जब प्रकोपको सामना गर्नुपर्ने घडी आउँछ, त्यतिबेला मुख ताक्ने पहिलो र अन्तिम स्रोत भनेकै सरकार हो । सरकारी संयन्त्रको ढाडस पनि पीडितका लागि बाँच्ने आधार बन्छ । हेलिकोप्टरबाट निरीक्षण गर्ने यसअघिका अभ्यास विपरीत यसपल्टको विपत्तिमा सरकारबाट प्राप्त सदाशयताको आमनागरिकले प्रशंसा गरेका छन् । सामाजिक सञ्जालमा अधिकांशको प्रतिक्रिया छ- ‘आपतमा सरकार भेटियो’ ।
कतिपय जेन जी आन्दोलनमा सुरक्षाकर्मीको तेजोबध गरिएको घटनाप्रति कटाक्ष गर्दै आपतमा सुरक्षाकर्मीले खेलेको भूमिकाको उच्च मूल्यांकन गर्दै भनेका छन्– सुरक्षाकर्मीको महत्व बुझ्यौ होला नि तिनीहरूलाई भाला हानेर मार्नेहरुले ।

अरु त अरु यसअघि सत्तामा रहेका कांग्रेस, एमाले, माओवादीका समर्थकले समेत सुरक्षाकर्मी र सरकारले क्षति हुनुअघि नै अपनाएको होशियारीको खुलेर समर्थन गरेका छन् । हुँदाहुँदा सभामुख देवराज घिमिरेले पनि विपद्मा सरकारी संयन्त्रको क्रियाशीलताको सरहाना गरेका छन् ।
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले पनि सरकारको भूमिकाको प्रशंसा गर्दै मानवतावाद राजनीतिभन्दा धेरै माथि हुने भएकाले बर्दीविनाको सुरक्षाकर्मी सम्झिएर उद्धारमा जुट्न आव्हान गरेका छन् ।
केही समय अगाडिसम्म मौसम पूर्वानुमान महाशाखाको सूचना भरपर्दो थिएन । आज पानी पर्छ भनेको दिन घाम लाग्थ्यो । मौसम सफा रहने भनेको दिन मुसलधारे पानी पथ्र्यो । तर महाशाखाले उच्च प्रविधि भित्र्याएपछि पछिल्लो वर्ष दिँदै आएको सूचना अधिकांश मिल्ने गरेको छ ।
महाशाखाको चेतावनीलाई सरकारी संयन्त्रदेखि नागरिकहरूले समेत वेवास्ता गर्दा बर्खामा ठूलो जनधनको क्षति बेहोर्नुपरेको थियो । तर अन्तरिम सरकारले मौसम पूर्वानुमान महाशाखाको चेतावनीलाई गम्भीरतापूर्वक लिएका कारण यो बर्खामा ठूलो क्षति हुनबाट जोगिएको छ ।
सरकारले भयङ्कर ठूलो काम गरेको होइन । तर ठूला राजमार्गसहित सबैतिर बेलैमा सवारी आवतजावतमा रोक लगायो । नागरिकलाई पनि घरमै रहन आग्रह गर्यो । मानवीय दुर्घटना हुने स्थितिबाट जोगिन सतर्कता अपनाउन अपील गर्यो । जसको कारण पछिल्ला वर्षको तुलनामा विपत व्यवस्थापनमा सरकारले आफ्नो भूमिका देखायो ।

आम नागरिकले विपदमा सरकार सक्रिय रहँदा आफूहरू निदाउन सकेको भनेर प्रशंसा गरेका छन् । केहीले सरकार भएको पहिलोपटक महसूस गरेको भन्दै सरकारलाई धन्यवाद दिएका छन् । त्यसैगरी केहीले नागरिकको सुरक्षा सरकारको नियमित प्रक्रिया भएको टिप्पणी गरेका छन् ।
लेखक तथा साहित्य पोस्टका सम्पादक अश्विनी कोइराला लेख्छन्–म काठमाडौ मूलपानीको मनोहरा खोलाको छेउमा बस्छु । हरेक वर्ष दुई तीन दिन यस्तै वर्षा हुन्छ । पानीको सतह बढेपछि अब के हुने हो भन्ने डर भइरहन्छ । टोलका मान्छे रातभर जागा भएर आफ्नो सुरक्षा आफैं गर्नुपर्छ ।

