भ्रष्टाचार र अनियमितता रोक्न कांग्रेसले ल्यायो जनप्रतिनिधिका लागि निर्देशिका (पूर्णपाठ) | Khabarhub Khabarhub

भ्रष्टाचार र अनियमितता रोक्न कांग्रेसले ल्यायो जनप्रतिनिधिका लागि निर्देशिका (पूर्णपाठ)

काम गरेर पनि प्रचार गर्न नसकेको महामन्त्री शर्माको निष्कर्ष


२३ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 5 मिनेट


687
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारूढ नेपाली कांग्रेसले ‘जनप्रतिनिधि कार्यसम्पादन निर्देशिका–०८१’ तयार गरेको छ । कांग्रेसले पार्टीका तर्फबाट निर्वाचित तीनै तहका जनप्रतिनिधिहरूको कार्यसम्पादन आगामी दिनमा अझ प्रभावकारी बनाउन निर्देशिका बनाएको हो ।

निर्देशिकाले जनप्रतिनिधिहरूलाई आमनागरिकको भावना सम्बोधन गर्दै ऊर्जाका साथ कार्य गरेर तोकिएको जिम्मेवारी सम्पादनमा सघाउने विश्वास कांग्रेसले दिएको छ ।

पोखरामा जारी दुई दिने अभिमुखीकरण कार्यक्रमको बन्दसत्रमा महामन्त्री विश्वप्रकाश शर्माले पेस गरेको ‘महासमितिपछिको राजनीतिक परिस्थिति र समसामयिक सन्दर्भ’ विषयक कार्यपत्रमा निर्देशिकाबारे जानकारी गराइएको छ ।

‘नेपाली कांग्रेसका तर्फबाट संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्नु हुने साथीहरूले आफ्नो योग्यता र क्षमताले सम्भव कार्यसम्पादन गर्दै आउनु भएको छ,’ कार्यपत्रमा भनिएको छ, ‘आगामी दिनमा अझ प्रभावकारी भूमिका निभाउन सहज होस् भन्ने उद्देश्यले ‘जनप्रतिनिधि कार्यसम्पादन निर्देशिका–०८१’ निर्माण गरिएको छ ।’

जनप्रतिनिधिको कार्यसम्पादन जनमुखी र थप प्रभावकारी बनाउने उद्देश्यसहित बनाइएको निर्देशिकाको पालना र कार्यान्वयन गर्नु पार्टीबाट निर्वाचित तीनै तहका जनप्रतिनिधिको अनिवार्य कर्तव्य र विशेष दायित्व हुने पनि कार्यपत्रमा उल्लेख छ । पार्टी केन्द्रीय कार्यसमिति बैठकले पारित गरेपछि निर्देशिका कार्यान्वयनमा जाने बताइएको छ ।

‘जनप्रतिनिधि कार्यसम्पादन निर्देशिका–०८१को अवलम्बनबाट कांग्रेसका जनप्रतिनिधिहरूको कार्यसम्पादन थप व्यवस्थित, थप परिपक्व र थप प्रखर हुने विश्वास लिइएको छ,’ महामन्त्री शर्माले २९ बुँदे निर्देशिकाबारे व्याख्या गरेका छन् ।

निर्वाचनमा पार्टीको घोषणा पत्र कार्यान्वयनमा जनप्रतिनिधिले सम्भव भएसम्म विशेष भूमिका निभाउनु पर्ने निर्देशिकमा उल्लेख छ । यस्तै गठबन्धन भएको अवस्थामा जनप्रतिनिधिहरूले न्यूनतम् साझा कार्यक्रम कार्यान्वयनमा ध्यान केन्द्रित गर्नुपर्ने भनिएको छ ।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा

यस्तै ‘काम गर्ने तर त्यसको प्रचार गर्न नसक्ने’ भनेर पार्टीको स्थापित छवि चिर्न जनप्रतिनिधिहरूले पार्टी र जनप्रतिनिधिबीच ‘समन्वय संयन्त्र’मार्फत् प्रचार–प्रसारलाई चुस्त बनाउने र संयन्त्र निर्माणमा सम्बद्ध पार्टी तहको नेतृत्वले अविलम्ब तदारूकता देखाउने पनि उल्लेख छ ।

