ट्रम्पको भन्सार वृद्धिले खैलाबैला, मान्छे नबस्ने टापुलाई निशाना, रुसलाई राहत | Khabarhub Khabarhub

विश्वबजारमा तरंग

ट्रम्पको भन्सार वृद्धिले खैलाबैला, मान्छे नबस्ने टापुलाई निशाना, रुसलाई राहत

राताम्मे भयो विश्वबजार, अमेरिकामा आर्थिक मन्दीको सम्भावना बढ्यो



काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सबैभन्दा मन पर्ने शब्द हो– ‘ट्यारिफ’ । उनलाई यो शब्द कतिसम्म मन पर्छ भन्ने कुरा उनको भनाइबाट प्रष्ट हुन्छ । उनले एकभन्दा बढी पटक भनेका छन्– ‘ट्यारिफ’ शब्दकोषकै सबैभन्दा सुन्दर शब्द हो । नेपालीमा अनुवाद गर्दा ‘ट्यारिफ’ भनेको आयात शुल्क वा भन्सार महसुल हुन आउँछ ।

युनिभर्सिटी अफ भर्जिनियाअन्तर्गत डारडेन स्कुल अफ बिजनेशका अनुसार अमेरिकाले राजस्व उठाउन र अन्तर्राष्ट्रिय सम्बन्धलाई व्यवस्थित बनाउने औजारका रुपमा भन्सार महशुललाई प्रयोग गर्दै आएको छ । यसले राष्ट्रिय अर्थतन्त्रका साथै सचेत उपभोक्ताको खल्तीलाई असर पार्न सक्छ ।

व्यवसायिक पृष्ठभूमिबाट राष्ट्रपति बनेका ट्रम्पले भन्सार शुल्कलाई हतियारका रुपमा प्रयोग गर्दै आएका छन् । आफ्नो पहिलो कार्यकालमा कसैको परवाह नगरी विभिन्न मुलुकबाट आयात हुने सामानमा भन्सार महशुल बढाएपछि विश्वव्यापी व्यापार युद्धको चिन्ता बढेको थियो ।

खुल्लमखुल्ला व्यापार युद्ध

ट्रम्पको दोस्रो कार्यकालमा भने त्यो चिन्ता वास्तविकतामा परिणत हुँदै गएको देखिन्छ । गत जनवरी २० मा आफ्नो दोस्रो कार्यकाल सम्हालेलगत्तै राष्ट्रपति ट्रम्पले ट्रम्पले क्यानाडा, चीन र मेक्सिकोबाट आयात हुने सामानमा महसुल बढाउने घोषणा गरेका थिए ।

जनवरी २६ का दिन अमेरिकामा बसोबास गर्दै आएका अवैध आप्रवासी बोकेको जहाज अवतरण गर्न अस्वीकार गरेपछि ट्रम्पले कोलम्बियामाथि पनि २५ प्रतिशत भन्सार महशुल बढाउने धम्की दिएका थिए । पछि दुबै पक्ष आ–आफ्ना अडानबाट पछि हटे ।
फेब्रुअरी १ का दिन उनले क्यानाडा र मेक्सिको सामानमा २५ प्रतिशत र चिनियाँ सामानमा थप १० भन्सार महशुल बढाउने घोषणा गरे । त्यसैबेला क्यानाडाले पनि ट्रम्पको घोषणाको बदलामा २५ प्रतिशत ‘पारस्परिक’ महशुल बढाउने घोषणा ग¥यो । त्यसको दुई दिनपछि ट्रम्पले क्यानाडा र मेक्सिकोमाथि लगाएको महशुल वृद्धिको घोषणा एक महिनाका लागि स्थगित गर्ने निर्णय गरे ।

