बोनम्यारो प्रत्यारोपण निजामती अस्पतालमा सीमित गरिँदा करोडौं बाहिरियो | Khabarhub Khabarhub

बोनम्यारो प्रत्यारोपण निजामती अस्पतालमा सीमित गरिँदा करोडौं बाहिरियो

५ लाखको उपचार भारतमा ४० लाख तिर्नुपर्ने बाध्यता


२३ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 7 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

नेपालमा क्यान्सरका बिरामीमध्ये वर्षेनी तीन हजार बढीमा रक्त क्यान्सर देखिने गरेको तथ्याङ्क छ। त्यो बाहेक सिकलसेल एनिमिया, थालेसिमिया, हेमोफिलिया लगायत धेरै किसिमका रक्तरोगका बिरामीको संख्या पनि दिनानुदिन बढ्दै गइरहको छ। सरकारले यी विभिन्न रोगको उपचारमा प्रयोग हुने औषधी निःशुल्क गर्ने घोषणा गरिसकेको छ।

तर यसको निदानका लागि मुख्य उपचार मानिने बोनम्यारो प्रत्यारोपणमा भने सरकारले चासो नदिएको विज्ञ बताउँछन्। बोनम्यारो प्रत्यारोपण भनेको संसारको सबैभन्दा एडभान्स र धेरै अध्ययनबाट सफल उपचार हो। विभिन्न प्रकारका रक्त रोग तथा रक्त क्यान्सरका बिरामीमा बोनम्यारो प्रत्यारोपण एउटा सफल उपचार पद्धति मानिने विज्ञको भनाइ छ।

बोनम्यारो प्रत्यारोपणका लागि आवश्यक जनशक्ति हुँदाहुँदै केही उपकरण र आधारभूत भौतिक संरचनाको अभावमा नेपालमा एक मात्रै अस्पतालमा बोनम्यारो प्रत्यारोपणको सुविधा सीमित हुन पुगेको छ। जसका कारण महँगो शुल्क तिरेर बिरामी भारत तथा अन्य देशहरुमा गएर उपचार गराउन बाध्य छन्। बोनम्यारे भनेको के हो ? कसरी गरिन्छ बोनम्यारो प्रत्यारोपण ? नेपालमा बोनम्यारो प्रत्यारोपणको अवस्था कस्तो छ ? यिनै विषयमा बीर अस्पतालमा कार्यरत रक्तरोग विशेषज्ञ डा. निरजकुमार सिंहसँग गरिएको कुराकानी :

रक्तक्यान्सर तथा विभिन्न रक्त रोगको उपचारका लागि बोनम्यारो प्रत्यारोपण प्रभावकारी मानिन्छ। वास्तवमा यो बोनम्यारे भनेको के हो ?
बोनम्यारो भनेको रगतको सेल बस्ने ठाउँ हो। जुन सेललाई स्टिम भनिन्छ। स्टिम सेलहरु मान्छे जन्मेदेखि बाचुञ्जेलसम्म बन्ने, नष्ट हुने प्रक्रिया चलिरहन्छ। यो सेलले शरीरको रगतसँग सम्बन्धित काम जस्तै रगतका सेल्सहरु बनाउने र रोगसँग लड्ने क्षमता बढाउने काम गर्छ।

स्टिम सेलहरु शरीरको विभिन्न माइक्रोलेबलबाट उत्पति हुन्छ र हाम्रो हड्डीभित्रको मासु, जसलाई हामी बोनम्यारो भन्छौं, त्यहीँ गएर यी सेल्सहरु बस्छन्। कुनै कारणले ती सेल्सहरुमा समस्या आयो भने त्यसको उपचारको लागि स्टिम सेल प्रत्यारोपण गर्नुपर्ने हुन्छ। त्यसैलाई सरल भाषामा बुझ्दा बोनम्यारो प्रत्यारोपण भनिन्छ। तर वास्तवमा प्रत्यारोपण गर्ने भनेको बोनम्यारोभित्रका स्टिमहरु हुन्छन् , जसले रगत, इमिनोग्लोबिन बनाएर हाम्रो रोगप्रतिरोधात्मक क्षमता, शरीरका विभिन्न तन्तु तथा तत्वहरुको विकास गर्दछन्।