संघ र प्रदेश दुवै तहका सदस्यहरू आ–आफ्नो संसदीय निर्वाचन क्षेत्रको प्रत्येक पालिकामा सामन्यतयाः दुई महिनामा कम्तिमा एक पटक अनिवार्य पुग्नुपर्ने, आफूलाई निर्वाचित गराउने भूगोलका मतदाताको भावना र विश्वासलाई सदैव केन्द्रमा राखेर तीनै तहका जनप्रतिनिधिले कार्यसम्पादन गर्नुपर्ने निर्देशिकमा लेखिएको छ ।

निर्देशिकामार्फत् कांग्रेसले पार्टीका तर्फबाट निर्वाचित तीनै तहका जनप्रतिनिधिलाई मिडियामैत्री बनाउन पनि खोजेको छ । ‘मिडिया या हरेक नागरिकको सूचनाको हक कदर गर्दै कानुनतः मिल्ने सूचना र प्रष्टीकरण अनिवार्यसँग राख्ने छन्,’ निर्देशिकमा भनिएको छ, ‘आफ्नाबारे उब्जिएका प्रश्न या प्रकाशित समाचारलाई लिएर तिक्त प्रतिक्रिया नजनाइ संयमले सम्बोधन गर्ने छन् । मिडियामैत्री व्यवहार अनिवार्य पालना गर्ने छन् । समाचार विवरण गलत छ भने खण्डन या कारबाहीसम्बन्धी स्थापित विधि पछ्याउने छन् ।’

भेलामा सहभागी जनप्रतिनिधि

‘जनप्रतिनिधि कार्यसम्पादन निर्देशिका– ०८१’को पूर्णपाठ :

१) तीनवटै तहका जनप्रतिनिधिहरूले शपथ ग्रहण गरेको मितिले एक महिनाभित्र आ–आफ्नो क्षेत्राधिकार केन्द्रित कार्ययोजना आफूसम्बद्ध कांग्रेस कार्यसमितिलाई सु–सूचित गर्ने छन् ।

२) सम्बद्ध कार्यसमिति समेतको सुझाव सम्मिलित कार्ययोजना नागरिक पंक्तिसमक्ष प्रतिबद्धताका रुपमा प्रस्तुत गर्ने छन् ।

३) तीनवटै तहका जनप्रतिनिधिले देशको मूल कानून संविधानले निर्दिष्ट गरेका अधिकारको दायरामा रहेर कार्य गर्ने छन ।

४) अधिकारको प्रयोग गरिरहँदा सो अधिकारले विन्यास गरेको कर्तव्यलाई जनप्रतिनिधिले पूर्ण आत्मसात गर्ने छन् ।

५) संघ र प्रदेश दुवै तहका सदस्य आ–आफ्नो संसदीय निर्वाचन क्षेत्रको प्रत्येक पालिकामा स्थानीय जनसम्पर्क हुने गरी सामन्यतयाः दुई महिनामा कम्तिमा एक पटक अनिवार्य पुग्ने छन् ।

६) आफूलाई निर्वाचित गराउने भूगोलका मतदाताको भावना र विश्वासलाई सदैव केन्द्रमा राखेर तीन वटै तहका जनप्रतिनिधिले कार्यसम्पादन गर्ने छन् ।

७) कार्यसम्पादन गरिरहँदा आफूसँग असहमत या फरक विचार राख्ने मतदाता, अन्य पार्टीमा रहेका व्यक्ति या आफ्नै पार्टीका कोहीप्रति पनि फरक व्यवहार नगरेर जनप्रतिनिधिका रूपमा साझा नेतृत्वको अनुभूति गराउने छन् ।

८) आफ्नो पदले निर्दिष्ट गरेको काममा भन्दा सार्वजनिक कार्यक्रम या व्यक्तिगत काममा बढी लाग्ने गरेको भनेर आलोचनाको अवस्था आउन नदिन तदनुरूप सजगता राख्ने छन् ।

९) सार्वजनिक दायित्व निर्वाह गरिरहँदा आफ्नो परिवारलाई दिने समय र निर्वाह गर्नुपर्ने कर्तव्यमा कुनै सम्झौता गर्ने छैनन् ।

१०) आफ्नो जिम्मेवारीको क्षेत्रमा कोही पनि नागरिकको परिवारमा पर्ने दुःख, पीडा र विपत्तिको घडीमा अत्यावश्यक साथको मानवीय कर्तव्य पूर्ण क्रियाशीलतासाथ निभाउने छन् ।

