ब्रसेल्स– बेल्जियम सरकारले आगामी दुई वर्षका लागि युक्रेनको आर्थिक र सैन्य आवश्यकतामा सहयोग पुर्याउन फ्रिज गरिएका रूसी सम्पत्तिहरू प्रयोग गर्ने युरोपेली सङ्घ (इयु) को प्रस्ताव अस्वीकार गरेको छ ।
बेल्जियमले यो योजनाले गम्भीर वित्तीय तथा कानूनी जोखिम निम्त्याउने ठहर गर्दै यसलाई अत्यन्त जोखिमपूर्ण कदम भनेको छ । युक्रेनले सन् २०२६ र २०२७ का लागि करिब एक खर्ब ३० अर्ब युरो (एक खर्ब ५० अर्ब डलर) बराबरको बजेट र युद्धसम्बन्धी आवश्यकताहरू हुने अनुमान गरेको छ ।
इयुले यस आर्थिक खाडल पूर्ति गर्ने प्रतिबद्धता जनाइसकेको छ, जसअन्तर्गत सन् २०२२ मा युद्ध सुरु भएदेखि हालसम्म एक खर्ब ७० अर्ब युरो (एक खर्ब ९७ अर्ब डलर)भन्दा बढी व्यय भइसकेको छ ।
फ्रिज गरिएका रूसी सम्पत्तिहरू इयुका लागि सबैभन्दा ठूलो स्रोत मानिन्छ, जसमा सबैभन्दा ठूलो हिस्सा-करिब एक खर्ब ९४ अर्ब युरो-बेल्जियममा अवस्थित छ । जापानमा लगभग ५० अर्ब डलर बराबरको रकम राखिएको छ भने अमेरिका, बेलायत र क्यानाडामा पनि कम मात्रामा फ्रिज गरिएको सम्पत्ति रहेको छ ।
युरोपेली आयोगले बुधबारपछि ‘क्षतिपूर्ति ऋण’ मोडेलमार्फत युक्रेनका अत्यावश्यक आवश्यकताहरू पूरा गर्न यी रूसी सम्पत्तिहरूलाई बन्धकका रूपमा प्रयोग गर्ने प्रस्ताव सार्वजनिक गर्ने तयारी गरेको थियो । तर बेल्जियमका विदेशमन्त्री म्याक्सिम प्रिभोटले ‘क्षतिपूर्ति ऋण’ विकल्पलाई सबैभन्दा खराब र अत्यधिक जोखिमपूर्ण ठहर गर्दै यसले अभूतपूर्व कानूनी विवाद निम्त्याउन सक्ने टिप्पणी गरे। रुसले यस योजनालाई ‘चोरी’ भनेर आलोचना गर्दै आएको छ ।
ब्रसेल्सस्थित नाटो मुख्यालयमा पत्रकारहरूलाई सम्बोधन गर्दै प्रिभोटले इयुलाई युक्रेनका लागि अन्तर्राष्ट्रिय बजारबाट धन उधारो लिन आग्रह गरे ।
ब्रसेल्समा आधारित युरोक्लियर नामक ठूलो वित्तीय संशोधन संस्थाले रुसले कानूनी चुनौती दिएमा वा उक्त कदमले यसको छवि र व्यापारिक हितमा असर परेमा गम्भीर कानूनी मुद्दाहरू झेल्नुपर्ने स्थिति आउनसक्ने बेल्जियमलाई चिन्ता छ ।
प्रिभोटले आफ्नो चिन्ता अन्य इयु सदस्य राष्ट्रहरूले पर्याप्त रूपमा नबुझेको गुनासो पनि व्यक्त गरे । ‘हामी साझेदार वा युक्रेनको विरोधमा छैनौँ । हामी केवल एक सदस्य राष्ट्रका रूपमा सम्भावित विनाशकारी जोखिमबाट जोगिन खोजिरहेका छौँ’, उनले स्पष्ट पारे।
इयुले करिब एक खर्ब ४० अर्ब युरो (एक खर्ब ६३ अर्ब डलर) युक्रेनलाई ऋणस्वरूप उपलब्ध गराउने योजना बनाइरहेको छ । यी रकम जफत गरिने छैनन् र रुसले युद्धका कारण तिर्नुपर्ने क्षतिपूर्ति बुझाएपछि किएभले बाँकी ऋण फिर्ता गर्ने व्यवस्था प्रस्तावित छ । तर यदि मस्कोले क्षतिपूर्ति तिर्न अस्वीकार गर्यो भने सम्पत्ति यथावत् फ्रिज नै रहनेछ ।
युरोपेली साझेदारहरूले भने बेल्जियमका चिन्ताहरूलाई गम्भीरतापूर्वक लिइएको दाबी गरेका छन् । जर्मनीका विदेशमन्त्री जोहान वाडेफुलले ‘चिन्ताहरू उचित भए पनि, संयुक्त रूपमा जिम्मेवारी बाँड्ने हो भने समाधान सम्भव छ’ भने। डच विदेशमन्त्री डेभिड भ्यान वेलले ‘यी कोषहरू युक्रेनी अर्थतन्त्रका लागि अत्यन्त महत्त्वपूर्ण छन्, अन्यथा उनीहरूले आगामी वर्ष अत्यन्त कठिन परिस्थिति सामना गर्नुपर्नेछ’ भन्दै बेल्जियम एक्लै नछोडिने स्पष्ट पारे ।
बेल्जियमले फ्रिज गरिएका सम्पत्तिबाट केही कर आय पाउँदै आएको छ र उठेको ब्याजलाई जी–७ राष्ट्रहरूको युक्रेनसम्बन्धी ऋण कार्यक्रमका लागि प्रयोग गरिएको छ । तर युरोपेली केन्द्रीय बैंकले भने क्षतिपूर्ति ऋण योजनाले अन्तर्राष्ट्रिय बजारमा युरोपेली मुद्रा यूरोप्रति विश्वास कमजोर पार्न सक्ने चिन्ता व्यक्त गरेको छ ।
इयुका शीर्ष नेताहरूले डिसेम्बर १८ मा ब्रसेल्समा हुने शिखर बैठकमा यस योजना तथा युक्रेनका आर्थिक–सैन्य आवश्यकताबारे विस्तृत छलफल गर्ने अपेक्षा गरिएको छ ।













प्रतिक्रिया