काठमाडौं- दशैँ नलाग्दै दशैँका लागि भनेर प्रकाशन गृहहरूले पुस्तकका आकर्षक ‘कभर डिजाइन’ ल्याउन थालेका छन् । किताबका खोल जति आकर्षक देखिन्छन्, त्यसको मूल्य उति नै धानी नसक्नु छ । एकातिर डिजिटल प्रविधिले किताब पढ्नेको सङ्ख्या घट्यो भन्ने गुनासो घनिभूत हुँदै गर्दा बजारमा पुस्तकको बाक्लो उपस्थितिले त्यो आवाजमा बल थप्दैन । पुस्तक बजार प्रभावित हुनुमा प्रविधि, पाठकको रुचि, प्रकाशकको बठ्याइँदेखि किताबको गुणस्तरसम्मलाई दोषी ठान्नेहरूको अलग अलग पङ्क्ति छ ।
पुस्तक पसलमा हामी हरेक किताबको मूल्य फरकफरक पाउँछौँ । त्यो स्वभाविक पनि हो । तर हेर्दा उस्तै र उत्रै किताबको मूल्य पनि फरक हुन्छ । किताबको गुणस्तर पनि एकै हुन्छ तर मूल्य फरक पर्छ । उदाहरणका लागि केही किताबको मूल्य हेरौँ ।
फिक्सन मन पराउने हरकोही पाठकको मनमष्तिकमा बस्न सफल लेखक हुन्– कुमार नगरकोटी । उनी पूर्णकालीन लेखकका रूपमा चिनिन्छन् । उनका किताब पढ्न प्रकाशकलाई अग्रिम पैसा भुक्तानी गर्नुपर्छ ।
६ वर्ष अगाडि प्रकाशन भएको नगरकोटीको ‘कल्प–ग्रन्थ’ नामक किताब पाठकले अग्रिम भुक्तानी गरेरै खरिद गरे । जम्मा ७७७ पेजको उक्त किताबको मूल्य २ हजार २१ रुपैयाँ छ ।
अर्को नेपाली साहित्यमा एउटा भीमकाय किताब छ । जसको आकार देखेरै धेरै पाठक समाउनै डराउँछन् । पुस्तक हो –‘खस जातिको इतिहास’ । यसका लेखक बालकृष्ण पोखरेल हुन् । उनी भाषाका शल्यचिकित्सक अर्थात् भाषाशास्त्रका विद्वान्को रूपमा परिचित छन् ।
पोखरेलले यस किताबमार्फत खस जातिको इतिहास कोर्ने प्रयत्न गरेका छन् । पुस्तकले नेपाली भाषा विकासक्रमका बारेमा र नेपाली भाषा कसरी अघि बढेको छ भन्ने स्थापित गरेको छ । जसको मूल्य ३ हजार ४९४ रुपैयाँ रहेको छ । पोखरेल भौतिक रूपमा संसारबाट बिदा भइसकेका छन् ।
त्यसैगरी अर्को राष्ट्रिय आविष्कार केन्द्रका वैज्ञानिक डा. महावीर पुनको आत्मकथा ‘महावीर पुनः सम्झना, सपना र अविरल यात्रा’ पुस्तकको मूल्य ७५० रुपैयाँ छ । आत्मकथा बेच्दै हिँडेका उनको सय दिनमा दुई लाख ३० हजार बढी प्रति पुस्तक बिक्री भएको थियो ।
कोर्सबाहेक अन्य किताबको मूल्य निर्धारण मापदण्ड छैन
पेज टर्नर प्रकाशन संस्थाका प्रकाशक जयराम तिमल्सिना कोर्सको बाहेक अन्य किताबको मूल्य यति नै राख्नुपर्छ भन्ने खास मापदण्ड नभएको बताउँछन् । उनी भन्छन्, ‘कोर्सका किताब सरकारले नै निर्धारण गर्छ । सबै लेखक तथा प्रकाशकले आ–आफ्नो किसिमले मूल्य निर्धारण गरेका हुन्छन् । अर्को बजारमा दिनुपर्ने कमिसनको हिसाबले मूल्य तोक्छन् ।’