तर यसपटक रातभर हामीसँग सरकारको पनि उपस्थिति थियो । केही परे हामी छौँ भनेर सबै कुरा तयार अवस्थामा छ भनेर खबर आइरहेको थियो । घर छाड्नु परे हामीलाई राख्ने ठाउँको बन्दोबस्त छ भनेर सूचना पनि आइरहेको थियो ।
३ बजेतिर म सुतेँ । अहिले थाहा पाएँ सरकार रातभर जागा थियो । सरकार छ भन्ने महसुस गराउनु ठूलो कुरा हो । यो उमेरमा पहिलोपटक त्यो अनुभूति गरेको छु ।
धन्यवाद सरकार।
कोइरालाकै विचारमा सहमत जनाउदै हिमाल संरक्षण अभियन्ता श्रवण शर्मा लेख्छन्– हो सर, नेपालमा सरकारको यो तहको सक्रियता र संवेदनशिलता यस अघि देखिएको थिएन । पोहोर सालका प्रधानमन्त्रीले मैले पानी पारेको, मैले बाढी ल्याएको, मैले पैरो लाएको हो ? भन्दै च्याँठिएका थिए । प्रधानमन्त्री, कुलमान र ओमप्रकाश अर्यालको काम प्रशंसनीय छ, मानवीय छ उत्तरदायी छ । स्यालुट देम ।
पत्रकार मनहरि तिमल्सिना सामाजिक सञ्जालमा लेख्छन्– ‘अघिल्लो वर्ष पनि देशमा सरकार थियो । नख्खु खोलाले नागरिक बगाउँदा गृहमन्त्री भन्दै थिए–‘हेलिकोप्टरका लागि भिजिबिलिटी नै पुगेन । आँखैअगाडि राजधानीमा दर्जनौँको ज्यान गएको थियो । विदेश भ्रमणमा रहेका प्रधानमन्त्री ओली एयरपोर्टमा ओर्लेर भन्दै थिए– ‘यो सरकारले ल्याइदिएको बाढी हो ? यस्तो भइरहन्छ, सामान्य हो ।’
निर्वाचनको कार्यादेशसहित गठन भएको यसपटकको सरकार चाहिँ जिम्मेवार देखिएको छ । सरकार भन्दैछ- ‘बाढी पहिरोको जोखिम भए खबर गर्नू, हामी हेलिकोप्टर पठाउँछौँ ।’
सीता खरेल लेख्छिन्– अहिलेको ६ महिनाको अन्तरिम सरकारले यसरी जनतालाई अनुभूति हुनेगरि काम गर्दा ती दुई तिहाइको खलनायकलाई कति पोल्या होला ?
मोहित ढकाल लेख्छन्– यो अन्तरिम सरकारले ठुल्ठुला परिणाम ल्याओस् या नल्याओस्, तर आउँदो चुनावमा जनताले कस्तो मान्छे लाई भोट दिने र राम्रो सरकार भनेको के हो भन्ने अनुभव भने पक्कै गराउने जस्तो छ ।

