कोइराला परिवारका यी तीन : फेरि फुट्छन् या मिलेर अघि बढ्छन् ? « Khabarhub

कांग्रेसको पन्ध्रौँ महाधिवेशन

कोइराला परिवारका यी तीन : फेरि फुट्छन् या मिलेर अघि बढ्छन् ?



काठमाडौं– जेन–जी आन्दोलनपछि देशकै ठूलो दल नेपाली कांग्रेसभित्र चलेको पन्ध्रौँ महाधिवेशनको गरमाहट पार्टीको इतिहाससँग जोडिएको कोइराला परिवार पनि देखिन थालेको छ। चौधौँ महाधिवेशनमा कोइराला परिवारका सदस्य एक ठाउँमा नआउँदा सभापति प्रतिस्पर्धी डा. शेखर कोइरालाले शेरबहादुर देउवासँग पराजय भोगे ।

कांग्रेसमा कोइराला परिवारको विरासत धान्नेहरूमा यतिबेला डा. शेखर, डा. शंशाक र सुजाता तीनजना रहेका छन् । तर यी तीन नेताबीच महाधिवेशन नजिकिँदै गर्दा अहिलेसम एकता देखिएको छैन ।

चौधौँमा डा. शशांकले सुरूमा सघाउने वचन दिएर अन्तिममा धोका दिए । डा. शेखरसँग निर्णायक वार्ता तोकिएका बेला उनी दीपक खड्काको प्रायोजनमा हेलिकप्टर चढेर संखुवासभातिर घुम्न निस्किए । उनलाई त्यसबेला देउवा क्याम्पले नै शेखरसँग भेट्न नदिई पूर्वीपहाडतिर पठाइदिएको थियो ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्का महाधिवेशनको मितिमा अल्झिँदा यी तीन नेताको एकस्वर भनेको नियमित महाधिवेशन चाँडै गर्ने पक्षमा थियो । उनीहरूले चाहेअनुसार नै कांग्रेसले १५ औँ महाधिवेशन फागुन २१ अघि नै अर्थात् पुस २७ देखि २९ सम्म गर्ने पक्का भएको छ। करिब ४३ दिनको तानातानपछि सभापति देउवाले हस्तक्षेप गरेर विशेष महाधिवेशन पक्षधरलाई पनि मनाउँदै नियमित महाधिवेशनको मितिमा सहमति जुटाएका हुन् ।

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतकै भाषामा रकेटको गतिमा पार्टी महाधिवेशनतिर लागिसकेको छ । यो अवस्थामा कोइराला परिवारलाई आफ्नो पूर्वतयारीमा लागेका छन् । डा. शेखरले पन्ध्रौँमा सभापति उठेर जित्ने दाबी गरेका छन् । उता शशांक पनि सभापतिको दाबेदारी गरिरहेका छन् । सुजाता भने यस मामिलामा मुखर भएकी छैनन् ।

डा. शेखर कोइराला 

११ औं महाधिवेशनदेखि पार्टीको केन्द्रीय सदस्यमै रहेका ७५ वर्षीय डा. शेखर कोइराला अहिले सभापतिका बलिया दाबेदार हुन् । १४ औं महाधिवेशनमा भाइ शशाकंको साथबिना सभापतिमा भिडेका उनले नतिजा आफ्नो पक्षमा पार्न सकेनन् । देउवासँग दोस्रो चरणमा भिड्दा आफ्नै परिवारको पनि उनले साथ पाएनन्। अन्य नेताले पनि धोका दिँदा शेखर पराजित भए ।

यस पटक देउवाले आफू नेतृत्वको दौडाहामा नरहेको प्रष्ट पारिसकेका छन् । विधानले पनि उनलाई तेस्रो पटक सभापति हुन दिँदैन । देउवा रोकिँदा शेखर बलिया दाबेदार हुन् । तर उनले गगन थापासहितका नेताहरू मनाउनुपर्ने चुनौती छ । गगन पनि सभापतिका अर्का बलिया दाबेदार हुन् । इतरबाट शीर्ष नेता दाबेदार भएर कुरा नमिले फेरि पनि नेतृत्व संस्थापनतिरै जाने जोखिम पनि छ ।

यस पटक गोपालमान श्रेष्ठ, कृष्णप्रसाद सिटौला, पूर्णबहादुर खड्का पनि सभापतिको आकांक्षी हुन् । तर श्रेष्ठ र सिटौलाभन्दा बलिया दाबेदार कार्यवाहक सभापति खड्का हुन् । उनीहरू देउवालाई फकाउन लागेका छन् । तर देउवाले कार्यवाहक खड्कालाई बाहेक अरूलाई आश्वासन दिएका छैनन् । खड्का पनि सभापति हुने ग्यारेन्टी छैन ।

देउवाले अन्तिम समयमा जसलाई साथ दिन्छन् उनै सभापति हुने सम्भावना छ। देउवाले पत्नी आरजुलाई व्यवस्थापन गर्ने हकमा शेखरलाई पनि साथ दिने सम्भावना नकार्न सकिनन् । अहिले कुनै पनि नेता देउवाको साथ मिल्ने कुरामा ढुक्क छैनन्। शेखर पनि अहिलेसम्म देउवासँग संवादमा नरहेकाले यो एक महिनाबीचमा कांग्रेसको समीकरण धेरै फेरबदल हुन सक्छ । अहिले शेखर कार्यकर्तासँग सम्बन्ध विस्तार र पारिवारिक एकताको लागि जुटेका छन् ।

सुजाता कोइराला 

पूर्वसभापति गिरिजाप्रसाद कोइराला पुत्री सुजाता कांग्रेसमा त्यति बलियो छैनन् । पिताको निधनसँगै ‌ओरालो लागेकी उनले २०७९ मा मोरङ २ मा टिकट पाउँदा पनि जित्न सकिनन् । पछिल्लो समय राजनीति भन्दा सामाजिक काममा सक्रिय छिन् । उनी बुवाको नाममा देशैभर विस्तारित जीपी फाउण्डेसनलाई सक्रिय बनाउन तल्लीन छिन् । 

२०६६ जेठ ११ गते बनेको माधवकुमार नेपाल मातहतको मन्त्रिपरिषद्‌मा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीसम्मको जिम्मेवारी सम्हालिसकेकी ७१ वर्षीय सुजाताले बुवाको निधनपश्चात् राजनीतिलाई खासै आफ्नो बनाउन सकिनन् । उनले स्वास्थ्यको प्रतिकूलता देखाउँदै आफू राजनैतिक दौड भन्दा समाजसेवामै रमाएको बताउँछिन् ।

१५ औँ महाधिवेशनमा उनले शेखरलाई सघाउने नसघाउने टुंगो छैन । उनीसँग जनमत नभए पनि शेखरतिर खुल्दा कोइराला परिवारको पारिवारिक एकता भने हुन सक्छ । तर त्यसका लागि शशांक पनि शेखरको साथमा हुन जरूरी छ ।

 डा. शशाकं कोइराला 

बीपीका कान्छा पुत्र डा. ६७ वर्षीय शशाकंले पनि आफूलाई सभापतिको दाबेदार बताउँदै आएका छन् । उनी १४ औँमा पनि सभापतिको दाबेदारका रुपमा आफूलाई चिनाउँथे । तर १४ औँमा शेखरलाई उनले साथ दिएनन् । २०४६ सालको जनआन्दोलनसँगै राजनीतिमा आएका उनी १३ औं महाधिवेशनमा महामन्त्री पदमा विजयी भएका थिए । 

उनी तेह्रौँ महाधिवेशनमा वर्तमान महामन्त्री गगन थापा र उनका ससुरा अर्जुननरसिंह केसीलाई पराजित गर्दै रामचन्द्र पौडेलको प्यानलबाट महामन्त्रीमा निर्वाचित भएका थिए । 

उनी हालको संविधानको विरोध पनि गर्छन् । उनले २०४७ को संविधान उल्ट्याउन वकालत गर्दै आएका छन् । १४ औँ महाधिवेशनमा उनले आफ्नै दाजु शेखरलाई साथ दिएनन्। उनको धोकाले शेखरलाई पनि नराम्रो झट्का लाग्यो । शेखरमाथि परिवार मिलाउन नसकेको आरोप लाग्यो ।

यस पटक पनि उनले आफू र शेखरमध्ये एक जना सभापतिको उम्मेदवार हुने उनले पुरानै नारा लगाइरहेका छन् । महाधिवेशन तयारीका लागि ३ महिना समय चाहिने बताउँदै आएका उनी शेखरसँग छलफल गर्न मंगलबार चितवन पनि पुगे । 

‘महाधिवेशन पुसमा सम्भव नभए केही पछाडि धकेलिएला भन्ने लाग्छ । सभापतिका लागि म र शेखर दा दुवै इच्छुक छौँ । दुईजनामध्ये एक लड्ने छलफलमा छौं’, उनले भने । 

कुनै बेला एकै ठाउँमा रहेका कोइराला परिवार १३ औँ महाधिवेशनदेखि विभाजित हुँदै आएका छन् । त्यसको फाइदा देउवासहितका नेताहरूले उठाइरहेका छन् । तर यसपटक आपसमा मिलेर जान्छन् या कोइराला परिवारमा पुरानै रोग दोहोरिन्छ, प्रतिक्षाको विषय बनेको छ।

प्रकाशित मिति : १९ मंसिर २०८२, शुक्रबार  ८ : ०० बजे

राजनीतिक दललाई निर्वाचन आयोगको २० बुँदे निर्देशन (पूर्णपाठसहित)

काठमाडौं- निर्वाचन आयोगले आगामी माघ ११ मा हुने राष्ट्रियसभा सदस्य

संयुक्त बैठकले निर्वाचनको बलियो वातावरण बनेको छ : सञ्चारमन्त्री खरेल

काठमाडौ – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकार, प्रमुख

सर्वदलीय बैठकमा रास्वपाले प्रधानमन्त्रीसँग माग्यो रवि लामिछानेबारे सरकारको धारणा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेबारे वर्तमान

कांग्रेस सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौं – नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले

सर्वपक्षीय बैठकमा कांग्रेसले उठायो सुरक्षा चुनौती र सरकारको जिम्मेवारीबारे प्रश्न

काठमाडौँ- नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा