चुनाव नआउँदै नयाँ दलबीच पानी बाराबार : कोशीका पहिचानवादी लगिदिएपछि हर्कको निशानामा कुलमान « Khabarhub

चुनाव नआउँदै नयाँ दलबीच पानी बाराबार : कोशीका पहिचानवादी लगिदिएपछि हर्कको निशानामा कुलमान


१९ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 5 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

धरान- भदौ २३ र २४ गतेको जेन-जी आन्दोनपछि उदाएका नयाँ शक्ति एकै ठाउँ उभिएर चुनावमा जाने सम्भावना कमजोर हुँदै गएको छ।

२०७९ को चुनाव लडिसकेको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी, कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल, हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृतिसहितका नयाँ दल मिल्ने अपेक्षा धेरैको थियो ।

तर त्यसको ठिकविपरीत पुराना भनिएका नेपाली कांग्रेस र नेकपा एमालेबीच बाक्लो सम्वादमार्फत् सहकार्यको ढोका खुल्लै रहँदा नयाँ दल भने एकअर्कासँग भिड्न थालेका छन् ।

पछिल्लो समय खासगरी हर्कको श्रम संस्कृति र कुलमानको उज्यालो नेपालबीच ठूलै कलहको अवस्था देखिन थालेको छ। कुलमानले काठमाडौंका मेयर बालेन्द्र साह र जेन-जी अभियन्ता बताउने सुधन गुरुङसँग सम्बन्ध बढाइरहँदा पूर्वमा भने हर्क साम्पाङले एक्लै पार्टीको अभियान छेडेका छन् ।

हर्कको दौडधूप यति धेरै बाक्लो छ कि उनलाई अचेल धरानमा भेटिनै मुश्किल पर्न थालेको छ। खासगरी उनले कोशी प्रदेशमा बलियो शक्तिका रुपमा उभ्याउन संकेत दिएका छन् ।

आगामी फागुन २१ गतेको प्रतिनिधिसभाको चुनावका लागि गत कात्तिक १६ गते दल दर्ताको प्रमाण पत्र बुझेयता हर्ककको दौडधूप तीव्र भएको छ । उनी दल दर्ताको प्रमाणपत्र बुझेर चुनाव चिह्न माटोको प्रचार गर्दै धरान नपुगी मोरङको लेटाङ पुगे । जहाँ पुगेर उनले संगठन विस्तार गरे। हर्कले लिम्बुवानको पहाडी भूगोलदेखि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमकासमेत आफ्नो शक्ति देखाइसकेका छन् ।

उनले उता माझकिरातको भोजपुर, संखुवासभा हुँदै लिम्बुवानका पाँचथर, ताप्लेजुङ र तेह्रथुममा ठूला आमसभा र आक्रमक पार्टी विस्तार गरिरहेका छन् ।

उनी यसबीचमा इलामको माङ्सेबुङ, झापाको दमक र सुनसरीस्थित बराहक्षेत्रको चक्रघट्टीमा ठूलो सभा गर्न पुगिसकेका छन् । यससँगै उनले श्रम संस्कृति पार्टीको संगठन पनि बनाइसकेका छन् । नेपाली कांग्रेस र नेकपा एमालेलाई जनताबीचमा जान मुस्किल परिरहँदा हर्कले त्यसको व्यापक फाइदा उठाएका छन् ।

कुलमानमाथि आक्रोश

हर्कले आफ्ना सम्बोधनमा नेपाली कांग्रेस र नेकपा एमालेसँगै ऊर्जामन्त्रीसमेत रहेका कुलमान घिसिङ र उनीद्वारा दर्ता उज्यालो नेपाल पार्टीलाई निशाना साँधिरहेका छन् ।

आफूलाई अन्तरिम सरकारको मन्त्री हुनबाट रोकेको भन्दै काठमाडौंका मेयर बालेन्द्रमाथि कयौँ पटक निशाना साँधेका उनी अब कुलमानतिर सोझिएका छन् । कुलमानले बालेनसँग सहकार्यका लागि संवाद बढाएको थाहा पाएपछि त हर्कको आक्रोशको पारो झनै चढेको छ ।

हर्क जहाँ जहाँ सभा गर्न पुग्छन् त्यहाँ त्यहाँ कुलमानलाई निशाना साँधिरहेका छन् । इटहरीको तरहरामा भएको पार्टी विस्तार सभा, झापाको दमक र सुनसरीको चक्रघट्टीका सभामा उनले कुलमानमाथि निशाना साँधे ।

खासगरी हर्कले अमेरिकी परियोजना मिलेनियम च्यालेञ्ज को-अर्पोरेशन राष्ट्रघाती भएको बताइरहेका छन् । नेपालस्थति एमसीसी बोर्डका सदस्यसमेत रहेका कुलमानलाईत्त उक्त राष्ट्रघाती परियोजना अघि बढाउन भूमिका खेलेको आरोपसहित आक्रमण गरिरहेका छन् । उनले कुलमानलाई देशद्रोहीको संज्ञा दिएर धावा बोलेका छन् ।

