काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेल र बेलायतका अधिराजकुमार एडवार्डबीच मङ्गलबार राष्ट्रपति भवन शीतल निवासमा भएको शिष्टाचार भेटवार्ता भएको छ । सो भेटमा राष्ट्रपति पौडेलले जलवायु परिवर्तन आजको विश्वको प्रमुख चिन्ताको विषय भएकाले यो समस्या समाधानका लागि सबै मिलेर काम गर्नुपर्ने बताएका हुन् ।
नेपाल भ्रमणका लागि बेलायतका अधिराजकुमार एडवार्ड धर्मपत्नी सोफीयासहित आजै काठमाडौँ आएका हुन् । सो शिष्टाचार भेटमा अधिराजकुमारकी धर्मपत्नी , नेपालका लागि बेलायती राजदूत सहभागी थिए ।
‘जलवायु परिवर्तन आज विश्वको प्रमुख चिन्ताको विषय बनेको छ, जलवायु परिवर्तनको प्रत्यक्ष मारमा परेको नेपालले विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा हिमाल संरक्षणको विषयलाई प्रमुखताका साथ आवाज उठाउँदै आएको छ’, राष्ट्रपति पौडेलको भनाई उद्यृत गर्दै उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले बताए।
यसै सन्दर्भमा नेपालले सगरमाथा संवादको थालनी गर्न लागेको राष्ट्रपति पौडेलले जानकारी दिए। उक्त मञ्चको पहिलो संस्करण आगामी १६ देखि १८ मेसम्म काठमाडौंमा ‘जलवायु परिवर्तन, हिमाल र मानवको भविष्य” विषयमा आयोजना हुन गइरहेको उनको भनाइ थियो ।
राष्ट्रपति पौडेलले बेलायतका राजपरिवारका सदस्यहरूबाट विभिन्न समयमा हुँदै आएका नेपाल भ्रमणले दुई देशबिच रही आएको सुमधुर सम्बन्धलाई अझ मजबुत पार्न योगदान दिएको छ भने । साथै उहाँले महारानी एलिजाबेथ द्वितीय र राजकुमार फिलिपबाट सन् १९६० र १९८६ मा नेपालको राजकीय भ्रमण भएको स्मरण गरे ।
राष्ट्रपति पौडेलले नेपाली नागरिक र आफ्नातर्फबाट राजा चाल्र्सको व्यक्तिगत सुख एवम् सुस्वास्थ्यको शुभकामना व्यक्त गरे ।
सो अवसरमा एडवार्डले नेपालमा जलवायु परिवर्तनले पारेको असर र त्यसको न्यूनीकरणमा नेपालले गरेको प्रयासका बारे भ्रमणका क्रममा जानकारी हुने विश्वास व्यक्त गरे । उनले भ्रमणका क्रममा प्रकृति कति जोखिम अवस्थामा छ र हिमालमा जलवायु परिवर्तनले कस्तो असर पारेको छ भनेर जान्न बुझ्न पाउने पनि बताए।
बेलायतको राजपरिवारका सदस्यबाट नेपाल आउने प्रयास भइरहेको र नेपाल आउँदा आफूलाई अत्यन्त खुसी लागेको बताउँदै अधिराजकुमारले नेपाल बेलायतबीच भविष्यमा सहयोगको आदानप्रदान गर्दा युवा र महिला सशक्तीकरणको विषय सान्दर्भिक हुने छ भने।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बेलायती सेनाको “गोर्खा–ब्रिगेडका” प्रमुख मेजर–जनरल जेराल्ड स्ट्रिकल्याण्डले “ब्रिगेड अफ गोर्खा” को सन् २०२४ को वार्षिक प्रतिवेदन पेस गरे।
राष्ट्रपति पौडेलले सो प्रतिवेदन प्रस्तुत गरेकामा बेलायत सरकारप्रति आभार प्रकट गर्दै “ब्रिटिस–गोर्खा” हाम्रो द्विपक्षीय सम्बन्धको महत्त्वपूर्ण कडी भएको बताए।
प्रतिक्रिया