क्रोधको आवेग थाम्न नसक्ने राजा थिए, पृथ्वीनारायण शाह । युवराज छँदा किशोरावस्थामै आफ्नो बारीको उखु खाइदिएकोमा महारानी चन्द्रप्रभावती समक्ष उनीविरुद्ध फिराद गर्ने केशव नामका द्वारेको उनले ज्यान लिएका थिए । राजा भएपछि बनारस भ्रमणमा जाँदा जगात भन्सारको कर्मचारीको हत्या गरेको, बीच बाटोमा बुटवल बास बस्दा सेन राजाका भारदार काटेको, ससुराली मकवानपुरमा आफूलाई जुत्ता नफुकाली सलाम गर्ने सैनिकलाई तत्कालै काटी मार्दा आफ्नै जेठान दिग्बन्धन सेनबाट उनी झण्डै मारिएको इतिहास पढ्न पाइन्छ ।
पृथ्वीनारायण शाहले ‘जस्तोसुकै विराउ गरे पनि हत्या नगर्नु, बरु कठीन युद्धहरुमा झोसिदिनू’ भनी आफ्नो उपदेशमा उल्लेख गरेको प्रसङ्गलाई जोडतोड दिदै अधिकाँश इतिहासकारहरुले उनी भारदार हत्याको कट्टरविरोधी रहेका र उनको पालामा कुनै भारदारले सजायस्वरुप ज्यान गुमाउनु नपरेको उल्लेख गरेका छन् । तर उनैको आदेशमा युवराज प्रतापसिंह शाहको अपहरण प्रकरणमा जसकर्ण पाँडेलगायत बेलकोट, थानसिङ र नुवाकोटका आठ जना जैसीहरुलाई काटिएको घटनालाई भने इतिहासकारहरुले त्यति धेरै महत्त्वका साथ प्रकाशमा ल्याएका छैनन् ।
यस्तै विजित कीर्तिपुरेहरुको नाक काटिएको प्रकरणलाई त कतिपय मूलधारका इतिहासकारहरु विदेशीहरुले चलाएको अनावश्यक हल्ला भएको बताउन पछि परेका छैनन् । तर ऐतिहासिक स्रोत र घटनाका तात्कालिन साक्षप्रमाणअनुसार पृथ्वीनारायण शाहले कीर्तिपुरेको मात्रै होइन, भक्तपुरका आफ्नै मितेरी साइनो भएका राजकुमार र उनका परिवारका साथै आफ्नै दरबारमा काम गर्ने एक द्वारेको आवेगमा नाक काटिदिएका थिए ।
कतिपय मूलधारका इतिहासकारहरु विदेशीहरुले चलाएको अनावश्यक हल्ला भएको बताउन पछि परेका छैनन् । तर ऐतिहासिक स्रोत र घटनाका तात्कालीन साक्षप्रमाणअनुसार पृथ्वीनारायण शाहले कीर्तिपुरेको मात्रै होइन, भक्तपुरका आफ्नै मितेरी साइनो भएका राजकुमार र उनका परिवारका साथै आफ्नै दरबारमा काम गर्ने एक द्वारेको आवेगमा नाक काटिदिएका थिए ।
दरबारिया कविको बयान
पृथ्वीनारायण शाहले कीर्तिपुरेको नाक काटेको प्रचार गर्ने पहिलो व्यक्ति हुन्, पादरी जेसेप्पी । गोरखालीले तेस्रो प्रयासमा कीर्तिपुर अधिनमा ल्याउँदा उनी नेपालमै इसाई धर्म प्रचार गर्दै बसेका माइकल एञ्जोलोसँगै थिए । उनले कीर्तिपुरेको नाक काटेको घटनालाई कलकत्ताबाट त्यतिखेर छापिने इष्ट इण्डिया कम्पनीकालिन “जर्नल अफ् एशियाटिक सोसाइटी (भोलम २ पृ. ३१९) मा लेख लेखेर प्रचार गरिदिए । त्यसबेला माइकल एञ्जोलोले नाक काटिएका कीर्तिपुरेको औषधोपचार गरिदिनुका साथै गोरखालीहरुसँग कीर्तिपुरेका लागि दयाको भीख समेत मागेको तर सुनुवाई नभएको जेसेप्पीले उल्लेख गरेका छन् (शुक्रसागर श्रेष्ठ, “कीर्तिपुरको सांस्कृतिक र पुरातात्त्विक इतिहास”-२०५७:२१-२२) ।
विलियम कर्कप्याट्रिकले नेपाल आउँदा नाक काटिएका कीर्तिपुरेहरुलाई आफैँले भेटेको उल्लेख गरेका छन् । उनी गोरखालीले कीर्तिपुर जितेको २७ वर्षपछि वि.सं. १८४९ मा नेपाल आएका थिए । उनले आफ्नो पुस्तक “एन एकाउन्ट अफ् किङडम अफ् नेपाउल” (सन् १८११:१६४) मा उल्लेख गरेअनुसार आफू नेपाल आउँदै गर्दा उनले केही नेपाली अनुहार अनौठो किसिमको देखे । ती अनौठा मानिसहरुले भरियाका रुपमा उनको भारी बोकेका थिए । ती भरियाहरुको नाक थिएन । यसबारेमा सोधखोज गर्दा कीर्तिपुर सहरमाथि गोरखालीहरुले विजय हासिल गरिसकेपछि यहाँका बासिन्दाहरुको नाक काटिदिएको जवाफ उनले पाए । उनले आफ्नो पुस्तकमा कीर्तिपुर सहरमाथि विजय हासिल गर्न गोरखालीहरुले धेरै श्रम, सीप, धन र जन खर्च गर्नुपरेको साथै धेरै कष्ट पनि सहनुपरेकोले त्यसको प्रतिशोधस्वरुप कीर्तिपुर विजय हासिल गरिसकेपछि त्यस ठाउँका बासिन्दालाई पक्री अमानवीय तरिकाले तिनीहरुको नाक काटिएको उल्लेख गरेका गरेका छन् ।
वंशावलीमा १२ वर्षदेखि माथिका पुरुषको नाक काटिएको उल्लेख भएकोले कर्कप्याट्रिकले भेटेको ती अनौठा ब्यक्तिहरु किशोरावस्थामा नाक काटिएकाहरु हुनसक्ने अनुमान गर्न सकिन्छ ।
यो लेखकलाई काठमाडौँका स्थानीय बासिन्दा भागवत नरसिंह प्रधानबाट प्राप्त भएको एक लिखतमा कीर्तिपुरेको नाक काटिएको विषयमा अधिकांश प्रसङ्ग वंशावलीहरुसँग मेल खान्छ । तर त्यहाँ अर्को फरक र विशेष प्रसङ्ग समेत परेको छ । कीर्तिपुरेको नाक काट्न तामाङहरुलाई लगिएको र उनीहरुले नाकका साथै ओठ पनि काटिदिएकोले उनीहरुलाई पनि त्यहीँ गोरखालीहरुले मारिदिएको अर्को हृदयविदारक प्रसङ्ग यो लिखतमा रहेको छ ।
लिखतमा यस्तो लेखिएको छ :
“… बाह्र १२ वर्ष देषि उभोका प्रजाहरु सबैले राजाका सलाम गर्नु आउनु भनि छलकाल गरि बोलाइ कोतमा थुनि -व- दिनपछि सबै प्रजाहरुका नाष कातिदियो र नाष तौलाइ हेर्दा बाह १२ धार्नी १ सेर ६ तोला छ । प्रजाहरु ज्मा आठ सय पयसथि ८६५ जना फेरी इन ।। दिनपछि नाष काटन्या भोत्याहरुलाई नाष मात्र कात भन्याका ओठ स्मेत कातिदियो भनि भोत्याहरु सबै ज्मा जमलोक पथाइया”।
शरणमा परिसकेका जनतालाई यातना दिन काठमाडौं वरिपरिका सोझा तामाङहरुलाई पृथ्वीनारायण शाहले त्यसबेला फकाइफुल्याई वा धम्की दिएर निकृष्ट काम गर्न प्रयोग गरेका थिए भन्ने बुझिन्छ । र, उल्टै उनीहरुलाई कीर्तिपुरमा मारिएको भन्ने हालसम्म चर्चा नभएको पाटो यो लिखतले उजागर गरेको छ ।
