बालविवाहले सामाजिक विकास र स्वास्थ्यमा चुनौती « Khabarhub

बालविवाहले सामाजिक विकास र स्वास्थ्यमा चुनौती


२० श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीमा २० वर्षभन्दा कम उमेरमा सुत्केरी हुने र सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या करिब १४ प्रतिशत छ । बालविवाहका कारण शारीरिक र मानसिक रूपमा परिपक्क नभएका युवती तथा किशोरी आमा बन्न र अनिच्छुक गर्भधारण गर्न बाध्य भएका हुन् ।

स्वास्थ्य कार्यालय म्याग्दीको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१–८२ मा सुत्केरी भएका र सुरक्षित गर्भपतन सेवा लिएका एक हजार ३८४ जनामध्ये १३ दशमलव ७२ प्रतिशत २० वर्ष मुनिका छन् ।

कार्यालयका सूचना अधिकारी गणेश सुवेदीले गत आवमा २० वर्ष मुनिका १६१ जना सुत्केरी हुँदा सुरक्षित गर्भपतन सेवा लिने सो उमेर समूहका किशोरी तथा युवतीको सङ्ख्या २९ रहेको जानकारी दिए । बीस वर्ष माथिका ५२८ जना सुत्केरी भएका र ६६६ जनाले सुरक्षित गर्भपतन सेवा लिएको सूचना अधिकारी सुवेदीको भनाइ छ ।

आव २०८०–८१ मा म्याग्दीमा सुत्केरी हुने र सुरक्षित गर्भपतन सेवा लिने एक हजार ४६५ जनामध्ये २० वर्ष मुनिको सङ्ख्या १० दशमलव शून्य सात प्रतिशत थियो । बीस वर्ष मुनिका १३२ जना र २० वर्ष पुगेका ५९७ जना सुत्केरी भएका थिए ।

अघिल्लो वर्ष गर्भपतन गराउने २० वर्ष मुनिकाको सङ्ख्या ३३ जना थियो भने २० वर्ष बढीका ८६८ जना थिए । २०६८ सालको जनगणनाअनुसार म्याग्दीमा प्रजननयोग्य उमेर समूहका महिलाको सङ्ख्या २१ हजार १८३ जना छ । जिल्लाका ४७ प्रतिशत दम्पतीले मात्र परिवार नियोजनका साधनको प्रयोग गर्ने स्वास्थ्य कार्यालयको तथ्याङ्क छ ।

म्याग्दी बहुमुखी क्याम्पसका उपप्रध्यापक रेखाकौशल रेग्मीले समाजमा शैली फेरिए पनि बालविवाह कायम रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कले पुष्टि गरेको बताइन् । बालविवाह, असुरक्षित र अनिच्छुक गर्भधारणका प्रमुख कारण समस्या हुने गएको उनको भनाइ छ ।

रेग्मीले भनिन्, ‘गरिबी, अभिभावकको निगरानी नहुने, असल अभिभावकत्व र संरक्षण नपाउने, भावनात्मक परिबन्धमा परेर किशोरी बालविवाह गर्न र अनिच्छुक गर्भधारण गर्न बाध्य भएका देखिन्छन् ।’

शारिरिक तथा मानसिक रूपमा परिपक्क नभएका किशोरी, युवती आमा र गर्भवती हुँदा उच्च शिक्षा, रोजगारीको अवसरबाट बञ्चित हुने र सामाजिक रूपमा पछि गर्ने गरेका उपप्रध्यापक रेग्मीले बताइन् ।

बीस वर्षभन्दा कम उमेरमा विवाह दर्ता नहुने, विवाह दर्ता नभइकन जन्मदर्ता नहुने भएकाले बालबालिकालाई विद्यालय भर्ना गर्न, राज्यले दिने सेवासुविधा उपभोग गर्न र अन्य सरकारी कागजात बनाउन समस्या हुन थालेको छ ।

उमेर नपुगी विवाह गरेका दम्पतीले जिम्मेवारी पूरा गर्न नसक्ने र पारिवारिक विचलन आउने गरेको छ । पारिवारिक विचलनका कारण सम्बन्धविच्छेद बढेको छ । जिल्ला अदालतमा आव २०८१–०८२ मा दर्ता भएका ५७२ मध्ये ३३३ वटा सम्बन्धविच्छेदका मुद्दा रहेका स्रेस्तेदार भोलाराज रेग्मीले बताए ।

पछिल्ला केही वर्षयता म्याग्दी अदालतमा दर्ता हुने आधाभन्दा बढी मुद्दा सम्बन्धविच्छेदका हुने उनले बताए । अदालत र प्रहरीमा बालविवाहसम्बन्धी मुद्दाको सङ्ख्या भने शून्य छ ।

प्रादेशिक अस्पताल बेनीका प्रमुख डाक्टर रविरञ्जन प्रधानले परिवार नियोजनका साधनको प्रयोग कम हुनु, सुत्केरी हुनेभन्दा गर्भपतन गराउनेको सङ्ख्या बढी र २० वर्षभन्दा कम उमेर समूहका सुत्केरी र गर्भपतन गराउनेको सङ्ख्या बढ्नुले मातृशिशु प्रजनन स्वास्थ्यमा चुनौती थपेको बताए । १४–१५ वर्षका किशोरीसमेत आमा बनेका उनले जानकारी दिए ।

बालविवाह न्यूनीकरणका लागि राज्यका निकायले जिम्मेवार भएर सचेतनामूलक अभियान चलाउने, अभिभावकले सन्तानप्रतिको जिम्मेवारी निभाउने र स्वयं किशोरी तथा युवती सचेत हुने, मेलाजात्रालाई नियमन गर्नुपर्ने उपप्रध्यापक रेग्मीको भनाइ छ । (रासस)

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  ७ : ५४ बजे

विश्वकप खेलेका दक्षिण अफ्रिकाका ‘मिडफिल्डर’ एडम्सको २५ वर्षको उमेरमा निधन

काठमाडौं – अमेरिका क्यानाडा र मेक्सिकोमा जारी विश्वकपमा दक्षिण अफ्रिकाको

कर्णालीमा खसेको गाडीका बेपत्ता चारमध्ये तीन जनाको शव भेटियो

कर्णाली – यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ गइरहेको सवारीसाधन

वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी

बाँके – वैदेशिक रोजगारीबाट फर्किएका युवाले स्वदेशमै रोजगारी र उद्यम

कपिलवस्तुका १० पालिकाका २६६ स्थानमा सिसीटिभी जडान

कपिलवस्तु – जिल्लाका १० वटै स्थानीय तहका विभिन्न चोक, बजार

रासायनिक मलको माग बढेकाले आपूर्तिमा समस्या भयो : मन्त्री चौधरी

भरतपुर – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले यस वर्ष