विकासको भोको ताप्लेजुङमा केबलकार बन्नुपर्छ तर प्रक्रिया मिलेन | Khabarhub Khabarhub

पाथीभरा केबलकार विवाद : एमाले समर्थित लिम्बू संघको धारणा

विकासको भोको ताप्लेजुङमा केबलकार बन्नुपर्छ तर प्रक्रिया मिलेन

केबलकार विवादमा पूर्णविराम लगाऔँ, कि ‘एस’ भनौँ कि ‘नो’



पाथीभरा केबलकार बहस गर्नुपर्ने विषय हो । यो बहसलाई निरन्तरता दिनुपर्छ । यो बहस सम्बन्धित थलोमा पनि चलाइयो भने केही न केही निकास आउला । म यस विषयमा दुईवटा पाटोमा कुरा गर्छु । खासगरी पाथीभरा, मुक्कुम्लुङ जे भने पनि त्यहाँ केबलकार निर्माणको थालनीपछि समस्या कसरी आयो ? यसको निकास के हुन सक्ला ? मैले यी विषयमा कुरा गर्नेछु ।

हरेक विषयमा मान्छेका आ–आफ्नो धारणा हुन्छन् । दृष्टिकोण हुन्छन् । सहमति–विमति हुन्छन् । यो मेरो व्यक्तिगत धारणा पनि हो र म अध्यक्ष रहेको मेरो संस्था (नेकपा एमालेनिकट लोकतान्त्रिक लिम्बू संघ) को धारणा पनि हो ।

खास गरेर पाथीभराको सन्दर्भमा लिम्बूहरूको आस्था र मुन्धुमको सन्दर्भमा से मुक्तिबुङ लगायतका के–के शब्दहरु आउँछन् । म मुन्धुमको अध्येता होइन । मुक्कुम्लुङ (नाम) को विषय पनि चर्को रूपमा उठेकै छ । त्यसपछि यसको नाम विभिन्न ढंगले आयो होला । लिम्बूहरूले मुक्कुम्लुङ भन्छन्, सेमुक्तु मुक्तिकोक्मा पनि भन्छन् । अन्यले काली पनि भन्छन् । आ–आफ्नो छ । यो एउटा विषय भयो ।

आजभन्दा एक सय, ७०/७५ वर्ष अगाडि गुरुङ भेडीगोठालाले मूर्ति स्थापना गरेपछि पुज्ने चलन भयो भन्छन् । त्यो हामीले सुनेको आख्यान हो । यतातिर पनि अध्येताहरुको अध्ययन गयो भने हामीले त्यसलाई अध्ययन गर्न पाउने थियौँ भन्ने मलाई लाग्छ । यो मेरो जिज्ञासाको विषय हो ।

पहिचानको विषय ज्यादै गम्भीर विषय हो भन्ने लाग्छ । खासगरी हामी जनजातिहरुले जनजातिको पहिचान पाउन लामो श्रृंखलापछिबाट पाइयो । पहिचानको अर्थ चाहिँ थुप्रै हुने रहेछ । नेपाली शब्दकोशमा हेर्‍यो भने विविध रहेछ । तर, खास हामीले अहिले उठाएको पहिचानको विषय र मैले भन्ने गरेको पहिचान चाहिँ वास्तवमा हाम्रो कला, संस्कार, संस्कृति र जातिको अस्थित्वको विषय प्रमुख चिज होला । नत्र पहिचान त जँड्याहा भन्ने पनि हुने रहेछ । अर्कोलाई के भन्ने पनि हुने रहेछ । मेरो बुझाइमा पहिचान सहअस्तित्वको विषय पनि महत्वपूर्ण रहने रहेछ ।

ताप्लेजुङ विकासको भोको छ

केबलकारको सन्दर्भमा कुरा गर्दा केबलकार अहिलेको विषय होइन । यो मैले थाहा पाउँदा ०५२–०५३ बाट नै सुरु भएको हो । मैले बारबार भन्ने गर्छु– वालुङ देर्जो र फ्राङ तेन्जिङहरुले अमेरिकाबाट आएपछि केबलकारको प्रयास गरे । अनामनगरको हनुमानथान मन्दिर नजिक कञ्चनजंगा हाउस भनेर कार्यालय राखे । अनि कञ्चनजंगा केबलकारको नामले प्रयास गरे । त्यो अफिस ०६२ सालसम्म रह्यो । उहाँहरूले सक्नुभएन र छोड्नुभयो ।