कसरी गरिन्छ बोनम्यारो प्रत्यारोपण ?
बोनम्यारो प्रत्यारोपण धेरै अध्ययन भएको एउटा सफल उपचार पद्धति हो। यो धेरै रोगमा प्रभावकारी मानिएको छ। रक्त रोगमा उपचारको विकल्प नै बोनम्यारो मानिन्छ भने रक्तरोग बाहेक केही बाथ रोगमा बोनम्यारो प्रत्यारोपण गरिन्छ भनेकेही सोलिड ट्युमरहरुमा समेत यो उपचार पद्धति प्रभावकारी मानिएको छ। त्यस्तै केही अध्ययनहरुले एचआइभी एड्सलाई पनि बोनम्यारो प्रत्यारोपणले निको बनाएको देखाएको छ।

त्यसैले प्रत्यारोपण भनेको हाम्रो शरीरको जुन बोनम्यारो हुन्छ, त्यो बोनम्यारोमा विभिन्न समस्या आइसकेपछि एक व्यक्तिबाट अर्को व्यक्तिमा दिने एउटा पद्धति हो। जसलाई एलोजेनिक बोनम्यारो प्रत्यारोपण भनिन्छ भने अर्को भनेको केही रोगमा आफ्नै बोनम्यारो केही समयपछि नष्ट गरेर फेरि आफ्नै स्टिमलाई आफ्नै शरीरमा प्रत्यारोपण गरिन्छ, त्यो अटोलोगस बोनम्यारो प्रत्यारोपण विधि हो।

पछिल्लो समय ब्लड क्यान्सर पीडित धेरै बालबालिकामा बोनम्यारो प्रत्यारोपण उपचार पद्धतिको प्रयोग भइरहेको पाइन्छ। वयस्कको तुलनामा बालबालिकामा अझ प्रभावकारी मानिने हो ?
बालबालिकामा हुने क्यान्सरमध्ये सबैभन्दा धेरै देखिने भनेको ब्लडक्यान्सर हो। पहिलेदेखि यो रोग देखिए पनि पछिल्लो समय यसबारे जनचेतना बढेको, बालक्यान्सर विशेषज्ञ चिकित्सकहरुको उत्पादन र क्यान्सरका सुरुवाती लक्षणहरु पत्ता लगाएर परीक्षण हुनथालेपछि बढेको जस्तो देखिएको मात्रै हो।

बालबालिकामा बोनम्यारो प्रत्यारोपण गरिन्छ, जसलाई हामी स्टिम सेल ट्रान्सप्लान्ट भन्छौं। तर यसको प्रयोग क्यान्सर बाहेकका रोगमा बढी गरिन्छ। जस्तै रगत नै उत्पादन नहुने रोग, जसलाई अप्लाष्टिक एनिमियाँ भनिन्छ। त्यस्तै थालेसिमियाँ, सिकलसेल डिजिज, रगत जम्ने अनुवांशिक रोगहरुमा बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने हुन्छ।

बालबालिकाको ब्लडक्यान्सरमा पनि बोनम्यारो प्रत्यारोपण नगरिने होइन गरिन्छ। तर बालबालिकामा लाग्ने धेरैजसो ब्लड क्यान्सर किमोथेरापीले नै निको हुन्छ। धेरै कम बालबालिकालाई मात्रै बोनम्यारो प्रत्यारोपण चाहिन्छ। तर ब्लड क्यान्सर बाहेक अन्य रक्त रोगमा भने बोनम्यारो प्रत्यारोपण बाहेक अर्को उपचार छैन। अर्को कुरा वयस्कको तुलनामा बालबालिकामा प्रत्यारोपणको प्रभावकारिता धेरै हुने भन्दा कुन रोगको कस्तो अवस्थामा प्रत्यारोपण गरिएको भन्नेमा भर पर्छ। जस्तै वयस्कको ब्लड क्यान्सरमा बालबालिकाको तुलनामा बोनम्यारो प्रत्यारोपण धेरै गरिन्छ। त्यस्तै केही त्यस्ता रोग छन्, जसमा प्रत्यारोपण बाहेक अर्को विकल्प नै हुँदैन।

बालबालिकामा लाग्ने केही रक्तरोगमा प्रत्यारोपण मात्रै उपचार हो, जसले शतप्रतिशत निको बनाउँछ। कहिलेकाहीँ कुनै रोगको रोकथामका लागि मात्रै बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने हुन्छ। त्यसैले बालबालिकामा धेरै र वयस्कमा कम प्रभावकारी हुने भन्दा कुन रोगका लागि प्रत्यारोपण गरिएको हो, त्यसमा भर पर्ने कुरा हो।

अन्य अङ्ग प्रत्यारोपण जस्तै एक व्यक्तिबाट अर्को व्यक्तिमा बोनम्यारो प्रत्यारोपण गर्न के कस्तो जटिलता छ ?
बोनम्यारो प्रत्यारोपण भनेको एक व्यक्तिबाट अर्को व्यक्तिमा रगत चढाएको जस्तै हो। डोनरबाट रगत लिएर आवश्यक व्यक्तिलाई दिने हो। अन्य अङ्ग प्रत्यारोपण जस्तो यसमा कुनै अङ्ग निकालिँदैन। मात्रै मेसिनबाट स्टिम सेललाई छुट्याएर एक पोका रगत दिएको जस्तो भएकाले रक्तदान मिर्गौैला दान, कलेजो दान गरेको जस्तो दातालाई कुनै किसिमको क्षति हुँदैन।

यहाँले स्वयं बिरामीकै बोनम्यारो प्रत्यारोपण पनि गर्न सकिन्छ भन्नुभयो यो कसरी गरीन्छ यसबारेमा प्रष्ट पारिदिनुहुन्छ कि ?
मैले अघि नै भने बोनम्यारो दुईटा तरिकाले प्रत्यारोपण गरिन्छ.। एउटा अटोलोगस बोनम्यारो प्रत्यारोपण, जसमा आप्mनो स्टिम सेल्सहरु आफैँमा चढाउने गरिन्छ। कुनै यस्ता अल्पकालिन रोगहरु हुन्छन् , जसमा के हुन्छ भने पहिले हामी रोगलाई नियन्त्रणमा ल्याउँछौं। त्यसपछि रोग उत्पादन गर्ने स्टिम सेलहरुमा भएको बोनम्यारोलाई नष्ट गरेर बिरामीमा प्रत्यारोपण गर्छौं, त्यसपछि ती स्टिमहरुले नयाँ रगत उत्पादन गर्न थाल्छन्।

अर्को एलोजेनिक भनेको एक व्यक्तिले अर्को व्यक्तिलाई दिने। यसमा कस्तो हुन्छ भने साधारणतया दाजुभाइ दिदीबहिनीको बढी म्याचिङ हुन्छ। दाजुभाइ दिदीबहिनीको भएन भने परिवारका अन्य सदस्यर त्यसबाट पनि भएन भने परिवार बाहेकको व्यक्तिबाट बोनम्यारो प्रत्यारोपण गर्न सकिन्छ। त्यसैले यसका विभिन्न पद्धति छन्।

प्रत्यारोपण गर्नुभन्दा पहिले दाताको मुटु, कलेजो लगायत विभिन्न अङ्गको स्वास्थ्य अवस्था, उमेर, लगायतका कुराले प्रत्यारोपण गर्ने नगर्ने कुराको निर्णय गरिन्छ।

एक पटक बोनम्यारो प्रत्यारोपणपछि बिरामी पूर्ण रुपमा निको हुने हो कि निरन्तर गर्नुपर्छ ?
बोनम्यारो प्रत्यारोपण हामीले दुईवटा उद्देश्यले गर्छौं। एउटा पूर्ण रुपमा निको बनाउनअर्को भनेको रोग नियन्त्रणमा राख्नको लागि। पूर्ण निको बनाउन प्रत्यारोपण गरिएको छ भने सतप्रतिशत निको हुन्छ। तर कहिलेकाहीँ रोग फेरि बल्झिन सक्छ। त्यस्तो अवस्थामा दोहो¥याएर प्रत्यारोपणको आवश्यकता पर्न सक्छ।

