सविन महर्जनलाई कसले पुर्‍यायो बल्खुबाट तीनकुने ? | Khabarhub Khabarhub

सविन महर्जनलाई कसले पुर्‍यायो बल्खुबाट तीनकुने ?

शहीद र आन्दोलनको ‘खेती’मा राप्रपा नेता



काठमाडौं – चैत १५ गते शुक्रबार तीनकुनेमा भएको पूर्वराजावादीको प्रदर्शनका क्रममा कीर्तिपुरका नगरपालिका–४ गाम्चाका २९ वर्षीय सविन महर्जनको मृत्यु भयो ।

तीनकुनेबाट कोटेश्वर चोकतर्फको उकालोमा तनाव बढ्दा प्रहरीले गोली चलाएको थियो । पोस्टमार्टम प्रतिवेदनबाट पनि महर्जनको शरीरमा एक गोली लागेको पुष्टि भएको छ ।

प्रतिवेदनमा उल्लेख भएअनुसार; गोली सविनको कोख हुँदै ढाडबाट निस्केको थियो ।

मङ्गलबार पशुपति आर्यघाटमा परिवारले सविनको अन्तिम दाहसंस्कार गरेको छ । सविनको शवमा पिता श्रीकृष्ण महर्जनले दागबत्ती दिएका थिए ।

उनको परिवारमा हजुरआमा, बुवाआमा, एक बहिनी, श्रीमती भविशा महर्जन र ८ वर्षकी एक छोरी छन् । सविनको मृत्युको खबरले होस गुमाएकी हजुरआमा अझै बौरिएकी छैनन्‌ । बुवा लामो समयदेखि मानसिक रोगको औषधी खाइरहेका छन् ।

महर्जन परिवारको आडभरोसा सविन नै थिए । आर्थिक अवस्था कमजोर र अन्य आयस्रोत नभएको परिवार ‘सविनबिना अब हाम्रो हालत के होला ?’ भन्ने चिन्तामा छन् ।

यो पनि –

तीनकुने घटनामा मारिएका सुरेश र सविनका परिवारलाई जनही १० लाख

सविन गाडीचालक (ड्राइभर) थिए । उनी काठमाडौं-हेटौंडा रूटमा यात्रुवाहक टाटासुमो गाडी चलाउँथे ।

कीर्तिपुर नगरपालिकी उपप्रमुख शुभलक्ष्मी शाक्य (सुनीता)ले सविनको परिवार र आफन्तसँग बुझ्दा उनले राजावादीलाई समर्थनबारे घरमा कहिल्यै कुरा गर्दैनथे ।

शाक्यले खबरहबसँग कुरा गर्दै भनिन्, ‘घटना भएको भोलिपल्ट शनिबार नगरपालिकाका हामी जनप्रतिनिधि सविनको घरमा पुगेका थियौँ । राजनीतिप्रति सविन र उनको परिवारको त्यस्तो चासो भएको हामीले पाएनौँ ।’

परिवारले दिएको जानकारी अनुसार सो दिन सविनले गाडी बनाउन दिएका थिए । गाडी नबनुञ्जेलसम्मको खाली समय बिताउन उनी सडकतिर टहलिन निस्किएका थिए ।

सडकमा राजावादीको प्रदर्शन भइरहेको थियो । सविन पनि प्रदर्शन हेर्न थाले ।

‘सीसीटिभी फुटेज हेर्दा पनि सविनलाई तीनकुनेबाट फर्किन लाग्दाको समयमा गोली लागेको देखिन्छ’ उपप्रमुख शाक्यले थपिन्, ‘अर्को कुरा – लोकतन्त्रमा जुनसुकै वाद लिएर हिँड्न नागरिक स्वतन्त्र छँदैछन्‌, उक्त दिन राज्यको तर्फबाट चलेको गोलीले नागरिकको मृत्यु हुनु दुःखद हो ।’

सविनको मृत्युको खबरले हजुरआमाको अवस्था थप गम्भीर हुँदै गएको शाक्यले जानकारी दिइन्‌ । भनिन्‌, ‘बच्चैमा आमाले छोडेर हिँडेपछि हजुरआमाले उनलाई आमाको माया दिएर हुर्काएकी थिइन्‌ । उनको मृत्युको खबरले हजुरआमाको स्वास्थ्यावस्था गम्भीर बन्दै गइरहेको छ । सिङ्गो परिवारको भरथेग नै सविनले गरिरहेका थिए । शनिबार उनको घरमा पुग्दा परिवारको बिचल्ली थियो ।’