११) आफ्नो पदीय जिम्मेवारीको क्षेत्रमा पर्ने भूगोलभित्र समन्यायिक विकासका लागि पहल गर्ने छन् । तर, बजेट विनियोजन गरिरहँदा अर्घेल्याई नगर्न र गर्न नदिन जिम्मेवार ढंगले गाम्भीर्य राख्ने छन् ।

१२) विकास निर्माणका कार्यमा हुने गरेका ढिलासुस्ती अन्त्य गर्न-गराउन आफ्नो जिम्मेवारीको क्षेत्रमा अत्यावश्यक पहल, सुझाव र सहजीकरणको भूमिका निभाउने छन् ।

कांग्रेसका जनप्रतिनिधिहरू

१३) संघ एवम् प्रदेशका मन्त्री र स्थानीय तहका प्रमुखले विषयविज्ञहरूसँग नियमित रुपले आवश्यक परामर्श गर्ने छन् । परामर्शको दायरा सदैव फराकिलो राख्ने छन् । यसमा सम्बद्ध पार्टी तहले आवश्यक सहजीकरण गर्ने छ ।

१४) मिडिया या हरेक नागरिकको सूचनाको हक कदर गर्दै कानुनतः मिल्ने सूचना र प्रस्टीकरण अनिवार्यसँग राख्ने छन् ।

१५) आफ्नाबारे उब्जिएका प्रश्न या प्रकाशित समाचारलाई लिएर तिक्त प्रतिक्रिया नजनाइ संयमले सम्बोधन गर्ने छन् । मिडियामैत्री व्यवहार अनिवार्य पालना गर्ने छन् । समाचार विवरण गलत छ भने खण्डन या कारबाहीसम्बन्धी स्थापित विधि पछ्याउने छन् ।

१६) फजुल खर्च, भ्रष्टाचार, अनियमितता, अपारदर्शीता, जवाफदेहीविहीनता जस्ता बेथितिमा आफू सरिक नहुन र आफ्नो पदीय जिम्मेवारीको क्षेत्रमा त्यो हुन नदिन तीनै तहका जनप्रतिनिधिले सम्पूर्ण गम्भीरता राख्ने छन् ।

१७) सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने कानूनी व्यवस्था पालना गर्दै अनिवार्य, नियमित र निर्धारित समयमै विवरण सार्वजनिक गर्ने छन् ।

१८) कुनै पनि प्रकृतिको सामाजिक विसंगति (जातीय विभेद, बाल श्रम, घरेलु हिंसाआदि) मा आफू सरिक हुने छैनन् र आफ्नो जिम्मेवारीको क्षेत्रमा त्यस्तो कुनै विसंगति अस्तित्वमा छ भने त्यसलाई अन्त्य गर्न विशेष क्रियाशीलता राख्ने छन् । त्यहाँका जनप्रतिनिधिको प्रधान सामाजिक दायित्व हुनेछ यो ।

१९) आफू कार्यरत क्षेत्रमा या आफ्नो सम्पर्क क्षेत्रमा रहेका कर्मचारी, सुरक्षाकर्मी या अन्य आवद्धको कार्यकुशला बढाउन प्रेरणा भर्ने छन् । कर्मचारीको मनोबललाई असर गर्ने कुनै पनि काम आफ्नो व्यवहारमा हुन दिने छैनन् ।

२०) समय व्यवस्थापनमा गम्भीर हेक्का राख्ने छन् । पदीय जिम्मेवारीको काम, सार्वजनिक भेटघाट, सार्वजनिक कार्यक्रम, पार्टी समन्वय, परिवार व्यवस्थापनदेखि व्यक्तिगत स्वास्थ्य सतर्कतासम्मका लागि समय व्यवस्थापन कुशलतापूर्वक गरेर सदैव शान्त एवं संयमित शैली अख्तियार गर्ने छन् ।

२१) आफू निर्वाचित रहेको तहमा, आफ्नो निर्णयबाट, आफ्नो परिवारका कोही सदस्यलाई आर्थिक लाभको पदमा नियुक्ति गरिएको भन्ने आलोचित हुने कार्य गर्ने छैनन् ।