सन्तोष भण्डारी लेख्छन्– हामी सम्पन्न मुलुक जस्तोरिसोर्सफुल छैनौँ भन्ने जनताले पनि बुझेका छन् । उनीहरूले केवल इमानदार प्रयत्न मागिरहेका थिए । जुन अहिलेको सरकारले महसुस गराएको छ ।
पूर्व पत्रकार तथा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता प्रमोद न्यौपाने लेख्छन्– विपद्का बेला सरकार देखियो, सुनियो । यो प्रशंसा होइन सच्चाइ हो । यति भन्दा कोही नमात्तिनु, नआत्तिनु । गदगद नहुनु, डाह नगर्नु । राम्रो गर्दा विगतमा पनि राम्रै भनिएको हो भविष्यमा समेत भनिन्छ । खराब गर्दा आलोचना गरिन्छ नै ।
त्यसैगरी, पूर्व प्रहरी अधिकृत मोहन थापा लेख्छन्– हो । यसरी सत्य कुरा राख्न सक्नु, विवेकशील र इमानदार हुनु हो । दासहरू सत्य देख्दैनन, लेख्दैनन्, पढ्दैनन् । गत वर्स केपी ओली र रमेश लेखकको दुई तिहाइ सरकारले सुन्य सतर्कता हुँदा २०० नागरिकको ज्यान गयो, यो वर्ष सुशीला कार्की नेतृत्व को सरकारले देशमा सरकार भएको नागरिकलाई अनुभूति दिलायो । सरकार को यो राम्रो पक्ष हो ।
धन्यवाद सरकार ।
जेबी जिसी लेख्छन्– हामीलाई धेरै कुरा चाहिएकै छैन बस् आपत विपत पर्दा होस या सरकारी सेवा लिँदा देशमा अरु कोही नभएपनि नेपाल र नेपालीको लागि नेपाल सरकार छ भन्ने अनुभुति मात्र पनि सरकारले दिलाउन सके हरेक नेपाली गर्वका यो देशमा बस्नेछन् र बस्ने मात्र होइन ।
त्यो खालको सरकारलाई आपत पर्दा जुरुक्क काँधमा बोक्ने छन् । त्यसैले कार्यकर्ता, आई आफ्ना खुसी पार्ने तिर होइन जनता खुसी बनाउने तर्फ सोच राखौ । सरकारी सेवा लिदाँ होस या गाउँ समाजमा फुई लाउदा त्यो मान्छेले कुनै पार्टीको झोला बोकेकै हुनुपर्ने नहोस् ।
नागरिकको योग्यता पार्टीको लेबी र सदस्यताले निर्धारण नगरोस्, गरोस् त उस्को नेपालको नागरिकता र अहिलेससम्म हासिल गरेका योग्यता, क्षमता र अनुभवले निर्धारण गरोस्, जसको कारण सही मान्छे सही ठाउँमा पुगोस् ।
हाम्रा गाउँघरतिर विकासका आयोजनाहरू पावर र पहुँचको आधारमा नहोस्, त्यो ठाउँमा बस्ने जनताको आवश्यकता को आधारमा होस, जसकारण जनताको पसिनाको पैसा कसैको कमाउ धन्दा नबनोस् ।

हामीलाई निष्पक्ष कानुन र प्रणाली बनाइदेऊ बाँकी दुखमा सुखमा त जनताले गरिरहन्छन् । सरकार अभिभावक हो । सरकारले जनताप्रति निष्पक्ष अभिभावकत्व ग्रहण गरेको दिन यो देश स्वर्ण युगमा प्रवेश गर्न कसैले कसैलाई बेकुफ बनाउने भाषण दिनुपर्ने छैन ।
वैदेशिक रोजगारको क्रममा दुबईमा बस्दै आएका दनकबहादुर लेख्छन्– जनमुखी सरकार भनेको यही होला नि ।
सँगै हिँड्ने सबै साथी हुँदैनन् बरु लडेको बेला हात दिने साथी हुन्छ जो काम अन्तरिम सरकारले गरिरहेको छ। विपद व्यवस्थापनमा सरकार छ भन्ने कुरा जनतालाई महसुस भयो । प्राकृतिक प्रकोपमा बाँचौँ र बचाऊँ। जोखिमयुक्त ठाउँबाट सुरक्षित स्थानमा सरौँ ।
प्रतिक्रिया