क्यानाडा र मेक्सिकोमाथि लगाइएको महशुल स्थगित गरेपनि चिनियाँ सामानमा लाग्ने महशुल भने यथावतै राख्ने ट्रम्पको कदमपछि चीनले पनि प्रतिक्रियास्वरुप अमेरिकी सामानमा यस्तै कदम चाल्यो । चीनले अमेरिकाबाट आयात हुने एलएनजी उत्पादनमा १५ प्रतिशत तथा कच्चा तेल, कृषि मेसिनरी र ठूला कारमा १० प्रतिशत भन्सार महशुल वृद्धि गर्ने घोषणा गरेको थियो ।
फेब्रुअरी १० का दिन ट्रम्पले सबै मुलुकबाट अमेरिकातर्फ आयात हुने स्टिल र एल्मुनियमका सामानमा २५ प्र्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरे । फेब्रुअरी १३ का दिन ट्रम्पले अमेरिकी सामानमा भन्सार शुल्क लगाएका सबै मुलुकविरुद्ध ‘पारस्परिक’ भन्सार महशुल वृद्धि गर्ने घोषणा गरे । यसमा क्यानाडा, मेक्सिको र चीनमात्रै नभइ अमेरिकी सामानमा भन्सार लगाउने सबै देश प्रभावित हुने जनाइएको थियो ।

ट्रम्पको घोषणाले खैलाबैला

सोही घोषणा अनुरुप ट्रम्पले संसारमै खैलाबैला मच्चिनेगरी ५ दर्जनजति मुलुकका सामानमाथि भन्सार महशुल वृद्धि गर्ने अभूतपूर्व घोषणा गरे । बुधबारलाई उनले आफ्नै शैलीमा ‘मुक्ति दिवस’ को संज्ञा दिएका थिए । आफ्नो सम्बोधनका क्रममा राष्ट्रपति ट्रम्पले उच्च शुल्क र अन्य व्यापार अवरोधहरू लगाएर अरु देशहरुले अमेरिकाबाट फाइदा उठाइरहेको दाबी गरे ।

राष्ट्रिय आपतकाल घोषणा गर्दै उनले अमेरिकालाई पाँच दशकदेखि निकट र टाढाका तथा मित्र र शत्रुहरुले समान रुपमा लुटेको, बलात्कार गरेको आरोप लगाए । ‘यो हाम्रो आर्थिक स्वतन्त्रताको घोषणा हो’ सम्बोधनका क्रममा उनले भने । ट्रम्पले अमेरिकाका मित्रराष्ट्र, प्रतिद्वन्द्वी र शत्रुवत् सम्बन्ध भएका कुनै पनि देशलाई छाडेका छैनन् । ह्वाइट हाउसको रोज गार्डेनबाट ट्रम्पले न्यूनतम १० प्रतिशत आधार दर राख्दै भन्सार महशुल वृद्धिको घोषणा गरेका हुन् ।

‘आज हामी अमेरिकी श्रमिकको पक्षमा उभिएका छौँ र अन्ततः अमेरिकालाई पहिलो स्थानमा राख्दैछौँ ।’ ट्रम्पको घोषणा छ । ट्रम्पले बुधबारलाई आफ्नो विचारमा अमेरिकी इतिहासकै महत्वपूर्ण दिनको संज्ञा दिए । भन्सार महशुलले सन् २०३४ सम्ममा २.२ ट्रिलियन डलर राजस्व बढाउन सक्ने अमेरिकाको नन पार्टिसन कंग्रेसनल बजेट अफिसले जनाएको छ ।

नयाँ घोषणा अनुसार सिंगापुर, ब्राजिल, अस्ट्रेलिया, न्यूजिल्याण्ड, टर्की, कोलम्बिया, यूएई, साउदी अरब, नेपालजस्ता मुलुकका सामानमा समान १० प्रतिशत भन्सार महशुल थप हुनेछ । यो घोषणा आगामी ५ अप्रिलबाट कार्यान्वयनमा आउनेछ ।

यतिमात्रै होइन, ट्रम्पले अरु केही मुलुकका सामानमा अनपेक्षित रुपमा अत्यधिक भन्सार महशुल वृद्धि गरेका छन् । दक्षिणी अफ्रिकी लेसोथोका सामानमा सर्वाधिक ५० प्रतिशत भन्सार महशुल लगाउने उनको घोषणा छ ।

