उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट « Khabarhub

उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट


१९ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का महासचिव मोहम्मद गोलाम सरवरले लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आज शिष्टाचार भेटवार्ता गरेका छन् । 

भेटमा शुभकामना आदानप्रदानपश्चात सार्क मुलुकहरूमा पछिल्लो राजनीतिक विकास क्रम र क्षेत्रीय सहयोगलगायत बहुआयामिक विषयमा छलफल भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ । 

उपराष्ट्रपति यादवले नेपाल सार्कको वर्तमान अध्यक्ष राष्ट्र तथा सार्क सचिवालय नेपालमा रहेको सन्दर्भमा महासचिवको जिम्मेवारी निर्वाह गर्ने कार्यमा नेपाल सरकारको पूर्ण सहयोग रहने बताए । 

उनले यस वर्ष सार्क चार्टर हस्ताक्षर भएको ४०औँ वार्षिकोत्सवको विशेष अवसरमा महासचिवलाई बधाई दिँदै विगतको लामो यात्रामा सार्कले धेरै चुनौती पार गर्दै आजको अवस्थामा आइपुगेको र यस संस्थाप्रति दक्षिण एसियाका जनमानसको ठूलो अपेक्षा रहेको उल्लेख गरे । 

उपराष्ट्रपति यादवले पछिल्लो राजनीतिक विकासक्रमबारे उल्लेख गर्दै उपराष्ट्रपति यादवले नेपालमा गत सेप्टेम्बरमा भएको ‘जेनजी’ आन्दोलनपश्चात देश आमनिर्वाचनतर्फ अग्रसर रहेको र सरकारको मुख्य प्राथमिकता आगामी मार्चमा हुने निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गरी जननिर्वाचित प्रतिनिधिलाई सत्ता हस्तान्तरणमा केन्द्रित रहेको बताए । 

क्षेत्रीय सहयोगका विषयमा उपराष्ट्रपति यादवले सन् १९८५ मा स्थापना भएको सार्कले विगत ३७ वर्षमा आपसी सहयोगका क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको र सङ्गठनात्मक तथा कानुनी संरचना विकास भएको बताए  । 

नेपाल सार्क बडापत्रमा अन्तरनिहित सिद्धान्त र लक्ष्यप्रति सदैव प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले दक्षिण एसियाली क्षेत्रको आर्थिक वृद्धि, सामाजिक प्रगति तथा सांस्कृतिक विकासलाई तीव्रता दिन सार्क प्रभावकारी माध्यम हुने विश्वास व्यक्त गरे ।

उपराष्ट्रपति यादवले एक अर्ब ७० करोडभन्दा बढी जनताको आशा सार्कको प्रभावकारितामा रहेको भन्दै सदस्य राष्ट्रहरूले यसलाई गतिशील र परिणाममुखी बनाउन प्रयत्न गर्नुपर्नेमा जोड दिए । 

उनले १९औँ सार्क शिखर सम्मेलन आयोजना गर्नमा भएको ढिलाइले सार्कको कार्यमा असर परेको उल्लेख गर्दै सदस्य राष्ट्रहरूले अवरुद्ध सम्मेलन छिट्टै आयोजना गर्न सहमति जुट्नेमा आफू आशावादी रहेको बताए । 

उपराष्ट्रपति यादवले नेपाल सार्कको संस्थापक सदस्य तथा वर्तमान अध्यक्षको हैसियतमा सदस्य राष्ट्रबीच एकता र ऐक्यबद्धताको भावनामा सार्क प्रक्रियालाई अगाडि बढाउन पूर्णरूपमा प्रतिबद्ध रहेको बताए । 

उनले सार्कका उच्च बैठकहरू नभए पनि सार्कका क्रियाशील संयन्त्र तथा विभिन्न केन्द्रहरूलाई सार्कको मर्मअनुरूप क्षेत्रीय सहयोग अभिवृद्धिमा उपयोग गर्न महासचिवको विशेष ध्यान जाने अपेक्षा व्यक्त गरे ।

उपराष्ट्रपति यादवले सार्क प्रक्रियालाई अगाडि बढाउने सम्बन्धमा आफ्ना विचार र योजनाहरू व्यक्त गरेकोमा महासचिवलाई धन्यवाद दिँदै उहाँको सक्षम नेतृत्वले सार्कलाई थप सक्रिय बनाउन र क्षेत्रीय चुनौतीको सामना गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । 

महासचिव सरवरले उपराष्ट्रपतिलाई धन्यवाद ज्ञापन गर्दै सार्क प्रक्रियालाई प्रभावकारी बनाउन सदस्य राष्ट्रहरूको सहकार्य अपरिहार्य रहेको र नेपाल सरकारको सहयोगप्रति आभार प्रकट गरे । 

प्रकाशित मिति : १९ मंसिर २०८२, शुक्रबार  ७ : ५५ बजे

दिनभर स्थानीयको अवरोधपछि रातको समयमा धमाधम पिच, वडा अध्यक्ष नै फिल्डमा

काठमाडौं – काठमाडौंको बालाजु बाइपास सडक धमाधम पिच हुन थालेको

बालुवाटारमा एमालेले भन्योः अहिले विदेशमा रहेका नेपालीले भोट हाल्ने व्यवस्था नगरौँ

काठमाडौँ– नेकपा एमालेले फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा

अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले पछिल्लो समय

सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता

उदयपुर – सुनकोशी नदीमा हाम फालेका उदयपुरको कटारी–३ च्याँगाका ६२

प्रदीप ज्ञवाली भन्छन्ः एमाले निर्वाचनबाट कहिल्यै भाग्दैन

भक्तपुर – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले एमाले