एम्बाप्पेको फुटबल करिअरमै धक्का दिँदैछन् लामिन यामाल | Khabarhub Khabarhub

यही सिजन जित्न सक्छन् बालोन डी’ओर

एम्बाप्पेको फुटबल करिअरमै धक्का दिँदैछन् लामिन यामाल


२३ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


963
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्पेनी युवा स्टार लामिन यामालको उदयले फ्रान्सेली कप्तान किलियन एम्बाप्पेलाई एकपछि अर्को धक्का लाग्दैछ ।

अहिले यी दुईजनाबीच युरोपियन फुटबलमा चलिरहेको प्रतिस्पर्धा चर्चाको शिखरमा छ । गत सिजनदेखि बार्सिलोनामा चम्किन थालेका यामालले एम्बाप्पेविरुद्ध छोटो समयमै निकालेको प्रभावशाली नतिजाले विश्व फुटबलमा नयाँ अध्याय सुरु भएको देखिएको छ।

पछिल्लो समय क्लब र राष्ट्रबीचका प्रतिस्पर्धामा यामालले एम्बाप्पेलाई पछि पार्न थालेका हुन् । बारम्बार यामालविरुद्धको खेलमा पराजित हुनु परेपछि एम्बाप्पेको प्रतिष्ठामै धक्का लाग्न थालेको छ ।

अघिल्लो वर्ष भएको युरोकप फुटबलको सेमिफाइनल भिडन्तमा यामालकै जादुयी प्रदर्शनमा एम्बाप्पे नेतृत्वको फ्रान्सलाई स्पेनले पराजित गरेको थियो । त्यसयता यामाल र एम्बाप्पेबीचको भिडन्तमा नतिजा एकपक्षी आउने गरेको छ ।

बिहीबार राति पनि त्यही दृश्य दोहोरियो । स्पेनले फ्रान्सलाई ५–४ ले हराउँदै नेशन्स लिगको फाइनलमा प्रवेश गर्दा यामाल प्रभावशाली प्रदर्शन गरे । उनले पेनाल्टीबाट एक अर्को गोलो काउन्टर एट्याकका क्रममा गर्न सफल भए ।

स्पेनले जारी युएफा नेशन्स लिग सेमिफाइनलमा फ्रान्सविरुद्ध ५–४ को रोमाञ्चक जित हात पार्दै फाइनलमा स्थान सुरक्षित गर्दा एक पटक फेरि एम्बाप्पेले तनाव भोग्नु परेको छ ।

जर्मनीको स्टुटगार्टस्थित एमएचपी एरिनामा सम्पन्न खेलमा १७ वर्षीय लामिन यामालले दुई गोल र एक असिस्ट गर्दै निर्णायक भूमिका खेलेका थिए । उता एम्बाप्पेले भने पेनाल्टीबाट एक गोल गरेका थिए ।

स्पेनका लागि यामालले २ गोल गर्दा निकोलस विलियम्स, मिकेल मेरिनो र पेड्रीले एक-एक गोल गरे ।

फ्रान्सका लागि एम्बाप्पेले पेनाल्टीबाट गोल गर्दा रायन चेर्की, रान्डल कोलो मुआनीले एक-एक गोल गरे। फ्रान्सले डानी विवियनबाट एउटा आत्मघाती गोल उपहारमा पायो ।

स्पेनको यो जितपछि प्रतिष्ठित फुटबल अवार्ड बलोन डी’ओरको पावर र्‍याङ्किङमै प्रभाव पारेको छ । यामालको प्रभावशाली प्रदर्शनले उनलाई बलोन डी’ओरको प्रमुख दावेदार बनाएको छ।

१७ वर्षको उमेरमै यामालले अन्तर्राष्ट्रियस्तरमा प्रभाव जमाउँदै आएका छन्। नेशन्स लिगमा उनको प्रदर्शनले यो सिजन पीएसजीलाई च्याम्पियन्स लिग जिताएका फ्रान्सेली स्ट्राइकर डेम्बेलेलाई असर गरेको छ।

यामालको यही प्रदर्शनले पोर्चुगलविरुद्धको फाइनलमा पनि निरन्तरता पाउँदै स्पेनले नेशन्स लिगको उपाधि जितेनमा बालोन डी’ओर पनि उनकै पोल्टामा जाने सम्भावना बलियो भएको छ । यामालको यो उदयले अहिलेका प्रभावशाली स्ट्राइकर एम्बाप्पेमाथि मनोवैज्ञानिक दबाब पनि बढाएको छ ।

स्पेनले अब फाइनलमा पोर्चुगलसँग प्रतिस्पर्धा गर्नेछ, जसले जर्मनीलाई २–१ ले हराइसकेको छ। यो फाइनलमा नाबालक हुँदै मेस्सीले काखमा लिएका १७ वर्षीय लामिन यामाल र ४० वर्षीय क्रिस्टियानो रोनाल्डोबीच प्रतिस्पर्धालाई चासोसाथ हेरिएको छ ।

उता एम्बाप्पेले यो सिजन पेरिस सेन्ट जर्मेनबाट स्पेनी क्लब रियल मड्रिडमा आएर जबरजस्त छाप छाडे । उनले कूल ५६ खेलमा ४३ गोल गरे, जसमा ३१ गोल लालिगामा थियो ।

उनले यही क्रममा आफ्नो पहिलो युरोपियन गोल्डेन बुट जिते। तर रियल यो सिजन उपाधिविहीन हुँदा एम्बाप्पेले व्यक्तिगत अन्य उपाधि चुम्ने सम्भावना अब सकिएको छ । अर्कातिर फ्रान्स पनि नेशन्स लिगबाट बाहिरिइसकेको छ।

उता यामालविरुद्ध एम्बाप्पे बारम्बार चुकिरहेका छन्। रियल मड्रिड र बार्सिलोनाबीच यो सिजन भएका सबै चार खेल यामालकै टोली विजयी बनिरहेको छ। जहाँ यामालले दनादन स्कोर पनि गररहेका छन् ।

ती चार खेलमध्ये दुई लालिगा, एक कोपा डेल रे फाइनल र अर्को स्पेनिस सुपर कप फाइनल थियो । जसमध्ये सबै चारै खेलमा बार्सिलोना विजयी भएको थियो।

७ खेलमा ६ जित यामालको पक्षमा

यामालले बार्सिलोनाका लागि ला लिगाका दुवै ‘एल क्लासिको’ खेलमा गोल गरेका थिए । रियलविरुद्धको सुपर कप फाइनलमा ५–२ को जित हुँदा पनि यामालले स्कोर गरेका थिए। कोपा डेल रे फाइनलमा २ असिस्ट दिएर टोलीलाई ३–२ को जित दिलाए।

यामाल र एम्बाप्पे क्लब फुटबलतर्फ पहिलो पटक पीएसजी र बार्सिलोनाबीचको च्याम्पियन्स लिग क्वार्टर फाइनलमा अघिल्लो सिजन आमने सामने भएका थिए।

त्यसबेला पहिलो लेगमा बार्सिलोना ३–२ विजयी हुँदा दोस्रो लेगमा एम्बाप्पेको दुई गोलको मद्दतले पीएसजीले ४–१ को जित निकाल्यो । यही एक मात्र खेल हो, जहाँ एम्बाप्पे यामालविरुद्ध विजयी भए।

युरो २०२४ को सेमिफाइनलमा पुनः यामाल चम्किए। फ्रान्सका लागि एम्बाप्पेले रान्डल कोलो मुआनीलाई आठौं मिनेटमा असिस्ट दिएर अग्रता दिलाएको खेलमा चम्किने पालो थियो यामालको । १७ वर्षीय यामालले २१औँ मिनेटमा अद्भूत गोल गर्दै खेल बराबरीमा ल्याए। त्यसपछि डानी ओल्मोको गोलले स्पेनलाई २–१ को जित दिलायो।

एम्बाप्पेमा असर

बारम्बार यामालविरुद्ध पराजित हुँदा एम्बाप्पेको मनोबल र प्रतिष्ठामा गम्भीर असर पर्दै गएको छ । व्यक्तिगत रुपमा उनले गोल र असिस्ट गरे पनि निर्णयात्मक खेलमा यामालको टोली नै जित्ने गरेको छ। यो सिलसिलाले बालोन डी’ओरको होडमा एम्बाप्पेले यामाललाई भेट्टाउन सकेका छैनन् ।

यामालले जारी सिजनभरि १८ गोल र २५ असिस्ट गर्दै आफूलाई बलोन डी’ओरको दावेदार बनाएका छन्। उनले क्लब राष्ट्र दुवैका लागि जादुयी प्रदर्शन गरिरहेका छन् ।

स्पेनी किशोर यामालले फुटबलको नयाँ युगको संकेत दिएका छन्। लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोको युग सकिँदै गर्दा अब यामालको उदय भएको छ। उनै यामाल चर्चित खेलाडी एम्बाप्पेविरुद्ध एकपछि अर्को जित निकालिरहेका छन् । अब एम्बाप्पेले आफूलाई लयमा फर्काउन यामाललाई रोक्नुपर्ने चुनौती छ । यामालको गति नरोके मेस्सी र रोनाल्डोपछिको युगमा उनकै नाम छाउन सक्छ । भलै एम्बाप्पेले विश्वकप फुटबलको उपाधि उचालेका छन् ।

यामालको चमत्कारिक उदयले एम्बाप्पेको वर्चस्वमा सिधै असर गरिरहेको छ । लगातार ६ जितले यामालको आत्मविश्वास उत्कर्षमा छ । बालोन डी’ओरको दौडमा आफ्नो नाम अग्रस्थानमा लेखाउँदा एम्बाप्पेले उनलाई रोक्न अब सजिलो छैन ।

यामालविरुद्ध एम्बाप्पेले अब आफूलाई प्रमाणित गर्नुपर्ने समय आइसकेको छ । अब नयाँ सिजनमा एम्बाप्पेले क्लब र देशलाई नयाँ उपाधि जिताउन नसके यामाल फुटबलको नयाँ राजा घोषित हुनेतर्फ पुग्नेछन् ।

प्रकाशित मिति : २३ जेठ २०८२, शुक्रबार  ६ : १८ बजे

वैज्ञानिक आधारमा खाद्य स्वच्छताको सुनिश्चितता गरिन्छ : कृषिमन्त्री 

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले वैज्ञानिक आधारमा खाद्य

स्पेनको वृद्धाश्रममा आगलागी : एक जनाको मृत्यु, १९ घाइते

काठमाडौं– स्पेनको उत्तरपूर्वी सहर जारागोजास्थित एक वृद्धाश्रममा शुक्रबार राति आगलागी

सप्तकोशीमा बेपत्ता भएका सुरक्षाकर्मीको खोजी जारी

धरान– विपद् उद्धार अभ्यासका क्रममा बिहीबार सप्तकोशी नदीमा बेपत्ता भएका

सद्भावनासहित नमाज पाठ गरेर मनाइयो पहिलो दिनको बकर इद

काठमाडौं– मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा)

‘बजेटले अर्थतन्त्रका विद्यमान समस्या समाधान गर्न सक्दैन’

काठमाडौं– आगामी आर्थिक वर्षको बजेटले मुलुकको अर्थतन्त्रका विद्यमान समस्या समाधान