अझै कुलमान गत मंसिर १४ गते धरानमै पुगेर एमसीसी नेपाललाई आवश्यक भएकाले संसद्ले पारित गरेको बताएपछि त हर्क झनै बिच्किएका छन् । उनले आफ्नो भूमिका नरहेको बताए पनि हर्कले मतियारका रुपमा चित्रित गरिरहेका छन् । हर्कले आफूले सम्बोधन गरिरहेका सभाहरूमा एमसीसीबारे बोल्दै घिसिङले राष्ट्रहितविपरीत काम गरेको आरोप लगाइरहेका छन् ।

दुई ध्रुव

कुलमानले बिहीबार मात्रै रामेछापको सुनापती पुगेर वैकल्पि शक्तिहरू मिलेर चुनाव लड्नुपर्ने बताए । उनले आफू अब देशको नेतृत्व लिने गरी अघि बढेको पनि उल्लेख गरे ।

उता मंसिर १४ मा हर्कलाई भेट्न नपाएका कुलमानले त्यहाँ पनि नयाँ र वैकल्पिक शक्ति एकठाउँ आउनुपर्ने बताए । तर धरानमा उनै हर्कले कुलमानलाई भेट्नै चाहेनन् । धरानमा कुलमानले हर्कतिर लक्षित गर्दै देशले परिवर्तन चाहेकाले नयाँ र वैकल्पि शक्ति एक भएर जानुपर्ने बताएका थिए ।

‘देशलाई समृद्धितिर अगाडि बढाउन नयाँ र वैकल्पिक शक्ति एकअर्कालाई गाली नगरी मिलेर जानुपर्छ,’ उनले धरानमा भने,‘सामाजिक सञ्जालबाट एकअर्कालाई हिलो छ्याप्ने काम गर्नुभन्दा एक भएर अघि बढ्नु अहिलेको आवश्यकता हो ।’

धरानमै गएर साम्पाङसँग मिल्न खोजेका कुलमानलाई धक्का लागेको छ । उनले मिलौँ भने पनि हर्कले आगामी निर्वाचनमा एक्लै मैदानमा उत्रिने घोषणा गरेका छन् । सुनसरीको चक्रघट्टीमा साम्पाङले भने आफूलाई कसैसँग मिल्न नभन्न आग्रह गरे । ‘कसैले मलाई कुलमानसँग मिलोस्, अर्कोसँग मिलोस् नभन्नुस्’, उनले भने, ‘कयौँ विवादमा मुछिएको व्यक्तिसँग मिलोस् भन्ने आशा र अपेक्षा कसैले नगर्नुस् ।’

उनले कुलमानतिर लक्षित गर्दै दलाल र भ्रष्टसँग निमल्ने बताए । आफूहरूलाई जनताले साथ दिएकाले एक्लै अघि बढ्ने बताए । ‘एमसीसी पास गर्ने दलहरूसँग मिल नभन्नुहोला, हामी मिल्दैनौँ,’ उनले भने,‘हामी मिले देशको माटो र ढुंगासँग मिल्छौँ, देशको माटो र ढुंगालाई माया गर्नेसँग मिल्छौँ । विदेशीको गुलामी गरेर जिउ पाल्नेसँग मिल्देनौँ । देश बेच्नेसँग मिल्नु हुँदैनन, मिल्दैनौँ ।’

एमसीसी पास गर्न टिप्पणी उठाउनुका साथै हस्ताक्षर पनि गरेकाले कुलमानसँग नमिल्ने र विरोध गरिरहने बताए । देशलाई घात गर्ने बुवाआमालाई पनि आफूले नछाड्ने उनले घोषणा गरे।

जेन-जी आन्दोलपछि जंगीअड्डामा हर्कले उतारेका समर्थक

किन रिसाए ?

खासगरी ऊर्जामन्त्री कुलमान घिसिङले खोलेको उज्यालो नेपाल पार्टीमा कोशी प्रदेशका पहिचानवादी पक्षधरहरू समायोजन भएसँगै हर्क रिसाएका छन् । अर्कातिर बालेनसँग कुलमान नजिकिएपछि झनै बिच्किएका छन् ।

पहिचानवादी अभियन्ता तथा इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका उम्मेदवार डकेन्द्र थेगिमसमेत कुलमानको पार्टीमा लागे। उता ताप्लेजुङबाट सरस्वती लिम्बू सरु पनि नयाँ दलको केन्द्रीय सदस्य भइन् ।

