काठमाडौं– नेपाल सरकारले फेसबुकसहितका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ । बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा दर्ता सूचीकरण नभएका फेसबुकसहितका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको हो ।
भदौ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा सञ्चालन भइरहेका सामाजिक सञ्जाललाई एक साताभित्र सूचीकरण हुन निर्देशन दिएको थियो । तर त्यसलाई बेवास्ता गरेपछि सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको हो ।
नेपालले विगत एक वर्षदेखि फेसबुकसहितका सामाजिक सञ्जाललाई दर्ता गर्न आग्रह गरिरहेको थियो । तर फेसबुकले नेपालको कानुन नचिन्ने भन्दै दर्ता गर्न अस्वीकार गरेको छ । यसैबीचमा धेरैले फेसबुकले नेपालको राष्ट्रियताको धज्जी उडाएको हो भने बन्द गर्दा हुन्छ भन्ने प्रतिक्रिया दिएका छन् । अर्कोथरीले फेसबुक जस्तो सर्वसुलभ सञ्जाल बन्द गर्न नहुने तर्क दिएका छन् ।
प्रधानमन्त्री केपी शर्माका सल्लाहकार विष्णु रिमाल फेसबुकमा लेख्छन् – सामाजिक सञ्जाल र अनलाइन प्लेटफर्म प्रायः हामी सबैको लत बनेको छ । प्रधानमन्त्रीदेखि सर्वसाधारणसम्म दैनिक दर्जनौँ स्टाटस मार्फत आ–आफ्ना गतिविधिबारे जानकारी दिने र भावनाको साटासाट गर्ने गरिँदै आएको छ । यस्तो लाग्छ– केही गरी यी प्लेटफर्महरु बन्द भयो भने के होला ?
सायद, केही अवाञ्छित तत्त्वका असामाजिक भूमिका र केही गैर जिम्मेवार व्यक्तिका कामको कारण सम्मानित सर्वोच्च अदालतले नेपालभित्र सम्पर्क विन्दु (प्वाइन्ट अफ कन्ट्याक्ट), स्वनियमन तथा आवासीय गुनासो सुन्ने अधिकारी तोकी कम्पनी सूचिकृत नगरेसम्म रोक लगाउने आदेश दिएको छ ।
सम्भवतः दर्ता नभएका सबै सामाजिक सञ्जाल तथा अनलाइन प्लेटफर्महरु निष्क्रिय हुँदैछन् । लतकै रूपमा हाम्रो जीवनमा जोडिएका यी सञ्जाल र प्लेटफर्म चाँडोभन्दा चाँडो सूचिकृत होउन् र हामीले शीघ्र यसको प्रयोग गर्ने वातावरण बनोस् ।
त्यस्तै फेरि, नेकपा एमालेका नेता शकर पोखरेल लेख्छन्– सामाजिक संजाल बन्द भई नखुल्दासम्म त्यसले खल्बल्याइदिएका असल सामाजिक परम्पराहरू पुनर्स्थापित गर्ने कोसिस गरौँ । सुखद अनुभूति हुनेछ ।
नेपालमा फेसबुक दर्ता हुँदा के हुन्छ, नहुँदा के फरक पर्छ ? फेसबुक बन्द भए के हुन्छ ? के नेपालले फेसबुक जस्तो एप बनाउन सक्छ वा सक्दैन ? लगायतका विषयमा रहेर कुराकानी गरेको छ । खबरहबले सूचना प्रविधि विज्ञ उत्तम कार्कीसँग गरेको कुराकानीको अंश :

अहिलेको यो युगमा संसारको कुनै पनि कुनामा पुगेको सामाजिक सञ्जाललाई बन्द गर्ने नोटिस जारी भएको छ । सरकारले राम्रैका लागि बन्द गर्न खोजेको जस्तो देखिन्छ । यद्यपी नागरिकको भनाइ बुझ्दा सही छैन ।
किनभने नागरिकको सूचनाको हक र विश्वव्यापीकरणको विरुद्धमा हुन्छ । केही समय पहिले टिकटक बन्द भयो । पछि फेरि खुल्यो र दर्तामा गएको देखिन्छ । दर्ता हुनुमा समस्या छैन ।
विश्वमा अहिले सबैभन्दा ठूलो सम्पत्ति भनेको डेटा हो । जोसँग डेटा छ, उही शक्तिशाली बन्छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा बढी शक्तिशाली व्यापारी एलन मस्क र फेसबुकका मालिक मार्क जुकरवर्ग नै हुन् ।
विगत एक वर्षदेखि सरकारले दर्ता गर्न आउनु भनिरहेको छ । कहिले एक हप्ता, कहिले १५ दिनको समय दिइरहेको छ । उसले रेस्पोन्स नगरेपछि सरकार आफ्नो प्रतिष्ठा जोगाउनकै लागि भए पनि बन्द गराउने निधोमा पुग्यो ।
