काठमाडौं– नेपालको संसद्का तर्फबाट आउँदो भदौ महिनाको २ र ३ गते अन्तर्राष्ट्रिय सम्मेलन गरिने भएको छ ।
जलवायु परिवर्तनले पारिरहेको असर सम्बन्धमा नेपालको संसद्का तर्फबाट आगामी भदौ २ र ३ गते अन्तर्राष्ट्रिय सम्मेलन गरिने प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।
स्विट्जरल्यान्डको जेनेभामा सम्पन्न संसद्का सभामुखहरूको छैटौँ विश्व सम्मेलनमा नेपालका तर्फबाट सहभागिता जनाउनु भई आज स्वदेश फिर्ता भएका सभामुख घिमिरेले अन्तर व्यवस्थापिका–सङ्घ (आइपियू) का अध्यक्षसँग पनि आउँदो जनवरी ३० र ३१ मा एसिया प्यासिफक रिजनको जलवायुका असरहरूसँग सम्बन्धित एउटा कार्यक्रम गर्नेबारे छलफल गरेको बताए ।
उनले भने, ‘जलवायु परिवर्तनले पारिरहेको असरलाई लिएर नेपालको संसद्का तर्फबाट अन्तर्राष्ट्रिय सम्मेलन गर्न लागेकोबारे पनि सम्मेलनमा छलफल भएको छ । भदौको २ र ३ गते अन्तर्राष्ट्रिय सम्मेलन गर्नेछौँ ।’
सभामुख घिमिरे अन्तर व्यवस्थापिका सङ्घ र संयुक्त राष्ट्रसङ्घद्वारा संयुक्त रूपमा आयोजित संसद्का सभामुखहरूको छैटौँ विश्व सम्मेलनमा सहभागी हुन यही साउन ११ गते जेनेभा प्रस्थान गरेका थिए ।
यही साउन १४ देखि १७ गतेसम्म स्विट्जरल्यान्डको जेनेभामा आयोजना भएको सम्मेलनका क्रममा उनले संयुक्त अधिराज्य बेलायत, स्विट्जरल्यान्ड, माल्टा, इजरायल, भूटानलगायत मुलुकका सभामुखहरूसँग द्विपक्षीय भेटघाट गरेका थिए ।
प्रतिक्रिया