ्गतामैत्री नभएको सांसद परियारको भनाइ थियो ।

सांसद रेणु चन्दले संसद् भवन निर्माण गरिराख्दा सदनमा प्रतिनिधित्व गर्ने ३३ प्रतिशत महिलालाई ध्यान राखेर बनाउनुपर्नेमा जोड दिइन् । उनले भनिन्, ‘भवन निर्माण गर्दा अपाङ्गमैत्री, महिलामैत्री छ वा छैन त ? स्तनपान कक्ष, शौचालयमालगायत उपयुक्त सुविधा हुनुपर्छ ।’ 

भवन निर्माण विभागका महानिर्देशक इन्जिनियर मचाकाजी महर्जनले निर्धारित म्यादभित्र निर्माण सम्पन्न गर्न प्रयास भइरहेको बताए । उनले निर्माण व्यवसायीबाट क्रमिक रूपमा जनशक्तिको सङ्ख्या बढाउँदै लगिएको जानकारी दिए । निर्माण कार्यमा आएका समस्या छिटो समाधान गर्न आयोजना कार्यालय, परामर्शदाता र निर्माण व्यवसायीबीच साप्ताहिक रूपमा त्रिपक्षीय बैठक बसेर काम अगाडि बढाउने गरिएको महानिर्देशक महर्जनको भनाइ थियो । 

विसं २०७६ असोज १६ गते भवन निर्माण सम्झौता हुँदा अन्तिम म्याद २०७९ असोज १६ गते रहेको थियो । उक्त अवधिमा निर्माण सम्पन्न हुन नसक्दा २०८२ पुस १६ गतेसम्म पाँचौँ पटक म्याद थपिएर काम भइरहेको छ । 

भवनको हालसम्म भौतिक प्रगति ८६ प्रतिशत रहेको छ भने भवन ‘इन्टेरियर’ गर्ने कार्यको भौतिक प्रगति २१ प्रतिशत मात्र रहेको छ ।

बैठकमा सिंहदरबार ग्यालरी बैठक पुनर्निर्माणको अवस्थाबारे पनि छलफल भएको थियो । ग्यालरी बैठक पुनर्निर्माणका लागि विसं २०८१ जेठ ६ मा सम्झौता भई आगामी मङ्सिर ६ सम्म निर्माण सम्पन्न हुने लक्ष्य छ । 

विभागका अनुसार हालसम्म २५ प्रतिशत भौतिक प्रगति र २२ प्रतिशत वित्तीय प्रगति रहेको त्यस अवसरमा जानकारी दिइयो । 

विभागका उपमहानिर्देशक सुनिलकुमार ठाकुरले ‘रेट्रोफिटिङ’ कार्य सुरु गर्न गारो प्लास्टर निकालिएको र जगको प्रबलीकरणका लागि ‘माइक्रोपाइलिङ’को काम सम्पन्न भई अन्य कार्य भइरहेको जानकारी गराए । 

‘निर्माण कार्यबाट निस्केको माटो तथा अरू नचाहिने सामग्रीको उचित व्यवस्थापन गर्न कठिनाइ भएको छ । रेट्रोफिटिङ कार्य आफैँमा जटिल कार्य हो । ग्यालरी भवनको मौलिकतालाई कमभन्दा कम क्षति पुर्‍याएर काम गर्नुपर्ने भएकाले सोचेकोभन्दा धेरै समय लाग्ने देखिन्छ’, उनले भने ।  

काठमाडौं उपत्यकाका विभिन्न राणाकालीन सभ्यता, कला र वास्तुकला र प्रविधिलाई प्रतिनिधित्व गर्ने यस भवनको ऐतिहासिक महत्त्व र मौलिकपना कायम हुने गरी भवनको प्रबलीकरण गरिने विभागले जनाएको छ । 
 

प्रकाशित मिति : १८ श्रावण २०८२, आइतबार  ६ : ०७ बजे

सप्तकोशी नदीमा पानीको बहाव बढ्दै, २७ ढोका खोलिए

सुनसरी – पूर्वी पहाडी तथा तराईका जिल्लामा लगातार भएको वर्षाका

घरासयी विवादमा २४ वर्षीया श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पर्सा – पर्साको जिराभवानी गाउँपालिका–५ शङ्करसरैयाका जितेन्द्र माझी पत्नीको हत्या

पब्जी विश्वकप : होरा इस्पोर्ट्स नवौं स्थानमा, जित्यो डेढ करोड बढी पुरस्कार

काठमाडौं – साउदी अरेबियामा जारी ‘इस्पोर्ट्स वर्ल्डकप २०२५’ अन्तर्गत पब्जी

मनसुन अझै केही दिन सक्रिय रहन्छ : मौसमविद् महर्जन

काठमाडौं – लामो खडेरीका कारण प्रभावित तराईका किसानले आज भने

भियतनाममा बाढीको कहर, १० जनाको मृत्यु

हानोई – भियतनामको उत्तर–पश्चिमी पहाडी क्षेत्रहरूमा आएको लगातार वर्षाका कारण