किसानका दुख : उडायो सपना सबै झरीले…  « Khabarhub

किसानका दुख : उडायो सपना सबै झरीले… 

अघिल्लो वर्षभन्दा २० प्रतिशतले उत्पादन घट्ने



काठमाडौं– ‘आर्थिक सर्वेक्षण २०८१/०८२’ अनुसार मुलुकको कुल ग्राहस्थ उत्पादन (जिडिपी) मा कृषि क्षेत्रको योगदान २५ दशमलव १६ प्रतिशत रहेको छ । 

तर विगत केही वर्षयता मौसम प्रतिकूल बन्दा कृषकले न त समयमै खेती लगाउन पाएका छन्, न थन्क्याउन नै । बीउ तथा मल अभावले समयमै खेती लगाउन नपाउने नियति भोग्दै आएका उनीहरूलाई यति बेला प्रकृतिले समेत सताउन थालेको छ । 

जसकारण गत साउनमा पानी नपर्दा अन्नको भण्डार मानिने तराइलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गर्नुपर्‍यो । यस्तै धान थन्क्याउने समयमा कार्तिक १५ देखि तीन दिनसम्म परेको अविरल वर्षाले काटेको धान खेतमै नष्ट भएको छ । 

कृषकको बिलौना 

सुनसरीको रामधुनी नगरपालिका–९ का कृषक जङ्गबहादुर घिमिरेको दुई बिघा क्षेत्रफमा लगाएको धान वर्षाले पूरै नष्ट पारेको छ । उनका अनुसार खेतमा बाँकी रहेको धान पनि कुहिएको छ । 

‘हाम्रो जीविकापार्जन भनेकै खेती हो, अरु केही पेसा व्यवसाय छैन, करिब १२ कठ्ठा जति जग्गामा धान लगाएको थिएँ, रोपाइँका बेला सिँचाई अभाव भयो डिप बोरिङमार्फत बल्लतल्ल वर्षदिन खाने खेती लगाएँ, थन्काउने बेला खेतको धान दुई दिन परेको वर्षाले सबै ढलाएको छ, पराल, धान केही नरहने गरी तहसनहस बनायो,’ घिमिरेले भने ।

धानबालीमा नोक्सानी पुग्दा उनले २ लाख बढी क्षति व्यहोर्नुपरेको सुनाउँछन् । यस्तै अर्का कृषक सुरकुमार राईले करिब नौ कठ्ठामा लगाएको तरकारी र आठ कठ्ठामा लगाएको धान बालीमा पनि कार्तिके वर्षाले क्षति पुर्‍याएको छ । 

‘तरकारी फलिसकेको थियो, धान पनि पाक्न लागेको थियो, सबै खेतमै लडायो, अब कसरी वर्षदिन गुजारा गर्ने भन्ने चिन्ता छ,’ राईले सुनाए ।

कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख नीलकमल सिंहका अनुसार अविरल वर्षाले जिल्लामा धान र तरकारी बालीमा करिब दुई अर्ब रुपैयाँको क्षति भएको छ । ४८ हजार ९ सय हेक्टर जमिनमा लगाइएको खेती मध्ये १४ हजार ४ सय हेक्टर धानखेती प्रभावित भएको प्रारम्भिक तथ्यांक छ ।

यस्तै, सर्लाहीको बरहथवा नगरपालिका–१४ का विन्देश्वर रायले काटेर राखेको एक विघा जमिनको धान भिजेका कारण कुहिन थालेको बताएका छन् । 

समयमै वर्षा नहुँदा बेलैमा धान रोप्न नपाएका बागमती नगरपालिका–११ का अर्का कृषक यज्ञ धिमालले जमिन गलेपछि धानको बोट लड्ने र बाला झर्ने हुँदा मर्कामा परेको बताए । 

कृषि ज्ञान केन्द्र सर्लाहीका प्रमुख कमलदेवप्रसाद कुशवाहले समयमै वर्षा नहुँदा सर्लाहीमा ८० प्रतिशत मात्र धान रोपाइँ भएकाले उत्पादनमा गिरावट आउने बताए । 

खेतबारीमा रहेको धानकोदो वर्षासँगै हावाहुरीले लडाउँदा उत्पादनमा असर पर्नुका साथै भित्र्याउनका लागि काटेर सुकाएको बाली र नलपराल पानीले भिजेपछि चिन्तित भएको मङ्गला गाउँपालिका–२ रणवाङका कृषक लक्षिनबहादुर मल्लले बताए ।

यसैगरी म्याग्दीको मङ्गला गाउँपालिका–२ सिमका कृषक ध्रुव खत्रीले वर्षातका कारण खेतमा पाकेको धान काट्न नपाएको बताए । गत वर्ष सयमुरी धान फलाएका खत्रीको यसपाली उत्पादन घट्ने आंकलन छ ।

धानमात्र नभई वर्षासँगै आएको हावाहुरीले कोदोसमेत लडाउँदा फल र नलपराल कामै नलाग्ने भएको सोही ठाउँका अर्का कृषक लक्षिनबहादुर मल्लले बताए ।

यी लगायत देशका सबै जिल्लाहरुमा वर्षाका कारण बालीनालीमा क्षति पुगेको छ । 

सरोकारवाला निकाय के भन्छन् ?

