वर्षायाममा हुने छालाको सङ्क्रमण र बच्ने उपाय | Khabarhub Khabarhub

वर्षायाममा हुने छालाको सङ्क्रमण र बच्ने उपाय


२० श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अहिले हामी वर्षायामको मध्य समयमा छौं । देशका विभिन्न ठाउँमा लगातार वर्षा भइरहेको छ ।

यो मौसममा पानी पर्ने र अत्यधिक गर्मी हुँदा नवजात शिशुदेखि वयोवृद्धसम्मलाई छालासम्बन्धी विभिन्न समस्या देखा पर्न सक्छन् । झाडापखाला, आउँ, टाइफाइडसँगै छालामा एलर्जी आउने, दाद, लुतो आउने समस्या हुनसक्ने चिकित्सक बताउँछन् ।

एकैछिनमा चर्को घाम लागेर पसिना आउने, एकैछिनमा पानी परेर चिसो हुने हुँदा त्यसको प्रत्यक्ष असर छालामा परेर विभिन्न समस्या देखिने छालारोग विशेषज्ञ डा. शम्भु जोशी बताउँछन् ।

उनका अनुसार विशेष नवाजात शिशु तथा साना बालबालिकालाई शरीरमा फोका आउने, पाक्ने, जीउ चिलाउने, छालामा कत्ला निस्किने जस्ता समस्या देखा पदर्छन् ।

एक त पसिनाले असर गरिरहेको हुन्छ त्यसैमाथि तेल लगाउने, पाउडर लगाउने गर्नाले समस्या झन बढ्दै जान्छ ।

त्यस्तै अलि ठूला बालबालिकामा ‘फंगल इन्फेक्शन’ अर्थात् दाद आउने, कपाल झर्ने समस्या देखा पर्दछन् । यो मौसममा आँप लगायतका मौसमी फलफूल धेरै खाने गर्नाले पिलो आउने, डण्डिफोर आउने लगायतका ‘इन्फेक्शन’ हुन्छन् । त्यसैमाथि औषधिको प्रयोग गरी पकाइएका फलफूल खाँदा ‘इन्फेक्शन’ झन बढ्ने गर्छ । त्यस्तै नाकको वरिपरि घाउ आउने समस्या पनि बढिरहेको पाइएको डा. जोशी बताउँछन् ।

खेतबारीमा काम गर्ने, खोला–खोल्सीमा जाने व्यक्तिमा घामको प्रभावले विभिन्न समस्या देखिन सक्छन् । चायापोतो आउने, चिलाउने, कपालमा दानाहरू आउने समस्या देखिन्छन् । छालासम्बन्धी पुराना रोगरू बल्झिने सम्भावना धेरै हुने डा. जोशीको भनाइ छ ।

त्यस्तै यो मौसममा लुगाहरू चिसो लगाउनुपर्ने बाध्यता हुनसक्छ । चिसो लुगा लगाउँदा एलर्जी बढ्ने, धेरै भीडभाडमा बस्नेहरू तथा होस्टलमा बस्नेहरूलाई लुतो आउने लगायतका समस्या देखिन सक्ने डा. जोशी बताउँछन् ।

उनका अुनसार चाडपर्व सुरु हुने बेला भएकाले कस्मेटिकको धेरै प्रयोग हुन्छ । महिलाहरूमा एलर्जीको समस्या बढ्दै गएको पाइन्छ ।

मुख्यगरी वर्षायाममा साना साना कीरा फट्याङ्ग्राहरू राति बत्तीमा आउने र तिनीहरूको टोकाइबाट जुनसुकै उमेर समूहका व्यक्तिलाई पनि चिलाउने, पाक्ने, फोका आउने लगायतका समस्या देखिन सक्छन् । लुगाकपडा राम्रोसँग नधुँदा पनि वर्षायाममा लुतोको सङ्क्रमण हुन्छ । यो एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै फैलिन्छ । गर्भवती महिलाहरूमा शरीर चिलाउने समस्या हुनसक्छ ।

