समानुपातिक बन्दसूची पठाउनुअघि मन्त्री छाडेर उज्यालो नेपाल सम्हाल्दै कुलमान « Khabarhub

समानुपातिक बन्दसूची पठाउनुअघि मन्त्री छाडेर उज्यालो नेपाल सम्हाल्दै कुलमान

भन्छन् : अब देशकै नेतृत्व गर्ने हो



काठमाडौं- ऊर्जामन्त्री कुलमान घिसिङ नागरिक सरकारमा हुँदै उज्यालो नेपाल पार्टीमा सक्रिय हुन थालेपछि आलोचनाका स्वरहरू सुनिन थालेका छन् ।

मंसिर १७ मा उज्यालो नेपालको घोषणा सभा हुँदा सार्वजनिक भएका उनी बिहीबार गृहजिल्ला रामेछाप पुगेर आफू देशको नेतृत्व गर्ने तयारीमा रहेको बताए । उनले त्यहाँ उज्यालो नेपाल पार्टीलाई भोट नै नमागे पनि जनतासँग साथ दिन अपिल गरे ।

विस्तारै उक्त पार्टीमा सक्रिय हुन थालेपछि उनीमाथि निर्वाचनअघि नै राजीनामा दिनुपर्ने दबाब पनि बढेको छ । यस्तोमा उनले पार्टीको आन्तरिक बैठकमा केन्द्रीय सदस्यहरूलाई निर्वाचनअघि नै मन्त्री छाडेर पार्टीमा सक्रिय हुने जवाफ फर्काएका छन् ।

पार्टी निर्माण भएदेखि नै केन्द्रीय सदस्यहरूले कुलमानले निर्वाचनअघि पार्टी राजनीतिमा फर्किएर केन्द्रीय अध्यक्ष सम्हाल्नुपर्ने बताएका थिए

अबको एक महिनामाउनले मन्त्री पदबाट राजीनामा दिने उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डा. महेन्द्र लावतीले बताएका छन् । देशको आवश्यकता र नयाँ वैकल्पिक शक्तिको एकताका लागि सरकारलाई पनि असर नपुग्ने हिसाबले कुलमानले सरकारबाट राजीनामा दिएर पार्टी सक्रिय हुन लागेका लावतीले बताए।

’पार्टी निर्माणदेखि नै हाम्रो भद्र सहमति छ । उहाँले मन्त्रालयबाट राजीनामा दिएर पार्टी राजनीतिमा फर्किनुहुन्छ, अब अध्यक्षको जिम्मेवारी सम्हाल्नुहुन्छ’, लावतीले खबरहबसँग भने, ‘भर्खरै सम्पन्न भएको केन्द्रीय समिति बैठकमा पनि उहाँले निर्वाचनअघि नै अध्यक्ष सम्हाल्छु भनेर स्पष्ट पार्नुभएको थियो ।’

स्रोतका अनुसार कुलमानले यसअघि नै राजीनामा दिन खोजेका थिए । तर प्रधानमन्त्री सुशीला कार्की राजीनामा दिए सरकारलाई समस्या पर्ने भनेपछि रोकिएका हुन् ।

कुलमानले प्रधानमन्त्री कार्कीसँग पनि राजीनामा दिएर पार्टी राजनीतिमा फर्किने विषयमा अनौपचारिक छलफल गरिसकेका छन् ।

‘प्रधानमन्त्रीसँग पनि उहाँले अनौपचारिक छलफल गरेर आफ्नो कुरा राखिसक्नुभएको छ’ कुलमाननिकट अर्का केन्द्रीय सदस्य भन्छन्, ‘देशको आवश्यकता नै नयाँ शक्तिहरू र नयाँ अनुहार राजनीतिमा आउन् भन्ने छ। त्यसैले म यहाँलाई रोक्दिनँ तर सरकारलाई असर नपर्ने गरी गतिविधि गर्नुस् भन्नुभएको छ ।’

उज्यालो नेपाल पार्टीले बिहीबार पनि केन्द्रीय समिति बैठक राखेको थियो । बैठकमा आगामी निर्वाचन, पार्टी विधान र समानुपातिक सूचीलगायतबारे छलफल भएको एक नेताले बताएका छन् ।

लावतीका अनुसार बैठकमा घिसिङ पनि सहभागी भएका छन् । उनी रामेछापबाट काठमाडौं आएर बैठकमा सहभागी भएका हुन् ।

‘बन्द सूची पठाउनुअघि अध्यक्ष परिवर्तन गर्न मिल्छ’

निर्वाचनआगोगका सूचनाअधिकारी सुमन घिमिरेले निर्वाचनमा समानुपातिकको बन्दसूची पठाउनुअघि अध्यक्ष फेर्न मिल्ने बताएका छन् । आयोगले दलको आधिकारिक व्यक्तिको हस्ताक्षर माग्नुअगावै अध्यक्ष परिवर्तन गर्न पाउने जनाएको छ।

