पर्यटकलाई आकर्षित गर्ने बुकीपाटनका भेडीगोठ « Khabarhub

पर्यटकलाई आकर्षित गर्ने बुकीपाटनका भेडीगोठ


२१ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

बागलुङ– बुकीपाटनको उत्तरपट्टि देखिने अनगिन्ती हिमशृङ्खला । चारैतिर हरियाली पहाड । त्यही पहाडको डाँडैभरि सेताम्मे भेडाका बथान । छेउछाउमा बाँसको चित्रा र प्लास्टिकका त्रिपालले बेरिएका केही अस्थायी गोठ । जहाँ केही थान दुःख, केही थान खुसी र केही थान आशा बोकेर बसेका गोठाला भेटिन्छन् र उनीहरूसँगै भेटिन्छन् भर्खरै जन्मिएका भेडाका पाठा । जसले लेकाली जनजीवनलाई छर्लङ्ग पार्छ । समथर चौरमा चर्दै गरेका भेडाले धेरैलाई आकर्षित गरेको छ ।

हिजोआज त्यही भेडीगोठ र भेडाका बथान हेर्ने बुकीपाटन पुग्ने पर्यटक बढ्दै छन् । हजारौँ भेडा र सयौँ गोठालाको बासस्थान बनेको छ ढोरपाटन बुकीपाटन अब पर्यटक घुम्ने ठाउँका रूपमा पनि विकास हुँदैछ ।

यति बेला बुकीपाटनमा घाँस पलाएर हरियाली बनेको छ । त्यही हरियालीमा सेताम्मे भेडाका बथानले बुकीपाटनको सुन्दरतालाई बढाएको छ । पाँच वर्ष अगाडिसम्म बुकीपाटन भेडा गोठालाका लागि मात्रै प्यारो थियो । तर अहिले प्राकृतिक सुन्दरतासँग रम्नेका लाग अझ बढी प्रिय बनेको छ ।

भेडाका बथानले ढपक्क ढाकिएको बुकी हेर्न हजारौँ पर्यटक लालायित छन् । ढोरपाटन उपत्यका पुग्ने जो कोही पर्यटक बुकीपाटन सहजै पुग्न सक्दैन । उच्च पहाडी क्षेत्र रहेको हुँदा लेक लाग्ने सम्भावना बढी हुन्छ । पछिल्लो दुई वर्षयता बुकीपाटन पुग्ने पर्यटक र पत्रकारले त्यहाँको दृश्य सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गर्न थालेपछि ढोरपाटन उपत्यका पुग्ने पर्यटकले बुकीपाटनको यात्रा तय गर्ने छन् ।

बुकीपाटन पुग्न सडक सञ्जालको सुविधा छैन । अघिल्लो वर्षसम्म गोरेटोमार्फत भेडीगोठाला र पर्यटक बुकीपाटन उक्लिने गर्थे । यस वर्ष भने पदमार्ग बनेको छ ।

नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटनमा पर्ने बुकीपाटन पर्यटक आकर्षणको केन्द्र बन्दै गएको छ । यहाँ आउने पर्यटकको नजरमा सबैभन्दा पहिले भेडाका बथान र भेडी गोठमा पुग्ने गर्छ ।

ढोरपाटन पाखाथरदेखि करिब पाँच घण्टाको पैदल यात्रामा बुकीपाटनको पहिलो गन्तव्य गर्पाछेडा पुगिन्छ । गर्पाछेडा पुग्दा बित्तिकै चारै तिर हजारौँका सङ्ख्यामा छरिएर चर्दै गरेका भेडाका बथान देख्दा पर्यटकको थकाननै मेटिने गर्छ । बुकीपाटनमा आउने अधिकांश पर्यटक भेडाका बथानसँग रमाउने ढोरपाटनका भेडी गोठाला भक्त अदैले बताए ।

पाँच वर्ष अगाडिसम्म गोठाला र भेडाका बथानबाहेक कोही पनि बुकीपाटनमा नआउने गरेको भन्दै पछिल्लो समय दिनदिनै सहर बजारबाट पर्यटक घुम्न आउने गरेको उनले सुनाए । आफूहरू बच्चैदेखि बुकीपाटनमा बस्ने हुँदा यहाँको सुन्दरतासँगै रमाउने बानी परिसकेको उनको भनाइ छ ।

