काठमाडौं– नेपाली कांग्रेसमा विश्वेश्वरप्रसाद कोइराला (बीपी), महेन्द्रनारायण निधि, गणेशमान सिंह र गिरिजाप्रसाद कोइरालाका पुत्र–पुत्रीलाई ‘राजनीतिक विरासत’ बोकेका भनेर चिनिन्छ ।
प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी, २००७ सालको क्रान्तिमा जनकपुरमा गठित ‘जनसरकारका प्रधानमन्त्री’ महेन्द्रनारायण, २०४६ को जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान र २४० वर्षे राजतन्त्रलाई सत्ताच्यूत गर्न अहम् भूमिका खेलेका गिरिजाप्रसादका पुत्र–पुत्रीले कांग्रेसमा ‘विरासतको राजनीति’ गर्दै आएका छन् ।
तर, ‘विरासतको राजनीति’ गर्दै आएका बीपीपुत्र डा. शशांक, महेन्द्रनारायणपुत्र विमलेन्द्र, गणेशमानपुत्र प्रकाशमान, गिरिजाप्रसादपुत्री सुजाता पछिल्लो समय आफैँ पार्टीको नेतृत्वमा पुग्नेदेखि कुनै एक नेतालाई नेतृत्वमा पुर्याउने ‘लबिइङ’मा छन् ।
‘राजनीतिक विरासत’को ‘ट्याग’ लागेका चारै नेता राजनीतिक रुपमा क्षमता नभएका भने होइनन् । उनीहरूमध्ये कोही एक पार्टी नेतृत्वमा पुग्लान्, नपुग्लान् अहिले नै भन्न सकिँदैन । कांग्रेसमा विरासतको नाममा गरिँदै आएको राजनीति पछिल्लो समय खुम्चिँदै गएको चर्चा हुने गरेको छ ।
कांग्रेसका एक युवा नेता भन्छन्, ‘विरासतको राजनीतिलाई सम्पत्ति ठान्दा खुम्चिन्छ नै । विरासतको राजनीति सम्पत्ति होइन, यो सम्पत्तिसँगै दायित्व पनि हो भन्ने बुझे राजनीति ओरालो लाग्दैन । सम्पत्तिमात्रै ठान्दा त राजाको पनि विकल्प खोजे जनताले ।’
कांग्रेसकै अर्का एक केन्द्रीय सदस्यको नजरमा ‘विरासतको राजनीति’ बोकेका नेताहरूले क्रियाशीलता कायम राख्दै सबैलाई मिलाएर जानसके उनीहरूको भूमिका नखुम्चिने बताउँछन् ।
‘हाम्रा पिता–पुर्खाले गर्नुभएको थियो, यसमा अझै अंश लाग्छ भन्ने ढंगले उहाँहरू चलेको देखिन्छ,’ ती नेताले खबरहबसँग भने, ‘विरासत बोकेका नेताले क्रियाशीलता कायमै राखेर ब्याजमात्रै खान खोजेको होइनौँ है, आजका दिन पनि उत्तिकै क्रियाशील छौँ, सबैलाई मिलाउन सक्छौँ भनेर अघि बढ्न सक्नुपर्छ ।’
‘विरासतको राजनीति’लाई जोडेर कांग्रेसमा ‘राजकुमार’समेत भनिने बीपीपुत्र शशांक, महेन्द्रनारायणपुत्र विमलेन्द्र र गणेशमानपुत्र प्रकाशमान पार्टीको १५औँ महाधिवेशनमा सभापति शेरबहादुर देउवाको आड–भरोसामा नेतृत्वमा पुग्ने प्रयत्नमा छन् ।

गिरिजापुत्री सुजाता भने ठूलोबुवा केशवपुत्र डा. शेखर कोइरालालाई पार्टीको ‘कमान्डर’ (सभापति) बनाउने आन्तरिक तयारीमा जुटेकी छिन् । तथापि, १४औँ महाधिवेशनमा पनि सभापतिमा उठेका शेखरलाई सुजाताले सघाएकी थिइनन् ।
उनी आफैँ गणेशमानपुत्र प्रकाशमानको प्यानलबाट उपसभापतिको प्रतिष्पर्धामा थिइन् । १४औँ महाधिवेशनमा देउवा प्यानलबाट पूर्णबहादुर खड्का २१२१ र शेखर प्यानलबाट धनराज गुरुङ १९०८ मतसहित विजयी हुँदा सुजाता ६४४ मतमा सीमित भइन् । त्यसपछि सुजातालाई सभापति देउवाले केन्द्रीय कार्यसमितिमा मनोनित गरे ।
त्यसपछि सुजाता २०७९ को निर्वाचनमा मोरङ–२ बाट उम्मेदवार बनिन् । उनी नेकपा एमालेका उम्मेदवार ऋषिकेश पोखरेलसँग पराजित भइन् । ऋषिकेश ३३ हजार १४८ मतसहित विजयी हुँदा सुजताले ३१ हजार ९४० मत ल्याइन् । त्यसयता पार्टी राजनीतिमा उनी विगतमा जस्तो सक्रिय छैनन् ।