पाँचथरबाट डाक्टर महेन्द्र लावती र इलामबाट थेगिम कुलमानको पार्टीमा केन्द्रीय सदस्य भएका छन् । थेगिमले इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा धरानका मेयर हर्क साम्पाङको तर्फबाट मुडा चुनाव चिह्न लिएर लडेका थिए । उपनिर्वाचनमा हर्क पटक पटक इलाम पुगेर थेगिमको पक्षमा माहोल बनाए तर जिताउन सकेनन् ।

कुलमानले पहिचानवादी तानेपछि पूर्वमा हर्कको श्रम संस्कृति पार्टीलाई धक्का लागेको छ। थेगिमले उपनिर्वाचन लड्दा हर्क आफैँ मुडा बोकेर इलाममा घुमेका थिए । आफूले मरिहत्ते गरेर जिताउन खटिएको नेतालाई पनि कुलमानले तानेपछि हर्क चिढिए ।

अहिले हर्क श्रम संस्कृति पार्टीको अभियान लिएर जिल्ला जिल्ला पुगेका छन् । उनले पाँचथरमा हजारौँको सहभागितमा ठूलो कार्यक्रम गरेका थिए । तर उनलाई इलाम र पाँचथरकै नेताहरूले साथ नदिँदा केही घाटा लागेको छ।

डाक्टर लावती स्वर्गीय पद्मसुन्दर लावतीका जेठा छोरा हुन्। उनका भाइ सगुनसुन्दर लावती अहिले राष्ट्रिय प्रजातन्त्र पार्टीमा छन् । लिम्बु, थेगिम र लावती कोशी प्रदेशको नामाकरणविरुद्ध विभिन्न आन्दोलनमा सहभागी नेता हुन्। उनीहरू पाथीभरामा केवलकार बनाउन नहुने पक्षमा उभिएका थिए ।

पूर्वबाट पहिचानवादी पक्षधरका अन्य नेताहरू कुलमानको पार्टीमा समायोजन हुँदैछन् । जसले हर्कलाई धक्का लाग्ने सम्भावना छ । यसले पनि हर्कले कुलमानलाई धावा बोलेका छन् ।

विगत र वर्तमान

तत्कालीन केपी ओली नेतृत्वको सरकारले नेपाल विद्युत प्राधिकरणबाट कुलमानलाई हटाएको विरोधमा उनै हर्क सडकमा उत्रिएका थिए । तर कुलमान संघीय सरकारमा जाँदा आफू भने रोकिनुपरेकाले पनि हर्क बिच्चिएका छन् ।

उनी जेन-जी आन्दोलनपछि धरानबाट दलबलसहित गाडी चढेर मन्त्री हुन काठमाडौं आएका थिए । तर उनलाई काठमाडौंका मेयरसहितले रोकेको आरोप लागेको छ। अन्तरिम सरकारमा हर्कले गृहमन्त्री हुन खोजे । तर बालेनले आफ्ना सहयोगी ओमप्रकाश अर्याललाई मन्त्री बनाए । हर्क काठमाडौंमा आएका बेला कुलमानलाई उनकै घरमा गएर भेटेका थिए । त्यसबेला कुलमान सरकारमा गएका थिएनन् ।

जेन-जीको एउटा समूहले हर्कलाई मन्त्री बनाउन जोड बल गर्‍यो । जंगी अड्डामा हर्कको पक्षमा नाराबाजी भयो । तर हर्कले निराश भएर धरान जानुपर्‍यो । त्यसपछि उनले सबैभन्दा पहिले बालेनलाई सामाजिक सञ्जालमा आक्रमण गरे, अहिले उनको निशानामा कुलमान छन् ।

अहिले घिसिङले चुनाव चिह्न बिजुलीको बल्बसहितको उज्यालो नेपाल पार्टी चलाइरहेका छन् । उनी फागुनको चुनाव लड्ने तयारीमा छन् । त्यहीअनुसार उनी अहिले अभियानमा छन् । उता हर्कले आफू जहाँ जहाँ पुग्यो, त्यहाँ त्यहाँ कुलमानले बिजुली काट्न लगाएको अर्को आरोप पनि लगाइरहेका छन् ।

प्रकाशित मिति : १९ मंसिर २०८२, शुक्रबार  ६ : १७ बजे

मकैको पातमा झरीको सङ्गीत !

प्रिय सोफिया,अविरल माया ।झरीले मकैको पातमा सङ्गीत भरिरहँदा म तिमीलाई

आज राष्ट्रिय धान दिवस, रोपाइँ गरेर मनाइँदै

काठमाडौँ– प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज

विश्वकपमा ७२ खेल सकिँदा खतरनाक टिम बन्यो फ्रान्स, चर्चामा मेसीको जादू

काठमाडौँ – अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा भइरहेको विश्वकप

देशका धेरै भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

भेनेजुएला भूकम्प: आमा-दिदी गुमाएका बालकको चार दिनपछि जीवितै उद्धार

काठमाडौँ – शक्तिशाली भूकम्प गएको केही दिनपछि भेनेजुएलामा भग्नावशेषबाट जीवितै