नेपाली चलचित्रमा दर्शकको आकर्षण बढ्दो « Khabarhub

नेपाली चलचित्रमा दर्शकको आकर्षण बढ्दो


१९ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो समय प्रदर्शन भएका नेपाली चलचित्रलाई दर्शकले साथ दिइरहेका छन् । 

केही वर्ष अगाडिसम्म चाडपर्वमा नेपालीभन्दा विदेशी चलचित्रको वर्चस्व देखिन्थ्यो, तर पछिल्लो समय नेपाली दर्शकको प्राथमिकतामा नेपाली चलचित्र नै परेको पाइएको छ । 

नेपाली कला र संस्कृतिसँगै सामाजिक कथा समावेश गरेर तयार गरिएका प्रदर्शनरत चलचित्रले दर्शकको साथ पाउँदा घरेलु बजारमा राम्रो व्यापार गरेका छन् ।

चलचित्र विकास बोर्डअन्तर्गत रहेको ‘बक्सअफिस २ सिनेपाः’ले  सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार नेपाली चलचित्र हेर्ने दर्शक बढिरहेको पाइन्छ । 

चलचित्र भवनमा प्रदर्शनरत ‘परान’, ‘जेरी अन टप’, ‘जारी २’, ‘मन विनाको धन’ लगायतका चलचित्रमा दर्शकको चाप उस्तै छ । आजदेखि प्रदर्शन भएको चलचित्र ‘अभिमन्यू : च्याप्टर १’ मा पनि दर्शकको आकर्षण बढेको पाइएको छ । उल्लिखित चलचित्रमा नेपाली समाज, परिवेश, सङ्घर्ष र प्राकृतिक सुन्दरता लगायतका विषयलाई कदरमा राखिएको छ । 

गत कात्तिक १४ गतेदेखि प्रदर्शनरत चलचित्र ‘परान’ले घरेलुबजारमा १६ करोडभन्दा बढीको व्यापार गरिसकेको छ । पारिवारिक कथामा तयार भएको उक्त चलचित्रले स–परिवारलाई चलचित्र भवनसम्म ल्याउन सफल भएको निर्देशक दीपकप्रसाद आचार्यले बताए । 

‘हाम्रो चलचित्रलाई दर्शकले आफैँले हेर्नुस् भनेर सिफारिस गरेको पाएका छौँ, बाबुछोराको कथालाई धेरै दर्शकले आफ्नो कथा रहेको प्रतिक्रिया दिनुभएको छ, मैले मेरो परिवारको कथालाई चलचित्रमा ढालेर तयार गरेको हुँ, यो कथा अहिले प्रायः घर समाजसँग जोडिन्छ भन्नेमा विश्वस्त थिएँ’, निर्देशक आचार्यले भने । 

नीर शाह, मदनकृष्ण श्रेष्ठ जस्ता दिग्गज अभिनेताले अभिनय गरेको उक्त चलचित्रमा बाबुछोराको कथालाई देखाइएको छ । उक्त चलचित्रमा केकी अधिकारी, महेश त्रिपाठी, पूजा चन्द, अञ्जना बराइली लगायतका कलाकारले अभिनय गरेका छन् । 

चाडपर्वलाई लक्षित गर्दै प्रदर्शन भएका नेपाली चलचित्रमा दर्शकको उपस्थिति बलियो देखिएको छ । विदेशीको तुलनामा नेपाली चलचित्रप्रतिको आकर्षण बढेको देखिँदैछ । 

घरेलु बजारमा नेपाली चलचित्रले गरिरहेको कमाइले समग्र चलचित्र क्षेत्रलाई नै सकारात्मक सन्देश प्रवाह गरेको वितरक करण श्रेष्ठले बताए । 

‘घरेलुबजारमा नेपाली चलचित्रले गरिरहेको रिपोर्ट हेर्ने हो भने चलचित्र भवनमा रहेका सबै नेपाली चलचित्रमा दर्शकको उपस्थिति देखिएको छ, यसले दर्शकले नेपाली चलचित्र हेर्ने चाहेको स्पष्ट सन्देश दिएको छ, अब विदेशी चलचित्र नभई स्वदेशी चलचित्र नै कमाइका हिसाबले अगाडि आउँछन्, यो तथ्य स्थापित हुँदै छ’, वितरक श्रेष्ठले भने । 

उनले दर्शकको विश्वास जित्ने चलचित्र आगामी दिनमा पनि तयार गर्न निर्माता तथा निर्देशकलाई आग्रह गरे । निर्देशक पुर्नेन्दु झाले पनि पछिल्लो समय नेपाली चलचित्र हेर्ने प्रचलन बढेको महसुस गरेको बताए । विशेष प्रदर्शनी वा चलचित्र भवनमा पुगेर प्रदर्शन भएका प्रायः चलचित्र हेर्ने गरेको उनले जानकारी दिए । 

‘म चलचित्र निर्देशक भएकाले पनि प्रदर्शन भएका प्रायः चलचित्र हेर्छु, धेरै चलचित्र दर्शकसँगै बसेर सार्वजनिक प्रदर्शनमा हेर्ने गरेको छु, पहिलेको तुलनामा दर्शक बढेका छन्, साथै दर्शक सन्तुष्ट पनि छन्, यही क्रम बढ्ने हो भने नेपाली चलचित्रले विदेशी चलचित्रलाई बिस्तारै विस्थापित गर्छ’, निर्देशक झाले भने । 

उनले नेपाली चलचित्र हेर्ने दर्शक बढ्नु, व्यावसायिक घराना आकर्षित हुने समग्र चलचित्र क्षेत्रकै लागि सुखद हुने विश्वास व्यक्त गरे । केही वर्ष अगाडिसम्म दसैँ, तिहार, नयाँ वर्ष लगायतका बिदामा विदेशी चलचित्रकै वर्चस्व देखिन्थ्यो, तर पछिल्लो समय भने नेपाली चलचित्रले विदेशीलाई विस्थापित गरिरहेको छ । 

सोही कारण चलचित्र वितरकले महँगो मूल्यमा विदेशी चलचित्र नेपाल ल्याउन छाडेका छन् । यो नेपाली चलचित्रका लागि समग्रमा सुखद सङ्केत हो । रासस

प्रकाशित मिति : १९ मंसिर २०८२, शुक्रबार  ४ : ४५ बजे

दिनभर स्थानीयको अवरोधपछि रातको समयमा धमाधम पिच, वडा अध्यक्ष नै फिल्डमा

काठमाडौं – काठमाडौंको बालाजु बाइपास सडक धमाधम पिच हुन थालेको

बालुवाटारमा एमालेले भन्योः अहिले विदेशमा रहेका नेपालीले भोट हाल्ने व्यवस्था नगरौँ

काठमाडौँ– नेकपा एमालेले फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा

अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले पछिल्लो समय

सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता

उदयपुर – सुनकोशी नदीमा हाम फालेका उदयपुरको कटारी–३ च्याँगाका ६२

प्रदीप ज्ञवाली भन्छन्ः एमाले निर्वाचनबाट कहिल्यै भाग्दैन

भक्तपुर – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले एमाले