‘नैरोवी फ्लाई’ को सङ्क्रमण पनि वर्षायाममा बढी पाइएको डा. जोशीले बताए । उपचारका लागि आउने धेरै बिरामीमा यस्ता समस्या देखिने गरेको छ । तर बिरामीहरू सिधै विशेषज्ञकहाँ नगएर फार्मेसीहरूबाट औषधि किनेर खाने या मलमहरूको प्रयोग गर्ने प्रवृत्तिले समस्या झन् बल्झिन सक्ने सम्भावना रहने डा. जोशीको भनाइ छ ।

अहिले देशका विभिन्न जिल्लामा विशेषज्ञको उपलब्धता भएकाले छाला, कपाल नङलगायतका अङ्गमा समस्या देखिएमा छालारोग विशेषज्ञलाई देखाएर मात्रै औषधिको प्रयोग गर्नुपर्ने डा. जोशीको सुझाव छ ।

कुनै समस्या २–४ दिनमै निको हुने खालको छ भने विशेषज्ञकहाँ नगएर यताउता घुम्न थाल्यो भने ३–४ हप्ता समेत लाग्न सक्ने डा. जोशी बताउँछन् ।

बच्न के गर्ने ?

डा. जोशी भन्छन् वर्षायाममा पानी पर्नु, हिलो हुनु, किरा फट्याङ्ग्राले टोक्नु, लामखुट्टेले टोक्नु स्वभाविक हो । तर ती सबैबाट बच्नका लागि घर कस्तो ठाउँमा छ ? भन्ने मुरा मुख्य हुन्छ । घरमा सरसफाइ गर्ने, साना बालबालिकालाई पूरा बाउला भएका लुगा लगाइदिने, शरीरमा तेल लगाइदिने, घरभित्र लामखुट्टे वा कीराहरू छिर्न नदिने, विषयमा सचेत हुनुपर्छ ।

साँझको बेलामा छिटो घरभित्र पस्ने, घर वरिपरि सफा राख्ने, खानपानमा स्वच्छता व्यवस्थापन गर्ने, झोल भएका खानेकुरा धेरै खाने, ‘जंकफुड’ नखाने, टाढाको यात्रा गर्दा तयारीका साथ जाने बानीको विकास गर्नुपर्छ ।

छालाको कुरामा पहिले नै औषधि खान्छु भनेर हुँदैन । घामबाट बच्नका लागि छाता ओढ्ने, ‘क्याप’ लगाउने, ‘सनब्लक क्रिम’ लगाउने गर्नुपर्छ । तर घामबाट बच्नका लागि भनेर कडा खालका ‘सनब्लक क्रिम’ नलगाउन डा. जोशीको सुझाव छ ।

कुनै पनि ‘क्रिम’ सुरुमै अनुहारभरी लगाउनुहुँदैन । शरीरको कुनै एक ठाउँमा प्रयोग गरेर जाँच गर्ने र प्रभाव केही देखिएन भने मात्रै त्यस्ता क्रिमको प्रयोग गर्नुपर्छ ।

यति गर्दागर्दै पनि केही समस्या देखिहाले विशेषज्ञ चिकित्सकलाई देखाएर सल्लाहअनुसार सही समयमा औषधिको प्रयोग गर्नुपर्दछ ।

डा. जोशीका अनुसार यदि कुनै कीराको टोकाइबाट सङ्क्रमण भएको छ भने त्यो कीराको फोटो मोबाइलमा खिच्ने र डाक्टरलाई देखाएर सल्लाहअनुसार औषधिको प्रयोग गर्नुपर्छ ।

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  १० : २५ बजे

अब सौर्य ऊर्जालाई प्राथमिकता दिनुपर्छ : मन्त्री खड्का

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले दिगो ऊर्जा

स्थानीय तहका समस्या समाधानमा सहजीकरण गरिने

काठमाडौं– सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समयमै बजेट तथा कार्यक्रम

मष्तिष्कलाई स्वस्थ राख्न के खाने ?

काठमाडौं- मानिसका लागि शारीरिकसँगै मानसिक स्वास्थ्य पनि उत्तिकै महत्वपूर्ण हुन्छ

म्याग्दीको गुर्जाखानी आसपास केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं– म्याग्दी जिल्लाको गुर्जाखानी आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ

राप्रपाले पनि गर्‍यो प्रतिनिधिसभा बैठक बहिष्कार

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभा बैठक बहिष्कारलाई निरन्तरता दिएको