उनी अगाडि भन्छन्, ‘एउटा किताब बराबर एक रुपैयाँ तीस पैसा, एक रुपैयाँ पचास पैसा कोर्सको किताबको मूल्य निर्धारण छ । अन्य पुस्तकमा एक पेजको दुईदेखि तीन रूपैयाँको हिसाबले राख्छन् ।’
नयाँ लेखकको तुलनामा पुराना लेखकको किताबमा मूल्य बढी हुनु आंशिक रूपमा सत्य भएको तिमल्सिना स्वीकार गर्छन् । ‘पुरानालाई प्रकाशकले अनिवार्य रूपमा रोयल्टी तिरेको हुन्छ । पुरानाको नाम स्थापित भइसकेको हुन्छ । प्रकाशकले उनीहरूलाई १० देखि २५ प्रतिशतसम्म रोयल्टी तिरेको देखिन्छ ।’
‘अर्को पुरानो लेखकको किताबमा बजार मूल्यमा बढी छुट दिनुपर्ने हुन्छ । त्यसकारण पनि मूल्य बढी हुन जान्छ । नयाँ लेखकको सवालमा कतिपय अवस्थामा रोयल्टी नै हुँदैन’ उनी भन्छन्, ‘भयो भने पनि ५ देखि १० प्रतिशतसम्म हुन्छ । त्यसो हुँदा किताबमा २० प्रतिशत मूल्य कम हुन्छ ।’
अर्को प्रकाशकले दिएको छुटको आधारमा बजार मूल्यमा फरक पर्ने उनको भनाइ छ । ‘महावीर पुनले पसलमा २५ रुपैयाँ छुटमा आत्मकथा छोडे । उनको किताब बिना छुट बिक्री गर्न सकियो । कुनै किताब ६० प्रतिशत छुटमा खरिद गरिन्छ । त्यसलाई पसलेले पनि छुटमा दिन सक्ने भयो’ उनले थपे । ‘अर्को लामो समय बिक्री भएन भने पनि मूल्य कम गरेरै पनि बेच्नुपर्ने हुन्छ । होल्ड हुनुभन्दा घाटा खाएर बेच्नुपर्यो । कम्तिमा कागज र मसीको अर्थात प्रकाशनको लागत मात्रै उठोस् भनेर कम मूल्यमै बेच्नुपर्ने हुन्छ ।’
केही प्रकाशनका पुस्तक दिल्लीमा छापिन्छन् । कागज–मसीको गुणस्तर र भन्सार शुल्कबाट जोगिनका लागि नेपाली प्रकाशकले उतैबाट किताब छपाएर ल्याउँछन् । किताबको मूल्यमा फरक पार्ने अर्को मुख्य कारणमध्ये भन्सार शुल्क हो ।
दिल्लीको गुणस्तरको किताब नेपालमा प्रकाशन गर्दा महँगो पर्ने तिमल्सिनाको बुझाइ छ । ‘किताब ल्याउँदा सरकारले ३ देखि ५ प्रतिशत भन्सार कर लिन्छ । यसमा कुनैपनि प्रकारको भ्याट लाग्दैन । तर कागज ल्याउँदा १५ प्रतिशत भन्सार कर लिन्छ । अर्को मसी र अन्य केमिकलहरू १० देखि १५ प्रतिशत शुल्क लिन्छ । सँगसँगै भ्याट समेत जोडिएर आउँछ । सबै जोड्दा २८ प्रतिशतसम्म शुल्क बन्छ । यो ट्रेन्डले गर्दा फरक पर्न जान्छ ।’
लेखकको लागत आधारमा मूल्य निर्धारण
शिखा प्रकाशनका प्रमुख पुष्पराज पौडेलका अनुसार लेखकको समय र अनुसन्धानमा लागेको लागतको आधारमा किताबको मूल्य निर्धारण हुन्छ । उनी भन्छन्, ‘विद्यालयहरूमा तोकिएको पाठ्यक्रमका किताबको मूल्य पाठ्यक्रम विकास केन्द्रले तोक्ने भयो । बाँकी अन्य किताबको मूल्य प्रकाशक र लेखकको समन्वयमा तय हुन्छ । लेखकको अनुसन्धानमा कति खर्च भएको छ । त्यो अनुसार मूल्य निर्धारण गर्नुपर्ने हुन्छ ।’
