भत्किएको घरको कोठा कहाँ सुरक्षित हुन्छ ? | Khabarhub Khabarhub

भत्किएको घरको कोठा कहाँ सुरक्षित हुन्छ ?

विदेशको सानदार जीवन र झुटको पुलिन्दा



यो रात फरक छ। यो केवल अन्धकारको पर्याय होइन, यो त सामूहिक चेतनाको द्वन्द्वकाल हो। घडीको टिक–टिक सुनिँदैछ, एउटा क्रूर, निरन्तर ध्वनि, जसले मेरो कानमा होइन, सिधै आत्मग्लानीको स्नायुमा प्रहार गरिरहेको छ।

बाहिर सडकमा गाडीको आवाज, जीवनको कोलाहल तर यी सबै बाह्य ध्वनिभन्दा लाखौँ गुणा ठूलो त मेरो भित्रको एक्लोपनको महासागर हो। म यहाँ, विदेशी भूमिको यो आलिशान ‘कारागार’ भित्र, मेरो निद्रा खोजिरहेको छैन, म त मेरो गुमेको कर्तव्यको हिसाब खोजिरहेको छु।

म एक सफल मानिएको डाक्टर हुँ । राज्यको छात्रवृत्तिमा पढाइ, समाजको लगानी, परिवारको सपना हो । मेरो शरीरभित्र बग्ने रगतका कण कणमा देशको माटोको ऋण छ। नेपालको माटोले अमृतको आशामा सिंचेको विरुवा थिएँ म, तर फल्ने बेला मैले आफ्नो भौतिक सुखको गणित लगाएर पलायन भएँ। मैले सोचेँ, देशको दलदलबाट बाहिर निस्केर मात्र म स्वतन्त्र हुन सक्छु। तर आज बुझ्दै छु, स्वतन्त्रता त केवल मनको धर्मयुद्धमा विजय हासिल गरेपछि मात्र मिल्दो रहेछ, भागेर होइन।

विदेश पलायनले मलाई छाया जीवन दियो। ठूलो घर, महँगो गाडी, बैंक खातामा ठूलो अंक। मैले परिवारको भौतिक जिम्मेवारी पूरा गरेँ । आर्थिक सुरक्षाको जाल बुनेँ, तर आध्यात्मिक सुरक्षा त जमिन, इतिहास र कर्तव्यसँग जोडिएको रहेछ। जति पैसा, जति प्रतिष्ठा, जति सफलता हासिल गरे पनि यदि मैले मेरो मातृभूमिको अस्मिता रक्षा गर्न सकिनँ भने, मेरो यो सम्पूर्ण अस्तित्व केवल एउटा सानदार झुटबाहेक केही रहेनछ।

यसै रात, म आफ्नो आत्म-प्रतिबिम्ब ऐनामा हेर्छु। तर ऐना भनेको के हो ? मानव सभ्यताको पहिलो ऐना त पानी थियो- नदीको सतहमा, तालको शान्त जलमा मानिसले पहिलोपटक आफूलाई देख्यो। त्यो क्षण मानव इतिहासमा एक अदृश्य क्रान्ति थियो । आत्मचेतनाको जन्म। तर त्यो प्रतिबिम्ब स्थायी थिएन। हल्का हावा चल्ने बित्तिकै अनुहार हराउँथ्यो । त्यसैले एउटा कालजयी प्रश्न उब्जिन्छ, के ऐनाले सधैँ यथार्थ देखाउँछ वा भ्रम सिर्जना गर्छ ?

