महोत्तरीमा कोदोखेतीको क्षेत्रफल बढ्दै « Khabarhub

महोत्तरीमा कोदोखेतीको क्षेत्रफल बढ्दै


१७ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– पछिल्ला केही वर्षयता जिल्लामा कोदोखेतीको क्षेत्रफल बढ्दै गएको छ । चार दशक पहिले मुख्यबालीका रूपमा मानिएको कोदोको प्रयोग पछिल्लो केही वर्षयता कम हुँदै गएपनि स्वास्थ्यका दृष्टिकोणले कोदो उपयुक्त मानिने भएकाले यसको प्रयोगकर्तासँगै खेतीको क्षेत्रफल पनि बढ्दै गएको हो ।

आर्थिक वर्ष २०७८-२०७९ मा जिल्लामा ३०० हेक्टर क्षेत्रफलमा भएको कोदोखेती गत आवमा आइपुग्दा ३७५ हेक्टरमा विस्तार भएको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ । चालु आवमा करिब ४०० हेक्टरभन्दा बढी क्षेत्रफलमा खेती भएको कार्यालयका सूचना अधिकारी अविरलकुमार महतोले जानकारी दिए ।

‘चार दशक पहिले कोदो जिल्लाको मुख्यबालीका रूपमा रहेको तत्कालीन समयका कृषि विज्ञले बताए । तर कार्यालयमा यकिन तथ्यांक र कुनै अभिलेख भने भेटिएन’, कार्यालयका कृषि विज्ञसमेत रहेका महतोले भने, ‘तर पछिल्ला तीन–चार वर्षयता कोदोखेती अलिअलि गरेर बढेको छ ।’

उनका अनुसार चार वर्षयता कोदोबाली लगाउने क्षेत्रफलसँगै उत्पादन पनि बढेको छ । 

‘आर्थिक वर्ष २०७८र२०७९ मा ३३० मेट्रिकटन उत्पादन भएको थियो, त्यसयता यो बर्सेनि अलिअलि बढ्दै गएको छ । आव २०८१र८२ मा आइपुग्दा ४१३ मेट्रिकटन उत्पादन भएको छ’, सूचना अधिकारी महतोले भने, ‘यसपालिको हिउँदे बाली धमाधम काट्ने, माड्ने र थन्क्याउने काम भइरहेकाले तथ्यांक संकलनमा केहीदिन लाग्न सक्छ, तर जिल्लाभरिबाट प्राप्त सूचनाका आधारमा यसपालि करिब ५०० मेट्रिकटन उत्पादन पुग्ने आकलन गरिएको छ ।’

पछिल्ला केही दशकयता असन्तुलित खानपिन र दूषित वातावरणले मधुमेहलगायत नसर्ने रोग बढ्दै गएको छ । रगतमा चिनीको मात्रा बढ्ने समस्या देखिन थालेसँगै यसको नियन्त्रणका लागि कोदोको प्रयोग बढाउन चिकित्सकले सुझाव दिँदै आएका छन् । सोही कारणले यहाँका किसानले पनि पुनः कोदोखेती विस्तार गर्दै लगेका महतोले धारणा राखे ।

बर्दिबास नगरपालिका–२ बुद्धचोकका श्याम यादवले यसपालि आफैँले कोदोखेती गरेको बताए । मधुमेहको मात्रा बढेपछि चिकित्सकले कोदोका परिकार सेवान गर्नु प्रभावकारी हुने सल्लाह दिएपछि करिब चार कठ्ठामा खेती गरेको उनको भनाइ छ ।

‘चिकित्सकले खानेकुरामा कोदोको परिकार बढाउन सल्लाह दिएका छन् । किनेर उपभोग गर्न पनि बजारमा प्रशस्त मात्रामा भेटिँदैन, त्यसैले यसपालि आफैँले कोदो लगाएको हुँ’, यादवले भने, ‘वर्षभरिलाई एक छाक खान पुग्ने कोदो फलेको छ, यसले स्वास्थ्य सुधार हुने विश्वास छ ।’

आगामी वर्ष खेती विस्तार गर्ने योजना बनाएको उनले उल्लेख गरे।

भङ्गाहा नगरपालिका–४ का गङ्गाराम महतो र सोही बस्तीका भरतराज बरालले पनि बाँझो बारीमा आफैँले कोदोखेती गरेका छन् । महतोले पाँच कठ्ठा र बरालले तीन कठ्ठामा कोदो लगाएका थिए । कोदो अरु अन्नबालीभन्दा पानी र खडेरी बढी खप्ने, कीरा र रोगको सङ्क्रमण कम हुने र यो लामो समयसम्म भण्डारण गर्न सकिने भएकाले खेती गर्न सजिलो हुने महतोले बताए। 

