झापा महिला गोल्डकपः उद्घाटन खेलमा पुलिस क्लब विजयी | Khabarhub Khabarhub

झापा महिला गोल्डकपः उद्घाटन खेलमा पुलिस क्लब विजयी


१७ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

झापा – शिवसताक्षी नगरपालिकास्थित दुधे रङ्गशालामा आजबाट सुरु भएको एलभिडी झापा महिला गोल्डकपको उद्घाटन खेलमा विभागीय टोली नेपाल पुलिस क्लब विजयी भएको छ ।

डिभिजन क्लब चर्च ब्वाइज युनाइटेडलाई ८–० को फराकिलो गोलअन्तरले हराउँदै पुलिस सेमिफाइनलमा प्रवेश गरेको हो । पुलिसका तर्फबाट मीना देउवाले पाँच गोल र रेखा पौडेलले ह्याट्रिक पूरा गरे ।

रेखाले खेलको ३७औँ, ८०औँ र दोस्रो हाफको इन्जुरी समयमा गोल गरेकी थिइन् । यस्तै, मीनाले खेलको ५१औँ, ६०औँ, ६२औँ, ६८औँ र ८१औँ मिनेटमा गोल गरिन् । पन्धौँ मिनेटमा चर्चले पहिलो अन टार्गेट सट लियो । बाइस यार्डको दूरीबाट चर्चकी प्रतीक्षा मल्लको सट पुलिसकी गोलकिपर उषा नाथले सहजै कलेक्ट गरेकी थिइन् ।

१७ औं मिनेटमा पुलिसकी फरवार्ड मीना देउवाले चर्चको डिफेन्डरलाई बिट गर्दै लिएको पावरफुल सट चर्चको पोष्ट नजिकैबाट बाहिरिएको थियो । ३७औँ मिनेटमा पुलिसले खेलमा खाता खोल्न सफल भयो । दुई राष्ट्रिय खेलाडी कम्बिनेसनमा पुलिसले सुन्दर गोल गर्यो । केही दिनअघि मात्रै राष्ट्रिय टोलीमा डेब्यु गरेकी मीनाको क्रसमा रेखा पौडेलले सुन्दर फिनिस गरिन् ।

दोस्रो हाफको सुरुआती समयदेखि चर्चविरुद्ध दबाब बनाएको पुलिसले ५१औँ मिनेटमा मीना देउवाको गोलमा अग्रता दोब्बर बनाउन सफल भयो । चर्चको डिफेन्डर र गोलकिपरबीच राम्रो तालमेल नहुँदा मीनाले त्यसको फाइदा उठाइन् । ५९औँ मिनेटमा मीनाले सुन्दर फिनिस गर्दै व्यक्तिगत दोस्रो तथा टोलीको तेस्रो गोल गरिन् ।

उनले सम्झना लावतीको पासलाई गोलमा परिणत गरिन् । त्यसको पाँच मिनेट बित्न नपाउँदै मीनाले अर्को गोल थप्दै आफ्नो ह्याट्रिक पूरा गरिन् । पुलिसको लङ्गभली क्रसलाई चर्चकी गोलकिपर करुणाले राम्रो कलेक्ट गर्न नसक्दा मीनाले त्यसको फाइदा उठाउँदै टोलीलाई ४–० गोलको अग्रता दिलाउन सफल भइन् ।

६८औँ मिनेटमा रेखाको सुन्दर क्रसमा मीनाले आफ्नो चौथो गोल गरिन् । ८०औँ मिनेटमा रेखाले ३० यार्डको लामो दूरीबाट गरेको सटले सिधै चर्चको जाली चुम्न पुग्यो । रेखाको उक्त सटमा चर्चकी गोलकिपरले कुनै मौका पाइनन् । त्यसको तीन मिनेट बित्न नपाउँदै मिनाले टोलीका लागि सातौँ तथा व्यक्तिगत पाँचौँ गोल पूरा गरिन् । खेलको अन्तिम समयमा रेखाले गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गर्दा टोलीलाई ८–० गोलको फराकिलो अन्तरको जित सुरक्षित गराइन् ।

खेलको प्लेयर अफ द म्याच पुलिसकी मीना देउवा भइन् । उनले नगद रु १५ हजार र ट्रफी पाइन् । मङ्गलबारको दोस्रो क्वार्टरफाइनल खेल एपिएफ फुटबल क्लब र सिङ्ग्लिङ स्पोर्टिङ क्लब सिक्किमबीच हुनेछ । दुधे रङ्गशालामा जारी प्रतियोगिताको फाइनल खेल कात्तिक २४ गते हुनेछ ।

प्रतियोगिताको विजेता टिमले नगद रु १० लाख १० हजार, उपविजेताले नगद रु पाँच लाख पाउनेछ । सर्वोत्कृष्ट खेलाडीलाई नगद रु एक लाख ५० हजार प्रदान गरिने गोल्डकपका अध्यक्ष थोप्राले जानकारी दिए ।

यस्तै, प्रतियोगिताका उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्ताले नगद रु २५ हजार पुरस्कार पाउनेछन् । प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद रु १५ हजार र ट्रफी प्रदान गरिनेछ । प्रतियोगितामा आठवटा टोलीको सहभागिता रहेको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार  ९ : १९ बजे

६१ किलो सुन प्रकरणमा जीवन चलाउनेविरुद्ध दुई अर्बको सम्पत्ति शुद्धीकरण मुद्दा दायर

काठमाडौं- ६१ किलो सुन तस्करी प्रकरणमा संलग्न जीवन चलाउनेविरुद्ध काठमाडौं

रोल्वालिङ क्षेत्रमा हिमपहिरोः ज्यान गुमाउनेको संख्या सात पुग्यो (अपडेट)

काठमाडौं – दोलखाको गौरीशङ्कर गाउँपालिका–९ अन्तर्गत रहेको गौरीशङ्कर र रोल्वालिङ

यी हुन् जेनजी आन्दोलनका सहिद (नामावलीसहित)

काठमाडाैं । सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका ४५ जनालाई

११ राजदूत २० गतेभित्र मन्त्रालयमा हाजिर हुन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं- वर्तमान सुशीला कार्की नेतृत्वको सरकारले यसअघि फिर्ता बोलाएका राजदूतलाई

मह उत्पादनको सिजनमै सरकारले १६५ टन आयात खुलायो, निर्णय फिर्ता लिन किसानको माग

चितवन- आयातित महलाई प्रमुख स्थान दिइ गरिएको निर्णय पुनर्विचार गर्न