समानुपातिकको बन्दसूची पठाउँदा अध्यक्ष वा सभापतिका रुपमा आएको हस्ताक्षर नै आधिकारिक हुने बताउँछन् । ‘बनाउन पाइन्छ । तर आयोगले तपाईंको आधिकारिक अध्यक्ष वा सभापति को हो ? भनेर हस्ताक्षर मागेको बेला पठाएको मात्रै आधिकारिक हन्छ,’ घिमिरे भन्छन्, ‘समानुपातिकको नाम पठाउँदा सभापति या अध्यक्षमा कसको हस्ताक्षर हुन्छ, उही आधिकारिक नेतृत्व हुन्छ।’

पार्टीले कामचलाउ अध्यक्ष जतिखेर पनि परिवर्तन गर्न सक्छ । कानुन र आयोगले चिन्ने अध्यक्ष बन्दसूची पठाउँदासम्म परिवर्तन गर्न पाउने आयोगको भनाइ छ ।

निर्वाचन आयोगले फागुन २१ गतेबाट हुने निर्वाचनको लागि समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतको बन्द सूची ०८२ पुस १८ र १९ गतेभित्र पठाउनुपर्ने समय तोकेको छ ।

उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य लावती त्यसअगावै कुलमान पार्टी अध्यक्ष भएर समानुपातिकको बन्द सूचीमा उनकै हस्ताक्षर हुने दाबी गर्छन् ।

देशको नेतृत्वमा दाबी

नेताहरूका अनुसार कुलमानले उच्च महत्वाकांक्षा राखेका छन् । उनले बहुमत ल्याएर देशको नेतृत्व गर्ने बताइरहेका छन् । रामेछापमा पनि उनल त्यही भने । विद्युत् प्राधिकरणको नेतृत्व गरेर देश उज्यालो बनाएको बताउँदै उनले अब देशको नेतृत्व गरेर समृद्धि ल्याउने जिकिर गरे ।

यदि उज्यालो नेपालले बहुमत नल्याएमा वैकल्पिक शक्तिहरू मिलाएर कुलमान नै प्रधानमन्त्री हुने नेताहरू दाबी गर्छन् । अहिले उनी काठमाडौं महानगरका मेयर बालेन्द्र साहको सम्पर्कमा पनि छन् । तर कुलमानले खुलेर राजनीतिमा नआउने बताइसकेका छन्।

‘हाम्रो पार्टीको तर्फबाट निर्वाचनपछि सरकार बने कुलमान प्रधानमन्त्री हो । उहाँले देशको नेतृत्व लिने योजना ल्याइसक्नु भएको छ‘, केन्द्रीय सदस्य सागर ढकाल भन्छन्, ‘उहाँको नाममा अरू वैकल्पिक शक्तिहरू पनि सहमत हुनुहुन्छ ।’

गृहजिल्ला रामेछाप पुगेर कुलमानले सम्पूर्ण क्षेत्रलाई उज्यालो बनाउन देशको नेतृत्व गर्न आवश्यक रहेको बताए । ‘आगामी दिनमा यो देशको नेतृत्व पनि गर्नुपर्छ भन्ने मलाई लागेको छ, त्यसको लागि तपाईंहरूको साथ सहयोग आवश्यक छ’, उनले भनेका छन्, ‘सम्पूर्ण क्षेत्रलाई उज्यालो बनाउन देशको नेतृत्व गर्न आवश्यक छ भन्ने लागेको छ, यसको लागि साथ सहयोग गर्न म तपाईँहरूलाई आग्रह गर्दछु ।’

यही मंसिर १७ गते काठमाडौंमा उज्यालो नेपालको घोषणा कार्यक्रम भइसकेको छ। घोषणा सभामा कुलमान नै प्रमुख अतिथिका रूपमा उपस्थित भए । कार्यक्रममा पार्टी अध्यक्ष अनुपकुमार उपाध्यायले अध्यक्षता गरे । कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेकी सुमना श्रेष्ठ पनि सहभागी भइन् । अब उज्यालो नेपालमा जोडिने नेताहरूको लर्को लाग्ने तर्क उनीहरूको छ ।

प्रकाशित मिति : १९ मंसिर २०८२, शुक्रबार  ७ : २० बजे

अन्तर्राष्ट्रिय आरोग्य दिवससम्बन्धी नेपालको प्रस्ताव राष्ट्रसङ्घद्वारा पारित 

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घले नेपालको प्रस्तावमा अन्तर्राष्ट्रिय आरोग्य दिवससम्बन्धी प्रस्ताव पारित

कपनमा पुलमुनि झुण्डिएको अवस्थामा एक पुरुष फेला

काठमाडौँ– काठमाडौँ कपनमा झुण्डिएको अवस्थामा एक पुरुष भेटिएका छन् ।

फिल्म ‘मुक्तिपुर’को छायाङ्कन सुरू

काठमाडौं – फिल्म ‘मुक्तिपुर’को टोली शुभ मुहूर्तसँगै छायाङ्कनमा निस्किएको छ

दाउन्नेमा पाँचवटा सवारीसाधन एकापसमा ठोक्किँदा आठ जना घाइते

नवलपरासी– पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को दाउन्नेमा पाँचवटा सवारीसाधन एकापसमा

शुक्ला–लालझाडी–जोगबुडा कम्प्लेक्समा बाघ गणना सुरु

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जअन्तर्गत शुक्लाफाँटा–लालझाडी–जोगबुढा कम्प्लेक्समा मङ्गलबारदेखि बाघको गणना