कुनै कुनै अवस्थामा रोग नियन्त्रणमा राख्न मात्रै बोनम्यारो प्रत्यारोपण गरिन्छ। जस्तै हामीले मल्टिपल माइलोफिमा, लिम्फोमीमा, कतिपय सोलिड ट्युमरलगायत कतिपय बालक्यान्सरहरुमा बारम्बार किमोथेरापी दिराख्नुपर्ने हुन्छ। यसले बोनम्यारोको रगत उत्पादन गर्ने क्षमता नष्ट भइसकेको हुन्छ। त्यस्तो अवस्थामा स्टिमसेलहरु नयाँ राखेर किमोथेरापी दिनुपर्ने हुन्छ। त्यसैले बोनम्यारो प्रत्यारोपणको मुख्य उद्देश्य भनेको रोग निको बनाउने हो। तर कतिपय बिरामीलाई किमोथेरापी गर्न सकिएको छैन या किमोथेरापी प्रभावकारी भइरहेको छैन भने त्यस्तो अवस्थामा रोगलाई नियन्त्रण गर्न बोनम्यारो प्रत्यारोपण गर्ने हो।

नेपालमा बोनम्यारो प्रत्यारोपणको अवस्था कस्तो छ ?
नेपालमा बोनम्यारो प्रत्यारोपणको अवस्था दुःखद छ। नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गतका कुनै पनि अस्पतालहरुमा बोनम्यारो प्रत्यारोपणको व्यवस्था छैन। अनुमानित डाटा अनुसार नेपालबाट प्रत्येक महिना १० जना बिरामी बोनम्यारो प्रत्यारोपणकै लागि भारत जान्छन्। बाहिरी देशमा एउटा बोनम्यारो प्रत्यारोपणका लागि ३० देखि ३५ लाख खर्च हुने गरेको पाइन्छ।

नेपाल सरकारलाई हामीले वर्षौंदेख नेपालमा बोनम्यारो प्रत्यारोपणको व्यवस्था हुनुपर्यो भनेर भनिरहेका छौं। प्रत्यारोपण गर्नसक्ने बिज्ञहरु नेपालमा छन्। तर अहिलेसम्म एउटा मात्रै अस्पताल सिभिल अस्पतालमा बोनम्यारो प्रत्यारोपणको सुविधा छ। आवश्यकता अनुसार त्यतिले मात्रै धान्न सकिने अवस्था छैन।

यसका लागि ६ देखि ८ महिनासम्म पालो हुनुपर्ने हुन्छ। यदि समयमै बोनम्यारो प्रत्यारोपण गर्न सकिएन भने बिरामी बाँच्दैन। १५ दिनदेखि १ महिनाभित्रमा प्रत्यारोपण गरिसक्नुपर्ने हुन्छ। जस्तै मिर्गौलाको बिरामी प्रत्यारोपण नगरेरै लामो समय बाँच्छन्। बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने बिरामीहरुको कुर्न सकिने अवस्था हुँदैन ।

दुःखद कुरा के छ भने जो संग पैसा हुन्छ, उसले त बाहिरी देशरुहमा गएर प्रत्यारोपण गर्लान्। तर कति बिरामीहरु प्रत्यारोपण गर्न नपाएर ज्यान गुमाइरहेका छन्। हामीले अनुमान गरेको खर्च अनुसार नेपालमै यदि बोनम्यारो प्रत्यारोपण गर्ने हो भने ५ देखि ६ लाख रुपैयाँ खर्च लाग्छ।

नेपाल सरकारले मिर्गौला प्रत्यारोपणका लागि जसरी सहयोग गर्छ, त्यसरी नै बोनम्यारो प्रत्यारोपणका लागि सहयोग गर्ने हो। एकजना बिरामीले ३ देखि ४ लाख रुपैयाँमा बोनम्याारो प्रत्यारोपण गर्न सक्छ। तर त्यही कामका लागि ३० देखि ३५ लाख खर्च गर्नुपर्ने बाध्यता नेपालीको छ भने कतिले ज्यान गुमउनुपरेको अवस्था छ।

