जङ्गल फाँडेर शहर बसेको सम्झँदै ‘धरान डे’ « Khabarhub

१२४ वर्षे धरान

जङ्गल फाँडेर शहर बसेको सम्झँदै ‘धरान डे’



सुनसरी – जंगल फाँडेर आधुनिक धरान बजार विस्तार भएको १२४ वर्ष पुगेको अवसरमा शनिबारदेखि पाँचदिने ‘धरान उत्सव’ सुरु भएको छ । 

यो दिवस पुस २० गते मनाउने गरिएकोमा यसपटक पाँच दिनसम्म ‘१२४ औं धरान स्थापना दिवस’ मनाउने घोषणा गरिएको हो । 

‘घुम्न जाऔं धरान’ नारासहित सुरु भएको धरान उत्सवलाई सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न पहिलो दिन स्थानीय आदिवासी जनजाति समुदायका सांस्कृतिक झाँकी र विद्यार्थीहरूको मार्चपास निकालिएको छ । नगर परिक्रमा गर्दै उक्त र्‍याली धरान रंगशालाको तल्लो फिल्डमा पुगेर रोकिएको थियो ।

धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ राईको नेतृत्वमा आयोजित धरान उत्सवमा धरानमा योगदान पुर्‍याएका व्यक्तिहरूलाई सम्मान गरिँदैछ । उत्सवमा शैक्षिक प्रदर्शनी, कला साहित्य कार्यक्रम, खाद्य र पुष्प प्रदर्शनी तथा बिक्री कक्ष राखिएका छन् ।

पुस २१ गते साइक्लिङ र साहित्य सम्मान कार्यक्रम, पुस २२ गते इस्टर्न सिङ्गिङ सुपर स्टार सिजन–१ र लोकदोहोरी सहितको जुहारी कार्यक्रम राखिएको छ । पुस २३ गते वाकाथून, रस्सी तान र छेलो हान्ने कार्यक्रम रहेको प्रचारप्रसार संयोजक दिनेश गजमेरले जानकारी दिए । 

१२४ वर्षअघिको जंगल अहिले शहर   

हालको विस्तारित धरान सहरीकरणको इतिहास उत्ति लामो छैन । राणाकालमा धरानका भानुचोक, छाता चोक र फुस्रे बजार विस्तार भएका हुन् ।

पछि वि.सं. २०३० को दशकमा कोशी राजमार्ग निर्माण भएपछि धरानले आधुनिक शहरको रूप लिएको हो । यद्यपि, धरानभन्दा विजयपुरलाई पुरानो बस्ती मानिन्छ । शाह वंश र सेन वंशले शासन गर्नुअघि नै विजयपुर क्षेत्रमा पूर्वका लिम्बुवान शासकहरूले शासन गरेको इतिहास पाइन्छ ।

तर, विजयपुरभन्दा तल्लो क्षेत्र भने घनाजंगल नै थियो । औलो लाग्ने डरले १२४ वर्ष अघिसम्म कसैले बस्ती बसाउने प्रयास गरेनन् ।

सर्दु र सेउतीको बिचमा रहेको घना जंगललाई वि.सं. १९५० ताका फडानी गरी समतल क्षेत्रमा काठको झुप्राझुप्री बनाएर मानिसहरू बस्न थालेका थिए ।

बस्ती बाक्लिँदै गएपछि वि.सं. १९५६ मा राणा प्रधानमन्त्री श्री ३ चन्द्र शमशेरले चन्द्रपुर बजार (हालको पुरानो बजार) बसाएको र वि.सं. १९९० ताका अर्का राणा प्रधानमन्त्री श्री ३ जुद्ध शमशेरले जुद्ध नगर (हालको नयाँ बजार भानुचोक–छाताचोक) बसाएको इतिहास छ । 

त्यसो त जंगल फडानी भएपछि कसै-कसैले तत्कालीन बडाहाकिम भूपालमानसिं कार्कीले २०० रुपैयाँ लिएर घडेरी दिने गरेको र तिनीहरूबाटै बस्ती विस्तार भएको बताउने गरेका छन् । तर, यसबारे लिखित अभिलेख छैन । बरु, आधुनिक धरान बजार विस्तारमा सुब्बा रत्नप्रसाद कायस्थ (नेवार श्रेष्ठ)को योगदान रहेको पाइन्छ ।

वि.सं. २०१८ सालमा पञ्चायती व्यवस्थाअनुसार नेपाललाई १४ अञ्चल ७५ जिल्लामा विभाजन गर्दा धरानलाई कोशी अञ्चलको सदरमुकाम घोषित गरिएको थियो । सोही अनुसार कोशी र पूर्वान्चल हेर्ने गरी स्वास्थ्य, शिक्षा, बैंक/वित्तीय संस्था, यातायात, प्रहरी र सेनाका प्रशासनिक निकाय लगायत स्थापना गरिएका थिए ।

तर, ती अञ्चल र पूर्वान्चलस्तरीय प्रशासनिक निकायहरू ५० को दशक सम्ममा रातारात विराटनगर, काठमाडौँ र धनकुटा सारिए । कार्यालय सारिएको बारेमाजानकारी नदिएकाले धरानबासीले ढिलो थाहा पाए ।

पछि घोपा र बाझगरा मिलाएर धरान नगर पञ्चायत बनाइएको थियो । वि.सं. २०१७ साल कात्तिक ३० गते तत्कालीन बडाहाकिम हरिप्रसाद गिरीले नगर पञ्चायतको उद्घाटन गरेका थिए । धरानका प्रथम नगरप्रमुख केदारनाथ खनाल थिए । उनैको पालामा मुलुकमै पहिलोपटक नगरप्रमुखलाई ‘मेयर’ शब्दले सम्बोधन भएको थियो । अर्थात्, नेपालमा नगर प्रमुखलाई भनिने मेयर शब्द धरानबाटै सुरु गरिएको हो ।

नगर पञ्‍चायत गठन हुनुभन्दा सात वर्षअघि अर्थात् वि.सं. २०१० मा बेलायतले पूर्वका लिम्बु र राई समुदायका युवाहरूलाई आफ्नो उपनिवेश मुलुक मलाया (हालको मलेशिया) र हङ्कङमा सेनामा लैजानका भर्तीकेन्द्र स्थापना गरेको थियो । यसैलाई घोपा क्याम्प भनियो ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले हाल चर्चेको करिब ४०० एकड जमिनमा घोपा क्याम्प थियो, जुन वि.स. २०५० मा पोखरा स्थानान्तर भयो ।

घोपा क्याम्पकै कारण ताप्लेजुङ, तेह्रथुम, धनकुटा, संखुवासभा, पाँचथरदेखि खोटाङ भोजपुर, ओखलढुङ्गाका लाहुरेहरूको रोजाइमा परेको धरानले आधुनिक रूप लिएको हो ।

धनकुटा गौंडाका आधार शिविरका रूपमा मोरङ अड्डाको बजार अड्डा धरान शाखा (भानुचोक)मा वि.सं. १९९५ मा स्थापना भएपछि आधिकारिक रूपमा धरान पनि सरकारको कर असुल गर्ने नाकाको गन्तीमा आउन थालेको पुराना बुद्धिजीवी सहप्राध्यापक डा. राजेन्द्र शर्माको भनाइ छ ।

पहाड र तराईको संगमस्थलमार रहेको धरान लाहुरेहरूले पठाउने रेमिट्यान्सका कारण गुल्जार बनेको हो ।

प्रकाशित मिति : २० पुस २०८१, शनिबार  ४ : ४७ बजे

२५ जना सहसचिवको सरुवा

काठमाडौँ । सरकारले २५ जना सहसचिवको सरुवा निकालेको छ ।

सञ्जु सैमसनको शतकमा चेन्नईले मुम्बईलाई दियो २०८ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ अन्तर्गत ३३औँ खेलमा चेन्नई

काठमाडौंका विद्यालयमा वैशाख १५ गतेदेखि पठनपाठन सुरू हुने

काठमाडौं – काठमाडौं महानगरपालिकाले नयाँ शैक्षिक सत्र २०८३ अन्तर्गत विद्यालय

जुम्लाका स्थानीय तहले प्यानकार्ड र करसम्बन्धी सेवा दिन सकेनन्

जुम्ला – सरकारले स्थायी लेखा नम्बर प्रमाणपत्र (प्यान कार्ड) स्थानीय

भारत सरकारको सहयोगमा विद्यालय भवन निर्माण गरिँदै

काठमाडौं – झापाको गौरादह नगरपालिका–१ स्थित जनता माध्यमिक विद्यालयको भवन