यो पनि –

आन्दोलनमा नगएका दिनेश र रेबिकालाई जब कोठा छिर्नै लाग्दा गोली लाग्यो‘

सविनको परिवारलाई क्षतिपूर्तिका लागि नगरपालिकाले पहल गरिरहेको शाक्यले बताइन् । ‘छोरीको शिक्षा र स्वास्थ्योपचार सुनिश्चित गरिदिनुपर्ने माग छ । साथै, श्रीमतीको लागि रोजगारीको व्यवस्था गरिदिन माग भएको छ । उनीहरूका लागि नगरपालिकाले सकेको गर्छ,’ शाक्यले भनिन्, ‘अन्य परिवारको सदस्यका लागि पनि खटनपटनको जिम्मा लिइदिनुपर्ने भन्ने छ । त्यसको लागि भने नगरपालिकाले गृह मन्त्रालयसँग समन्वय गरिरहेको छ ।’

शहीद र आन्दोलनको ‘खेती’मा राप्रपा नेता

सविनका छिमेकी तथा राजतन्त्र पुनःस्थापनामा रुझान राख्ने दल राप्रपाका केन्द्रीय सदस्य राजकुमार केसीका अनुसार महर्जनलगायत सुमो चालकहरू स्वःतस्फूर्त आन्दोलनमा गएका थिए ।

उनले भने, ‘सविनसँगै अन्य चालकहरू आफ्नो काम सकेर राष्ट्रहितका लागि आन्दोलनमा सरिक भएका थिए । उनीहरू देशमा परिवर्तन चाहिन्छ भन्ने युवा थिए । सविनलाई राज्यले शहीद घोषणा गर्नुपर्‍यो ।’

उनले थपे, ‘२०६२/६३ सालको जनआन्दोलनमा कीर्तिपुरबाट चारजना शहीद भएका हुन् । यस आन्दोलनमा पनि एक जना शहीद भएका छन् । सविनलाई शहीद घोषणा नगरे कीर्तिपुरले अर्को आन्दोलन गर्नेछ,’ उनले भने ।

राप्रपाका नेताले ‘ज्यान गुमाएको दिन सविन स्वःतस्फूर्त आन्दोलनमा सरिक भएको, उनको नाम शहीदको सूचीमा थप्नुपर्ने र नथपे आन्दोलन गर्ने’ धम्की दिइरहँदा परिवारले भने त्यसबारे आफूहरूलाई कुनै जानकारी नभएको बताएका छन् ।

परिवारका सदस्यहरूका अनुसार सविन राजावादी आन्दोलनमा गएको जानकारी उनीहरूलाई छँदै थिएन, न त उनले त्यस्तो आन्दोलन या राजतन्त्र पुनःस्थापनाबारे नै परिवारमा कहिल्यै कुरा गरेका थिए ।

दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ र नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ ले आयोजित प्रदर्शन क्रममा प्रहरीले चलाएको गोली लागेर सविनको ज्यान गएको थियो ।

यो पनि –

तीनकुनेको राजावादी आन्दोलनका क्रममा २० जनालाई लाग्यो गोली

प्रकाशित मिति : २२ चैत्र २०८१, शुक्रबार  १ : २५ बजे

डोटीको घण्टेश्वर सेतीमहाकाली क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी

डोटी – स्वतन्त्र विद्यार्थी युनियनको आज भएको निर्वाचनमा डोटीको घण्टेश्वर

दिवङ्गत पत्रकार सुरेश रजकको सम्झनामा दीप प्रज्वलन

काठमाडौं – नेपाल पत्रकार महासङ्घले दिवङ्गत स्वर्गीय पत्रकार सुरेश रजकको

शिक्षकका माग अविलम्ब पूरा गर्नुपर्छः पूर्वप्रधानमन्त्री खनाल

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री

गुगलले लागु गर्‍यो एआई मोडमा नयाँ ‘क्वेरी फ्यान–आउट’ प्रविधि

वासिङ्गटन – गुगलले आफ्नो खोज इन्जिनमा नयाँ अपडेट सार्वजनिक गरेको

स्वदेशी वस्तुको प्रयोग बढाउनु पर्छ : मन्त्री भण्डारी

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारले नीति