त्यस्तै, उनले युरोपेली युनियनका सामानमा २० प्रतिशत, चिनियाँ सामानमा यसअघिको महशुल समेत गरी कुल ५४ प्रतिशत, भियतनामका सामानमा ४६ प्रतिशत, थाइल्याण्डका सामानमा ३६ प्रतिशत, जापानका सामानमा २४ प्रतिशत, कम्बोडियाका सामानमा ४९ प्रतिशत, बंगलादेशका सामानमा ३७ प्रतिशत भन्सार महशुल लगाउने घोषणा गरेका छन् ।

त्यसैगरी, श्रीलंकाका सामानमा ४४ प्रतिशत, दक्षिण अफ्रिकाका सामानमा ३० र ताइवानबाट आयात हुने सामानमा ३० प्रतिशत भन्सार महसुल वृद्धि गर्ने ट्रम्पको घोषणा छ । यी मुलुकमाथि लगाइएको महशुल वृद्धि आगामी ९ अप्रिलदेखि कार्यान्वयनमा आउनेछ ।

मान्छे नबस्ने टापुमाथि पनि भन्सार ?

अर्को अचम्मको कुरा के छ भने ट्रम्पले रुस, उत्तर कोरिया, क्युबा, बेलारुसजस्ता अमेरिकाका परम्परागत रुपमा राम्रो सम्बन्ध नभएका मुलुकमाथि कुनै शुल्क लगाएका छैनन् । ट्रम्पको नयाँ घोषणा यतिसम्म उदेकलाग्दो छ कि केबल २ हजार मानिसहरुको बसोबास रहेको एउटा टापुमाथि समेत उत्यासलाग्दो भन्सार महशुल लगाएका छन् ।

अस्ट्रेलियाको पूर्वी भेगतिर पर्ने नोरफोक टापुमा केबल २ हजार मानिसको बसोबास छ । अस्ट्रेलियाकै प्रशासन मातहत रहेको यो टापुमा ट्रम्पले २९ प्रतिशत भन्सार शुल्क वृद्धि गर्ने घोषणा गरेका छन् । यतिमात्रै होइन, कोही मान्छेको बसोबास नभएको, पेन्गुनमात्रै पाइने टापुलाई पनि ट्रम्पले बाँकी राखेका छैनन् । सुदूर दक्षिणी हिन्द महासागरमा हेर्ड र म्याकडोनाल्ड टापु अवस्थित छ । यो पनि अस्ट्रेलियाकै मातहतमा छ । यहाँ स्थायी रुपमा कोही बस्दैन । केबल पेन्गुइन मात्रै पाइन्छ । ट्रम्पले यो टापुलाई पनि १० प्रतिशत भन्सार लगाउने घोषणा गरेका छन् ।

यति हुँदा हुँदै पनि ट्रम्पले यस पटक भने मेक्सिको र क्यानाडामाथि महशुल वृद्धि गरेका छैनन् । त्यसबाहेक ट्रम्पले विदेशमा निर्मित सबै अटोमोबाइल उत्पादनमा थप २५ प्रतिशत भन्सार महशुल वृद्धि हुने र त्यो तत्काल कार्यान्वयनमा आउने घोषणा गरेका छन् ।

बजार ओरालो

ट्रम्पको घोषणापछि एक किसिमको हाहाकार नै मच्चिएको छ । जापानको निक्कै परिसूचक २.७७ प्रतिशतले ओरालो लागेको छ । हङकङको हाङसेङ परिसूचक १.५२ प्रतिशत, साङ्घाईको एसएसई सूचक शून्य दशमलब २४ प्रतिशत, मुम्बईको सेन्सेक्स शून्य दशमलब ४२ प्रतिशतले ओरालो लागेको छ । त्यस्तै, सिंगापुरको एसटीआईमा शून्य दशमलब ३० प्रतिशतको गिरावट आएको छ ।