‘अर्को बजारसँग पनि प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । बजारको मूल्य हेरेर पनि तय हुन्छ । उस्तै किताब र उस्तै गुणस्तरमा बजारले कतिमा बेचिरहेको छ र हेर्नुपर्छ’ पौडेल थप भन्छन्, ‘किताब सानो पृष्ठको हुन्छ तर मूल्य धेरै हुन सक्छ । अर्को लामो पृष्ठको किताब छ तर मूल्य कम हुन सक्छ । लेखकले धेरै समय लगाएर विषयवस्तु जुटाएको भन्ने कुराले महत्व राख्छ ।’
त्यसैगरी पौडेलले नयाँ लेखकको किताब कम मूल्य र पुरानो लेखकको किताबको मूल्य बढी हुने भन्नेमा कुनै आधार नभएको बताउँछन् । ‘हामीले नयाँ र पुरानो लेखकका किताबको मूल्य एकनासले निर्धारण गर्ने गरेका छौँ । दिल्लीकै गुणस्तरमा हामीले यहीँ छाप्ने गरिरहेका छौँ ।’
किताब पसलले खरिद मूल्य अनुसार छुट् दिन्छन् । उनीहरूले प्रकाशककोबाट खरिद मूल्य अनुसार आफ्नो मूल्य निर्धारण गर्छन् । जस्तै पसलेले ३० प्रतिशत छुटमा खरिद गरेको छ भने ५–१० प्रतिशत नाफा राखेर २०–१५ प्रतिशत छुटमा बिक्री गर्न सक्ने भयो । यो हिसाबले पाठकले छुट पाउने हो । किताब प्रकाशन र बजारको हिसाबले छुट पाउन सकिन्छ । प्रकाशकसँग बढी छुट पाएका किताबमा उनीहरूले छुट दिन सक्छन् ।
किताब बिक्रीमा ४ ग्रेड हुन्छ
बजारमा बेच्ने : जुन पुस्तक पसलहरूमा पाइने किताबको मूल्य फरक हुन्छ । तिनीहरू सर्वाधिक बिक्री हुने किताब पर्छन् । ती किताबलाई बेच्न त्यति धेरै मेहनत गर्नु पर्दैन । पाठकले पसलमा देख्छन् वा कतै विमोचन र समीक्षा हेरेर किन्न आएका हुन्छन् । पसलको किताबमा धेरै छुट हुँदैन ।
स्कुल/कलेजको किताब : यो स्कुल र कलेजको पाठ्यक्रम अनुसार प्रकाशन गरिएको हुन्छ । यी किताबको मूल्य सरकारले निर्धारण गर्ने गर्छ ।
सङ्घसंस्थालाई बेच्ने : किताबहरू सङ्घसंस्थाहरूमा बिक्री हुन्छ । प्राय सङ्घसंस्थामा केही मूल्यमा बिक्री गरिन्छ । कुनै कार्यविशेषका लागि भनेर किताबको मूल्यभन्दा बढी राखेर बिक्री गरिन्छ । जस्तै महावीर पुनको आत्मकथा बजार मूल्य बढी लिन्छन् तर पाठकले पनि तिर्न रुचाउँछन् ।
लाइब्रेरीमा बेच्ने : सबैभन्दा भारी छुटमा किताब बिक्री लाइब्रेरीहरूमा हुने गर्छ । बजारमा ‘होल्ड’ भएको किताब लाइब्रेरीमा पुग्छ । एक हिसाबले भन्ने हो भने किताबको ‘डम्पिङ’ लाइब्रेरी हो । पालिकाहरूले अथवा सार्वजनिक निकायहरूले किताब किन्न टेण्डर खुलाएको हुन्छ । उनीहरूले जति सक्दो सस्तो किताब किन्छन् ।
एक किताबमा ७५ प्रतिशत छुटमा सरकारले किताब किन्छ । तर यसमा प्रकाशक निकै चलाख छन् । दुई सयको किताबको मूल्य दुई हजार बनाएर त्यसैमा ६० देखि ७५ प्रतिशत छुट गर्छन् ।
प्रतिक्रिया