राजा महेन्द्रले मन पराएको महेन्द्रनगर ! | Khabarhub Khabarhub

राजा महेन्द्रले मन पराएको महेन्द्रनगर !

क्याम्पा चौरी, सैनिक र राजाबासको कथा


२१ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : 6 मिनेट


570
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – २०११ साल साउन ८ गते शुक्रबारदेखि लगातार पाँच दिनसम्म मुसलधारे पानी एकतमास परिरह्यो । पूर्वी तराईको कोशी र देशका ठूला नदीमा जलसतह बढ्यो । नदीमा आएको बाढीले जनधनको ठूलो क्षति गर्‍यो । त्यसको एक महिनापछि भदौ ५ गतेदेखि उसैगरी लगातार परेको पानीले भदौ १० गते नेपालका नदीनालामा दोस्रोपटक ठूलो बाढी आयो ।

यो बाढीले पूर्वी नेपालको कोशीलगायत देशैभरिका नदीनालामा बाढी आयो । कोशी नदीमा आएको बाढीले ६०० भन्दा बढीको मृत्यु भयो । बाढीले बगाएर ल्याएका गेगर र बालुवाले स्थानीयको खेत पनि कोशीमै मिलाइदियो । ०११ सालको बाढी यति विध्वंशकारी थियो कि त्यसपछिका एक दशकसम्म त्यहाँ केही उब्जनी हुन सकेन ।

सुनसरीको बराहक्षेत्र नगरपालिकास्थित कोशी नदी किनारमा बसोबास गर्दै आएको आनन्दप्रसाद गौतम (८४) का अनुसार बाढीले बाली मात्र नष्ट गरेन । जनताको खेत ढुवान भयो । त्यहाँ गेगर र बालुवा थुप्रिए । त्यसपछि कोशी किनारमा अनिकाल लाग्यो । नम्बरी जमिनका मालिक सुकुम्बासी बने ।

२०११ को बाढीले आमजीवनको दैनिकी मात्र तहसनहस गरेन । सबैभन्दा भयावह ताण्डव देखाएको कोशी नदीले त बाटो नै फेरेको थियो । भारतको विहार राज्यलाई दुःख दिने कोशी नदीमा ठूलो बाँध बनाउने भारतको सपना २०२२ सालमा पूरा भयो । बाँधका कारणले कोशी नदी किनाराका बस्ती बर्सेनि डुबानमा पर्छ ।

यो तथ्य इतिहासको खोजी, अध्ययन तथा अनुसन्धानमा सक्रिय सुनील उलकले आफ्नो आलेख ‘त्रिभुवन युगको अन्त्य गरी महेन्द्र युग सुरु गरेको त्यो भयावह बाढी’ मा समेत उल्लेख गरेका छन् ।

सुनसरीको राजाबासबाट देखिएको सूर्यास्तको दृश्य

राजा महेन्द्रले बस्ती बसाउन सुरू गरेको त्यो समय

२०११ को बाढीपछि बाढीपीडितलाई आश्रय दिन नयाँ ठाउँमा बसोबासको व्यवस्था मिलाइयो । बाढी प्रभावित क्षेत्रमा नयाँ शहर स्थापित भए । अध्येता उलकले लेखेका छन्, ‘बाढी तथा पहिरोपीडितका लागि अहिलेको चितवनमा जङ्गल फाँडेर बसोबासको सुरुवात गरिएको थियो ।

पूर्वमा इटहरी पनि बाढीपीडितहरूलाई बसोबास दिने क्रममा नै बिस्तारै शहरको रूपमा परिवर्तन हुन थालेको थियो । त्यतिबेलै कोशीपीडितहरू इटहरीमा बसोबास गर्न पुगे ।’

हाल बराहक्षेत्रस्थित महेन्द्रनगर २०११ सालमा बसोबास सुरु गरिएको बस्ती हो । राजाकै आदेश अनुसार यो क्षेत्रमा बसोबास सुरु गरिएको सुन्दरगुन्दरका स्थानीय आनन्दप्रसाद गौतम बताउँछन् ।