२२) आफू आवद्ध तहको पार्टी कार्यालय महिनामा एक पटक अनिवार्य पुग्ने छन् । त्यसरी पुगेको समयमा पार्टी नेतृत्वसँगको समन्वयमा पूर्व सूचनासाथ पार्टीका साथीहरूबाट सुझाव, सल्लाह एवं कमी–कमजोरीको विवरण लिने छन् ।

२३) कुनै पनि प्रदेश, जिल्ला, क्षेत्र, प्रदेश निर्वाचन क्षेत्र, पालिका या वडामा पदीय जिम्मेवारी अन्तर्गत पुगिरहँदा सो तहको पार्टी समितिको नेतृत्वलाई पूर्वसूचना अनिवार्य दिने छन् ।

२४) आफ्नो पदीय जिम्मेवारी बमोजिमका कार्यमा गरिएका प्रगतिको विवरण प्रत्येक दुई महिनामा आफू आवद्ध तहको कार्यालयलाई बुझाउने छन् र तत्पश्चात नागरिक पंक्तिलाई सुसूचित गर्ने छन् ।

२५) संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले नागरिकको काम सम्पादन गरिरहँदा आपसमा समन्वय गर्ने छन् । यसका लागि प्रदेश, जिल्ला र संघीय निर्वाचन क्षेत्रीय समितिहरूले आवश्यकता अनुरूप छलफल आयोजना गर्ने छन् ।

२६) विभिन्न स्थानीय तहमा नियमित अडिट नभएको तथा कयौँमा लाखौँ रुपैयाँको बेरुजु पाइने गरेको वास्तविकता अन्त्य गर्न र यस्तो स्थिति आगामी दिनमा आउन नदिन आर्थिक सुशासनमा तत्–तत् तहको नेतृत्वले गम्भीरता राख्ने छन् ।

२७) सरकारमा रहँदा होस् या प्रतिपक्षमा रहँदा दुवै स्थितिमा संघ र प्रदेशसभा सदस्यहरूले नागरिकका मुद्दालाई नियमित रुपले संसद्मा उठाउने छन् । विज्ञ परामर्श, अध्ययन र आपसी संवादबाट आफ्नो प्रस्तुतिलाई थप परिपक्व बनाउने छन् । गुण र दोषको आधारमा सरकारको समर्थन र आलोचना गर्ने पार्टी नीति मर्यादित रुपले गर्ने छन् ।

२८) निर्वाचनमा पार्टीले जारी गर्ने घोषणा पत्रको सम्भव हदसम्म कार्यान्वयनमा जनप्रतिनिधिले विशेष भूमिका निभाउने छन् । गठबन्धन भएको अवस्थामा न्यूनतम साझा कार्यक्रमलाई कार्यान्वयनमा ध्यान केन्द्रित गर्ने छन् ।

२९) ‘काम गर्ने तर गरेको काम प्रचार गर्न नसक्ने’ भनेर पार्टीको स्थापित छवि चिर्दै पार्टी र जनप्रतिनिधिबीच ‘समन्वय संयन्त्र’मार्फत् प्रचार कार्यलाई चुस्त बनाउने छन् । यस्तो संयन्त्र निर्माणमा सम्बद्ध पार्टी तहको नेतृत्वले अविलम्ब तदारूकता राख्ने छ ।

प्रकाशित मिति : २३ माघ २०८१, बुधबार  १ : ४५ बजे

मुल्तानी माटो एक, अनुहार, छाला र कपाललाई फाइदा अनेक

काठमाडौं– गर्मीयाममा पिम्पल, दाग, छालामा फुस्रो हुने, चिलाउने जस्ता समस्या

सप्तकोशीमा बेपत्ता दुईजनाको खोजी जारी

इटहरी– यहाँको बराहक्षेत्र नगरपालिका–१ स्थित सप्तकोशी नदीमा बेपत्ता दुईजनाको खोजी

नेप्से प्रमुखको अग्निपरीक्षा, पूरा होलात लगानीकर्ताको सपना ?

काठमाडौं– धेरै समयको रस्साकस्सीपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख कार्यकारी

भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु

नेपालगञ्ज– भेरी अस्पताल, नेपालगञ्जमा आजदेखि मिर्गौला प्रत्यारोपण सेवा सुरु गरिएको

सामाजिक रुपान्तरणका लागि कम्युनिष्ट पार्टीको स्थापना : माधव नेपाल

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकमा गरिबी, पछौटेपन,