ग्रीक मिथकले भनेझैं, दुर्भाग्यशाली युवक नारसिसस आफ्नै प्रतिबिम्बमा मोहित भएर नदीमै डुबेर मर्यो। ऐनाले उसलाई सुन्दर देखायो, तर अन्ततः मृत्यु दियो। हामीले विदेशको ऐनामा, प्रशंसा र धनको जालमा, आफैँलाई सफल, सभ्य र सम्पन्न देख्यौँ। तर त्यो झुटो प्रतिबिम्बले हाम्रो चेतना मारिदिएको छ। हामीलाई मातृभूमिको गहिराइबाट अलग्याएको छ। त्यो सुखको मोहले हामीलाई कर्तव्यको नदीमा डुबाएको छ।

भौतिकशास्त्र भन्छ, प्रतिबिम्ब पूर्ण सत्य हुँदैन, किनकि प्रकाश किरण सतहमा ठोक्किँदा कोण परिवर्तन हुन्छ। रसायनशास्त्र भन्छ, काँचको संरचना आफैँमा अशुद्ध हुन्छ। न्यूरोसाइन्स भन्छ, हाम्रो दिमागले देखेको प्रतिबिम्बलाई सधैँ व्याख्या र कहिलेकाहीँ विकृत पार्छ। त्यसैले ऐना कहिल्यै शुद्ध यथार्थ होइन, यो त एक सजावट गरिएको वास्तविकता मात्र हो।

यस्तै राजनीति पनि ऐनाजस्तै हो। सत्ता सधैँ हामीलाई आफू चाहेको प्रतिबिम्ब मात्र देखाउँछ। नेपालको इतिहासमै हेरौं, जंगबहादुर राणाले युरोपको ऐना देखे, तर त्यो प्रतिबिम्बलाई आफ्नै दरबारमा कैद गरे । तर जनता भने अँध्यारोमा छाडिए। २०४६ र २०६२–६३ का आन्दोलनमा हामीले स्वतन्त्रताको ऐना चिहायौँ, तर हरेकपटक केही वर्षमै त्यो धुलोले धुम्मियो। ऐनाको यही खेलले हाम्रा पुस्तालाई सधैँ अल्मल्यायो ।

अब कुरा मेरो व्यक्तिगत ऐनाको। आज रात मैले आफूलाई ऐनामा हेरें। मैले देखेँ, एउटा डाक्टर, सुरक्षित भविष्यतर्फ अघि बढ्दै गरेको। तर त्यही ऐनामा अर्को अनुहार पनि छ- एउटा पलायनवादी, जसले आफ्नै देशलाई संकटमा छाडेर टाढा पुगेको। यी दुई अनुहारबीच म असहाय छु। घर भत्कँदा कोठा सुरक्षित हुँदैन। नेपाल भत्किँदा, अमेरिकाको यो सुरक्षित घर पनि अस्थायी कोठा मात्र लाग्छ, अधुरो, चिसो, अपराधबोधले भरिएको छ।

मलाई देवकोटाकै मुनामदनको कथाले लखेटिरहेको छ। मदनले आफ्नो परिवारको गरिबी हटाउन परदेशको बाटो रोजे। उनको यात्रामा प्रेम, त्याग र दुःख थियो। तर मदन त घर फर्किने संकल्प बोकेर गएका थिए। मदनले त धनको पछि लाग्दा पत्नी गुमाए। मैले त राष्ट्रकै आत्मा गुमाउने जोखिम लिएँ।

आज नेपालका सडकमा जेनजी पुस्ताको आवाज गुन्जिरहेको छ। उनीहरू डर र आक्रोशको मिश्रित ज्वाला बोकेर व्यवस्थालाई प्रश्न गर्दैछन्। उनीहरूको हातमा मसाल छ, तर त्यो मसाल केवल राजनीतिक विरोधको होइन, त्यो त हाम्रो पुस्ताको निष्क्रियतालाई जलाउने आत्मसमीक्षाको अग्नि हो। उनीहरूको साहसले मलाई निर्वस्त्र बनाउँछ। मलाई लाग्यो, हामीले देश छोडेर शान्ति पायौँ। तर गीताको शिक्षाले मलाई झक्झकाउँछ- कर्मयोग। कृष्णले अर्जुनलाई बुझाएका थिए, कर्म नगर्नु निष्क्रिय पलायन पनि एक प्रकारको कर्म हो, जसले अझ ठूलो विनाश र पाप निम्त्याउँछ। मेरो युद्ध, मेरो धर्मक्षेत्र, त्यही माटो थियो। मैले कुरुक्षेत्र छाडेर सुविधाको महल बनाएँ। मेरो धर्म के हो ? केवल स्वार्थको पूजा कि सामूहिक कल्याण ?