काठमाडौंमा ३० प्रतिशतले फेसबुकमार्फत आफ्नो व्यापार व्यवसाय गरिरहेका छन् । बिहीबार बिहान मेटाले पठाएको इमेल हेरेँ । नेपालमा सामाजिक सञ्जालको कानुन छैन । आजको दिनसम्म निर्देशिकाको भरमा चलेको छ । निर्देशिका भोलि परिवर्तन हुन सक्छ । निर्देशिकाका भरमा आउँदिन भनेको हो ।
संसद्बाट कानुन बनाउन भनेको छ । कानुन पास भएपछि दर्तामा आउँछौँ भनेकै छ । जस्तै टिकटक हेरौँ, नेपालमा दर्ता दिएको छ । तर नेपालमा टिकटकको सर्भर पनि आउने कि नआउने अन्योल भयो । यसबाट के पुष्टि हुन्छ भने, सरकारले केही गर्न खोजेजस्तो गरिरहेको छ । तर पछाडि कसैको ठूलो चलखेल पो हो कि भनेर शंका गर्ने ठाउँ देखिन्छ ।
बन्दै गर्नुपरे पनि बिस्तारै बन्द गर्ने हो एक्कासि बन्द गर्नु राम्रो होइन । एक्कासि बन्द गर्दा सरकारलाई नै ठुलो चुनौती थपिन सक्छ । नयाँ मोबाइल किनेर ल्याएपछि फेसबुक चलाउन भनेर सुरुमा हामी गुगल प्लेमा जान्छौ । डाउनलोड गर्छौ, त्यसपछि इमेल आइडी माग्छ । इमेल गुगल एकाउन्ट हो । बुझाइ फेसबुक बन्द भन्ने छ तर यसले युटुब र गुगल नै बन्द गर्ने भयो ।
हामीले आजसम्म प्रयोग गर्दै आएका सबै सञ्जाल बन्द हुने भयो । सामाजिक सञ्जाल बन्द गर्ने होइन । कानुन निर्माण गरेर नियमन गर्ने हो । फेक समाचार अर्थात् सूचनालाई कन्ट्रोल गर्ने हो । फेसबुक बन्द भयो भने अपराध बढ्छ । किनभने बन्द भएको एकैछिनबाट नागरिकहरूले भीपीएन डाउनलोड गरेर फेसबुक चलाउन थाल्छन् । भीपीएनबाट साइबर अपराध हुने सम्भावना धेरै हुन्छ ।
नेपालको कानुन चिन्दिन भन्दा राष्ट्रको सार्वभौम प्यारो लाग्नु स्वाभाविक हो । त्यो हरेक नागरिकको लागि सह्य कुरा होइन । नेपालमा दर्ता गर्न नियमन गर्न आउनु राम्रो पक्ष हो । अर्को सरकारले नयाँ कुरा भन्दिएला । फेसबुकले स्वीकार नगरेको भनेको ‘कन्टेन्ट क्रियसन’ मा अर्थात् सेयरिङमा जस्तै भोलि दर्ता भयो भने । सर्भर नेपालमा हुन्छ ।
नेपालले कुनै भिडियो आफूले चाहेको बखतमा डिलिट गर्न सक्ने भयो । यो कुरा उनीहरुले मानिरहेका छैनन् । प्राविधिक रूपमा हेर्दा डेभलपमेन्ट र सर्वर म्यानेजमेन्ट हुन्छ । फेसबुक डेभलपमेन्ट त जसले पनि गर्न सक्छ । फेसबुक लोकप्रिय भइदियो । हाम्रो दैनिकी चलेको छ । हामी छोड्नै नसक्ने अवस्थामा पुग्यौँ, यो समस्या हो ।
यसको मुख्य कुरा भनेको सर्भर म्यानेजमेन्ट हो । अहिले हामीले पोस्ट गरेको फोटो र भिडियो कहाँ जान्छ ? सरकारले आज बन्द गरिदियो । भोलि कानुनविद्हरूले सर्वोच्चमा मुद्दा हाल्दिए, उतिखेरै ‘स्टेअर्डर’ आउन सक्छ । हाम्रो फोटो, भिडियो अर्थात् ती चिज त उनीहरूको डिजिटल सम्पत्ति हो । सरकारले हचुवाको भरमा फेसबुक बन्द गर्ने निर्णय गरेको छ ।
नेपालले एक हप्ता भित्र दर्ता प्रक्रियामा नआए बन्द गर्ने निर्णय गरेकै बेला फेसबुकले नेपाललाई ‘मोनिटाइज’ को सुविधा प्रदान गरेको छ । त्यो नेपालीलाई आर्थिक उपार्जनसँग जोड्न सहज बनाइदिएको हो । त्यसलाई सदुपयोग गरेर पैसा कमाउनुतिर लाग्नुपर्नेमा बन्द गर्ने निर्णय हो भने गलत हो ।
सूचना प्रविधिमा नेपाल अग्रणी स्थानमै छ । फेसबुक बन्दै भयो भने पनि अन्य फेसबुक जस्ता एप बन्छन् । अहिले युवापुस्तामा फेसबुक भन्दा इन्स्टाग्राम लोकप्रिय छ । नेपालीले बनाएको सीमटिभी छ । सुरुमा काठमाडौंमा चल्यो पछि देशैभर चल्यो ।
आइपीटिभी, डिजिटल वालेट, हाम्रो पात्रो छ । यी सबै लोकप्रिय एप हुन् । तर फेसबुक जत्तिकै लोकप्रिय हुन समय लाग्छ ।
फेसबुक बन्द भयो भने अन्य अवसर जुट्छ । तर हचुवाको भरमा नभई दीर्घकालीन कस्तो असर पर्छ हेरेर सरकारले निर्णय गर्नुपर्छ ।
प्रतिक्रिया