तरीमा राजाको सिकारको सोख

तरी जङ्गल (चारकोशे झाडी) सिकारका लागि इतिहासमा नामी मानिन्छ । राणा शासकहरू झैँ राजा महेन्द्र पनि प्रत्येकजसो हिउँदमा सिकारका लागि तराई झर्ने गर्थे । देशभित्रमात्र होइन, विदेश भ्रमणमा निस्किँदा पनि राजा महेन्द्र सिकार गर्न रुचाउँथे । अमेरिकाको राजकीय भ्रमण (२०१७ वैशाख) का क्रममा राजा महेन्द्रले गरेका सिकारका किस्साहरू चर्चित छन् ।

तत्कालीन मोरङ हाल सुनसरी जिल्लामा पर्ने तरी जङ्गल सिकारका लागि उपयुक्त रहेको तथ्यहरूले बताउँछन् । वि.सं. २०१७ सालमा पुरातत्व विभागका प्रधान अनुसन्धान अधिकारी (त्यस समयका फिल्ड एक्साभेटर) जनकलाल शर्माले जङ्गबहादुर राणा पनि सिकार खेल्न आउने गरेको प्रसङ्ग उल्लेख गरेका छन् ।

उनका अनुसार राणा नेपालको प्रधानमन्त्री नहुँदै मोरङमा शिकार खेल्न गएका थिए । त्यस समय उनले चतरागद्दीका महन्तसित केही हात्ती शिकारका निमित्त मागे र तर मठाधीशले हात्ती दिन अस्वीकार गरे ।

नेपाल म्यागेजिनमा प्रकाशित ‘बीपी र कुटिल महेन्द्र’ शीर्षक रहेको पदमसिंह कार्कीको आलेखमा वि.सं. २०१३ सालमा राजा महेन्द्रले देश दौडाहा गरेको उल्लेख गरेका छन् । उनले २०१६ सालमा राजा महेन्द्र सुदूर तराईको भ्रमणमा तत्कालीन सवारीमन्त्री तुलसी गिरीसहित निस्किएको लेखेका छन् ।

बराहक्षेत्र–७ स्थित क्याम्पा चौरी दरबारको भग्नावशेष

२०१४ सालमा राजा महेन्द्रले देश दर्शनका क्रममा पूर्वको झापा, ताप्लेजुङ, पश्चिमको दार्चुला हुँदै बैतडीसम्म पैदल भ्रमण गरेको तथ्य छ । त्यस्तै उनले वि.सं. २०१८ साल माघ महिनामा नेपालको पूर्वी भूभागको भ्रमण गरेका थिए । २०१८ माघ ९ गते भएको जनकपुर बमकाण्ड नेपाली इतिहासमा चर्चित छ ।

उनले २०१८ सालमा ‘महेन्द्र राजमार्ग’ शिलान्यास गरी २०२२ सालमा नवलपरासीको गैँडाकोटमा महेन्द्र राजमार्गको उद्घाटन गरे । वि.सं. २०२० सालमा देशका विभिन्न स्थानमा बस्तीहरू बसाए ।

२०१३ सालदेखि २०१८ सालसम्मको भ्रमणपछि राजा महेन्द्रले २०१९ मङ्सिर ५ गते तत्कालिन श्री ५ को सरकारको निर्णय र वि.सं. २०१९ पुस २ गते नेपाल गजेटमा प्रकाशित सूचना अनुसार नेपाल अधिराज्यलाई १४ अञ्चल र ७५ जिल्लामा विभाजन गरेको देखिन्छ । वि.सं. २०२१ सालमा भूमिसुधार ऐन घोषणा गर्दै उनले जमिन्दारी प्रथा र बिर्ता उन्मूलन गरी जग्गामा मोहीको अधिकार सुरक्षित गरेका थिए ।

***

सुनसरीको बराहक्षेत्र–६ स्थित महेन्द्रगेट (नयाँ)

राजा महेन्द्रले चितवनमा दियालो बङ्ला स्थापना गरेको प्रसङ्ग इतिहासमा विभिन्न दस्तावेजमा उल्लेख गरेको पाइन्छ । तत्कालीन युवराज महेन्द्रले युवराज्ञी इन्द्रसँगको विवाहपछि उनको सम्झनामा गोकर्णको जङ्गलभित्र सम्झना सदन बनाएका थिए । यसलाई शान्तिको आश्रयस्थल (हिभन अफ पिस) भनिन्थ्यो ।