पिता गिरिजाप्रसादको ‘आशिर्वाद’ले सुजाता पार्टीका तर्फबाट नेतृत्व गर्दै एमालेसँगको तत्कालीन ‘गठबन्धन’ सरकारमा उपप्रधान तथा परराष्ट्रमन्त्री बनेकी थिइन् । उनलाई मन्त्री पद दिएका गिरिजाप्रसादले संविधान सभा निर्वाचनमा पराजित भएर सभासद् नै नरहेका एमालेका तत्कालीन नेता माधवकुमार नेपाललाई ०६६ जेठ ११ मा प्रधानमन्त्री बनाएका थिए ।

कांग्रेसले राणा शासनविरूद्ध २००७ सालमा गरेको सशस्त्र क्रान्तिमा मुक्ति सेनाले जनकपुर क्षेत्र कब्जा गरेपछि महेन्द्रनारायणलाई जनसरकारको प्रधानमन्त्री घोषण गरेको थियो । २००८ मा कांग्रेस महोत्तरीको सर्वसम्मत सभापति भएका महेन्द्रनारायणले पार्टीमा महामन्त्रीको जिम्मेवारीसमेत सम्हाले ।
निष्ठा, इमान र समर्पणको राजनीतिका पर्यायवाची महेन्द्रनारायणले तराई–मधेशमा कांग्रेसको प्रभाव विस्तार गर्न महत्वपूर्ण योगदान दिए । उनै महेन्द्रनारायणपुत्र विमलेन्द्रले १५औँ महाधिवेशनमा सभापतिको आकांक्षा राखेका छन् । तथापि, उनी एकल बलबुतामा पार्टी नेतृत्व दाबी गर्ने अवस्थामा छैनन् ।
विमलेन्द्रले सभापतिमा पुग्न वर्तमान सभापति देउवाको छत्रछाया खोजिरहेका छन् । अघिल्लो महाधिवेशनमा उनी देउवा समूहमा विद्रोह गर्दै सभापतिका लागि भिडेका थिए । तत्कालीन अवस्थामा सभापतिका लागि लामो तयारी गरेका विमलेन्द्रले केबल २५० मत पाए । सभापतिको चुनाव दोस्रो चरणमा पुगेपछि प्रकाशमानसँगै देउवालाई सघाएका थिए ।
देउवाले विमलेन्द्रलाई यस पटक आफूलाई सघाएर १५औँको तयारी गर्न सुझाएका थिए । तर, उनी देउवासँग ढुक्क भएनन् । कांग्रेसमा कतिपयले १४औँमा ‘बागी’ नभएको भए यसपल्ट विमलेन्द्र नै संस्थापनबाट निर्विकल्प हुने अवस्थाको आँकलन गर्छन् ।
१४औँ महाधिवेशनमा दोस्रो चरणको प्रतिष्पर्धामा सघाएका विमलेन्द्रलाई देउवाले पार्टीको केन्द्रीय सदस्यमा मनोनीत गरे । उनी अहिले प्रतिनिधि सभामा समानुपातिकतर्फ सांसद छन् । ०५१ सालदेखि निरन्तर प्रत्यक्ष निर्वाचन लड्दै आएका विमलेन्द्र गत संसदीय निर्वाचनमा समानुपातिकमा समेटिए ।
कांग्रेस उपसभापति रहिसकेका विमलेन्द्र अहिले सभापति देउवाको समर्थनमा सर्वसम्मत र निर्विरोध सभापतिको उम्मेदवार बन्न प्रयासरत छन् । उनले सोमबार एक टेलिभिजन अन्तर्वार्ताका क्रममा इतर समूहका नेताहरूसँग सहकार्य हुने सम्भावना नरहेको प्रष्टीकरण दिए ।
‘सहकार्यको संस्कृतिलाई प्रारम्भ गर्न र नेपाली कांग्रेसलाई बलियो बनाउन १५औँ महाधिवेशनमा सर्वसम्मत र निर्विरोध उम्मेदवार हुन पाए हुन्थ्यो भन्ने चाहना मेरो हो’, उनले भनेका छन् ।

‘राजनीतिक विरासत’ बोकेका शशांक (नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालापुत्र) पनि देउवाकै साथ–सहयोगले कांग्रेसको नेतृत्वमा पुग्न इच्छुक देखिन्छन् । पूर्वमहामन्त्री शशांक पछिल्लो समय जिल्ला दौडाहमा छन् ।
‘राजनीतिक विरासत’ बोकेका शशांकले आशन्न महाधिवेशनमा सभापतिको आकांक्षा देखाए पनि महामन्त्री हुँदा सन्तोषजनक काम गर्न नसकेको आक्षेप लाग्ने गरेको छ । १३औँ महाधिवेशनमा महामन्त्री भएका शशांकले १४औँसम्म आइपुग्दा देउवालाई विस्थापित गरेर आफैँ नेतृत्वमा पुग्ने क्षमता देखाउन नसकेको कांग्रेस कार्यकर्ताको बुझाई छ ।
शशांक १४औँ महाधिवेशनमा मौन थिए । त्यस महाधिवेशनको पूर्वसन्ध्यामा डा. शेखर कोइराला र शशांकले संयुक्त पत्रकार सम्मेलन गर्ने तयारी पनि गरे । तर, तत्कालीन प्रधानमन्त्री देउवालाई भेट्न भन्दै बालुवाटार पुगेका शशांक ऊर्जामन्त्री दीपक खड्काका साथ हेलिकप्टर चढेर संखुवासभा पुगेका थिए ।
१४औँ महाधिवेशनमा दाइ शेखरलाई सभापतिमा सघाउन अनिच्छा देखाएका शशांकले केन्द्रीय सदस्यमा उम्मेदवारी दिए । उनी लोकप्रिय मतसहित खुला केन्द्रीय सदस्यमा निर्वाचित भए । देउवा र शेखर दुवैको प्यानलमा अटाएका शशांकले सबैभन्दा धेरै तीन हजार ८३६ मत पाए ।
शशांक प्रतिनिधि सभा निर्वाचन–०७९ मा नवलपरासी (बर्दघाट सुस्तापूर्व)बाट निर्वाचित भएर अहिले संसदीय भूमिकामा छन् । उनले एमालेका उम्मेदवार कृष्णप्रसाद पौडेललाई पराजित गरेका थिए । शशांक २७ हजार ६७ मतसहित प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुँदा कृष्णप्रसादले २५ हजार ४७ मत पाए ।

संघर्ष र स्वाभिमानका पर्याय लौह पुरुष गणेशमानका पुत्र प्रकाशमान केपी शर्मा ओली नेतृत्वको सरकारमा पार्टीका तर्फबाट नेतृत्व गरिरहेका छन् । उपप्रधान तथा सहरी विकास मन्त्रालय सम्हालिरहेका उनी पनि ‘राजनीतिक विरासत’ बोकेका नेतामा पर्छन् । काठमाडौं–१ बाट संसदीय निर्वाचन जित्दै आएका प्रकाशमान कांग्रेसको उपसभापति बनिसकेका छन् ।
उनले पनि आशन्न महाधिवेशनमा सभापतिमा आकांक्षा राखेका छन् । प्रकाशमानले आफूलाई ‘विरासतको राजनीति’सँग जोड्दै प्रधानमन्त्री र पार्टी सभापति मात्रै बन्न बाँकी रहेको भनिरहेका छन् ।
कर्णालीको राजधानी सुर्खेतमा आइतबार पत्रकारहरूसँगको कुराकानीमा उनले भने, ‘म ग्रास रुटबाट आएको हुँ, लिगेसी पनि छ । जिल्लाबाट नेतृत्व सम्हाल्दै महामन्त्री र उपसभापतिसम्म भएँ । संसदीय दलको उपनेता भएँ । अब दलको नेता, प्रधानमन्त्री र सभापति हुन बाँकी छ ।’
‘विरासतको राजनीति’सँग जोडे पनि प्रकाशमान आशन्न महाधिवेशनमा आफ्नै बलबुतामा भन्दा देउवाको साथ र समर्थनमा उम्मेदवार बन्ने ताकमा छन् । अघिल्लो महाधिवेशनमा छुट्टै समूह बनाएर सभापतिमा उठेका उनले ३७१ मत ल्याएका थिए ।
सभापति चयन दोस्रो चरणमा गएपछि प्रकाशमानले देउवालाई सघाए । कूल मतको ५१ प्रतिशत ल्याउन नसकेपछि तत्कालीन प्रधानमन्त्री देउवा सहयोग माग्दै चाक्सीबारी पुगेका थिए ।
१४औँ महाधिवेशनमा एकसाथ चुनावी प्रतिष्पर्धामा उत्रिएका अन्य उम्मेदवार अहिले सिंह गुटमा छैनन् । सिंह प्यानलबाट उपसभापतिमा उठेकी नेतृ सुजाता सभापतिका आकांक्षी डा. शेखरसँग छिन् । यस्तै सिंह प्यानलबाट महामन्त्री बनेका विश्वप्रकाश शर्मा अर्का महामन्त्री गगनकुमार थापासँग छन् ।
‘राजनीतिको विरासत’ बोकेका विमलेन्द्र, शशांक र प्रकाशमान तीनै जनाले एकसाथ ‘लन्च मिटिङ’ गरेर आशन्न महाधिवेशनको आन्तरिक तयारी गरिसकेका छन् । गत असोज पहिलो साता महाराजगञ्जस्थित शशांक निवासमा उनीहरूको पहिलो ‘लन्च मिटिङ’ भएको थियो ।
तीनैजना नेताहरू गत पुस तेस्रो साता प्रकाशमान निवास चाक्सीबारीमा दोस्रोपल्ट छलफलमा जुटे । पार्टीमा ‘नेतापुत्र’का रूपमा उनीहरूले गत महाधिवेशनमा पनि अहिलेकै शैलीमा ‘लन्च मिटिङ’ गरेका थिए । तर, अन्तिम समयमा विमलेन्द्र र प्रकाशमान प्रतिस्पर्धामा उत्रिए ।
प्रतिक्रिया