महतो र बराल दुवैले स्वास्थ्य जाँचपछि रगतमा चिनीको मात्रा नियन्त्रणका लागि कोदोको परिकार उपयुक्त हुने चिकित्सकको सल्लाहपछि खेती गर्न लागेको बताए। 

‘नजानेकोरनबुझेको बाली होइन, २०४० सालअघि एक बिघासम्ममा पिताले खेती गर्थे । पिताजीको निधनपछि यसको खेती गर्न छाडिएको थियो’, महतोले भने, ‘अब आफ्नै खानपिनका लागि फेरि यो खेती बढाउने निर्णयमा पुगेको छु ।’

चार दशकअघि कोदो बिक्री गर्दा पनि कम मूल्य पाइने भएपछि खेती गर्न छोडेको उनको भनाइ छ । ‘अहिले धान, गहुँभन्दा यसको मूल्य बढी पाइने अवस्था छ । आर्जनका लागि पनि कोदोखेती बढाउँदै लग्ने योजना छ’, महतोले भने।

पछिल्लो समय कोदोको खपत बढेसँगै उत्पादन पनि बढ्न थालेको छ । यसको मुख्य कारण मधुमेहका बिरमीको सङ्ख्या बढेसँगै बजारमा कोदोको माग र मूल्य दुवै बढेको पूर्ववरिष्ठ कृषि विज्ञ रामबहादुर भुजेलले बताए।

कोदोमा पाँचदेखि आठ प्रतिशतसम्म प्रोटिन हुने, यो शारीरिक विकासमा सहयोगी हुने, ‘ग्लुटेनफ्री’ हुने र मधुमेहका बिरामीका लागि रोग नियन्त्रण गर्न सहयोगी हुने भएकाले यसको उपयोग बढाउनुपर्नेमा बर्दिबास नगरका स्वास्थ्य शाखा प्रमुख एवं वरिष्ठ जनस्वास्थ्य निरीक्षक सुरेश पासवानले जोड दिए । साथै कोदोमा फाइबर बढी पाइने हुँदा यसको सेवनले तौल सन्तुलन गर्न र रगतमा चिनीको मात्रा नियन्त्रण गर्न सहयोगी हुने उनको भनाइ छ । 

प्रोटिन, क्याल्सियम, आइरन, म्याग्नेसियम, पोटासियमलगायत पौष्टिक तत्व कोदोमा पर्याप्त मात्रामा हुने हुँदा यसका परिकार स्वस्थ्यकर हुने स्वास्थ्यकर्मी बताउँछन् । अहिले कोदोको माग र मूल्य बढेसँगै किसान यसको खेतीमा आकर्षित हुँदै गएका छन् । 

स्थानीय सरकारले आ–आफ्ना कृषि शाखामार्फत उन्नत जातका कोदोको बीउ, प्राविधिक सल्लाह र रेखदेख तथा आवश्यक प्रविधिमा सहयोग बढाएमा यसको क्षेत्रफलसँगै उत्पादनसमेत बढ्ने अखिल नेपाल किसान महासङ्घका केन्द्रीय सदस्य लक्ष्मण महतोले बताए। 

प्रकाशित मिति : १७ मंसिर २०८२, बुधबार  ३ : ३४ बजे

डेब्यू खेलमा चलेन डुप्लेसीको ब्याटिङ, लुम्बिनीले लियो विराटनगरको दोस्रो विकेट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत बुधबारको

एमालेको आत्मघाती खेल : मधेशबाट २२ दिनमै तीन मुख्य पद गुमायो, सहयात्री कांग्रेस पनि टाढियो

जनकपुरधाम- नेकपा एमालेले मधेश प्रदेशमा गत कात्तिक २४ यता देखिएको

जेन-जी आन्दोलनका क्रममा प्रहरी कार्यालयमा क्षति पुर्‍याउने धरौटीमा रिहा

काभ्रेपलाञ्चोक– गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा

राष्ट्रियसभाका अध्यक्षसँग मन्त्री खनाल र सिन्हाको भेट

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र कानुन,

लुम्बिनीविरुद्ध विराटनगरलाई दोस्रो बलमै धक्का, आउट भए जर्ज

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत बुधबारको खेलमा