नाक काटिँदा कीर्तिपुरमै रहेका पादरी जेसेप्पीले लेखन वा पछि नाक काटिएका ब्यक्ति भेटिएपछि त्यसतर्फ चासो राखी सोधीखोजी गर्ने इतिहासकार कर्कप्याट्रिक विदेशी भएकोले उनीहरुले बढाई चढाई लेखे होलान् भन्ने शङ्का लाग्न सक्छ । तर यस प्रकरणमा हाम्रै घरेलु विश्वसनीय स्रोतहरुतिर पनि हामी दृष्टि दिन सक्छौँ ।
परको कुरा छाडौँ । कीर्तिपुरेको नाक काटिएको विषयमा पृथ्वीनारायण शाहकै दरबारका भाट कवि ललिताबल्लभले लेखेको काव्य “पृथ्वीन्द्रवर्णोदय” लाई एक गतिलो उदाहरणका रुपमा लिन सकिन्छ । इतिहास शिरोमणि बाबुराम आचार्यले “श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी” (२०६१ः५२८) मा उल्लेख अनुसार वि.सं. १८२६ कात्तिकमा गोरखालीले भक्तपुर दखल गरेकै समय ललिताबल्लभले उक्त काव्य रचना गरेका हुन् । काव्यमा कीर्तिपुर विजयबारे उनले यस्तो लेखेका छन्ः
सर्वान् दुर्गवरान् समूपतिवरो जित्वाचतुर्दिकास्थिलान् ।
रम्यं कीर्तिपुरोति विश्रृतपुरं जगाह भरिश्रवा ।।
हत्वा शत्रु मनाश्विन : कति पुनः प्रच्छिद्य नासादिकं ।
कृत्वा कांश्च विरुपिणः कुपुरुषान् कीर्ति स्वरुपं द्विष ।।
यो संस्कृत पद्यलाई नयराज पन्त र अरुले “श्री ५ पृथ्वीनारायण शाहको उपदेश” (२०२५:४४५)मा नेपाली भाषामा उल्था गर्दा “चारै दिशामा रहेका असल असल किल्ला फोडी, बलियो मन भएका केही शत्रु मारी, केहीका नाक आदि काटी, शत्रुका केही घटिया मानिसलाई विरुप पारी राजाहरुमा श्रेष्ठ, धेरै कीर्ति भएका उहाँबाट शत्रुको कीर्तिस्वरुप भएको, कीर्तिपुर भनी प्रख्यात, राम्रो शहर लिइबक्स्यो” भनी लेखेका छन् (डा. महेशराज पन्त, “राजधानी दैनिक”, वर्ष १३ अंक ७५–२०७० भदौ २:७) ।
इतिहास शिरोमणि आचार्य (२०६१:५३४) स्वयम्ले पनि पोइल जाने जनानाका नाक काटेझैँ गरी नाकका टुप्पाका नथुनी काटेर कुरुप मात्र गराई ज्याला मजदुरी गरी जीवन चलाउन बाधा नदिई १५-२० जनासम्म कीर्तिपुरेलाई पृथ्वीनारायण शाहले सहरबाट हटाई राखिदिएको र यिनै नकटाहरुलाई कर्कप्याट्रिकले देखेको हुनसक्ने उल्लेख गरेका छन् ।
स्वयम् पृथ्वीनारायण शाहकै दरबारमा रहेका कवि ललिताबल्लभले पद्यात्मक ढङ्गले उल्लेख गरिसकेपछि कीर्तिपुरेको नाक काटिएको विषयमा योभन्दा बलियो ऐतिहासिक ऐतिहासिक प्रमाण अरु के हुनसक्छ ?
स्वयम् पृथ्वीनारायण शाहकै दरबारमा रहेका कवि ललिताबल्लभले पद्यात्मक ढङ्गले उल्लेख गरिसकेपछि कीर्तिपुरेको नाक काटिएको विषयमा योभन्दा बलियो ऐतिहासिक ऐतिहासिक प्रमाण अरु के हुनसक्छ ?
भक्तपुरेको पनि जोगिएन नाक
पृथ्वीनारायण शाहले आफू युवराज छँदै भक्तपुरका युवराज वीरनरसिंह मल्लसँग मीत लगाएका थिए । तर वीरनरसिंहको अल्पायुमै देहान्त भयो । वि.सं. १८२६ मा पृथ्वीनारायण शाहले आफ्नै मीतबुबा रणजित मल्लको राज्य भक्तपुरमा आक्रमण गरी यस राज्य आफ्नो अधिनमा ल्याए ।
इतिहास शिरोमणि आचार्य (२०६१:३५६)ले भक्तपुर आक्रमणको बेला पृथ्वीनारायण शाहले कान्तिपुरमै बसी भक्तपुरको युद्ध सञ्चालन गरेका थिए भन्ने उल्लेख गरेका छन् । तर रणजित मल्लका तत्कालिन सहयोगी गरुडनारायण गोंगलको संस्मरणको पाण्डुलिपीमा भने “भादगाउको पूर्वपट्टि मूल ढोकाबाट लस्कर प्रवेश भै, घर १०।१२ आगो लाई पश्चिम पट्टिको इटाछें ढोकाबाट श्री ५ महाराजा (श्री) पृथ्वीनारायण शाह, श्री सूरप्रताप काजी साहेब प्रवेश गर्नु भै द्वादशीको दिन बिहानै कंपनी कंपनी छाना छानामा चढी बन्दूकले हानी हानी आई दरबारको छानामा पुग्या पछि हिटिचोकको उत्तर पट्टिको चार तल्या माथिको छानाबाट हानी” भन्ने उल्लेख छ (देविचन्द्र श्रेष्ठ, “भक्तपुरमा गोर्खाली हमला गरुडनारायण गोंगलको सम्झना”–२०७६:२३) ।
आचार्यले राजदरबारको परियोजना अन्तरगत पृथ्वीनारायण शाहको जीवनी लेखेकोले पनि उनका कतिपय गल्ती र कमजोरीहरु उल्लेख गर्न नचाहेको देखिन्छ ।
आचार्यले आफ्नो आँखा परेर पनि उल्लेख गर्न नचाहेको अर्को ऐतिहासिक स्रोत हो, केशरशमशेरको सङ्ग्रहमा रहेको वंशावलीको पाण्डुलिपी “नेपाल देशको इतिहास”। यो वंशावलीमा भक्तपुर आक्रमणअघि नै राजा रणजित मल्लका केही छोराहरुलाई हात लिएको र भक्तपुर अधिनस्थ भइसकेपछि तिनै छोरामध्ये कसैको नाक काटिदिएको र कसैको सर्वश्वहरण गरिएको उल्लेख छ । यस वंशावलीले पृथ्वीनारायण शाहबाट नाक काटिनेमा कीर्तिपुरे मात्रै होइन, भक्तपुरे पनि थिए भन्ने स्पष्ट देखिन्छ ।

जीवनकालमै बनेको पृथ्वीनारायणको शालिक । तस्बिर स्रोतः भागवननरसिंह प्रधान
पुरातत्त्व विभागको मुखपत्र “प्राचीन नेपाल”को सङ्ख्या २३ (वैशाख २०३०ः३) यससम्बन्धी प्रकरण उल्लेख छ । भक्तपुर युद्धबारे हालसम्म त्यति चर्चामा नआएको प्रकरणको ब्यहोरा यस्तो छः
महाराजले भक्तपुर आक्रमण गर्न जादा “नेपाल जितेपछि भक्तपुरको हकमा हुकुम मात्र मेरो भै गादी र आंदानी तिमीहरुलाई दिऊँला” भनी रणजित् मल्लका सातबाहालमा राखेका भित्रिनीपट्टिका छोराहरुलाई भनेको रहेछ । पछि भक्तपुर लडाईं गर्ने बखतमा पनि “लडाईं पर्दा गोला बारुद हामीलाई दिनू र तिमीहरु पट्टिका सिपाहीलाई खाली बन्दूक हान्न लाउनू । कोटघरमा हाम्रो लश्कर पस्नेबित्तिकै तिम्रा लश्करले छोडिदिनू । अनि तिमीहरुलाई नै राज्य दिऊँला” भन्ने हुकम भएको रहेछ । नेपालमा कालरुप भई जन्मेका ती सातविहारेहरुले बाबुका गादीमा बसौंला भन्ने लोभले जस्तो गोरखालीले भनेथे उस्तै गरी भक्तपुरका सिपाहीलाई खाली बन्दूकले हान्न लगाई बारुद र गोली भित्रभित्रैबाट गोरखालीलाई सुम्पिदिए । कोटगढको ढोकासमेत छोडिदिंदा भक्तपुरका लश्कर धेरै मरे ।
गोरखाली लश्करले दरबार घेरी लडाइँ गरेर भक्तपुर सर गरेका थिए । आफ्ना मीत राजकुमार वीरनरसिंहलाई विष प्रयोग गरी मारेको समेत हुनाले यी सातविहारे बाबुका गादीमा लोभ गरी अनेक पापद्वारा बाबुलाई दुःख दिने कुल्याहा हुन् । बाबु नभन्ने यस्ता कर्मचण्डालहरुले मलाई पनि बाँकी राख्ने छैनन् भनी तिनका जहान बच्चाहरु समेत सबैलाई पक्रे । कसैको नाक कटाए, कसैको सर्वश्व हरण गरे र कसैलाई सासना गरे । सो सर्वश्व गरेमध्ये राजा रणजित् मल्ल काशी जाने बखतमा छाडि गएको उनका छोरा अवधूतसिंह मल्लको सर्वश्व खेतबारीलगायत महाराजबाट आफूलाई बिर्ता दिएको ढालतरबारमाथि थापी लिएको जति रामकृष्ण कुवरले संवत् १८३७ माघ सुदी २ रोज २ का दिन ताम्रपत्र गरी पशुपतिनाथको सदावर्त गुठीमा राखे ।
वंशावलीको यो वर्णनबाट भक्तपुरमा पृथ्वीनारायण शाहले भक्तपुरको युद्धका बेला रणनीतिगत रुपमा पहिले हातमा लिएको राजपरिवारका सदस्यलाई भक्तपुर आफ्नो अधिनमा आइसकेपछि नाक काट्ने लगायतका अपमानजनक ब्यवहार गरेको स्पष्ट देखिन्छ ।
नातीको आसौच नबार्नेलाई सजाय
गोरखाली राजवंशमा पैतृक रुपमा उत्तराधिकार सर्दै जाने परम्परा हुँदा राजाकी विवाहिता पटरानीबाट जन्मेका जेठा छोरा राजगद्दिका उत्तराधिकारी हुन्थे । पृथ्वीनारायण शाहको देहान्तपछि प्रचलित परम्पराअनुसार उनका जेठा छोरा प्रतापसिंह शाह राजगद्दिमा बसे । छोटो समयको राज्यकालपछि अल्पायुमै देहान्त भएका प्रतापसिंह शाहपछि उनका पटरानी राजेन्द्रलक्ष्मीबाट जन्मेका रणबहादुर शाह नेपालका राजा भए ।

पृथ्वीनारायण शाह जीवित हुँदै रणबहादुर शाहअघि युवराज्ञी राजेन्द्रलक्ष्मीको गर्भबाट वि.सं. १८३१ को सुरुतिरै नवराजका रुपमा युवराज प्रतापसिंह शाहका जेष्ठ सन्तान नागेन्द्र शाहको जन्म भएको थियो । यसले पृथ्वीनारायण शाह अत्यन्तै हर्षित भएका थिए । तर अन्नप्रासन नहुँदै नवराज नागेन्द्र शाहको देहान्त भएको हुँदा उनी ठूलो शोकमा डुबेका थिए (आचार्य, २०६१:४११) ।
नवराजको देहान्तमा आफ्नो राज्यभर पृथ्वीनारायण शाहले आशौच बार्न लगाएका थिए । तर आशौच नबार्ने हिरा द्वारेलाई उनको नाक काटेर सजाय दिएका थिए । इतिहासकार दिनेशराज पन्तले “पूर्णिमा” पूर्णाङ्क ७७ (असोज २०४७:६४)मा प्रकाशमा ल्याएको “परराष्ट्रमन्त्रालयमा रहेका ऐतिहासिक सामग्रीको सूची” अनुसार एक पत्रमा “श्री ५ पृथ्वीनारायण शाहका नाती श्रीयुवराज प्रतापसिंहका पुत्र श्रीनायेकराज नागेन्द्र शाह पैदा हुदा उत्सव गरिबक्सेको र मजकुर नायेकसाहेब स्वर्गे हुदा आसौच नबार्ने हिरा द्वारेलाइ नाक काटी सजाये भयेको समेत् बिस्तारको…” भन्ने उल्लेख छ ।
यी घटनाहरुको अध्ययन गर्दा पृथ्वीनारायण शाहले केवल कीर्तिपुरेको मात्रै होइन, क्रोधको आवेगमा अरुको पनि नाक काटिदिएका थिए भन्ने स्पष्ट हुन्छ ।
प्रतिक्रिया