काठमाडौं– निजामती सेवा दिवस २०८२ को अवसरमा हुलाक सेवा विभागले हुलाक टिकट प्रदर्शनीको आयोजना गरेको छ ।हुलाक सेवा विभागले नेपाल फिलाटेलिक सोसाइटीसंगको सहकार्यमा एकदिने हुलाक टिकट प्रदर्शनीको आयोजना गरेको हो ।
हुलाक टिकट प्रदर्शनीको शुक्रबार विभाग परिसर बबरमहलमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले उद्घाटन गरिन् । सचिव अर्यालले निजामती कर्मचारीहरूले सेवाभाव मार्फत आफ्नो पदको छवि उच्च बनाउनुपर्ने बताइन् ।
उनले आफ्नो महत्त्व झल्किने गरी सबैले आफ्नो कर्तव्य पुरा गर्नुपर्नेमा जोड दिइन् । मन्त्रालयका तर्फबाट मातहतका निकायलाई गर्ने सहयोग सदैव कायम रहने उनको भनाइ छ ।
हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पङ्गेनीले सम्पदा झल्काउने हुलाक टिकट प्रदर्शनीमा राखिएको बताइन् । उनले हुलाक टिकट चिठीको ऐतिहासिक महत्त्व रहेकाले यसलाई कायमै राखिने उल्लेख गरिन् ।
प्रदर्शनीमा वनस्पति र जनावरसम्बन्धी, राष्ट्रको नक्सा, हिमाल र राष्ट्रिय सम्पदासम्बन्धी, ऐतिहासिक मन्दिर र स्मारक, विशिष्ट व्यक्तित्वका योगदानका टिकट आदि राखिएको उनले बताइन् ।
प्रतिक्रिया