साप्ताहिक अर्थसंक्षेप : कार्यकाल सकेर बाहिरिए गभर्नर, प्रदेश-स्थानीय तहको रकम तोकियो र विश्व बैंकको नजरमा सुध्रिँदै नेपाली अर्थतन्त्र | Khabarhub Khabarhub

साप्ताहिक अर्थसंक्षेप : कार्यकाल सकेर बाहिरिए गभर्नर, प्रदेश-स्थानीय तहको रकम तोकियो र विश्व बैंकको नजरमा सुध्रिँदै नेपाली अर्थतन्त्र


२२ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा शंकास्पद कारोबार वृद्धि हुँदै गएको देखिएको छ । सरकारले आगामी आर्थिक वर्ष (आव) ०८२–८३ का लागि प्रदेश र स्थानीय सरकारले पाउने राजस्व बाँडफाँड र वित्तीय समानीकरण अनुदानको अनुमानित रकम तोकेको छ ।

सरकारले नेपाल स्टक एक्सचेन्ज नेप्सेको प्रमुख कार्यकारी अधिकृत सीईओमा झापाका चुडामणि चापागाईंलाई नियुक्त गरेको छ । नेपाल आयल निगमले डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घटाएको छ ।

साताका आर्थिक समाचार :

प्रदेश र स्थानीय सरकारले पाउने राजस्व बाँडफाँड र वित्तीय समानीकरण अनुदान तोकियो, कसलाई कति ?

सरकारले आगामी आर्थिक वर्ष (आव) ०८२–८३ का लागि प्रदेश र स्थानीय सरकारले पाउने राजस्व बाँडफाँड र वित्तीय समानीकरण अनुदानको अनुमानित रकम तोकेको छ ।

अर्थ मन्त्रालयले आगामी आवमा राजस्व बाँडफाँड अन्तर्गत ७ वटा प्रदेश सरकारहरूले ७८ अर्ब ८ करोड ५० लाख र सबै स्थानीय सरकारहरूले ७८ अर्ब ८ करोड ५० लाख रुपैयाँ प्राप्त गर्ने अनुमान गरेको छ ।

विश्व बैंकको अनुमान- नेपालको अर्थतन्त्र सुधारोन्मुख, गरिबीदर घट्दो

विश्व बैंकले चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ४.५ प्रतिशतले विस्तार हुने अनुमान गरेको छ ।

एक प्रतिवेदन जारी गर्दै विश्व बैंकले आर्थिक वर्ष २०८१/८२ मा नेपालको अर्थतन्त्र ४.५ प्रतिशतले विस्तार हुने जनाएको हो । ‘नेपाल डेभलपमेन्ट अपडेट’ सार्वजनिक गर्दै विश्व बैंकले यस वर्षमा नेपालको आर्थिक वृद्धिदर बढ्ने अनुमान गरेको हो । विश्व बैंकका अनुसार अघिल्लो वर्ष नेपालको आर्थिक वृद्धिदर ३.९ हुने अनुमान गरेको थियो ।

आगामी आर्थिक वर्षहरुमा पनि नेपालको अर्थतन्त्रमा सुधार हुने विश्व बैंकको अपेक्षा छ । आगामी आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ५.२ प्रतिशत र त्यसपछि ५.५ प्रतिशतले विस्तार हुनेसमेत विश्व बैंकले अनुमान गरेको छ ।

नेपालमा शङ्कास्पद कारोबारको सङ्ख्या उच्च (प्रतिवेदनसहित)

नेपालमा शङ्कास्पद कारोबारको सङ्ख्यामा उच्च वृद्धि हुँदै गएको छ । नेपाल राष्ट्र बैंक वित्तीय जानकारी इकाईले सार्वजनिक गरेको तथ्याङ्कले पछिल्ला वर्षहरूमा निरन्तर रूपमा नेपालमा शङ्कास्पद कारोबारको सङ्ख्यामा उच्च वृद्धि हुँदै गएको देखाएको हो ।

तथ्याङ्कअनुसार सन् २०१६–०१७ मा नेपालमा एक हजार ५३ वटा शङ्कास्पद कारोबार गरेको देखिएकोमा २०२३–०२४ मा उक्त सङ्ख्यामा वृद्धि भएर ७ हजार ३३८ पुगेको थियो । सन् २०२०–२१ सम्म आउँदा एक हजार ३३ कारोबार भएकोमा पछिल्लो ३ वर्षमा यो सङ्ख्या ह्वात्तै बढेर ७ हजार ३३८ पुगेको हो ।

पाँच वर्षमा गभर्नर अधिकारीले राष्ट्र बैंकमा के गरे ? (पुस्तकसहित)

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आइतबार आफ्नो कार्यकाल सकेर बाहिरिँदैछन् । राष्ट्र बैंकबाट बाहिरिँदै गर्दा उनले आफ्नो कार्यकालमा भएका कामको स्थिति विवरणको पुस्तिका समेत तयार गरेर सार्वजनिक गरेका छन् ।

गभर्नर अधिकारीले विगत पाँच वर्षमा थप सुधारका कामहरू भएका छन्, मौद्रिक नीतिको आधुनिकीकरण गर्दै तरलता व्यवस्थापनलाई थप प्रभावकारी बनाउँदै लगिएको बताए ।

डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घट्यो

नेपाल आयल निगमले डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आज मध्यरातदेखि लागू हुने गरी डिजेल, मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर दुई रुपैयाँ र हवाई इन्धन (आन्तरिक)तर्फ सात रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ अमेरिकी डलर ५१ ले घटाएको हो ।