आज यही रातको तेस्रो प्रहरमा म आफूलाई कृष्णले अर्जुनलाई दिएको उपदेश सम्झाउँछु– कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन। अर्थात्, तिम्रो अधिकार कर्म गर्नमा मात्र छ, फलमा कहिल्यै होइन। मैले फल सफलता र धनको लालसामा कर्म, देश सेवालाई तिलाञ्जली दिएँ। मेरो धर्म के हो ? केवल स्वार्थको पूजा कि सामूहिक कल्याण ? जहाँ धर्म छ, त्यहीँ विजय छ। यो लडाइँ सत्य र धर्मको हो, र यसबाट पछि हट्नु कायरता हो।

हामीले देश छाड्नुको कारण केवल व्यक्तिगत लोभ मात्र थिएन। हामी इतिहासको चक्रव्यूहमा फसेका थियौँ। नेपाल दुई शक्तिशाली सभ्यताको चेपमा परेको सानो भूगोल, सधैँ भूराजनीतिक दबाब र आन्तरिक भ्रष्टाचारको भूमरीमा रह्यो। जब शासन सत्ता आत्मघाती स्वार्थमा डुब्यो, हामीलाई लाग्यो- अब देशमा सपनाको हावा बग्न छाड्यो। इतिहास साक्षी छ, हाम्रो देशका युवा सधैँ बेचिए, पहिले गोरखा भर्तीमा र अहिले श्रम बजारमा।

हामीले आफ्नो मस्तिष्क, श्रम र पौरखलाई सधैँ विदेशीलाई सुम्पियौं। यो दिवालियापन होइन भने के हो ? हामीले देशको अस्मिताको अमूल्य खजानालाई रेमिट्यान्सको पैसासँग साट्यौँ। रामायणको त्याग सम्झिन्छु। रामले राजसी सुख त्यागेर धर्म र सत्यको रक्षाका लागि वनवास रोजे। तर हाम्रो पुस्ताका रामुहरूले कर्तव्यको वनवास त्यागेर सुविधाको सिंहासन रोजे। हामीले आफ्नो अस्तित्वको केन्द्र नै बाहिर कतै खोज्न थाल्यौँ। रमजानको तपस्याले आत्मशुद्धि खोज्छ। त्याग बिना, कुनै पनि लक्ष्य पवित्र हुँदैन। मैले शारीरिक त्याग होइन, आध्यात्मिक त्याग गर्नुपर्ने थियो, सुरक्षित जीवनको लालसा त्याग। तर म असफल भएँ ।

भौतिकशास्त्रमा, हरेक कणको क्वान्टम स्टेटले उसको सम्भावित गन्तव्य परिभाषित गर्छ। मेरो जीवनको क्वान्टम स्टेट के हो ? केवल मेरो व्यक्तिगत सफलताको मापन कि देशको भविष्यको निर्माण ? म आज यो रातको अन्धकारमा आत्मशुद्धिको एकान्त खोज्दैछु। अब अपराधबोधले मात्र जीवन चल्दैन। अपराधबोध एउटा स्थिर ऊर्जा हो, जसले केवल भित्रभित्रै जलाउँछ। अब यसलाई गतिशील ऊर्जामा परिवर्तन गर्नु छ क्रान्तिको कर्ममा।