पर्यटकले भेडीगोठ, भेडाका बथान र गोठालाका जनजीवनबारे बढी चासो दिएर हेर्ने गरेको अदैले बताए । पर्यटक आउन थालेपछि बुकी पाटनमा पहलपहल बढ्न थालेको उनको भनाइ छ ।

दहखर्क, टीकाधारा, फुर्सेधारा, फागुनेलगायत थुप्रै बुकीपाटन क्षेत्र पर्छन् । यो याममा बागलुङसहित पूर्वी रुकुम, डोल्पा र म्याग्दीका सयौँ गोठालाहरू अस्थायी गोठ बनाएर बस्दै आएका छन् ।

सयौँ गोठालाको हजारौँ सङ्ख्यामा भेडाबाख्रा, गाईभैँसीले बुकी पाटननै ढाकिएका हुन्छन् । एउटै गोठालाको पाँच हजारसम्म भेडा हुन्छन् । धेरै स्थानबाट गोठालाहरूले भेडा लिएर आउँदा सिङ्गो पहाडनै ढपक्क ढाकिने गर्छ ।

रोल्पाको सुनछहारीबाट बागलुङको निसीखोला, निसेलढोर हुँदै बुकीपाटन आएका पुनराम घर्तीमगरले हिजोआज घुम्न आउने पर्यटकको सङ्ख्या बढेको बताए । आफू झण्डै ४० वर्षदेखि बुकीपाटनमा भेडा चरनका लागि आएको सुनाउँदै पहिले कोही पनि घुम्नका लागि नआउने उनको भनाइ छ ।

रोल्पाबाट दुई साता लगाएर भेडी गोठ लिएर आएका घर्तीमगरले झण्डै एक हजार ७०० भेडा पाल्दै आएका छन् । एकै ठाउँमा हजारौँको सङ्ख्यामा भेडा देख्दा घुम्न आएका पर्यटक दङ्ग पर्ने घर्ती मगर बताउँ छन् । पर्यटकले गोठालाको कपडा, खाना र बासस्थानलाई बढी चासो दिएर हेर्ने गरेको उनले सुनाए ।

बुकीपाटन समुद्री सतहदेखि चार हजार ५०० मिटरको उचाइसम्म फैलिएको छ । यहाँ हरेक बर्सातको समय असारदेखि कात्तिकसम्म गोठाला बस्ने गर्छन् । कात्तिक महिना पछाडि चिसो बढ्ने हुँदा बेँसी झर्ने गर्छन् ।

भैरवाहदेखि बुकीपाटन आएका प्रकाश ज्ञवालीले यहाँको प्राकृतिक सुन्दरता र भेडाका बथानले आफूलाई लोभ्याएको बताए । आठ जनाको समूहमा ढोरपाटन उपत्यका घुम्न आएको बेला होटल व्यावसायिकले बुकीपाटन जान सुझाएपछि बुकी उक्लिएको उनको भनाइ छ । आफूले अहिलेसम्म एकै ठाउँमा हजारौँ भेडा नदेखेको ज्ञवालीले सुनाए । (रासस) 

प्रकाशित मिति : २१ असार २०८२, शनिबार  ८ : ३९ बजे

अनुहार नमिलेपछि जेन-जी सहिदको सालिक अनावरण रोकियो

काठमाडौं–  जेन–जी आन्दोलनका सहिदहरूको अनुहारसँग सालिक नमिलेपछि ललितपुरको सातदोबाटोस्थित स्विमिङ पुल

हर्मुजमा इरान–अमेरिका तनाव चर्कियो, तेलको मूल्य १०० डलरनजिक

एजेन्सी– इरान र अमेरिकाबीचको सैन्य तनाव थप चर्किएको छ। अमेरिकी

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार

कर्णाली– कर्णाली प्रदेश सरकारले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखी सचेतना कार्यक्रम अगाडि

राष्ट्रसङ्घको ८१औँ महासभा सुरु : ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’

न्युयोर्क– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा मङ्गलबारबाट यहाँ सुरु भएको छ ।

ओलीको माग : भदौ २३-२४ मा हिंसात्मक घटनाका दोषीलाई कारबाही गरियोस्

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले २०८२