पछिल्लो समय ध्रुवनारायण श्रेष्ठले केबलकार कम्पनी दर्ता गर्नुभयो । दर्ताका क्रममा पनि सांघाई ग्रुपको अर्को कम्पनी पनि दर्ता भयो । तर, लामो समय सर्वोच्च अदालतमा मुद्दा भयो । मैले पहिले दर्ता गरें, मेरो एकलौटी हुनुपर्छ भन्ने दुईतर्फी दाबी आयो । धु्रवनारायण श्रेष्ठले मैले निवेदन दिएको हो, मेरो हुनुपर्छ भन्नुभयो । ध्रुवनारायण पक्ष किन बलियो भयो भने केबलकारको बेसमेन्टमा आफ्नै जग्गा हुनुपर्ने रहेछ । ध्रुवनारायण श्रेष्ठले मुद्दा जित्नुभयो । त्यसपछि केबलकार निर्माणको प्रकृया अगाडि बढेर यहाँसम्म आएको छ ।

लगभग ०५२/०५३ सालदेखि नै जस्तो लाग्छ, शहरी विकास कार्यालय इलामका प्रमुख त्यसबेला सुरेश नेम्बाङ हुृनुहुन्थ्यो । उहाँ प्रमुख रहेका बेलामा सहरी विकास कार्यालयले पनि डीपीआर तयार गरेर केबलकारको स्टेसन तोकेको देखिन्छ ।

पछि आएर ०७२ सालमा दर्ता भएको देखिन्छ । त्योबेलामा प्रधानमन्त्री केपी शर्मा ओली र उद्योगमन्त्री लेखराज भट्ट हुनुहुन्थ्यो । त्योबेला उद्योग मन्त्रालयका दर्ता भएको छ ।

म गलत पनि हुन सक्छु, तत्कालीन अवस्थामा वन मन्त्रालयसँग ०७५ सालमा सम्झौता भएको हो । त्योबेला ओली नै प्रधानमन्त्री र वनमन्त्री अग्नि प्रसाद सापकोटा हुनुहुन्थ्यो । प्रदेशले पनि गरेको देखिन्छ । कोशी प्रदेशमा मुख्यमन्त्री शेरधन राई हुनुन्थ्यो, अर्थमन्त्री माओवादीबाट इन्द्र आङ्बो हुनुहुन्थ्यो । वनमन्त्री पनि माओवादी पार्टीबाट हुनुन्थ्यो । यसरी यो प्रक्रिया आयो ।

त्योबेलामा एकपटक फेरि ताप्लेजुङ–पाथीभराको गुरुयोजना बनाउने क्रममा म पनि पुगेको थिएँ । त्यस बेलामा यो विषयमा प्रशस्तै कुरा उठेको थियो । त्योबेला पर्यटनमन्त्री योगेश भट्टराई हुनुहुन्थ्यो र त्यो बेलामा छलफलमा आएको विषय धेरै नामको सन्दर्भमा थियो । धेरै छलफल पनि भयो । यसलाई पाथीभरा मात्र होइन, मुकुलुङ पनि भनिनुपर्छ भन्ने थियो । हामीले पनि त्यो भए हाम्रो हुन्थ्यो भन्यौँ । नाम राख्ने त त्यसबेला व्यापारीले हो, हामीले थिएन ।

व्यक्तिगत हिसाबले पाथीभरालाई साच्चिँकै भर्जिन ल्याण्डकै रूपमा छाड्नुपर्छ भन्ने मान्यता राख्ने मान्छे म पनि हो । मैले त्योबेला मात्र होइन, निकै अगाडिदेखि उठाउँदै आएको विषय के पनि हो भने पाथीभरा साँच्चिकै पहिले हामीले देखेजस्तै छ ? आजभन्दा ०२७/०२८ वर्ष अगाडिको अवस्थामा पाथीभरालाई राख्न पाइयो भने सबैभन्दा त्यसको राम्रो पक्ष त्यो थियो ।

त्यहाँनेर दुईवटा चिज भए– एउटा हिन्दुहरूले अति हिन्दुकरण गरे, अर्को– सत्यहाङमा टोलीबाट बढी सत्यहाङमाकरण पनि भयो । मैले शुरुबाट आपत्ति जनाएको विषय पनि यही हो ।

महागुरु फाल्गुनन्दको मूर्ति राख्ने सन्दर्भमा मैले मेरो अभिमत पनि राखेको हो । त्यहाँ नमिसाउँ । अपवित्र हुन्छ । गुरुकै पवित्रतामाथि समस्या हुन्छ । किनभने, त्यहाँ पाथीभरामा त काटमार गर्छन् । रगतपक्षे हुन्छ त्यो ठाउँ । गुरु त त्यो भन्दा अलक (अहिंसावादी) हो । त्यसैले फागुनन्दको मूर्ति अलग्गै बनाऊँ । फागुनन्दका लागि महत्वपूर्णस्थल सिलौटी नै हो ।

पाथीभरामै स्थापना गर्ने हो भने अलि सहज हुने एउटा डाँडामा फागुनन्द पार्क बनाऊँ भन्ने थियो । तर भएन, त्यहीँ राखियो । सांस्कृतिक अतिक्रमण त्यहीबेला भयो भन्ने लाग्छ । अब अहिले हटाएर पनि सम्भव छैन । त्यसलाई त्यतिकैमा सुधार गर्नुभन्दा अरू उपाय छैन । हटायो भने ठूलो सामाजिक सद्भाव भड्किने सम्भावना विद्यमान रहन्छ । यो कुरामा मैले त्यहीबेलादेखि उठाएको विषय हो ।

केबलकार निर्माणको सन्दर्भमा मेरो तर्फबाट भन्नुपर्दा ताप्लेजुङ विकासको भोको छ । संघीयता लागू भइसकेपछि ताप्लेजुङ उजाड छ । त्यहाँका धेरै मान्छे विस्थापित छन् । केही पनि छैन । देशको सबैभन्दा टाढा, उत्तरपूर्वी क्षेत्र भएकाले त्यहाँ विकास केही छैन । कञ्चनजंघा चढ्न धेरै मानिसहरु जाँदैनन् । त्यो अप्ठ्यारो विषय पनि हो ।

काठमाडौँमा ताप्लेजुङ, पाथीभरा र कञ्चनजंघा चिनाउनका लागि थुप्रै चिजहरू गरियो । कहिले महोत्सव गरियो । कहिले फोटो प्रदर्शनी गरियो । कहिले के गरियो । पछिल्लो समय पाथीभरा अलिकति बढी चर्चामा आयो ।

अब यसभित्र उद्योगी, व्यापारिक व्यवसाय के हो, यो विषयमा मलाई प्रवेश गर्नु छैन । सबै हामी जानकार छौँ । कुन क्षेत्रमा बढी राज्यले हात हाल्छ, कुनमा व्यापारीले हाल्छ, त्योबारे हामी जनकार छौँ । केवलबार निमार्णको सन्दर्भमा जुन प्रकारले जग्गाको विषय आएको छ, मेरो पनि शुरुदेखि आपत्ति हो । त्यो गलत छ । केही व्यक्तिहरूले कम्पनीभित्रबाट त्यो अपचलन गरे । त्यो गलत छ ।

हामीले शुरुदेखि उठाएको विषय के भने केबलकार निर्माणका क्रममा त्यो चिज जनतालाई भार पर्ने गरी राखिनु हुन्न । यो व्यापारिक विषय म बुझ्दिनँ । त्यो विषय गलत थियो । खास गरी बरुवालहरूसँग जग्गा किने होला ।

अर्को पाटो, मैले जिल्लावासी भएको हिसाबले के उठाउँछु भने त्यो केबलकार निर्माणका क्रममा प्रक्रिया अगाडि बढाइएको कुरा गलत थियो । संस्थापक ध्रुवनारायण श्रेष्ठमाथि अलिकति अन्याय भएको छ । उहाँले जग्गा सित्तैमा दिनुभएको छ । त्यो पाटोहरू व्यक्ति भयो, मैले यो विषयमा यति मात्रै राखेँ ।

समाधानको उपाय : सरकार र आन्दोलनरत पक्ष दुबै लचिलो हुनुपर्छ

केबलकार निर्माण भयो भने ताप्लेजुङको विकास होला भन्ने हाम्रो आशा हो । केबलकार निर्माण हुँदा त्यहाँको कला, संस्कार, संस्कृति र पहिचानमाथि हस्तक्षेप नगरिकन बनाउनुपर्छ भन्ने हो । यसको निकास खोज्ने जिम्मा त राज्यको हो ।

निकास के होला भन्दा प्रमुखरूपमा वार्ता र सहमतिविना अरू निकास दुनियाँमा सहज बाटो छैन । कि होइन भनेदेखि दुई पक्ष नै आमने–सामने भएर युद्ध लड्नुपर्छ । हार्नेले भाग्छ, जित्नेले गर्ने हो । होइन भनेदेखि वार्ता र साझा सहमतिबाटै यसको निकास निकालिनुपर्छ ।

