कागतीले उचित बजार नपाउँदा किसान मारमा | Khabarhub Khabarhub

कागतीले उचित बजार नपाउँदा किसान मारमा


२० श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

झापा– धानखेत मासेर छ वर्षअघि देखि कागतीखेती गरिरहेका गौरादह नगरपालिका-४ का नवीन आचार्य बजारको समस्याले चिन्तित छन्।

आचार्यले १४ कट्ठा क्षेत्रफलमा सुन कागतीको बोट हुर्काएका छन् । कागतीको बोटले मनग्य उत्पादन दिए तापनि बजारमा बिक्री गर्न मुस्किल हुन थालेपछी उनजस्तै जिल्लाका अधिकांश कागती किसान खेती बदल्ने कि निरन्तरता दिने भन्ने दोधारमा छन् ।

भारतबाट भित्रिने सस्ता कागतीले बजार कब्जा गरेपछि स्वदेशी कागतीले मूल्यमा प्रतिस्पर्धा गर्न नसकेको आचार्यले बताए। 

‘ठूलो लगानी र मेहनत गरेर किसानले कागती फलाउनु भएको छ,’ उनले भने, ‘बजार लग्यो बिक्री हुँदैन । भारतबाट भित्रिएका कागतीले बजार पूरै कब्जा गरेको छ । घाटा खाएर बेच्नु पर्दा बित्थामा कागतीखेती गरिएछ जस्तो लाग्न थालेको छ ।’

कागतीमा आत्मनिर्भर बन्ने अभियानमा जिल्लाका सहकारी संस्था, कृषि ज्ञान केन्द्र र स्थानीय तहले केही वर्षयता किसानलाई कागतीखेतीतर्फ प्रोत्साहित गरिरहेका छन् । तर उत्पादन बढेसँगै त्यसको बजार सुनिश्चित गर्नेतर्फ सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन ।

पाकेको कागतीको फल बिक्री हुन नसक्दा त्यसको अचार, चुक अमिलोलगायतका सहउत्पादनलाई बढाउनेतर्फ ध्यान जान सके बजारको समस्या समाधान हुने आचार्य बताउँछन्। न्यूनतम समर्थन मूल्य तोकेरे बिक्री नभएका कागती स्थानीय तहहरूले किनिदिने व्यवस्था हुन सके किसानहरूमा उत्साह थपिने उनको सुझाव छ ।

विगतमा चिया बगान मासेर व्यावसायिक कागतीखेती गर्दै आएका विर्तामोड नगरपालिका–६ का कमलराज विमलीले भारतबाट सस्तो मूल्यमा भित्रिने कागतीले यहाँको बजारलाई खर्लप्पै खाएको बताए। 

कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर बिष्टले कागतीको बजार उत्साहजनक नहुँदा किसानहरू निराश बन्न थालेको स्वीकार गर्दै समाधानका उपाय खोज्ने बेला आएको बताए। झापामा ३१० हेक्टर क्षेत्रफलमा कागतीखेती हुँदै आएकामा हाल खेती घटेर २७० हेक्टरमा झरेको छ । 

कागतीखेतीका लागि झापा उर्वर भूमि रहेको जनाउँदै उनले स्थानीय खपतले मात्र स्वदेशी कागतीको बिक्री धान्न नसक्ने बताए। विगतमा बोटबाटै टिपेर राम्रो भाउमा कागती किनेर लैजाने व्यापारीहरू अहिले आउन छाडेको किसानहरू बताउँछन् । भारतबाट भित्रिने सस्तो कागतीतिर स्थानीय व्यापारीहरू आकर्षित भएपछि किसानहरू साना सवारीसाधनमा गाउँ र सहरका गल्ली चहारेर पोकापोकामा कागती बेच्न प्रयास गरिरहेका छन् ।

अर्जुनधारा नगरपालिका–३ बाट सिटी रिक्सामा कागती बेच्दै धुलाबारी आइपुग्नुभएका कुशल थापाले दिनभरि तातो घाममा डुल्दा दश किलो कागती बिक्री भएको बताए। 

‘हात्ती र बाँदरले बिगार नगर्ने बाली भनेर जङ्गल छेउछाउका बासिन्दालाई अन्नखेती मासेर कागतीखेती गर्न लगाइयो,’ उनले भने, ‘अहिले आएर बिक्री हुन छाड्यो । फलेका कागती बोटमै कुहेर गयो भने किसान कसरी बाँच्ने ?’

जिल्लाको मेचीनगर, बुद्धशान्ति, अर्जुनधारा, गौरादहलगायतका स्थानीय तहमा किसानले घरैपिच्छे कागतीखेती गरेका छन् भने ठूलो क्षेत्रफलमा खेती गर्नेहरु बढेका छन् । खेती विस्तारसँगै बजारीकरणको सकस  बढ्दै गएको छ ।

सरकारले कागतीखेतीलाई प्रोत्साहित गर्ने नीति ल्याएपछि किसानले धान खेत मासेर कागतीका बिरुवा रोपेका थिए । कागतीखेतीमा होमिएका किसानले बिरुवा, मल र सीप पाए पनि उचित बजारको व्यवस्था सरकारले गर्न नसकेको गुनासो गर्दै आएका छन् । 

जिल्लामा कम्तीमा ३५० किसानले कागतीको व्यावसायिक खेती गर्दै आएका छन् । केही सहकारी संस्थाले आफैँ र आफ्ना सदस्यलाई यस खेतीमा लगाएका छन् । यहाँ सुन–१, सुन–२, मद्रासी, युरिका र एनपिआरपी–५५ जातको कागतीखेती हुँदै आएको छ । कागतीको उत्पादन बढेपछि यसलाई कच्चापदार्थका रुपमा प्रयोग गर्ने अचार र जुसलगायत ठूला उद्योगहरू स्थापना नहुँदा किसानले सोचेजस्तो आम्दानी लिन सकेका छैनन् ।

धान र अरू खेतीमा जस्तो खर्च ज्यादा नहुने भएकाले कागती सहज रुपमा बिक्री हुने वातावरण बन्ने हो भने फाइदा हुने कृषि ज्ञान केन्द्रका प्रमुख विष्टको बताउँछन्। उनका अनुसार जमिनको सतहबाट दुई मिटरसम्म चट्टान नभएको, पानी नजम्ने, प्रशस्त प्राङ्गारिक पदार्थ भएको पिएच ५।५देखि ६।५सम्म भएको दोमट माटो कागतीखेतीका लागि उपयुक्त मानिन्छ । 

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  १ : ०४ बजे

प्रचण्ड, विप्लव र माधवबीचको एकता फेरि ‘टाइँटाइँ फिस’

काठमाडौं– पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरेको एकीकृत नेपाल कम्युनिस्ट पार्टी

अदालतको आदेश उल्लङ्घन गरेपछि ब्राजिलका पूर्वराष्ट्रपति बोल्सोनारो नजरबन्दमा

एजेन्सी – ब्राजिलको सर्वोच्च अदालतका न्यायाधीशले पूर्वराष्ट्रपति जायर बोल्सोनारोलाई सामाजिक

प्रधानमन्त्रीले भने- भूपरिवेष्ठित मुलुकका लागि कनेक्टिभिटी नै न्याय हो

आवाजा (तुर्कमेनिस्तान)– प्रधानमन्त्री केपी शर्मा ओलीले भूपरिवेष्ठित मुलुकका लागि कनेक्टिभिटी

पहिराले अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालनमा

तानसेन– अविरल वर्षाका कारण अवरुद्ध बनेको सिद्धार्थ राजमार्गअन्तर्गतको पाल्पा–बुटवल सडकखण्ड