राजा महेन्द्रले तराईका विभिन्न जिल्लाका चारकोशे झाडीमा शितकालीन दरबार र सिकार क्याम्पहरू निर्माण गरेका थिए । त्यसबारेमा इतिहास र दस्तावेजहरूमा त्यति चर्चा गरिएको पाइँदैन ।

राजा महेन्द्रले तत्कालीन समयमा जहाँजहाँ सिकार खेल्न गए त्यहाँ अस्थायी क्याम्प निर्माण गरे । उनले बसाएका बस्ती, बास बसेका स्थान अझै पनि ‘महेन्द्र’ का नाममा स्थापित छन् । राजा महेन्द्रले अस्थायी आवास र सिकारका लागि निर्माण गरिएका त्यस्ता स्थानलाई क्याम्पाचौर वा क्याम्पाचौरी भनिएको पाइन्छ ।

चितवनको भरतपुर महानगरपालिका –२ मा क्याम्पाचौर अझै पनि छ । त्यसलाई फुटबल मैदानका रुपमा विकास गरिएको छ । यस्तै मकवानपुरको हेटौंडा नगरपालिका–५ मा रहेको क्याम्पाचौरलाई मिनी रङ्गशालाका रुपमा विकास गरिएको छ ।

यस्तै सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिकामा अवस्थित ‘महेन्द्रनगर’, ‘राजाबास’, ‘क्याम्पा चौरी’, ‘सैनिक’ लगायतका बस्ती छन्, जुन राजा महेन्द्रको इतिहाससँग जोडिएको छ । यी स्थानहरू अहिले ओझेलमा छन् ।

क्याम्पा चौरी

बराहक्षेत्र–७ स्थित शाहकालीन राजप्रासाद (क्याम्प) स्थानीय लवजमा ‘क्याम्पा चौरी’ संरक्षणमा सरोकारवाला उदासीन देखिएका छन् ।

राजाले समेत मनपराएको सम्भावित पर्यटकीय क्षेत्र र ऐतिहासिक महत्व बोकेको ‘क्याम्पा चौरी’ अहिले वनमाराले ढाकेको अवस्थामा छ । स्थानीयका अनुसार राजा महेन्द्रको शासनकालमा राजाले सिकार खेल्ने र सूर्यास्तको अवलोकन गर्न तयार गरेको क्याम्प कालान्तरमा जीर्ण र भग्नावशेषका रुपमा रहेको छ । र, यो लोप हुने अवस्थामा पुगेको छ ।

‘जङ्गलको बीचमा राजा महेन्द्रले सिकार गर्न बनाएको ठाउँ अझै पनि भग्नावेश देखिन्छ’ स्थानीय युवराज भट्टराई भन्छन्, तत्कालीन समयमा बाघ लाग्ने गरेको र राजा सिकार खेल्न आउने गरेको बाहरू कुरा गर्नुहुन्थ्यो ।’

बराहक्षेत्र–८ स्थित सैनिक

०३५–३६ सालताका विद्यालय छुट्टी भएका बेला गोठाला जाने गरेको प्रसङ्ग निकाल्दै भट्टराई भन्छन्, ‘स्कुल बिदा भएका बेला गाईवस्तु चराउन सत्रआरडी, बीचपानी हुँदै क्याम्पाचौरी र आसपासका जङ्गल जान्थ्यौँ, त्यसबेला मैले पनि जङ्गलभित्र तीनवटा घर देखेको हुँ, झ्याल ढोका सद्धे थिएनन्, छाना थियो, हामी केटाकेटी नै थियौँ, पूर्वतर्फ एउटा घर थियो, त्यसको करिब दुईसय हात पर उत्तर–पश्चिमतर्फ अलि ठूलो घर थियो, ठूलो घरबाट अलिक उत्तरतर्फ सानो घर थियो, सबै घरमा इँटाका भित्ता थिए । छाना सिमेन्टका पाता र जस्तापाताले छाएका थिए, जङ्गलका बीचमा बडेमानको चौर थियो ।’

स्थानीय सरकारले संरक्षण गरे राम्रो हुने भट्टराई बताउँछन् । राजाको पालामा स्थापना भएका कारणले ऐतिहासिक र पर्यटनको विकास हुने समेत सम्भावना रहेको उनको भनाइ छ । सगरमाथा युवा क्लबका अध्यक्षसमेत रहेका भट्टराई क्याम्पा चौरीको पुनर्निर्माण र जीर्णोद्वारा हुनसके आन्तरिक पर्यटन प्रवर्द्धन हुन सक्ने बताउँछन् ।

राजाले सिकार खेल्ने मात्र नभएर स्थानीयहरूको समस्या सुन्ने, जनगुनासो सुन्नका लागि राजाले एकान्त रोजेको हुन सक्ने उनी बताउँछन् । स्थानीयवासी क्याम्पा चौरीको संरक्षण, पुनर्निर्माण र पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नुपर्ने बताउँछन् । पहिलेका भौतिक संरचना देख्ने मान्छेहरू अझै पनि छन् । हाल वनमाराले उक्त क्षेत्र ढाकेको छ । ‘क्याम्प’ को भग्नावशेष अझै देख्न सकिन्छ ।

स्थानीय सरकार सञ्चालन ऐनले दरबार, भग्नावशेष, किल्ला र गढीहरूको संरक्षण गर्न सक्ने अख्तियारी स्थानीय सरकारलाई दिएको छ । तर स्थानीय सरकार ऐतिहासिक क्षेत्रको प्रवर्द्धन र विकासमा उदासिन देखिँदा सम्भावित पर्यटकीय क्षेत्र ओझेलमा पर्दै गएको स्थानीयको गुनासो छ ।

हाल क्याम्पाचौरी बराहक्षेत्र–७ स्थित सप्तकोशी सामुदायिक वनको क्षेत्राधिकारभित्र पर्छ । बराहक्षेत्र–७ का वडाध्यक्ष कपिल आचार्यका अनुसार राजा महेन्द्र आउने जाने क्रममा २०१८ सालमा क्याम्पा चौरीमा एउटा राजा र अर्को मन्त्रीको दरबार स्थापना गरेको भनाइ प्रचलनमा रहेको बताउँछन् ।

हाल सामुदायिक वनले संरक्षण गरिरहेकाले स्थानीय सरकारले कुनै पनि योजनाका काम अगाडि नबढाएको वडाध्यक्ष आचार्य बताउँछन् । ‘हात्तीको वासस्थान भएकाले पर्यटकीय क्षेत्रका रुपमा निर्माण गर्न सकिएको छैन,’ आचार्य भन्छन्, ‘कुनै संरचना बनाइहाले पनि हात्तीले भत्काइहाल्छ ।’

राजा महेन्द्रलाई २०२२ सालमा स्वागत गर्न बनाइएको ‘महेन्द्रगेट’ को जीर्ण स्वरुप

महेन्द्रनगर

२०११ सालमा कोशी नदीमा बाढी आएपछि राजा महेन्द्रले बस्ती बसाउने उर्दी जारी गरे । त्यसैबेला स्थानीयले यो क्षेत्रमा फडानी सुरु गरे । २०२२ सालपछि प्लानिङ सिटीका रुपमा विकास गर्न राजा महेन्द्रबाटै बस्ती विकास गरिएको स्थानीय बताउँछन् । यो क्षेत्रकै व्यवस्थित व्यापारिक शहर बनाउने उद्देश्यले निर्माण गरिए पनि बजार विकास हुन सकेको थिएन ।

साविक महेन्द्रनगर पञ्चायतका पहिला प्रधानपञ्च रामबहादुर अधिकारीकी छोरी इनु अधिकारीका अनुसार २०११ सालमा फडानी सुरू भए पनि २०१३ सालबाट बस्ती बस्न सुरु भएको आफूले सुनेको बताइन् । बस्तीसँगै स्थापना भएको दुर्गाकाली मन्दिरकी पूर्वअध्यक्षसमेत रहेकी अधिकारीले मन्दिरको शिलालेखमा समेत स्थापना २०१३ भनेर लेखिएको बताइन् ।