सरकारले सिकलसेल, थालेसिमियाँका बिरामीलाई उपचारमा सहयोग गर्ने भनेर ठूलो कुरा गर्छ। यी रोगहरुको एकमात्रै उपचार भनेको बोनम्यारो प्रत्यारोपण हो। त्यस्तै नेपालमा अप्लाष्टिक एनिमियाँका बिरामीहरु धेरै छन्। यो भनेको बच्चाहरुको बोनम्यारोको विकास र उत्पादन नै नहुने भयावह अवस्था छ। त्यस्ता बिरामीहरुले उपचार पाइरहेका छैनन्। यसतर्फ सरकारको ध्यान नै गएको देखिँदैन।

बोनम्यारो प्रत्यारोपण गर्न सक्ने दक्ष जनशक्ति हुँदाहुँदै पनि के कुराले रोकिरहेको छ ?
प्रत्यारोपणकारगतको स्टिम सेल कलेक्शन गर्ने मेसिनलगायत केही प्राविधिक उपकरणको आवश्यकता पर्छ। जसको लागि १० करोड जति आवश्यक पर्छ। त्यस्तै संक्रमणमुक्त कक्षहरु जुन कोभिडको बेलामा विभिन्न अस्पतालहरुमा बनाइएको थियो। बोनम्यारो प्रत्यारोपणका लागि आवश्यक उपकरण र भौतिक पूर्वाधार गरेर १० देखि १२ करोड खर्च लाग्न सक्छ। यति सरकारले गर्न नसक्ने होइन इच्छाशक्ति नभएर हो।

केही वर्ष अगाडी वीर अस्पतालमा बोनम्यारो प्रत्यारोपण सुरु गर्ने भन्ने कुरा उठेको थियो के कारणले रोकिएको हो ?
मैले आफ्नो व्यक्तिगत तर्फबाट भनौं या अस्पतालको तर्फबाट जति पनि स्वास्थ्यमन्त्री आउनुभयो सबैलाई प्रस्ताव बुझाएको छु। कोभिड महामारीभन्दा भन्दा पछि नियुक्त भएका हरेक स्वास्थ्यमन्त्री र सचिव समक्ष पनि यो कुरा राखेको छु। तर कसैले पनि यसबारेमा चासो नराख्दा वीरमा अहिलेसम्म पनि बोनम्यारो प्रत्यारोपण सुरु हुन सकेन ।

बोनम्यारो खराब हुने कारण के के हुन् ? कसरी जोगाउने बोनम्यारो ?
बोनम्यारो खराब हुने २, ३ वटा कारण छन्। एउटा कसैको आफ्नै जिनमा समस्या हुन्छ, जसलाई कसैले रोक्न सक्दैन। ९० प्रतिशतको बोनम्यारो खराब हुने कारण भनेको जिनमै समस्या भएर हो। कतिलाई आमाबुवाबाट सरेको हुन्छ भने कतिको आफैँ उत्पादन हुन्छ।

जिनमा समस्या आउनुको पछाडी हाम्रो वातावरणीय प्रभाव पनि हुनसक्छ। जस्तै विषादीयुक्त खानेकुरा, वातावरणीय प्रदुषणमा विभिन्न तत्वहरु हुन्छन्। तिनीहरुको प्रभाव भयो, पेट्रोकेमिकल एक्सपोजरहरुले गर्दा त्यो म्युटेशनलाई पनि अझ नराम्रो बनाउने काम गर्छ।

आफ्नै जिनमा भएको कुरालाई त हामीले रोक्न सक्दैनौं। किनकी उसले जन्मजातै लिएर आएको हुन्छ। तर त्यो जिनको नराम्रो प्रभाव आउन दिनलाई हाम्रो वातावरणिय अवस्थाले पनि भुमिका खेलेको हुन्छ।

त्यसैले हामीले के भन्छौं भने स्वस्थ बोनम्यारो भनेको रगत उत्पादन गर्ने सेलको बस्ने ठाउँ हो। जसको लागि हाम्रो स्टिम सेल स्वस्थ बन्नुपर्यो। यसको लागि आवश्यक कुराहरु हाम्रो शरीरमा हुनुपर्यो।

बोनम्यारो प्रत्यारोपण पछि के के कुरामा ध्यान दिनुपर्छ ?
बोनम्याारो प्रत्यारोपणपछि हामीले विशेषत दुईवटा कुरामा ध्यान दिनुपर्छ। पहिलो कुरा संक्रमण हुनबाट जोगिनुपर्छ। जसको लागि स्वस्थ खानपान र वातावरण हुनुपर्छ। दोस्रो भनेको बोनम्यारो प्रत्यारोपणपछि रोगको अवस्था कस्तो छ ? जस्तै कुनै बिरामीलाई संक्रमण भइराख्यो भने प्रत्यारोपण फेल हुने अवस्था आउनसक्छ। त्यसैले खानपान र जिवनशैली स्वस्थ हुन जरुरी छ।

विभिन्न किसिमका रक्तरोगहरु बढिरहेको अवस्थामा यहाँ रक्तरोग विशेषज्ञ भएको नाताले सरकार तथा नागरिकलाई के सुझाव दिनुहुन्छ ?
सबैभन्दा पहिला त रोग लाग्न नदिने र लागिसकेपछि समयमै उपचार गर्न आमनागरिकलाई सुझाव दिन चाहान्छु। किनकी समयमै उपचार गर्यौं भने त्यसबाट आउने जटिलताहरुबाट बच्न सकिन्छ।

अर्को कुरा बोनम्यारो प्रत्यारोपणका लागि कुनै चिकित्सकले सल्लाह दिनुभएको छ भने ढिलो नगरी प्रत्यारेपण गराउनु राम्रो हुन्छ। त्यस्तै सरकारलाई हामीले बारम्बार भनिरहेका छौं। अहिलेको वर्तमान अवस्थालाई हेने हो भने हरेक प्रदेशमा एउट–एउटा बोनम्यारो प्रत्यारोपण केन्द्र हुनुपर्छ। जसरी सरकारले परीक्षणको दायरा बढाउँदै लगेको छ, त्यो अनुसार प्रत्यारोपणको आवश्यकता पनि बढ्दै गएको छ।

अहिले हरेक प्रदेशमा एउट प्रत्यारोपण केन्द्र भयो भने अबको १० वर्षपछि त्यतिले पनि नपुग्ने अवस्था आउन सक्छ। अहिले सरकारले प्रत्यारोपण केन्द्र खोल्ने भन्दा धेरै लगानी ती रोगको व्यवस्थापनमा गरिरहेको छ। त्यसैले प्रत्यारोपणले रोग निको पार्नुका साथै सरकारलाई आर्थिक भारबाट जोगाउने भएकाले बेलैमा सोच्न आवश्यक छ।

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलबार  ९ : १७ बजे

यूएसएड र एमसीसी परियोजना बन्द हुँदा महिलाहरू प्रभावित : मिनेन्द्र रिजाल

काठमाडौं– पूर्व सञ्चारमन्त्री डा. मिनेन्द्र रिजालले यूएसएड र एमसीसीलगायतका परियोजना

इजरायललाई संयमता अपनाउन युरोपेली सङ्घको आह्वान

एजेनसी– इजरायलले गाजामा योजनाबद्ध सैन्य आक्रमणको घोषणा गरेपछि युरोपेली सङ्घ

सामान्य अंकले बढ्यो नेप्से 

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अंकको सुधार देखिएको

महिलाको सहभागिता बराबर हुँदा संविधान बलियो हुन्छ: विमला राई पौडेल 

काठमाडौं– पूर्व परराष्ट्रमन्त्री डा. विमला राई पौडेलले समानुपातिक वा प्रत्यक्षबाट

अध्यक्ष प्रचण्ड बैशाख २९ गते सुर्खेत आउने

सुर्खेत– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल