काठमाडौं- जारी नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनमा हालसम्म २४ खेल सकिएका छन् । लिग चरण अन्तिमतिर पुग्दाै गर्दा प्लेअफ समीकरण रोचक बनेको छ ।
हालसम्म सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज र विराटनगर किङ्सले प्लेअफमा स्थान पक्का गरिसकेका छन् । अब बाँकी एक स्थानका लागि पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, चितवन राइनोज र जनकपुर बोल्ट्सबीच रोमाञ्चक प्रतिस्पर्धा जारी छ ।
प्लेअफ प्रवेशका लागि टिमका प्रदर्शनसँगै खेलाडीहरूको योगदान महत्वपूर्ण छ । अहिलेसम्मका खेलहरु हेर्दा ब्याटिङमा विदेशी खेलाडीको दबदबा छ ।
सर्वाधिक रन बनाउनेमा शीर्ष ५ खेलाडीमध्ये ४ जना विदेशी र एक चाहिँ नेपली खेलाडी छन् । हालसम्म प्रतियोगितामा पोखरा एभेन्जर्सका इङ्ग्लिश विकेटकिपर एडम रोसिङटन २५८ रनसहित शीर्ष स्थानमा छन् । उनले कर्णाली याक्सविरुद्ध अविजित १०८ रन बनाउँदै शतक पनि पूरा गरेका छन् ।
त्यसैगरी दोस्रो स्थानमा कर्णाली याक्सका स्कटिश ब्याटर मार्क वाट छन् । उनले पनि शतक बनाएका छन् । उनले लुम्बिनी लायन्सविरुद्ध शतक पूरा गरेका थिए । यस प्रतियोगितामा उनले हालसम्म २४२ रन जोडेका छन् ।
सबैभन्दा धेरै रन बनाउनेमध्ये तेस्रो, चौथो र पाँचौं स्थानमा क्रमशः चितवन राइनोजका रवि बोपारा (२३६), बेन चार्ल्सवर्थ (१९७) र सुदूरपश्चिमका विनोद भण्डारी (१८६) छन् । त्यस्तै प्रियांक पान्चाल, रोहित पौडेल, बसिर अहमद, लोकेश बम र जोन सिम्पसन क्रमशः छैटौंदेखि दशौं स्थानमा छन् ।
बलिङमा भने नेपाली खेलाडीको वर्चश्व छ । शीर्ष ५ बलरमध्ये ४ जना नेपाली र एक विदेशी खेलाडी छन् । विराटनगरका कप्तान सन्दीप लामिछाने, सुदूरपश्चिमका अविनाश बोहरा, काठमाडौंका शाहब आलम र करण केसी समान १२–१२ विकेटसहित शीर्ष चारमा छन् ।
काठमाडौंका मिलिन्द कुमारले १० विकेट लिएका छन् । उल्लेखनीय बलिङ प्रदर्शनमा शाहब आलमले पोखरा एभेन्जर्सविरुद्ध ह्याट्रिकसहित ६ विकेट लिए भने सन्दीपको बेस्ट बलिङ ४-११, अविनाशको ४-३०, करण केसीको ४-३० रहेको छ । हालसम्मको प्रदर्शनले ब्याटिङमा विदेशी र बलिङमा नेपाली खेलाडीहरू अग्रस्थानमा रहेको देखिएको छ ।
प्लेअफमा पुगेका तीन टोली—सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज र विराटनगर किङ्स स्थिर देखिएका छन् भने बाँकी स्थानका लागि बाँकी चार टोलीबीच प्रतिस्पर्धा अझ रोमाञ्चक बनेको छ । यस संस्करणले खेलाडीहरूको व्यक्तिगत प्रदर्शन र टिमको रणनीति दुबैलाई केन्द्रमा राख्दै दर्शक र क्रिकेट प्रेमीलाई निरन्तर उत्साहित बनाइरहेको छ ।













प्रतिक्रिया