हिमालको कथा बोकेको संग्रहालय : हर्जोगको आइस एक्स र सालिकको यात्रा | Khabarhub Khabarhub

हिमालको कथा बोकेको संग्रहालय : हर्जोगको आइस एक्स र सालिकको यात्रा


२३ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

पोखरा– अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयले फेरि एक ऐतिहासिक अध्यायलाई आफ्नो भित्तामा समेटेको छ । ७५ वर्षअघि विश्वकै पहिलो पटक अन्नपूर्ण हिमालको चुचुरोमा पाइला टेकेका फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगको आइस एक्स  अर्थात् हिउँ काट्ने औजार अब पोखराको यो संग्रहालयमा वर्षभरि हेर्न सकिनेछ ।

यो ऐतिहासिक आइस एक्स कुनै सामान्य वस्तु होइन यो त्यस्तो औजार हो जसले पर्वतारोहणको इतिहासमा नयाँ अध्याय सुरु गर्‍यो । मौरिस हर्जोगका छोरा माथियस हर्जोगले उक्त आइस एक्सलाई स्विट्जरल्यान्डको ओलम्पिक म्युजियमबाट ल्याई बिहीबार पोखरामा हस्तान्तरण गरे । उनी अन्नपूर्ण हिमाल आरोहणको हिरक जयन्तीमा सहभागी हुन आफ्नै परिवारसहित नेपाल आएका थिए ।

सङ्ग्रहालयको एउटा झ्यालबाट सीधा अन्नपूर्ण देखिन्छ। यही झ्याल अब त्यो आइस एक्सलाई हेर्दै अन्नपूर्णको कल्पना गर्न सकिने ठाउँ बन्नेछ। माथियस हर्जोग भन्छन्, ‘यो स्थान आइस एक्सका लागि सबैभन्दा उपयुक्त हो, किनकि यहाँबाट अन्नपूर्ण आफैँ मुस्कुराइरहेजस्तो लाग्छ।’

त्यही अवसरमा अर्को ऐतिहासिक क्षण पनि साक्षी बन्यो संग्रहालय: मौरिस हर्जोग, आङथार्के शेर्पा र वालुङ सोनाम शेर्पाको शालिक अनावरण । हर्जोग अन्नपूर्ण प्रथमका प्रमुख आरोही थिए भने आङथार्के शेर्पा त्यस यात्रामा सहभागी भएका पहिलो नेपाली थिए। वालुङ सोनाम शेर्पा भने त्यस दलका प्रमुख शेर्पा थिए, जसले आरोहण टोलीको सफलतामा अहम् भूमिका निभाए ।

यी सालिकहरू केवल मूर्ति होइनन्, तिनले बोकेको इतिहास हिमालका चुचुरोहरू जत्तिकै उच्च र प्रेरणादायी छ ।

कार्यक्रममा मौरिस हर्जोगको चर्चित पुस्तक अन्नपूर्णको नेपाली संस्करणको आवरण पनि सार्वजनिक गरियो । विश्वका २० भन्दा बढी भाषामा अनुवाद भइसकेको यो पुस्तकले अहिलेसम्म १ करोडभन्दा बढी प्रतिको विक्री भइसकेको छ । यो केबल एक आरोहणको कथा मात्र होइन, यो साहस, सहनशीलता र आत्मत्यागको काव्य हो ।

संग्रहालय परिसरमा सोही अवसरमा अन्नपूर्ण आरोहणसम्बन्धी अडियो, भिडियो तथा फोटो प्रदर्शनीको पनि शुभारम्भ गरिएको छ । ती सबै सामग्री अब स्थायी रूपमा संग्रहालयमै रहनेछन् र आगन्तुकलाई खुला गरिनेछ। कार्यकारी निर्देशक निर्मलाकुमारी न्यौपाने भन्छिन्, ‘हामी यो इतिहासलाई न केवल जोगाउने, तर अनुभव गराउने प्रयत्नमा छौँ ।’

संघीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘नेपाल बुद्ध, वेद र हिमालले चिनिएको देश हो। अन्नपूर्ण आरोहण त पर्वतारोहणको कोसेढुङ्गा हो । अब हिमालमा देखिन थालेको असर सम्पूर्ण पृथ्वीले भोग्नुपर्ने अवस्था आउन सक्छ ।’ 

उनले माछापुच्छ्रे हिमाल काला पत्थरझैँ देखिन थालेको उल्लेख गर्दै वातावरणीय संकटप्रति चेतना जगाउने सन्देश पनि दिए।

उनले पर्वतीय संग्रहालय परिसरमै बोटानिकल गार्डेन बनाउने प्रतिबद्धता जनाए, जसलाई प्रदेश सरकारसँग मिलेर निर्माण गरिनेछ।
गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेलले पनि यही प्रतिबद्धता दोहोर्‍याए। ‘यस क्षेत्रलाई विश्वकै पर्यटकीय आकर्षण बनाउने गरी बोटानिकल गार्डेन बनाइन्छ,’ उनले भने, ‘यसै वर्षदेखि काम सुरु हुन्छ ।’

कार्यक्रममा फ्रान्सकी राजदूत भिर्गिनी कोर्टेभलले अन्नपूर्ण आरोहणलाई ‘इतिहासकै विशेष क्षण’ भने । नेपाल पर्वतारोहण संघ गण्डकी अध्यक्ष विकास गुरुङ, पोखरा पर्यटन परिषद् अध्यक्ष तारानाथ पाहारी, अनुभवी पर्वतारोही पूर्णिमा श्रेष्ठ, विश्वका १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमाल आरोहण गरिसकेका मिग्मा जि शेर्पालगायतले पनि आ-आफ्ना भनाइ राखे । 

हाल वर्षको एक सयभन्दा बढी देशका दुई लाखभन्दा बढी पर्यटकले अवलोकन गर्ने यो संग्रहालयलाई डिजिटल बनाउने तयारी पनि थालिएको छ। जाइकाको सहयोगमा संग्रहालयका सबै सामग्रीलाई डिजिटाइजेसन गरिने जानकारी नेपाल पर्वतारोहण संघका अध्यक्ष निमानुरु शेर्पाले दिए ।

‘हामी मौरिस हर्जोग वाल बनाउँदैछौँ,’ उनले भने, ‘र हरेक वर्ष जुन ३ मा पर्वतारोहण प्रतियोगिता आयोजना गर्ने योजना छ ।’
कार्यक्रमकै सिलसिलामा विश्व वातावरण दिवसको अवसरमा संग्रहालय परिसरमा वृक्षारोपणसमेत गरियो ।

यो सबै हेर्दा लाग्छ – पर्वतीय संग्रहालय अब केवल वस्तुहरूको संग्रहालय होइन, यो साहस, इतिहास र प्रेरणाको जीवित संग्रहालय हो, जहाँ हिउँको बीचबाट उदाएका कथाहरू हरेक आगन्तुकसँग बोल्छन् ।

प्रकाशित मिति : २३ जेठ २०८२, शुक्रबार  ६ : ०६ बजे

वैज्ञानिक आधारमा खाद्य स्वच्छताको सुनिश्चितता गरिन्छ : कृषिमन्त्री 

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले वैज्ञानिक आधारमा खाद्य

स्पेनको वृद्धाश्रममा आगलागी : एक जनाको मृत्यु, १९ घाइते

काठमाडौं– स्पेनको उत्तरपूर्वी सहर जारागोजास्थित एक वृद्धाश्रममा शुक्रबार राति आगलागी

सप्तकोशीमा बेपत्ता भएका सुरक्षाकर्मीको खोजी जारी

धरान– विपद् उद्धार अभ्यासका क्रममा बिहीबार सप्तकोशी नदीमा बेपत्ता भएका

सद्भावनासहित नमाज पाठ गरेर मनाइयो पहिलो दिनको बकर इद

काठमाडौं– मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा)

‘बजेटले अर्थतन्त्रका विद्यमान समस्या समाधान गर्न सक्दैन’

काठमाडौं– आगामी आर्थिक वर्षको बजेटले मुलुकको अर्थतन्त्रका विद्यमान समस्या समाधान