ट्रम्पको घोषणासँगै युरोपेली बजारमा पनि हलचल मच्चिएको छ । युरोपका प्रायः सबै महत्वपूर्ण परिसूचक राताम्मे भएका छन् । बेलायतको एफटीएसई १०० परिसूचक १.४५ प्रतिशतले ओरालो लागेको छ । जर्मनीको डीएएक्स परिसूचक २.४७ प्रतिशतले घटेको छ भने फ्रान्सको सीएसी ४० परिसूचकमा २.७२ प्रतिशतको गिरावट आएको छ ।

तेलको मूल्यमा पनि ३ प्रतिशतभन्दा धेरैको गिरावट देखिएको छ । त्यसैगरी, आज डलरको अवस्था पनि खासै राम्रो छैन । यो समाचार तयार पार्दासम्म अन्तर्राष्ट्रिय मुद्रा बजारमा डलर परिसूचक डीएक्सवाई २ अंकले ओरालो लागेर १०१.८१ विन्दुमा पुगेको छ ।

नेताहरु यसो भन्छन्

बजारमात्रै नभई अन्तर्राष्ट्रिय समुदायबाट पनि ट्रम्पको घोषणाको प्रतिक्रियाहरु आइरहेका छन् । इजरायलका अर्थमन्त्री बेजलेल स्मोट्रिचले ट्रम्पको नयाँ घोषणाबारे छलफल गर्न बैठक डाकेका छन् । इजरायलमाथि ट्रम्पले १७ प्रतिशत भन्सार महशुल बढाएका छन् । त्यसैगरी, ल्याटिन अमेरिकाको सबैभन्दा ठूलो अर्थतन्त्र ब्राजिलले पनि अमेरिकी घोषणाको जवाफमा भन्सार महशुल वृद्धि गर्ने कदमबारे विचार गरिरहेको उल्लेख गरेको रोयटर्सले जनाएको छ ।

उता, अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी एल्बानिजले अमेरिकी भन्सार महशुल हटाउनेबारे वार्ता गर्ने इच्छा जाहेर गरेका छन् । बेलायतले भने व्यापार युद्ध आफ्नो राष्ट्रिय हितमा नभएको भन्दै अमेरिकासँग नयाँ व्यापारिक सम्झौता गर्ने विषयमा छलफल गर्ने जनाएको छ । त्यस्तै, मेक्सिकोले भने अमेरिकी घोषणाको बदलामा कुनै कदम नचाल्ने संकेत दिएको छ । राष्ट्रपति क्लडिया शेइनबुमले अमेरिकी घोषणाको बदलामा ‘वृहद कार्यक्रम’ घोषणा गर्ने जनाएकी छिन् । स्पेनी प्रधानमन्त्री पेद्रो सान्चेजले अमेरिकी महशुल वृद्धिबाट आफ्नो मुलुकमा रहेका व्यवसायलाई जोगाउन १५ अर्ब डलर बराबरको सहायता योजना लागू गर्ने घोषणा गरेका छन् ।

त्यसैगरी, क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकी भन्सार महशुल वृद्धिसँग लड्ने बताएका छन् । दक्षिण कोरियाली कामचलाउ राष्ट्रपति हान डुक सुले अमेरिकी भन्सार महशुल वृद्धिबाट प्रभावित हुने व्यवसायलाई सहयोग गर्न कदमहरु चाल्ने जनाएका छन् । अमेरिकाले दक्षिण कोरियाली सामानमा २५ प्रतिशत भन्सार महशुल वृद्धि गर्ने घोषणा गरेको छ ।

जापानले भने क्रुद्ध प्रतिक्रिया दिएको छ । जापानी व्यापारमन्त्री योजी मुतोले ट्रम्पको घोषणालाई ‘निकै दुर्भाग्यपूर्ण’ भन्दै जापानलाई भन्सार महशुल छुट दिन अमेरिकासँग आग्रह गर्ने जनाएका छन् । उनले अमेरिकी कदमको बदलामा ‘मजबुत र तीव्र’ प्रतिक्रिया दिने जनाएका छन् ।