जेनजीले सडकमा जुन क्रान्ति सुरु गरेको छ, त्यो केवल एउटा चरण हो। वास्तविक क्रान्ति त हामीले भित्रको अन्धकारमा, हाम्रो सीप, ज्ञान र ग्लोबल नेटवर्कमा ल्याउनुपर्छ। विदेशमा रहेका युवा हामी अब दोषी होइनौँ, हामी जिम्मेवार पुस्ता हौँ। हामीले हाम्रो ज्ञानलाई रेमिट्यान्स बनाउनुपर्छ। हामीले विदेशबाट सिकेको नवीनतम प्रणाली र अनुसन्धानलाई देशका विश्वविद्यालयमा फर्काउनु पर्छ। मैले सिकेको स्वास्थ्य विशेषज्ञता अब नेपालको सार्वजनिक स्वास्थ्य प्रणालीको सुधारमा लगानी हुनु पर्छ। प्रशासन हामीले देखेको सुशासन र पारदर्शिता अब देशको राजनीतिलाई दबाब दिन प्रयोग हुनुपर्छ। हामी सेतू बन्नुपर्छ, जसले विदेशको अनुभवलाई मातृभूमिको आवश्यकतासँग जोडोस्।

यो रात केवल अन्धकार होइन, यो त विद्रोहको भ्रूण हो। जबसम्म हाम्रो चेतना जाग्दैन, जबसम्म हामी सामूहिक संकल्प लिँदैनौं, तबसम्म यो रात समाप्त हुँदैन। म यो रात पलायनको अध्यायको अन्तिम वाक्य लेख्दैछु। एउटै पुस्ताका नेपाली युवा हो । हामी जहाँ छौँ, त्यहीँबाट अधिकारको लडाइँमा सामेल होऊँ। इतिहासले हामीलाई यही प्रश्न सोध्नेछ- के तिमीहरू केवल उपभोक्ता थियौ, वा निर्माणकर्ता ? अब उठ। मेरो ज्ञान, मेरो सीप, मेरो अनुभव-सबै मैले मेरो देशको आत्मिक पुनर्जागरणका लागि आहुति दिनु छ। यो केवल मेरो मोनोलग होइन। यो त ३ करोड नेपालीको सामूहिक क्रन्दन हो, जसलाई अब सामूहिक संकल्पमा बदल्नु छ। जब लाखौं नेपाली मस्तिष्क र हात एकैसाथ उठ्छन्, तब त्यो आवाज रोक्ने शक्ति कुनै पनि व्यवस्थासँग हुँदैन। अब रात होइन, उज्यालोको निर्णय लिने बेला आएको छ। म उठ्छु। मलाई थाहा छ, तिमी पनि उठ्नेछौँ।

प्रकाशित मिति : १७ आश्विन २०८२, शुक्रबार  ८ : ४५ बजे

ड्रोन देखापरेपछि म्युनिख विमानस्थलमा रोकियो उडान

बर्लिन– जर्मनीको म्युनिख विमानस्थलमा बिहीबार राति अनेकौँ ड्रोन देखिएपछि उडानहरू

युक्रेनलाई अमेरिकी लामो दूरीको मिसाइल आपूर्तिले सम्बन्धमा गम्भीर असर पर्ने पुटिनको चेतावनी

एजेन्सी – रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाले युक्रेनलाई लामो दूरीको

नालामा पर्खाल निर्माण नहुँदा विद्यालयका बालबालिका जोखिममा

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–१ वैशाखास्थित श्रीराम आधारभूत विद्यालयमा पर्खालको अभावमा उच्च

प्रदेश अस्पतालमा विशेषज्ञ चिकित्सकको व्यवस्था

दमौली– यहाँस्थित प्रदेश अस्पतालमा विशेषज्ञ चिकित्सकको व्यवस्था गरिएको छ ।

पर्यटनको केन्द्र बन्दै ‘गणेशपुर पार्क’

तुलसीपुर– दाङको तुलसीपुर–७ गणेशपुरस्थित राप्ती शान्ति उद्यान (गणेशपुर पार्क) मा