सहमतिका निम्ति दुवै पक्ष लचिलो हुनुपर्छ । सहमति त आफ्नो कुरामा मात्र टेकेर सम्भव छैन । सबै पार्टी लचिलो हुनुपर्छ । म एमालेको नेतृत्व निकायमा छैन तर नेकपा एमालेको कार्यकर्ता हो । एमालेको एउटा संगठन (लोकतान्त्रिक लिम्बू संघ) को अध्यक्ष हो । त्यस कारण भनेका छौँ– सबैले लचिलो हुनुपर्छ ।

पहिचानको आन्दोलन साझा हुनुपर्छ

योचाहिँ आन्दोलन गर्ने साथीहरूलाई मेरो सुझाव हो, यो सुन्नुपर्छ पर्दैन आफ्नो ठाउँमा छ । हामीले कोशी प्रदेशको आन्दोलनमा पनि भनेको हो – पहिचानको आन्दोलन साझा हुनुपर्छ । त्यो भयो भने मात्र त्यसले सही निकास निकाल्छ । संघबाट कोशी प्रदेश नामको सन्दर्भमा ‘नो कोशी आन्दोलन’ मा भाषण गर्ने म पनि हो । आज आन्दोलन साझा बनेन कि भन्ने लाग्छ । सबै मान्छे आउनुपर्छ, साझा बन्नुपर्छ भन्ने छ ।

अन्त्यमा, यो विवादलाई लामो समय कसैले पनि राख्नु हुँदैन । राज्यले पनि र नो केबलकार पक्षले पनि राख्नु हुँदैन । वार्ताबाट, केबाट हुन्छ, वारपारमा पुग्नुपर्छ । किनभने, यो लम्बियो भने ताप्लेजुङ अशान्त हुन्छ । ताप्लेजुङ गिजोलियो भने सद्भाव भड्किन्छ । त्यसकारण कि ‘यस केवलकार’ भनेर अगाडि बढ्नुपर्छ कि त नो केबलकार भनेर पूर्णविराम लगाउनुपर्छ ।

(ताप्लेजुङ निवासी चित्रगुप्त साँवा नेकपा एमालेसमर्थित लोकतान्त्रिक लिम्बू संघका केन्द्रीय अध्यक्ष हुन् । आइतबार काठमाडौंमा खबरहब डटकमले आयोजना गरेको ‘पाथीभरा मुक्कुलुङ केबलबार विवाद : कारण र समाधान’ विषयक छलफल कार्यक्रममा साँवाद्वारा व्यक्त विचार यहाँ सम्पादनसहित प्रस्तुत गरिएको हो । )

यो पनि-

‘ताप्लेजुङमा महिलामाथि भिजिलान्तेको आतंक छ’

संवादका लागि गृहमन्त्री आफैँ पाथीभरा जान सक्दैनन् ?

पाथीभरा मुक्कुम्लुङ केबलकार : खेलाँची नगर्न सरकारलाई सुझाव

भिडीयोमा हेर्नुहोस् :

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार  १० : ३३ बजे

इरानबाट इन्धन तस्करीको ठूलो गिरोह प्रहरी नियन्त्रणमा

एजेन्सी– इरानको गुप्तचर मन्त्रालयले आइतबार जनाएको अनुसार, उसले तीन प्रान्तमा

राजा वीरेन्द्रका परिवारको सम्झनामा दीप प्रज्वलन, पुगे हिमानी र हृदयन्द्र (तस्बिरहरू)

काठमाडौं- दिवंगत वीरेन्द्र शाहका राजपरिवारलाई श्रद्धान्जली दिन कमलादीस्थित गणेश मन्दिरमा

‘कञ्चनजङ्घा आरोहणले दुई देशबीचको सम्बन्ध थप बलियो’

काठमाडौं– रक्षामन्त्री मानवीर राईले नेपाल–भारत संयुक्त कञ्चनजङ्घा हिमाल आरोहणमार्फत दुई

सशस्त्र प्रहरीले मधेसमा ‘डिजाष्टर भोलेन्टिर’ तयार पार्दै

वीरगञ्ज– सशस्त्र प्रहरी बल, नेपालले मधेस प्रदेशका आठ वटै जिल्लामा

स्कटल्याण्डले नेपाललाई दियो २ सय ९७ रनको विशाल लक्ष्य

काठमाडौं– स्कटल्याण्डले नेपाललाई २ सय ९७ रनको विशाल लक्ष्य दिएको