चिनियाँ वाणिज्य मन्त्रालयले पनि अमेरिकी कदमको विपक्षमा रहेको भन्दै आफ्नो हित र अधिकारको रक्षाका लागि आवश्यक प्रतिक्रिया दिने जनाएको छ । भारतीय व्यापार मन्त्रालयले अमेरिकी घोषणाबारे मूल्यांकन गरिरहेको भन्दै अमेरिकासँग यसबारे वार्ता गर्ने जनाएको छ ।

युरोपेली आयोगले अमेरिकी कदमको बदलामा प्रतिक्रिया दिन तयार रहेको जनाएको छ । आयोगकी अध्यक्ष उर्सुला भोन डेर लायनले ‘वार्ता असफल भएको खण्डमा आफ्नो हित र व्यवसायको रक्षाका लागि आवश्यक प्रतिक्रिया दिने’ जनाएकी छिन् ।

‘ट्रम्पले परमाणु बम हाने’

अर्थशास्त्रीहरु भने ट्रम्पको घोषणाले राम्रो परिणाम नआउने बताउँछन् । यो व्यापार युद्ध बढ्दा अमेरिकामा उच्च मूल्य र सुस्त वृद्धिदर देखा पर्ने सम्भावना रहेको विश्लेषकहरू बताउँछन् । त्यसैगरी विश्वभरका केही देश आर्थिक मन्दीमा समेत पर्न सक्ने बताइएको छ । लण्डनस्थित वित्तीय कम्पनी सेन्ट जेम्स प्लेसका प्रमुख सूचना अधिकारी जस्टिन ओनुएक्वेउसी ट्रम्पको घोषणाले ‘ध्वंसको चक्र’ निम्त्याउने बताउँछन् ।

रोयटर्ससँगको कुराकानीमा उनले भनेका छन्, ‘अमेरिकी घोषणाको बदलामा कठोर प्रतिक्रिया आए त्यसले वृद्धिमा धक्क लाग्नसक्छ, परिणामस्वरुप हामी मन्दीको अवस्थामा पुग्नसक्छौँ ।’

ट्रम्पको घोषणाका कारण अमेरिका मन्दीमा फस्ने सम्भावना ५० प्रतशित ले बढेको अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)का भूतपूर्व प्रमुख अर्थशास्त्री केन रोगोफको अनुमान छ । उनले बीबीसीसँगको कुराकानीमा ट्रम्पले विश्व व्यापार प्रणालीमा परमाणु बम प्रहार गरेको टिप्पणी गरेका छन् ।

प्रकाशित मिति : २२ चैत्र २०८१, शुक्रबार  ६ : २४ बजे

इरान-अमेरिका अप्रत्यक्ष वार्ताको अर्को चरण ओमानमा हुने

एजेन्सी– इरानका परराष्ट्रमन्त्री सैयद अब्बास अराघचीले अमेरिकासँगको आगामी अप्रत्यक्ष वार्ता

टीआरसी छनोट प्रक्रिया खारेजीको माग गर्दै प्रदर्शन

काठमाडौं– टीआरसी छनोट प्रक्रिया खारेज गरी नयाँ सिफारिस प्रक्रिया थाल्न

कम्युनिष्ट आन्दोलन निष्ठातर्फ अघि बढाउन चुनौति : प्रचण्ड

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट आन्दोलनलाई

महिलाले पनि बलात्कार गर्न सक्छन् : कानून मन्त्रालय

काठमाडौं– समाजमा पुरानो उखानै छ– नेपालको कानून दैव जानुन् !

आतंकवाद, अराजकता र निरङ्कुशता लोकतन्त्रका शत्रु हुन् : मन्त्री गुरुङ

पाटन– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले आतङ्कवाद, अराजकता