मूल्य घटेसँगै पहिलो, दोस्रो र तेस्रो वर्गमा डिजेल र मट्टितेल क्रमशः प्रतिलिटर एक सय ४६ रुपैयाँ ५० पैसा, एक सय ४८ रुपैयाँ र एक सय ४९ रुपैयाँ तथा आन्तरिकतर्फको हवाई इन्धन प्रतिलिटर एक सय २५ रुपैयाँ कायम भएको छ ।

कस्तो ल्याउलान् अर्थमन्त्री पौडेलले बजेट ? विश्लेषक भन्छन् – उत्तम आउने अनुमान गर्न सकिँदैन

यतिबेला उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल आगामी आर्थिक वर्षको बजेट निर्माण तयारीमा लागिरहेका छन् । राष्ट्रिय योजना आयोगले आगामी आवको लागि स्रोत अनुमानसहित मन्त्रालयगत बजेट सिलिङ दिइसकेको छ । मन्त्री पौडेलले मन्त्रालयस्तरीय छलफल टुंग्याउन लागेका छन् ।

चालु आर्थिक वर्षको बजेटको पूर्ण कार्यान्वयन गर्नका लागि सरकारसँग अब तीन महिना जति मात्रै बाँकी छ । तर, सरकारले चैत १७ गतेसम्म चालु आवको सुरु बजेटमा अनुमान गरिएको आम्दानीको ५२.६२ र खर्च ४८.१ प्रतिशत मात्रै कार्यान्वयन गरेको छ ।

गभर्नरका हैसियतमा महाप्रसादको अन्तिम सम्बोधन : ओलीलाई धन्यवाद, कोरोनालाई दोष ! (पूर्णपाठ)

पाँच वर्षे कार्यकाल पूरा गर्दै गरेका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पदीय हैसियतमा कार्यकालको अन्तिम दिन पत्रकार सम्मेलन आयोजना गरे ।

अर्थतन्त्रलाई थप सङ्कटमा धकेलेर अन्तरराष्ट्रिय स्तरमै मुलुकको अर्थतन्त्रको शाख गिराएको आरोप खेपिरहेका अधिकारीले सम्मेलनमा आफ्नो बचाउ त गरे नै ! आफूलाई नियुक्ति दिलाएका तत्कालीन र हालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई नाम उल्लेख नगरी धन्यवाद दिन भ्याए ।

नेप्सेका नवनियुक्त सीईओले बुधबारदेखि जिम्मेवारी सम्हाल्ने

सरकारले नेपाल स्टक एक्सचेन्ज नेप्सेको प्रमुख कार्यकारी अधिकृत सीईओमा झापाका चुडामणि चापागाईंलाई नियुक्त गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले उनलाई उक्त पदमा नियुक्त गरेको हो ।

राजस्व सचिव दिनेशकुमार घिमिरेले आज उनलाई नियुक्तिपत्र हस्तान्तरण गरेका हुन् । नवनियुक्त सीईओ चापागाईंले बुधबार कार्यभार सम्हाल्ने कार्यक्रम रहेको नेप्सेले जनाएको छ ।

धितोपत्र बोर्डबाट शेयर ब्रोकर गाभ्ने निर्देशिका जारी, कति गाभिएलान् ?

नेपाल धितोपत्र बोर्डले ‘धितोपत्र व्यवसायी गाभ्ने/गाभिने वा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०८१ जारी गरेको छ ।

बोर्डकाअनुसार अहिले सञ्चालनमा रहेका धितोपत्र व्यवसायीलाई गाभ्ने/गाभिने वा प्राप्ति गर्ने सम्बन्धी कार्यलाई व्यवस्थित गर्नका लागि बोर्डले उक्त निर्देशिका जारी गरेको हो ।

एमाले कार्यकर्तालाई जागिर खुवाउन बन्द उद्योगमा पदाधिकारी नियुक्त गरिँदै

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कम्पनी स्थापनादेखि नै व्यावसायिक रूपमा सञ्चालन हुन नसकेका र लामो समयदेखि बन्द रुग्ण उद्योगमा पदाधिकारी नियुक्ति गर्न खोजेको छ ।

विभिन्न अध्ययनले निजीकरण वा बन्द गर्ने निष्कर्ष निकालिसकेका सरकारको शेयर लगानी भएका नेपाल मेटल कम्पनी लिमिटेड र ओरिण्ड म्याग्नेसाइट प्रालि उद्योगमा आफ्ना कार्यकर्ता भर्ना गर्ने उद्देश्यले मन्त्रालयले पदाधिकारी नियुक्तिको प्रक्रिया अगाडि बढाएको हो ।

प्रकाशित मिति : २२ चैत्र २०८१, शुक्रबार  ६ : ५२ बजे

हिमानी र हृदयेन्द्रद्वारा जुम्लामा सिँचाइ पोखरीको उद्घाटन

जुम्ला – जुम्लामा पूर्व युवराज्ञी हिमानी शाह र पूर्व नवयुवराज

तनहुँमा चितुवाको आक्रमणबाट बालकको मृत्यु

पोखरा – तनहुँको बन्दिपुर गाउँपालिका–२ कुवादीमा चितुवाको आक्रमणबाट एक बालकको

नेपालको आर्थिक विकासबारे छलफल आवश्यक छ : देउवा

ललितपुर – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सबैको

लगानी सहजीकरण र औपचारिक अर्थतन्त्र विस्तारमा उल्लेख्य सुधार : अध्यक्ष ढकाल

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानी

कोशी प्रदेशले विपद् जोखिम न्यूनीकरणका लागि विपद् बिमा र बस्ती स्थानान्तरण गर्ने

मोरङ – कोशी प्रदेश सरकारले विपद्को क्षति न्यूनीकरणका लागि विपद्