हिउँदयाम सुरु भएको खुसीयालीमा मुक्तिक्षेत्रमा ‘यार्तुङ’ आरम्भ | Khabarhub Khabarhub

हिउँदयाम सुरु भएको खुसीयालीमा मुक्तिक्षेत्रमा ‘यार्तुङ’ आरम्भ


२० श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ– वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा सांस्कृतिक पर्व ‘यार्तुङ’ आरम्भ भएको छ । यहाँको खिङ्गा गाउँबाट यस वर्षको ‘यार्तुङ’ पर्व थालिएको  हो । खिङ्गा गाउँका गाउँलेले सोमबार यार्तुङ पर्व हर्षोल्ला रूपमा मनाएका छन् ।

‘यारको अर्थ बर्खा’ र ‘तुङको अर्थ समाप्ति’ भन्ने बुझिन्छ । यसैका खातिर बर्खायाम सकिएको र हिउँदयाम सुरु भएको भन्दै खिङ्गा गाउँमा यार्तुङ पर्व मनाइएको हो ।

बर्खायाममा उवा र जौलगायतका अन्नबाली थन्क्याएर खेतबारीमा फापरबाली छरेपछि वारागुङ मुक्तिक्षेत्रमा ‘यार्तुङ’ पर्व मनाइने गरिन्छ । यार्तुङ पर्वका बेला यहाँका स्थानीय नागरिक फुर्सदिला हुन्छन् । यही फुर्सदिलो महिनामा धार्मिक तथा सांस्कृतिक पर्व यार्तुङ सदीयौँदेखि मनाइने गरिएको हो ।

यार्तुङ पर्वमा प्रकृति र विश्वशान्तिको कामना गरिने प्रचलन रहेको वारागुङ मुक्तिक्षेत्र– १ का वडाध्यक्ष प्रमेश गुरुङले जानकारी दिए । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाभित्रका १९ वटा गाउँ र उपल्लो मुस्ताङमा फरकफरक तिथिमा यार्तुङ पर्व मनाइने गरिएको छ । खिङ्गा गाउँमा औपचारिक रूपमा यार्तुङ पर्व मनाउने क्रमको प्रारम्भ भएको उनले बताए । खिङ्गाबाट सुरु भएको धार्मिक तथा सांस्कृतिक पर्व यार्तुङ त्यसपछि क्रमशः यहाँका सबै स्थानमा गुरुङ, विष्ट र लोवा समुदायले मनाउने प्रचलन छ ।

सोमबार खिङ्गा गाउँमा सबै घरका स्थानीय नागरिक समाजघरमा एकीकृत भएका थिए । समाजघरमा जम्मा भएका स्थानीय गुरुङ समुदाय गाउँकै गुम्बामा सामूहिक रूपमा यार्तुङ पर्वको धार्मिक पूजापाठमा उपस्थित भए । गुम्बामा पुजारीद्वारा पूजापाठ सकेपछि पुनः समाजघरमा खानपान गरेर यार्तुङ पर्वको कार्यक्रममा सहभागी भएको वडाध्यक्ष गुरुङको भनाइ छ ।

स्थानीय पुरुष तथा महिलाको आफ्नो जातीय मौलिक वेशभूषा पहिरिएर मुक्तिनाथ मन्दिर र त्यहाँको नरसिंह गुम्बाको दर्शनमा निस्किएका थिए । अठार वर्षदेखि ६० वर्षसम्मका पुरुष तथा महिलाहरूले धार्मिक तथा सांस्कृतिक प्रचलनअनुसार यार्तुङ पर्वलाई आत्मसात् गर्दै खिङ्गा गाउँबाट मुक्तिनाथसम्मको यात्रा पूरा गरेका थिए ।

पुरुषहरू वेशभूषामा चिटिक्क सजिँदै घोडामा सवार थिए भने महिला घोडाको अघिअघि स्थानीय भाषामा यार्तुङसम्बन्धी गीत गाउँदै मुक्तिनाथतर्फ लागेका थिए ।

महिलाले स्थानीय भाषामा गीत गाउँदै यार्तुङ पर्व आयो, यार्तुङमा सबैलाई राम्रो भयो, अनिष्ट भएन, प्रकृतिले साथ देओस् र सबैतिर शान्ति छाओस् भन्ने कामना गरेको खिङ्गा गाउँकी स्थानीय सेर्केनी गुरुङले बताइन् । यार्तुङमा गाइने स्थानीय भाषाको गीतलाई फेन्दुन छोकी रिला भन्ने गरिएको स्थानीय सेर्केनी गुरुङको भनाइ छ ।

यहाँको खिङ्गा गाउँबाट दर्जनौँ घोडाको लावालस्करसहित निस्किएको टोलीले मुक्तिनाथ मन्दिर र त्यहाँको गुम्बा दर्शन गरी पुराङ रानीपौवामा फर्किएको थियो । खिङ्गा गाउँका युवाले मुक्तिनाथस्थित पुराङ रानीपौवामा साहसिक रूपमा घोडा दौडाएका थिए । गाउँका पुजारीसहित निस्किएको यार्तुङ टोलीले रानीपौवामा स्थानीय स्याब्रो नाच र स्थानीय भाषाको गीत गाउँदै रमाइलो गरेका थिए ।

यहाँको खिङ्गा गाउँबाट मुक्तिनाथसम्मको करिब पाँच किलोमिटर दूरीमा घोडाका लस्कर निस्किएको थियो । घोडाको लस्कर निस्किँदा दुर्घटनाको जोखिम हुने भएकाले करिब एक घण्टा मुक्तिनाथ सडकमा सवारी चलाउन रोक लगाइएको थियो । 

स्थानीय याङजुङ गुरुङले यार्तुङ पर्वमा घोडा चढेर मनाउनैपर्ने प्रचलन रहेको बताए । ‘यार्तुङमा घोडा नचढेमा यार्तुङ पर्वको कुनै अर्थ हुँदैन, यार्तुङमा घोडा चढ्ने, तारा खेल्ने र स्थानीय सांस्कृतिक मौलिकता पस्किएरमात्र यार्तुङ पर्वको औचित्य हुने गुरुङले बताए । यार्तुङ पर्वमा गाउँका पुजारीले भोजन गरेपछि मात्रै गाउँले भोजन गर्न पाउने सांस्कृतिक प्रचलन रहेको उनले उल्लेख गरे ।

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  १२ : ११ बजे

औषधिमा २५० प्रतिशतसम्म भन्सार शुल्क लगाउने ट्रम्पको संकेत

एजेन्सी – संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आयातित औषधिजन्य

पानीपुरी र चटपटेका ठेला खोज्दै काठमाडौँ महानगर, बिक्री अनुगमन गर्ने

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले पानीजन्य रोगबाट नागरिकलाई बचाउन पानीपुरी, चटपटेलगायत

पहिरोले अवरुद्ध कर्णाली राजमार्ग खुल्यो

जुम्ला – पहिरोले अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ ।

लेक लागेर अन्नपूर्ण क्षेत्रमा गत वर्ष १८ पर्यटकको मृत्यु

गण्डकी : गत आवमा अन्नपूर्ण संरक्षण क्षेत्रका विभिन्न गन्तव्यमा १८

एमालेले विधान महाधिवेशनलाई राजनीतिक उत्सवका रूपमा मनाउँछ : महासचिव पोखरेल

काठमाडौँ : नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले दोस्रो विधान