चीनद्वारा अमेरिकी सामानमा थप शुल्क स्थगित « Khabarhub

चीनद्वारा अमेरिकी सामानमा थप शुल्क स्थगित


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच गत हप्ताको भेटवार्तामा भएको सम्झौतालाई औपचारिक रूप दिँदै चीनले अमेरिकी सामानमा लगाइने अतिरिक्त शुल्क एक वर्षका लागि स्थगित गर्ने निर्णय गरेको छ । यससँगै विश्वका दुई ठूला अर्थतन्त्रबीचको नाजुक व्यापार युद्धविराम आगामी वर्षसम्म कायम रहने भएको छ ।

बेइजिङको स्टेट काउन्सिललाई उद्धृत गर्दै चीनको वित्त मन्त्रालयले बुधबार आफ्नो वेबसाइटमार्फत प्रकाशित गरेको विज्ञप्तिमा भनिएको छ, ‘अमेरिकी सामानहरूमा लगाइने २४ प्रतिशत कर एक वर्षका लागि स्थगित गरिनेछ र १० प्रतिशत कर भने यथावत् रहनेछ ।’ उक्त निर्णय नोभेम्बर १० देखि लागू हुनेछ । मन्त्रालयका अनुसार यो कदम ‘चीन-अमेरिका आर्थिक र व्यापार परामर्शमा पुगेको सहमति’ अनुसार आएको हो ।

दुई राष्ट्रका शीर्ष नेताहरूले अक्टोबरको अन्त्यतिर दक्षिण कोरियामा भएको भेटवार्तामा आपसी सहमतिबाट व्यापारिक तनाव घटाउने प्रारम्भिक कदम चालेका थिए। त्यसले पछिल्ला महिनाहरूमा अनेकौँ चरणमा चलेको वार्तालाई स्थायित्व दिँदै प्रभावकारी रूपमा एक वर्षको युद्धविराम विस्तार गरेको बताइएको छ ।

मंगलबार राष्ट्रपति ट्रम्पले पनि वासिङ्टनले चिनियाँ आयातमा लगाइएको अतिरिक्त शुल्क २० प्रतिशतबाट घटाएर १० प्रतिशतमा ल्याउने निर्णयको घोषणा गरेका थिए । यो त्यस्तै गरी नोभेम्बर १० बाट लागू हुनेछ ।

गत वर्षदेखि एकअर्काका वस्तुहरूमा लगातार उच्च कर लगाइँदै आएपछि बेइजिङ र वासिङ्टनबीचको तनावले विश्व बजारमा अनिश्चितता निम्त्याएको थियो । कुनै चरणमा दुवै देशका कर दरहरू तीन अंकको स्तरमा पुगेका थिए, जसले द्विपक्षीय व्यापारलाई ठप्प पार्ने अवस्था ल्याएको थियो ।

हालैका महिनाहरूमा निर्यात नियन्त्रण, प्रविधि हस्तान्तरण र औद्योगिक नीतिजस्ता विषयमा उत्पन्न तनावका बीच दुवै देशका शीर्ष आर्थिक अधिकारीहरूले वार्ताको माध्यमबाट असहज शान्ति कायम राखेका छन् ।

छुट्टै वक्तव्यमा, चीनले अमेरिकी कृषि उत्पादनहरूमा लगाइएको ‘अतिरिक्त कर उपायहरू कार्यान्वयन गर्न अस्थायी रूपमा रोक लगाउने’ घोषणा गरेको छ । यो निर्णय ट्रम्प प्रशासनले चीनमाथि फेन्टानिल नियन्त्रणसम्बन्धी कठोर नीति अपनाउँदै अतिरिक्त कर दोब्बर बनाउने कदमको प्रतिक्रियास्वरूप आएको हो । अब ती करहरू पुनः १० प्रतिशतमा झर्नेछन् ।

बेइजिङले विगतमा अमेरिकाबाट आयात हुने कुखुरा, गहुँ, मकै र कपासमा १५ प्रतिशत र सोयाबिन, सुँगुरको मासु, गाईको मासु, दुग्ध तथा अन्य कृषि उत्पादनहरूमा थप १० प्रतिशत शुल्क लगाएको थियो । ती कदमले विशेषतः अमेरिकी किसानहरू—ट्रम्पको मुख्य राजनीतिक समर्थन आधार—लाई गम्भीर असर पारेको थियो ।

गत वर्ष मात्र अमेरिकी सोयाबिन निर्यातको आधाभन्दा बढी चीनमा गएका थिए, तर व्यापार विवाद तीव्र बन्दै गएपछि चीनले ती सबै अर्डरहरू रद्द गरेको थियो ।

वार्तापछि चीनले दुर्लभ पृथ्वी तत्वहरूको निर्यातमा लगाइएका प्रतिबन्धहरू पनि एक वर्षका लागि निलम्बन गर्न सहमति जनाएको छ । यी तत्वहरू रक्षा उद्योग, विद्युतीय सवारी साधन र उपभोक्ता इलेक्ट्रोनिक्स निर्माणमा अत्यावश्यक मानिन्छन् र यस क्षेत्रमा चीनको वैश्विक प्रभुत्व रहेको छ ।

चिनियाँ वाणिज्य मन्त्रालयका अनुसार वासिङ्टनले पनि कालोसूचीमा परेका विदेशी कम्पनीहरूका ५० प्रतिशत साझेदारी भएका सहायक कम्पनीहरूमा लगाइने ‘एन्टिटी लिस्ट’ निर्यात प्रतिबन्ध एक वर्षका लागि स्थगित गर्ने सहमति जनाएको छ ।

त्यसैगरी, अमेरिकी सरकारले चीनको जहाज निर्माण उद्योगमाथि लक्षित प्रतिबन्धात्मक उपायहरू पनि एक वर्षका लागि रोक्ने निर्णय गरेको छ । यससँगै दुवै पक्षले एकअर्काका जहाजहरूमा लगाइँदै आएका पोर्ट शुल्कहरू पनि निलम्बन गर्ने भएका छन् ।

अमेरिकाको पछिल्लो कदमपछि चीनले आफ्नो ‘प्रतिआक्रमणात्मक शुल्क नीति’ पनि एक वर्षका लागि स्थगित गर्ने घोषणा गर्दै द्विपक्षीय आर्थिक सम्बन्ध सुधारतर्फ सकारात्मक सन्देश दिएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  २ : २५ बजे

ट्रम्पमाथि उनकै दलका सांसदको निशाना : सम्झौता नै गर्नु थियो भने युद्ध किन गरेको ?

वाशिङ्टन- अमेरिकामा इरानसँग सम्भावित सम्झौतालाई लिएर राजनीतिक बहस चर्किएको छ।

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

झापा– पूर्वीनाकाको मेचीनगर नगरपालिका–६ स्थित बसपार्क नजिकैबाट प्रहरीले एक लाख

कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा फिल्म ‘ऊनको स्वीटर’को वर्चस्व

काठमाडौं– तेस्रो संस्करणको कर्णाली चलचित्र महोत्सवमा फिल्म ‘ऊनको स्वीटर’ले वर्चश्व

भारतमा तापलहर (लु) बाट १६ जनाको मृत्यु

नयाँदिल्ली– दक्षिणी भारतमा यस गर्मी मौसममा ताप लहर (लु) का

तीव्र गतिका कारण हुन्छन् ५० प्रतिशत बढी दुर्घटना

काठमाडौं– वैशाख महिनामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामध्ये आधाभन्दा