तीन सन्तान गुमाएकी राधाको याचना- ‘चौथो सन्तान बचाइदिनुस्’  | Khabarhub Khabarhub

तीन सन्तान गुमाएकी राधाको याचना- ‘चौथो सन्तान बचाइदिनुस्’ 


२४ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


819
Shares
  • change font
  • change font
  • change font

दार्चुलाको महाकाली नगरपालिकाकी राधा बिष्ट विगत ५ महिनादेखि कान्ति बाल अस्पतालमा छोरीको उपचारका लागि बसिरहेकी छिन् । उनकी छोरी ९ वर्षीया इतिसा महरा चुलबुले र जिज्ञासु स्वभावकी छिन् । अस्पतालमा नर्सहरूसँग घुलमिल हुने र भर्ना भएका अन्य वार्डका बालबालिकासँग खेलमा रमाउनु इतिसाको दैनिकी बन्दै आएको छ ।  

चार सन्तान जन्माएकी राधाका अन्य तीन सन्तान काखमै लिन नपाई बिते । दोस्रो सन्तानका रूपमा जन्मिएकी इतिसा मात्रै हुन, जसले अन्य सन्तान गुमाउँदाको पीडा भुलाइन् । सानैदेखि खेल्ने कुद्ने, नाच्ने इतिसालाई एक्कासि खुट्टा दुख्ने समस्या भयो । खेलिरहने भएर दुखेको होला भनेर केही दिन त्यत्तिकै भयो । बिस्तारै असह्य गरी खुट्टा दुख्ने र सँगै ज्वरो आउन थालेपछि दार्चुलाकै अस्पतालमा उपचारका लागि लगियो ।  

चेकजाँच गर्दा केही देखिएन । त्यसपछि कान्ति बाल अस्पताल ल्याएर सबै जाँच गर्दा ब्लड क्यान्सर देखियो । पटक–पटक गरेर तीन वटा सन्तान गुमाएकी राधाका लागि यो एकदमै दुखदायी क्षण थियो । उनी डाक्टर सामु हात जोडेर छोरीलाई बचाइदिन आग्रह गर्छिन् । हालसम्म इतिसालाई तेस्रो साइकल किमो चलाइएको छ भने तीन पटक नै बोनम्यारो गरिएको छ । 

उपचारमा आउँदा थोरै हिँड्दा पनि गाह्रो हुन्छ भन्ने इतिसा अहिले खेल्न कुद्न थालेकी छन् । तर कहिलेकाहीँ ज्वरो अत्यधिक आउँछ । तापक्रम १०५ डिग्रीसम्म पुग्दा अस्पतालमै भर्ना गर्नुपर्ने अवस्था छ । 

‘डाक्टरहरूले केही हुँदैन निको हुन्छ भन्ने आश्वासन दिनुहुन्छ । दिनभर अन्य बच्चाहरु देख्दा मन भुलाउँछु । तर जब अस्पतालमा उपचारका क्रममा कुनै बच्चाको मृत्यु भएको सुन्दा, राती एक्लै हुँदा मन साह्रै आत्तिन्छ । मन भक्कानिएर आउँछ ।’ राधाले दुखेसो पोखिन् । 

कुनै एउटा संस्थाले खाने, बस्ने व्यवस्था निःशुल्क गरेको छ अस्पतालबाट डिस्चार्ज भएर जाँदा त्यतै बस्ने गरेको बताउँदै धेरैजसो बास त अस्पतालमै बस्नुपरेको उनी बताउँछिन् । उपचरका क्रममा के कति खर्च भयो त्यससँग राधालाई कुनै चासो र सरोकार छैन । छोरी चाँडै निको भए पुग्यो ।  

हेटौंडा घर भएकी निर्मला बिककी २ वर्षीया छोरीलाई ब्लड क्यान्सर देखिएपछि विगत ६ दिनदेखि कान्ति अस्पतालमा भर्ना भएर उपचार गराइरहेकी छिन् । 

‘छोरीलाई बेलाबेलामा ज्वरो आइरहन्थ्यो । बच्चालाई कहिलेकाहीँ ज्वरो आउनु सामान्य ठान्यौं पछि एक्कासि हातखुट्टा सुन्निन थालेपछि कान्तिमा ल्याएर चेकजाँच गर्दा ब्लड क्यान्सर देखियो ।’ निर्मलाले भनिन्– ‘शुरुमा त आत्तिएँ । श्रीमान् फर्निचरमा काम गर्नुहुन्छ । म गाउँमै खेत किसानी गरेर बसेको मान्छे उपचार खर्च के कति लाग्छ ? उपचार गरेर पनि निको हुन्छ, हुँदैन भन्ने भएर उपचार नै नगर्ने सोच पनि बनायौँ । तर आमाको मन न हो अस्पताल आइसकेपछि डाक्टरहरूले नै समयमै उपचार गरेपछि निको हुन्छ यो सामान्य रोग जस्तै हो भनेपछि उपचार सुरु गरियो ।’ 

अहिले त स्वास्थ्यमा सुधार भइरहेको छ । सरकारले निःशुल्क उपचार भने पनि बेडचार्ज र केही औषधीहरू बाहेक सबै खर्च आफैँले नै गर्नुपर्छ । ६ दिनमा करिब ३ लाख जति खर्च भइसकेको जानकारी दिइन् ।  

त्यस्तै खोटाङकी मिना प्रधानका ५ वर्षीय छोरा रेमन पनि ब्लड क्यान्सर भएर २ महिनादेखि कान्ति बाल अस्पतालमा उपचाररत छन् । खोटाङमै हुँदा उनलाई ज्वरो आउने, आँखा रातो हुने गोली गाँठा दुख्ने टाउको दुख्ने समस्या देखिन थाल्यो । 

केही समय गाउँमै उपचार गराउँदा निको नभएपछि काठमाडौंमा बस्ने देवरलाई भनेर छोरालाई लिएर मिना काठमाडौं आइन् । गोलीगाँठाहरु दुख्ने भएपछि हाडजोर्नीकै समस्या हो कि भनेर ट्रमा सेन्टर लगिन । त्यहाँ केही समस्या नदेखिएपछि कान्तिमा लैजान सल्लाह दिइयो । 

कान्तिमा ल्याउँदा बच्चा हेर्दा स्वस्थ र फुर्तिलो छ भनेर सामान्य दुखाईको औषधी दिएर फर्काए तर समस्या बीसको उन्नाइस भएन । अन्त्यमा ब्लड क्यान्सर जाँच गर्दा पोजेटिभ देखियो । ‘अहिले उपचारकै क्रममा छौँ । दोस्रो साइकल किमो चढाइसकिएको छ । २ महिनाको अवधिमा ४ पटक बोनम्यारो भइसक्यो । अझै पनि टाउको दुख्छ भनिरहन्छ । डाक्टरहरूले निको हुन्छ नआत्तिनुस् त भन्नुहुन्छ । कहिले निको हुन्छ केही थाहा छैन’ मिनाले भनिन् । 

मिनाका अनुसार २ महिनाको अवधिमा करिब ५ लाख जति खर्च भइसकेको छ । सरकारले उपचार निःशुल्क गर्ने भने पनि स्लाइन पानीदेखि लिएर किमो, बोनम्यारो लगायत विभिन्न औषधीहरू आफैँले किन्नु पर्छ । 

बेडचार्ज लाग्दैन र बच्चालाई खाना अस्पतालले नै दिने गरेको छ । सरकारले दिने एक लाख र बिमाबाट पाउने १ लाख बाहेक अरु केही नपाएको उनले बताइन् । आफ्नो पीडा पोख्दै उनी थप्छिन्– ‘उपचारका लागि सहयोग माग्दा सरकारले निःशुल्क गर्छ भन्दै आफन्तहरू पन्छिन्छन् । तर हामीले केही पाएका छैनौँ ।’ 

राधा, मिना र निर्मला जस्तै धेरै आमाहरू क्यान्सर भएका बच्चाहरूको उपचारका लागि कान्ति बाल अस्पतालमा छन् । ८ जना बालबालिका ब्लड क्यान्सरसँग जुधिरहेका छन् भने केही बालबालिकालाई रेटिनोब्लाष्टोमा (आँखाको क्यान्सर) छ । लाचार आमाहरू सन्तानको दुख देख्न नसकेर डाक्टरहरूसँग बचाइदिन बिलौना गर्छन् । 

प्रकाशित मिति : २४ चैत्र २०८१, आइतबार  १ : ३१ बजे

लुम्बिनी कप महिला फुटबल वैशाख ५ देखि, आठ समूहले खेल्ने

बाँके– लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगितामा आगामी वैशाख

बालविवाह न्यूनीकरणमा सचेतनामूलक कार्यक्रम 

पाल्पा– बालविवाह न्यूनीकरणका लागि पाल्पाको निस्दी गाउँपालिकाले सचेतनामूलक कार्यक्रममा जोड

जवाफी कर नीतिले ट्रम्प चीनविरुद्ध आक्रोशित : प्रतिकार गर्नेसँग कठोर बन्ने

वाशिंटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको प्रतिकात्मक करको निर्णयप्रति

ब्रोकरले मागेका थिए पुँजी थप्ने समय, सेबोनले दियो मर्जरको उपाय

काठमाडौं – नेपाल धितोपत्र बोर्ड (सेबोन) ले धितोपत्र दलाल कम्पनीहरूलाई

मिथिलामा ‘जुडशीतल’ पर्वको चहलपहल

महोत्तरी– नयाँ वर्ष २०८२ साल आउन केही दिन बाँकी छँदै