मौसम पूर्वानुमान महाशाखाले वर्षा हुनेबारे सचेत गराउँदा गराउँदै पनि धान काटेर खेतमै छाडिएकाले बढी क्षति भएको कृषि तथा पशुपन्छी मन्त्रालयका सूचना अधिकारी महानन्द जोशी बताउँछन् । 

‘पानी पर्ने कुरा हप्ता दिन पहिले नै सूचित गराउँदै कृषकलाई सचेत हुन सुझाव पनि दिइएको थियो, हुँदाहुँदै पनि धान काटेर खेतमा छोड्नेको हकमा बढी क्षति भएको पाइएको छ, कति ठाउँमा नकाटेको धान पनि ढलेर कामै नलाग्ने भएको स्थानीय तहबाट जानकारी आएकाले तथ्यांक संकलनका क्रममा छौँ,’ उनले बताए । 

‘धान रोप्ने बेला समयमै पानी नपर्दा तराईलाई सुख्खाग्रस्त घोषणा गर्नुपर्‍यो । त्यसले उत्पादनमा १५ प्रतिशत ह्रास ल्यााउने देखिन्छ । धान थन्काउने बेला परेको वर्षाले गत वर्षको तुलनामा ३–५ प्रतिशतसम्म ह्रास आउने प्रारम्भिक आंकलन गरिएको छ, प्रदेशगत मन्त्रालयले तथ्यांक संकलन गरेर पठाएपछि मात्रै यो तथ्यांक यकिन हुन्छ,’ उनले बताए । जसकारण गत वर्षको तुलनामा यस वर्ष धान खेतीमा २० प्रतिशतले ह्रास आउने जोशीको आंकलन छ । 

 गत वर्ष ६९ लाख ५५ हजार टन धान उत्पादन भएको थियो ।

राहत व्यवस्थापन 

प्रदेश र स्थानीय तह मातहतका निकायले क्षतिबारे विवरण पठाएपछि सो तथ्यांकका आधारमा राहत व्यवस्थापन गर्ने उनले बताए ।  

‘क्षतिको सम्पूर्ण तथ्यांक आएपछि नीतिगत छलफल गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत अर्थमन्त्रालयको सहकार्यमा राहत प्याकेज अघि सार्नेछौँ,’ उनले भने । 

भोजपुर नगरपालिका ५ स्थित खेतमा गतहप्ता परेको लगातारको झरिले ढलेको धानबाली । धानमा क्षति पुगेपछि किसान समस्यामा परेका छन् । तस्बिर ः युवराज विष्ट÷रासस

मौसमसँग कसरी जुध्ने कृषक 

नेपाल कृषि अनुसन्धान परिषद मातहतको राष्ट्रिय धान अनुसन्धान कार्यक्रमका संयोजक मधुरा यादवका अनुसार मौसमी प्रणाली प्रतिकूल बनिरहेको अवस्थामा कृषक सोबारे सचेत रहन अत्यावश्यक छ ।

मौसमी अवस्था बुझेर मात्र कृषकले मौसमी चुनौती सहन गर्न सक्ने जातको धान लगाउनुपर्ने उनले सुझाए । 

‘यति बेला मौसमबारे कृषक निकै अपडेट हुनुपर्ने अवस्था छ । १४÷१५ प्रतिशत क्षति तराई सुख्खा बन्दा नै निम्तिइसकेको छ । रोप्ने बेलामा पानी परेन, धान फूल खेल्ने बेला असोजमा पनि पानी पर्‍यो र पाकेको धान थन्काउन नपाउँदै खेतमै उम्रिने अवस्था छ । 

अहिले ‘मन्था चक्रवात’ को प्रभावले समस्या आए पनि विगत ४/५ वर्षयता वर्षा हुने समयमा फेरबदल देखिएको छ, त्यसले समस्या भएको छ,’ । उनले थपे, सुरुमा सुख्खा सहन सक्ने जात जस्तै सावामन्सुली, चन्दननाथ–१ लुम्ले–२ जस्ता धान सुख्खाग्रस्त समयमा लगाउन सकिन्छ भने पानी बढी परेको खण्डमा डाँठ बलियो हुने खालको धान लगाउन सकिन्छ । 

परिषद्ले जलवायु परिवर्तनको असर सहन सक्ने खालको धानको जात निकाल्ने अनुसन्धानको काम गरिरहेको उनले बताए । 

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार  ५ : २१ बजे

अमेरिकी र क्युबाली सैन्य अधिकारीबीच छलफल

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले क्युबासम्बन्धी आफ्नो नीति अघि

अमेरिका–इरान वार्तामा थप प्रगति, अन्तिम निर्णय हुन बाँकी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम अवधि थप गर्ने

नयाँ बजेटले उद्योगी व्यवसायी उत्साहित

चितवन– सरकारले आर्थिक वर्ष २०८३-८४ का लागि सार्वजनिक गरेको बजेटपछि

विशेष आर्थिक क्षेत्र दोमिल्लामा बहुउद्देश्यीय योग भवन निर्माण ९० प्रतिशत सकियो

कञ्चनपुर– कृष्णपुर नगरपालिका-१ दोमिल्लामा योग भवन निर्माण अन्तिम चरणमा पुगेको

अफगानिस्तानको जलालाबादमा ट्रक दुर्घटना, १८ जनाको मृत्यु

एजेन्सी– पूर्वी अफगानिस्तानमा शनिबार एउटा ट्रक पल्टिएर दुर्घटना हुँदा ट्रकमा