उँधौली लागेसँगै भेँडाबाख्रा लिएर उँधो झरे गोठाला « Khabarhub

उँधौली लागेसँगै भेँडाबाख्रा लिएर उँधो झरे गोठाला


१८ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

गोरखा– उधौली लागेसँगै लेकका गोठ उँधो अर्थात् बेँसीतर्फ झार्न सुरु गरेका छन् । जिल्लामा सबैभन्दा बढी भेँडा पालन हुने चुमनुब्री गाउँपालिका–३ का २५ हजार भेँडाबाख्रा बेँसी झारिएको वडासदस्य विकास गुरुङले जानकारी दिए।  

चुमनुब्री–३ साविक सिर्दीबास गाविसको पाङसिङ जिल्लाको सबैभन्दा बढी भेँडा पालन हुने गाउँ हो । यहाँबाट दैनिक जगत हुँदै लावालस्कर लागेर भेँडा गोरखा, धादिङ, लमजुङका बेँसीतिर लैजान थालिएको स्थानीय स्वास्थ्यकर्मी लक्ष्मण कार्कीले बताए। 

‘बुधार मात्रै ३०० जति भेँडा तल झारेका थिए । आज तीन जना गोठालाका ३४० वटा भेँडा एकैपटक लावालस्कर लाएर तल झारिरहेका छन्’, उनले भने, ‘गोठालाहरू कुकुरसहित टोली बनाएर हिँड्छन् । बाटोबाटो भेँडा बेच्दै गुजारा चलाउँदै वैशाख लागेपछि नबिकेका भेँडाको बथान लिएर गाउँ फर्कन्छन् ।’

पाङसिङका १५० घरधुरीमध्ये करिब ७० घरका किसानले भेँडाबाख्रा पालन गरेका वडासदस्य गुरुङले जानकारी दिए। 

‘भेँडाबाख्रा लेकको गोठबाट पाङसिङ गाउँमा झार्न थालेको एक महिना भयो । अहिले पाङसिङबाट तल झार्न थालिएको छ’, उनले भने, ‘यहाँबाट खोर्ला, सिङ्ला, लाप्राक, बारपाक, दूधपोखरी हुँदै लमजुङतिर झारिन्छ । कोही गोठालाले आर्खेत, आरुघाट, मान्बु हुँदै धादिङसम्म झार्ने चलन छ ।’

भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रका अनुसार चुमनुब्रीमा १६ हजार ५०० भेँडा र आठ हजार ५०० बाख्रापालन गरिन्छ । त्यस्तै छ हजार ५०० याक तथा चौरी पालन हुँदै आएको केन्द्रका प्रमुख अनन्त कोइरालाले जानकारी दिए । लेकबाट बेँसी झार्ने पनि मौलिक परम्परा छ । 

‘लेकको गोठबाट बेँसी झार्ने बेला राम्रो बार हेरेर सुरु गरिन्छ । लेकको गोठबाट पनि एकै दिनमा बेँसी झार्दैनन् । हावापानीसँग घुलमिल गराउँदै एक महिना लगाएर गाउँसम्म ल्याइपुर्‍याउँछन्’, पाङसिङका विकास गुरुङले भने, ‘गाउँमा झारिसकेपछि यहाँबाट अन्यत्र लैजान चाँही विधिपूर्वक पूजाआजा गरी साइत गर्ने चलन छ ।’

अहिले धमाधम गाउँबाट जगत, तातोपानी, खोर्ला, माछाखोला, आरुघाटतिर भेँडा लैजान थालिएको उनले बताए। ‘अहिले बेँसी झारिएका भेँडाबाख्रा आगामी जेठ दोस्रो साता उँभौली लागेपछि लेकको गोठतिर पुर्‍याउन तालिन्छ’, उनले भने।

‘शरीरमा बाक्लो रौँ हुने भएकाले याक चाँहि लेकमा छोड्छन् । पातलो रौँ हुने भएकाले चौँरी मात्र बेँसी झार्ने चलन छ’, चुमनुब्री–७ का वडाध्यक्ष टाँसी दोर्जे लामाले भने, ‘बेँसी झार्दा पनि र पछि जेठको दोस्रो सातातिर लेक लैजाँदा पनि लामाले साइत हेरेर विधि पुर्‍याएपछि लैजाने चलन छ ।’

भेँडाबाख्रा पालन गर्ने किसान बढी भएकाले चुमनुब्री–३ मा गोठालालाई प्रोत्साहन कार्यक्रम लागू गरिएको छ । 

‘गोठालालाई प्रोत्साहन गर्न गोठमा जाने बाटो मर्मत, खानेपानीको व्यवस्था, बस्न त्रिपाल, सोलार बत्ती, गमबुट, स्लिपिङ ब्याग वितरण गरेका छौँ’, चुमनुब्री–३ का वडाध्यक्ष रामकुमार गुरुङले भने, ‘गाउँपालिकाको ८० प्रतिशत र गोठालाको २० प्रतिशत लागत साझेदारीमा यो कार्यक्रम बर्सेनि गर्ने गर्छौँ ।’

पालिकाले किसानलाई प्रोत्साहन दिन कार्यक्रम सञ्चालन गरे पनि बर्सेनि भेँडाबाख्रा पालन गर्ने किसानको सङ्ख्या घटिरहेको उहाँको भनाइ छ ।
 

प्रकाशित मिति : १८ मंसिर २०८२, बिहीबार  १ : २४ बजे

कांग्रेसका खड्का र एमालेकी शर्मा रिहाइको मागसहित दायर भयो बन्दीप्रत्यक्षीकरण रिट

काठमाडौं– पूर्व ऊर्जामन्त्री तथा नेपाली कांग्रेसका नेता दीपक खड्का र

सरुवा भएको ठाउँमा नजाने कर्मचारीलाई सामान्य प्रशासन मन्त्रीको चेतावनी : मार्ग प्रशस्त गर्नू

काठमाडौँ- सामान्य प्रशासन मन्त्रालयले सरुवा तथा काजमा खटाएको कार्यालयमा जान

इनिशा विक बलात्कार प्रकरण : चार बालक पुर्पक्षका लागि जेल चलान

काठमाडौँ – सुर्खेत जिल्ला अदालतले इनिशा विक मृत्यु प्रकरणमा जोडिएका

आजका समाचार : सांसदहरूसँग व्यस्त प्रधानमन्त्री, कांग्रेसमा चर्किँदै द्वन्द्व, एमालेले थप आन्दोलन गर्ने र मध्यपूर्व तनाव झन चुलिँदै

प्रधानमन्त्री बालेन्द्रको सचिवालयमा छरितो टिम, मुख्य सल्लाहकारसहित २५ जनामात्रैप्रधानमन्त्री बालेन्द्र

स्वास्थ्य मन्त्रालयद्वारा १४ जना चिकित्सकको काज फिर्ता

काठमाडौं–  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १४ जना चिकित्सकको काज फिर्ता