राजा महेन्द्रको सवारीको प्रसङ्ग झिक्दै अधिकारी भन्छिन्, ‘सुन्दर गुन्दरमा राति राजा महेन्द्रले बास बस्नु भएको रहेछ । जहाँ अहिले पुराना संरचनाहरू देख्न सकिन्छ, त्यसलाई क्याम्पा चौरी भनिन्छ । राजा सिकार गर्न आएका बेला मेरो कान्छो जिजुहजुरबा हरिबहादुर अधिकारीलाई राजा महेन्द्रले नै सिकारका लागि लानु भएको रहेछ ।’

उनी थप्छिन्, ‘हाम्रा जिजुहजुरबा त्यो समयमा सिकार खेल्न निकै सिपालु नाम कहलिएका हुनुहुँदो रहेछ, राजा महेन्द्रले नै उहाँलाई ‘महन्त’ उपनाम दिनुभएको रहेछ । उहाँ निशानेबाज हुनुहुँदो रहेछ । पछि उहाँका सन्तानहरू यज्ञबहादुर अधिकारी ‘सिकारी कान्छा’ का नामले चिनिनुहुन्थ्यो ।’

बराहक्षेत्र–९ स्थित राजाबास, कोशी किनार

महेन्द्रगेट– २०२२ सालमा कोशी सम्झौतापछि राजा महेन्द्रलाई स्वागत गर्न बनाइएको द्वार हो महेन्द्रगेट । कोशी प्रोजेक्टले नै राजा महेन्द्रलाई खुसी पार्नका लागि यो गेट निर्माण गरेको इनु अधिकारीको भनाइ छ । यो गेट काठैकाठले बनाइएको थियो । जीर्ण भएपछि स्थानीय सरकारले नयाँ निर्माण गरेको छ ।

राजाबास– राजा महेन्द्रले पूर्व भ्रमणका क्रममा कोशी नदी किनारमा आइपुग्दा सप्तकोशीको दृश्यावलोकन गर्ने, बास बस्ने, मचान राखेर शिकार गर्ने क्षेत्रका रुपमा राजावासलाई लिइन्छ ।

सैनिक – स्थानीयका अनुसार भारतीय, बेलायती र नेपाली पूर्व सैनिकहरूलाई जग्गा दिएर बस्ती बसाएको क्षेत्रलाई ‘सैनिक’ भनिन्छ । बराहक्षेत्र नगरपालिकाको कार्यालयदेखि पूर्वपट्टिको बस्तीलाई सैनिक भनिन्छ । हाल वडा नं. ८ मा पर्ने यो बस्ती नहर किनारमा छ । नेपाली सैनिकहरूलाई यो बस्तीमा एकीकृत रुपमा बस्न राजा महेन्द्रले नै प्रोत्साहित गरेको स्थानीय बताउँछन् ।

प्रकाशित मिति : २१ असार २०८२, शनिबार  ९ : १६ बजे

एसपीलाई आमाचकारी गाली गर्ने अशोक यादवका आपराधिक मुद्दाको फेहरिस्त प्रहरीद्वारा सार्वजनिक

काठमाडौं– अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) का नेता

भ्रष्टाचारमा दलका नेता नै जोडिँदा लोकतन्त्रको बदनाम भयो : प्रदेश सभामुख बिष्ट

उदयपुर– कोशी प्रदेशका सभामुख अम्बरबहादुर बिष्टले नेपालमा राजनीतिक दलका नेता

कराँचीमा भवन भत्किँदा १२ जनाको मृत्यु

कराँची– पाकिस्तानको कराँचीमा लियारी भवन भत्किँदा मृत्यु हुनेको सङ्ख्या १२

कुलिङ पिरियड विवाद : सात सदस्यीय विशेष समिति गठन गर्ने निर्णय

काठमाडौं– ‘संघीय निजामती सेवा विधेयक २०८०’ मा व्यवस्था गरिएको कुलिङ

एमाले बाहेकका पाँच कम्युनिष्ट घटकको संयुक्त बैठक, इजरायलविरुद्ध अभियान चलाउने

काठमाडौं – नेकपा (माओवादी केन्द्र) लगाएका दलहरूले इजरायलले मध्यपूर्वका मुलुकमाथि